काठमाडौं । नेपाली साहित्यका चर्चित स्रष्टाद्वय सरुभक्त र कुमार नगरकोटी यतिबेला मुटुसम्बन्धी समस्याका कारण अस्पतालमा उपचाररत हुनुहुन्छ ।
वरिष्ठ साहित्यकार सरुभक्त काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत हुनुहुन्छ । गत साता स्वास्थ्य परीक्षणका क्रममा मुटुसम्बन्धी समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।
चिकित्सकका अनुसार सरुभक्तको मुटुका तीनवटा नलीमा अवरोध देखिएपछि उहाँको बाइपास शल्यक्रिया गरिएको हो । डा. अनुप भट्टराईसहितको चिकित्सक टोलीको संलग्नतामा सम्पन्न शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको बताइएको छ ।
यसैबीच, समकालीन नेपाली साहित्यका सशक्त हस्ताक्षर कुमार नगरकोटीलाई पनि मुटुसम्बन्धी समस्या देखिएपछि काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ । पारिवारिक स्रोतका अनुसार नगरकोटीको स्वास्थ्य अवस्था पनि सुधारोन्मुख छ र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
कथा, उपन्यास, निबन्ध तथा वैकल्पिक लेखनशैलीका कारण पाठकमाझ लोकप्रिय नगरकोटीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै साहित्यिक वृत्तबाट शुभेच्छा व्यक्त गर्ने क्रम जारी रहेको छ ।
‘पागलबस्ती’ जस्ता चर्चित कृतिका स्रष्टा सरुभक्त नेपाली साहित्यका अग्रणी आख्यानकारमध्ये एक मानिनुहुन्छ । त्यस्तै, कुमार नगरकोटीले आफ्नो विशिष्ट कल्पनाशील र प्रयोगशील लेखनमार्फत नेपाली साहित्यमा अलग पहिचान स्थापित गर्नुभएको छ ।
दुवै स्रष्टाको स्वास्थ्यलाभको कामना गर्दै साहित्यकार, पाठक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शुभेच्छा व्यक्त गरिरहेका छन् ।

