कवि प्रिन्स प्रमोद कुमार ढकालको कविता सङ्ग्रह हो ‘अतितको डायरीबाट’ । पुस्तकमा कविले देश प्रेम, प्रकृति, मानवीय संवेदना संवेगहरुलाई सुन्दर तरिकाले प्रस्तुत गर्नुभएको छ ।
”अनुभव र अनुभूतिहरू समवेदनाको कोमल मार्ग हुँदै सलल बग्न थालेपछि कविताको जन्म हुन्छ ।” पुस्तकमा भरत गुरागाई ‘बर्बरिक’ लेख्नुहुन्छ, ”जब कविता जन्मिन्छ तब सम्पूर्ण संवेगहरू क्रमशः शिथिल हुँदै जान्छन् । वस्तुतः युगलाई सम्बोधन गर्दै सतीसाल बनेर निर्भिकतासाथ उभिन्छ कविता । मेरो साथी तथा सहयात्री प्रिन्स प्रमोद कुमार ढकाल सतीसाल जस्तै निर्भिक र बलिष्ठ कवि हुन् । सहयात्रा र अभियानको क्रममा मैले प्रिन्सलाई धेरै नजीकबाट देखेको र महसुस गरेको छु । मान्छेलाई हरपल प्रभावित गरिरहने अनेकौँ मानवीय मुद्धाहरू उनका कविताका विषय हुन् । मान्छेको मन, मुटु र मस्तिष्कलाई संवेगात्मक स्पर्श गर्दै अन्तर्यसम्म प्रवेश गर्न सक्नु उनको कविताको विशेषता हो । आफैंभित्र हराइरहेको व्यक्ति, कुसंस्कारले थलिएको समाज, अभावले छट्पटाइरहेको झुपडी, भ्रष्टाचार र कुशासनको जालोमा जकडिएको देश र कतिपय अन्तर्राष्ट्रिय परिवेशहरू प्रिन्सको कवितामा सजिलै प्रवेश गरेर स्रोता र पाठकलाई गम्भीरतापूर्वक सोच्न र धारणा निर्माण गर्न सहजीकरण गरेको भेटिन्छ । उनका कविताका विषयहरू कुनै काँडेतारको सीमाभित्र बन्दी हुन मान्दैनन् । प्रिन्सको अर्को विशेषता भनेको कविताका शब्दहरूलाई सम्पूर्ण न्याय गर्दै सुन्दर र शक्तिशाली वाचन गर्नु पनि हो ।”
त्यसैगरी पुस्तकमा बाबुराम पोखरेल लेख्नुहुन्छ, ”आत्मगत निजी अभिव्यक्तिका साथमा सामाजिक पर्यावरणको यथेष्ट प्रभाव साहित्यमा पर्ने हुँदा व्यक्ति अनुभूति सँगालेर रूप पक्ष, विचार पक्ष र साहित्यिक मूल्यप्रति सचेत हुँदै एउटा साहित्यकार सामाजिक समुन्नतिमा साहित्यको प्रभाव स्थापित गर्न तल्लिन हुन्छ । यसै विचारसँग मिल्दाजुल्दो रूपमा कवि प्रिन्स प्रमोद कुमार ढकाल ‘अतीतको डायरीबाट’ कवितासङ्ग्रहमा देखा परेका छन् । वर्तमान नेपाली समाजमा विद्यमान परिस्थितिप्रति असन्तोष व्यक्त गरेर व्यङ्ग्यात्मक र विद्रोही चेतका साथमा आफ्नो काव्यात्मक प्रस्तुति दिने कविका रूपमा प्रिन्स प्रमोद कुमार ढकाल यस कृतिमा देखिएका छन् । सहिष्णुताजन्य सद्भावका पक्षमा उनका कविता बोल्छन् र राष्ट्रोन्नतिको उज्यालोमा रमाउँछन् । उनका कवितामा आन्तरिक भावका रसिला उद्वेगहरू कलकलाउँदा छन् ।”
पुस्तकलाई विराट साहित्य सङ्गमले प्रकाशन गरेको छ । ५७ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।

