साहित्यपोस्ट डट कम

साताकाे पुस्तक : बम्बैसन्

साताकाे पुस्तक : बम्बैसन्

बम्बैसन् – डा. दुर्गाप्रसाद भँडारी

लेखक डा. दुर्गाप्रसाद भँडारीको यात्रा वृतान्त हो बम्बैसन् । पुस्तकमा लेखकले आफू चिकित्सकको रुपमा विभिन्न देश पुग्दाको अनुभव, युद्धको प्रभाव बारेमा लेख्नुभएको छ ।

”मान्छेको मूल स्वभाव नै घुमन्ते हो झै लाग्छ ।” पुस्तकमा माधव चौलागाई लेख्नुहुन्छ, ”आफैं तय गरिएका यात्राहरू हुन् वा अरु कसैले सुनाउने यात्रा वर्णनहरू, मानिसले सबैभन्दा बढी रुचाउने विषय हुन् । उहिलेदेखि नै मुगलान, लाहुर, भोट, मलाया, कालापहाडजस्ता परदेश र देशकै अपरिचित भूगोलमा पुगेर फर्किएका मान्छेले सुनाउने यात्रा र कर्मका नालीबेलीहरू नेपाली समाजमा अत्यन्त रुचाइएका सुन्न र सुनाउन मनपर्ने कथाहरू हुन् । तिनै विषयवस्तुमा आधारित रहेर अझैपनि कयौं विधाका कला र साहित्यहरू सृजना हुने गरेका छन् । डा. दुर्गाप्रसाद भँडारीको कृति ‘बम्बैसन्’ ले पनि यस्तै देश परदेशका अनुभव र अनुभूतिजन्य कथा बोकेको भएता पनि यसले आम नेपाली समाजमा परिचित ठाउँभन्दा निकै पर र फरक ठाउँहरूमा समेत घुमाउन लैजान्छ । फरक फरक समय र उद्देश्यमा गरिएका हरेक घुमाइहरू आफैंमा विशिष्ट हुन्छ । देश, काल र परिस्थिति अनुसार यात्राका अनुभव र अनुभूतिहरू फरक हुन्छन् । आफू जन्मिएको माटो र बाल्यकाल हुर्किएको परिवेशसँग गाँसिने सम्बन्ध भने चीरस्थायी हुन्छ । स्मृतिपटलमा ती बाल्यकालका स्वर्णीम झझल्कोहरू नभेट्‌ने मानिस सायदै कोही होलान् । यस कृतिका लेखकलाई ‘बम्बैसन्’ को मीठासले तानेको छ । त्यसैले आफ्ना स्मृतिपटलका संस्मरणहरूलाई उतारेर पाठकका निम्ति लेखकले यौटा रसिलो मीठो पठन यात्रा सामग्री दिएका छन् ।”

त्यसैगरी पुस्तकमा डा. दुर्गाप्रसाद भँडारी लेख्नुहुन्छ, जिन्दगी त बदलिरहँदो रहेछ परिवेशसँगै । एउटा व्यक्ति जीवनका विभिन्न मोडहरूमा विभिन्न ठाउँहरूमा पुग्दो रहेछ । हरेक ठाउँको नयाँपनले र त्यस ठाउँको विशेषताले नयाँ अनुभूति दिलाउँदा रहेछन् । जिन्दगीले डोऱ्याएर मलाई पनि पश्चिमको लन्डनसम्म र पूर्व-दक्षिणको याङ्गोनसम्म पुऱ्यायो । यही क्रममा मैले धेरै कुराहरू देखें। यी सबैको यथार्थका कुरा र त्यहाँको इतिहासले मलाई रोमाञ्चित गरायो । अफगानिस्तान र पाकिस्तानमा देखिने बौद्धकालीन अवशेषहरू, म्यान्मारमा देखिने दसौँ शताब्दीका प्यागोडाहरू, पाकिस्तान र बङ्गलादेशका मुगलकालीन किल्लाहरूले मेरो ध्यान खिचे । म त्यसैमा रमाएँ। भाग्यले मलाई विश्वकै महान् राजनैतिक परिवर्तनहरूको दर्शक बनायो । सोभियत सङ्घको ७० वर्षभन्दा पुरानो कम्युनिस्ट साम्राज्य मेरै अगाडि ढल्यो । बर्लिन पर्खालमा छिनो ठोक्न म पनि पुगें। शीतयुद्धका प्रतिद्वन्दीहरूले मेरै समयमा हात मिलाएर युद्ध समाप्त पारे ।”

पुस्तकलाई लेखक स्वंयमले प्रकाशन गर्नुभएको छ । दुई सय ६४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य सात सय ५० रुपियाँ रहेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.