अक्षरैअक्षरमा : कणाद महर्षि
कवि कणाद महर्षिको कविता सङ्ग्रह हो ‘अक्षरैअक्षरमा’ । सङ्ग्रहभित्र मानवीयता, समाज, राष्ट्र, प्रकृति, माया प्रेमलाई नजिक बनाएको अक्षरहरु भेटिन्छन् ।
हूलमा अमृत
हूलमा मान्छे
समुद्रमा तरङ्ग
पागल किन रु
उन्मत्त छ
विचारले उत्तेजित छ
संयमले भने ऊ
तर असन्तुलित छ
हुरीसँग हुर्रिदै छ
वर्षासँग बबन्डर मच्चाउन थाल्यो
असिनाका डल्लाले
शिरमा थोप्लायोप्ली पार्याे
दुख्यो, दुखेन
आफैले भोगेपछि मात्र
थाहा पाउने कुरा पर्यो
असिना त पानीको गुच्चा न हो !
पग्लियो, निथ्रियो
तर पसिना भने कहिल्यै सुकेन
क्रम यसरी क्रमशः सङ्क्रमित हुँदै छ
यथावत् !
तर ऊ नियमित निष्क्रिय छैन
फूललाई सुँघ्छ
तर फूल अस्वस्थ छ, सुगन्ध आए पो !
शीतलाई सुमसुम्याउँछ
तव शीत बिटुलो भइसक्यो, शीतलता पाए पो !
अपसगुनको कुठाउँमा हुत्याइएपछि
आगो दन्किएको हेर्न मन पराउँछ,
न्यानो पाइन्थ्यो कि !
मनलाई नि ?
मनलाई भने मनसँगै
चङ्गाजस्तै चुँडिए पनि
अधीनहीन आकाशमा चराजस्तै उडाइदिन्छ
र ऊ सोच्छ
आखिर मन न हो !
तेरो पनि मन, मेरो पनि मन
जहाँ खस्नुपर्ने हो त्यहीं खसोस्
जहाँ जे फुटाउनुपर्ने हो – फुटाओस्
जहाँ जे लुटाउनुपर्ने हो- लुटाओस्
जहाँ जे जुटाउनुपर्ने हो- जुटाओस्
कौशलमय
समाजको निर्माण
साझा अमृत ।
पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएको छ । ६५ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय दश रुपियाँ रहेको छ ।

