बल बहादुर दोस्रो विश्वयुद्धका जिउँदो युद्धबन्दी – मन खत्री ‘सागर’
लेखक मन खत्री ‘सागर’ले विश्वयुद्ध लडेको योद्धा बल बहादुरको जीवनीमा आधारित रहेर लेख्नुभएको पुस्तक हाे ‘बल बहादुर दोस्रो विश्वयुद्धका जिउँदो युद्धबन्दी’ ।
”बल बहादुर दाइ उतिबेला देखिनै शान्त र सरल स्वभावको मान्छे हुनुहुन्थ्यो ।” पुस्तकमा प्रशान्त ढकाल लेख्नुहुन्छ, ”कुनै कुराको पनि फ्याट्ट जवाफ नदिइहाल्ने तर सोचेर गहकिलो जवाफ फर्काउने बस्नेत दाइ रिसाएको, कसैसँग झगडा गरेर सभा कचहरिमा उभिएको र अड्डा अदालतमा धाएको मलाई कहिल्यै थाहा भएन । उहाँ लाहुरे हुँदा हामी सानै थियौं तर पनि हाम्रो जेठा दाजु कृष्ण प्रसाद ढकालको मिल्ने साथी भएको हुनाले र हाम्रो पसलमा आएर सामानहरु लगिरहने हुँदा हाम्रो सम्बन्ध सधैं प्रगाढ रहिरह्यो । उमेरमा आफूभन्दा लगभग सत्र वर्ष कान्छो भएपनि उहाँ र हाम्रो दाजु कृष्ण प्रसाद ढकाल एकआपसमा दौतरी जतिकै मिल्ने गर्नुहुन्थ्यो । २०११ शालमा पेन्सन आएपछि त उहाँ र हाम्रो सम्बन्ध झन नङ र मासु जत्तिकै भयो ।”
त्यसैगरी पुस्तकमा थमन बहादुर बस्नेत लेख्नुहुन्छ, ”अत्यन्तै सरल, सादा जीवन, उच्च विचार, लगनशील, मेहनती, समाजसेवी र निडर स्वभावका दोस्रो विश्वयुद्धका वीर योद्धा बुवा बल बहादुर बस्नेतको पुत्र भएर जन्मन पाउनु पनि मेरा लागि अहोभाग्य ठान्दछु । म जन्मेर थाहा पाउने भएपछि प्रायः म बुवाकै साथमा सुतें । साथमै रहेर लेक, बेंसी गरेर बुबासँगै प्राथमिक शिक्षा हासिल गरेँ । बुबाकै कारण देशभक्ति भावनाले ओतप्रोत भएर नेपाली सेनामा प्रवेश गरि उहाँको ज्ञान र उपदेशलाई शिरोपर गर्दै अधिकृतसम्म हुन पुगें । उमेरका कारण म रिटायर्ड भएँ तर म टायर्ड कहिल्यै भएको छैन । यो सब कुराको श्रेय बुबाकै हो । यो उहाँकै उच्च प्रेरणाबाट सम्भव भएको हो ।”
पुस्तकलाई लेखक स्वंयमले प्रकाशन गर्नुभएको छ । दुई सय २३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य व्यक्तिगत तीन सय र संस्थागत पाँच सय रुपियाँ रहेको छ ।

