लेखक मन खत्री ‘सागर’को उपन्यास हो ‘अश्मी’ । अश्मीभित्र लैङ्गीक चेतना नारीवादी जीवन दर्शन, कुटिल परम्परावादी चिन्तन माथीको पर्दाफास समेटिएको पाइन्छ ।
”मन खत्री ‘सागर’ को ‘अश्मी’ उपन्यास प्रकाशित भएकोमा हार्दिक प्रसन्नता प्रकट गर्दछु ।” पुस्तकमा प्रा.डा जीवेन्द्र देव गिरी लेख्नुहुन्छ, ”भनिन्छ आजको युग उपन्यासको युग हो । यसले जीवनका अनेक पक्षलाई प्रकाशमा ल्याएर समाजलाई सही मार्गतिर दिग्दर्शन गर्दछ । त्यसैले उपन्यास लेखनप्रति आकर्षण बढीरहेको छ र उपन्यासहरु पनि लोकप्रिय भइरहेका छन् । उपन्यासकार खत्री पनि यही मार्गलाई पछ्याउँदै सामाजिक उपन्यासका माध्यमबाट समाजमा उज्यालो छर्न उद्यत देखिन्छन् । खास गरी नारी समस्याका अन्तरकुन्तरमा पसेर ती समस्याबाट छुटकारा दिलाउने चाहना उनले राखेको पाईन्छ । पौराणिक प्रसङ्गदेखि वर्तमानका घटनाहरुलाई खोतलेर नारीका पक्षमा बहस गरिएको यो उपन्यास नेपाली साहित्यको एक महत्वपूर्ण प्राप्ति हो । पुस्तक प्रकाशनको यस घडीमा म यसका लेखक मन खत्रीलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।”
त्यसैगरी पुस्तकमा देवेन्द्र खत्री लेख्नुहुन्छ, ”नारीप्रधान उपन्यास ‘पुस्पा’को सफल यात्रापछि ‘अश्मी’को यो यात्रामा लेखक तथा चञ्चल र जिज्ञासु स्वभावका मेरा विद्यार्थी मन खत्री ‘सागर’ अझ बढी सशक्त रूपमा अगाडि आएको मलाई महसुस भएको छ हरेक नारीहरू आफैंमा आमा हुन्, छोरी हुन्, सासू हुन्, बुहारी हुन् र कसैकी प्रेमी र दुलही पनि हुन् । सँगसँगै दुःख, सुख कोमलता र साहसका प्रतीक पनि हुन् । निश्चित समय, स्थान, परिस्थिति र उमेरमा हरेक व्यक्तिमा एक प्रकारको सोच पलाउनु आफैंमा नराम्रो कुरा होइन । त्यसमा पनि पूर्वीय दर्शनले त्यसलाई कसरी बचाउने, बढाउने र सुरक्षित राख्ने काम गरेको छ भन्ने कुरा लेखकले अश्मीमा पस्कने प्रयास गरेका छन । आमा र छोरीको सम्बन्ध, छोरीको आमाप्रतिको विश्वास, आमाले छोरीका पाइलै पिच्छे पुऱ्याउने ध्यान, माया, मोह, सम्मान र सत्कार अनि तिनै आमाहरू सासू बन्दा देखाउने प्रवृति र समग्र छोरी मान्छेहरुको सामाजिक परिवेशलाई अश्मीले उतार्ने प्रयास गरेको कुरा मलाई अनुभूति भएको छ ।”
पुस्तकलाई एसपी प्रकाशनले बजारमा ल्याएको हो । तीन सय एक पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।

