समयका तरङ्ग – प्रिन्स प्रमोद कुमार ढकाल
कवि प्रिन्स प्रमोद कुमार ढकालको कविता सङ्ग्रह हो ‘समयका तरङ्ग’ । कविता मार्फत कविले सामाजिक विकृति, विसङ्गति विरुद्ध आलोचनात्मक खबरदारी गर्नुभएको छ ।
”कवि प्रिन्स प्रमोद कुमार ढकालद्वारा लिखित ‘समयका तरङ्ग’ कवितासङ्ग्रह विषयगत अनेकता एवम् भावगत व्यापकतायुक्त कविताहरूको समष्टिगत रूप हो ।” पुस्तकमा प्रा.डा देवी नेपाल लेख्नुहुन्छ, ‘आमा’ कविताबाट सुरु भएर ‘राष्ट्रियता’ कवितामा पुगेर टुङ्गिएको यस सङ्ग्रहमा कविचेतनाको विविधतापूर्ण उपस्थिति देखिन्छ । यस सङ्ग्रहमा उहाँ कतै आमा, बा र अग्रजहरूको सम्मानमा नतमस्तक हुनुहुन्छ, कतै नयाँ वर्षमा नयाँ उत्साहको अपेक्षा गर्नुहुन्छ, कतै समाज, देश र विश्वमानवतासम्बन्धी समुन्नत चेतनाको अपेक्षा गर्नुहुन्छ, कतै जीवन बदल्न सक्ने कविताको चाहना राख्नुहुन्छ, कतै मान्छेका आन्तरिक चरित्र र बाहय व्यवहारका बिचको तालमेल खोज्नुहुन्छ, कतै जीवनको वास्तविक परिभाषाको खोजी गर्नुहुन्छ, कतै विकास, प्रेम, याचना, सपना, बिपना, वास्तविक जनता, कोरोना कहर, जीवन र जगत्माथि उठेका प्रश्न, भूकम्प आदि विषयमाथि तार्किक विमर्श प्रस्तुत गर्नुहुन्छ, कतै अनुभूतिले स्पर्श गरेका साना साना विषयमाथि पनि दार्शनिक दृष्टि पुऱ्याउनुहुन्छ भने कतै चाहिँ घर, धुवाँ, छिमेकी, फूल, ईश्वर, बन्दुक, नियत, नियति, रात, आगो, उचाइ, साबुन, युवा, नारी आदिजस्ता कुनै दृश्य र कुनै अनुमेय विषयहरूमाथि पनि कविदृष्टि पुऱ्याउनुहुन्छ ।”
त्यसैगरी पुस्तकमा प्रा.डा हेमनाथ पौडेल लेख्नुहुन्छ, ”प्रमोद ढकाल सकारात्मक विचार र सोच भएका कवि हुन् । उनमा सामाजिक परिवर्तनको आकाङ्क्षा र देशभक्तिको भावनाका साथै सिङ्गो समाज र राष्ट्रले भोग्नुपरेका पीडा र मानवीय जीवनका समस्याका बारेमा गहिरो चिन्ता र चासो रहेको देखिन्छ । यसै कारण उनले कतै सूक्ष्म र कतै स्थूल रूपमा समाजका त्यस्ता नमिल्दा पक्षको उद्घाटन गरी त्यसको आलोचना गरेका छन् । कविता-सङ्ग्रहको शीर्षकले सङ्केत गरेअनुसार वास्तवमा ‘समयका तरङ्ग’ नै हुन् यस सङ्ग्रहका कविता । यिनमा भावनाका उच्छालहरू छन् र ती उच्छाललाई कविले विचारमा ढालेर प्रस्तुत गरेका छन् अनि कविताको अन्तर्यमा भने समाजरूपान्तरणको चाहना लुकेको छ। यस कुरालाई पुष्टि गर्ने क्रममा ‘गत एवं नयाँ वर्ष’ शीर्षकको कवितालाई उदाहरणका रूपमा लिन सकिन्छ ।”
पुस्तकलाई विराट साहित्य सङ्गमले प्रकाशन गरेको छ । ७२ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।

