साहित्यपोस्ट डट कम

सरसफाइ अभियन्ता खेम शर्माद्वारा २४ डिजिटल पुस्तक सार्वजनिक

सरसफाइ अभियन्ता खेम शर्माद्वारा २४ डिजिटल पुस्तक सार्वजनिक

काठमाडौँ । सरसफाइ अभियन्ता तथा लेखक खेम शर्माले राष्ट्र निर्माणसम्बन्धी २४ वटा डिजिटल पुस्तक एकैपटक प्रकाशन गर्दै विश्व कीर्तिमान कायम गर्नुभएकाे छ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई विश्व रेकर्डको प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गर्नुभयाे ।

लामो समय अष्ट्रेलियामा बसोबास गरे पनि स्वदेशप्रेमले प्रेरित भई नेपाल फर्किएका शर्माले सरसफाइ अभियानबाट चिनिन थाल्नुभएकाे हाे । उहाँले एक दशकअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर सरसफाइको उदाहरण प्रस्तुत गर्नुभएकाे थियाे । त्यसपछि पशुपतिनाथ क्षेत्रलगायत विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गर्दै सामाजिक जागरणमा योगदान दिनुभएकाे छ ।

यसपटक भने उहाँले विचार र चिन्तनमार्फत देश निर्माणमा योगदान दिने उद्देश्यले २४ पुस्तक सार्वजनिक गर्नुभएकाे हाे । ‘रक्षा’, ‘गृह’, ‘परराष्ट्र’, ‘अर्थ’, ‘शिक्षा’, ‘स्वास्थ्य’, ‘ऊर्जा’, ‘सञ्चार’, ‘कृषि’लगायत मन्त्रालयगत शीर्षकमा आधारित यी पुस्तकहरूमा मुलुक विकासका नीतिगत तथा व्यावहारिक उपायहरू समेटिएका छन् । ती सबै पुस्तकमा कुल शब्दसंख्या छ लाखभन्दा बढी रहेको जनाइएको छ ।

कार्यक्रममा बोल्दै शर्माले राष्ट्र निर्माणका लागि स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभयाे । “विचारलाई संरचनामा, संरचनालाई संवादमा र संवादलाई राष्ट्र निर्माणमा बदल्नु नै मेरो उद्देश्य हो,” उहाँले भन्नुभयाे ।

उहाँले पुस्तक बिक्रीबाट प्राप्त हुने रोयल्टीको ५० प्रतिशत रकम ‘ज्ञान मञ्च’ निर्माणमा सहयोग गर्ने घोषणा पनि गर्नुभएकाे छ । साथै, प्रवासी नेपालीहरू केवल रेमिट्यान्सको स्रोत मात्र नभई ज्ञान, अनुभव र दृष्टिकोणका धनी रहेको उहाँको भनाइ थियो ।

आगामी दिनमा उहाँले नेपालका ७७ वटै जिल्लाको सम्भावना र विकास मार्गचित्र समेट्ने तथा विश्वभर रहेका गैरआवासीय नेपाली (NRN) बाट नेपालले सिक्न सक्ने विषयमा थप दुई पुस्तक प्रकाशन गर्ने योजना रहेको बताउनुभएकाे छ ।

कार्यक्रममा पुस्तकको समीक्षा गर्दै डा. सुरेश तिवारीले यी कृतिहरूलाई नेपालको समृद्धिका आधारशिला मान्न सकिने उल्लेख गर्नुभयाे । उहाँका अनुसार, पुस्तकमा समेटिएका विचारलाई व्यवहारमा उतार्न सके देश विकासका धेरै सम्भावना खुल्नेछन् ।

ट्याग: खेम शर्मा
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.