बेचैन अभिलाषा – अम्बिका अर्याल
कवि अम्बिका अर्यालको कविता सङ्ग्रह हो ‘बेचैन अभिलाषा’ । कविले पुस्तकमा प्रकृति, समाज, संस्कृति, राजनीति, पे्रमप्रणय जस्ता क्षेत्रबाट प्रशस्त विम्ब र प्रतिक प्रयोग गरेर कविता लेख्नुभएको छ ।
”कविले आफ्ना कवितामा समाजको प्रतिविम्ब खिच्नुभएको छ ।” पुस्तकमा डिल्लीराम शर्मा सङ्ग्रौला लेख्नुहुन्छ, ”देखेको र भोगेको कुरालाई प्रत्यक्षीकरण गर्नुभएको छ। समाजको अस्त-व्यस्त परिस्थिति, पुरुषवादी सोच, अन्याय, अत्याचार, शोषण, बलात्कार, भ्रष्टाचार, असमानता, अनैतिक क्रियाकलाप, विद्रोह, अन्धविश्वास, आडम्बर, देखावटीपन आदिविरुद्ध आवाज उठाउनुभएको छ। त्यसरी नै प्रकृतिप्रति तादाम्यता, प्रेम (प्रणय), प्रिय-प्रेयसीप्रति विश्वास र समर्पण, कोरोना महामारीले दिएको दुःखकष्ट, आमाबुबाप्रति माया-ममता, बालमनोविज्ञान र विभिन्न चिन्तनयुक्त कविताहरूको सँगालो हो बेचैन अभिलाषा। यसभित्र रहेका कविताहरू तपाईं हामी सबैका भोगाइ र आवाज हुन् तर बुलन्द गर्नुभयो डा। अर्यालले। उहाँले पाठकको व्यस्ततालाई नजरन्दाज गर्दै समाजको हितार्थ कलम चलाउनुभएको छ । त्यही भएर कविताका आकारमा विविधता छ। लामा कविता भन्नाले त्यस्तो तीन चार पृष्ठका होइनन् । ती त्यस्तै तिस-चालिस पक्तिका छन् । समाजका विकृति, बेथिति र विसङ्गतिका डङ्गुरप्रतिको आक्रोश व्यक्त गर्नुपर्दा कविता लामा बनेका छन् तर ती स्वाभाविक देखिन्छन् । आयामले लामा देखिए पनि उहाँका कविता सुरु गरेपछि नसकी छाड्नै मन लाग्दैन। जति पढ्यो त्यति पढौँपढौँ लागिरहन्छ। उहाँले विषयक्रममा कवितालाई वर्गीकरण गरेर राखिदिनुभएको छ। अस्मिताको अग्नि, संस्कृतिको सङ्घार, प्राञ्जल प्रणय ।।।। यसले गर्दा पाठकलाई पढ्न र बुभन सजिलो भएको छ। यी उपशीर्षकहरूमा आलङ्कारिकता छ। विशेषगरी पहिलो वर्णको समान आवृत्ति (अस्मिताको अग्निमा अ वर्णको आवृत्ति, संस्कृतिको सङ्घारमा स वर्णको आवृत्ति आदि) ले अनुप्रासयुक्त बनाएको छ। कविताभित्र पनि यस्ता विम्ब, प्रतीक र अलङ्कारको भरपुर प्रयोग गरिएको छ।
त्यसैगरी पुस्तकमा मित्रमणि लेख्नुहुन्छ, अम्बिका अर्यालद्वारा लिखित कवितासङ्ग्रह बेचैन अभिलाषा नेपाली साहित्यमा नारीचेतना, सामाजिक विडम्बना, आत्म-सङ्घर्ष र समयको प्रतिबिम्बको सशक्त दस्तावेज हो। यस सङ्ग्रहका कवितामा भावनात्मक गहिराइ र विषयगत विविधता पाइन्छ । अर्यालले कवितामार्फत नारीलाई केवल सहनशील पात्र नभएर सङ्घर्षशील, विद्रोही र आत्मनिर्भर अस्तित्वका रूपमा उजागर गरेकी छन् । यस सङ्ग्रहमा जम्मा १२ वटा खण्ड छन् । नारी अस्मिता, संस्कृति, प्रेम, राजनीति, प्रकृति, महामारी, चिन्तन र आत्म-संवादजस्ता विविध पक्षलाई यसमा समेटिएको छ।”
पुस्तकलाई सङ्गम बुक्स पब्लिकेसन प्रा.लि.ले बजारमा ल्याएको छ । ११ खण्डमा रहेको कविता सङ्ग्रहको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।

