साहित्यपोस्ट डट कम

साताकाे पुस्तक : विम्ब

साताकाे पुस्तक : विम्ब

विम्ब – सर्वज्ञ वाग्ले

लेखक, कवि सर्वज्ञ वाग्लेको कविता सङ्ग्रह हो ‘विम्ब’ । वाग्लेको कवितामा अस्तित्वको खोज, नोस्टाल्जिया, मानवीय मूल्य, भ्रष्टाचार दुराचार प्रतिको विमती पाइन्छ ।

”हुन त वाग्लेको परिचय एक सर्जकको रूपमा मात्रै पनि सीमित छैन ।” पुस्तकमा महेश पौड्याल लेख्नुहुन्छ, ”उनी एक कुशल सङ्गठक र साहित्यसेवी पनि हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजजस्तो विश्वव्यापी साहित्यिक संस्थामा विभिन्न दायित्व निर्वाह गर्दै उनी केन्द्रीय अध्यक्षसम्म बन्न सफल भए । उनको दूरदर्शी नेतृत्वमा यस संस्थालें अनेक मुकाम प्राप्त गरेको धेरैले बोध गरेका छन् । गैरआवासीय नेपाली समाजमा पनि अमेरिकाको उपाध्यक्षको रूपमा उनले लामो समय सेवा पुऱ्याएका छन्। विदेशमा, विशेष गरी अमेरिकामा कुनै पनि नेपाली अप्ठ्यारोमा परेको खण्डमा सम्झने पहिलो नाममध्येको एक सर्वज्ञ वाग्लेको हो। वाग्लेको परिचयको अर्को कडी भनेको कविको रूप हो । साहित्यका पारखीहरूले उनका फुटकर कविता विभिन्न माध्यममा लामो समयदेखि पढ्दै आइरहेकै छन्। अब भने ‘विम्ब’ कवितासंग्रह मार्फत उनी यस फाँटमा औपचारिक रूपमै प्रविष्ट हुँदैछन् । यस अर्थमा, उनलाई कविताको फाँटमा स्वागत पनि छ, र हार्दिक शुभमकाना पनि छ । ‘विम्ब’ भित्र विचरण गर्दा पाठकले वाग्लेका कविता मूलतः तीन विषयतिर बढी लक्षित भएको पाउनेछन्- पहिलो, अस्तित्वको खोजी, जसमा मान्छेले मान्छे हुनुको अर्थमा आफैंलाई सार्थक रूपमा उभ्याउन के र कस्ता आधार र मूल्यहरूको खोजी गरिरहेको छ, त्यसको परख गर्न सक्नेछन् । उनले चित्रण गरेको आस्तित्विक मान्छे सीमाहीन मान्छे हो, सार्विक मान्छे हो। ऊ कुनै निश्चित परिचयभित्र बाँधिएको पुरुष वा महिला होइन, अथवा नेपाली वा विदेशी होइन। ऊ केवल मान्छे हो, र यी कविताभित्र अटाएको स्वर कुनै पनि भूगोलको, कुनै पनि पहिचान बोकेको एउटा औसत मानवको सार्विक स्वर हो।”

त्यसैगरी पुस्तकमा सर्वज्ञ वाग्ले लेख्नुहुन्छ,”विदेश पसेपछि आफ्नो परिवार, समाज, देश, भाषा, साहित्य, संस्कृति र आफन्तको मायाले सताउँदो रहेछ । त्यसका बावजूद काम, संघर्ष र भाग,दौडले जीवनमा सोच्ने, सम्झिने र भलाकुसारी गर्ने काम त मैले भुसुक्कै बिर्सेछु । अहिले जीवन संघर्षका कथाहरू पछि फर्केर हेर्न मन लाग्छ । तथापि, पर्याप्त समय छैन अझै पनि । यो सन्सारमा साहित्य मन नपराउने मान्छे को होला ? वास्तवमा साहित्य भनेकै जीवन भोगाइको बारेमा रचना गरिएको एक विशेष गीत-संगीत सहितको काव्य हो जस्तो लाग्छ । जसलाई मनोरञ्जनात्मक हिसाबले मन र मुटुमा छुने गरी जीवित बनाइन्छ ।”

पुस्तकलाई शब्दमिडिया प्रा.लि साहित्यपोस्टले प्रकाशन गरेको छ । ४३ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.