नेपाली साहित्यमा पछिल्लो समय आख्यानको बजार तुलनात्मक रूपमा बढ्दो क्रममा देखिन्छ । सबै पुस्ताका मान्छे डिजिटल प्लाटफर्ममा व्यस्त रहँदारहँदै पनि यो वृद्धिले आशा जगाएको छ । यसै मेसोमा परदेशमा बसेर घरदेशका बारेमा निकै गहिराइमा विषयलाई छिचोलेर लेखिएको छ– ‘विरक्त बाटो’ । प्रकाश सापकोटाकृत प्रस्तुत उपन्यास शिखा बुक्समार्फत प्रकाशन भएको हो । शैक्षिक उन्नयन र आर्थिक समृद्धिका लागि थातथलो छाड्ने आम नेपाली युवाहरूको साझा सङ्घर्ष र भोग्नुपरेका पीडालाई यस कृतिले गहन ढङ्गले उतारेको छ । काल्पनिकतालाई यथार्थको लेपन गरेर नेपालीले पराइ भूमिमा बाध्यता र बेहोसीमा गरिएको सानो गल्तीले भोग्नुपनेका थप सङ्घर्षलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
युरोपको बसाइँ गर्दै विविध विधाका आधा दर्जन पुस्तक प्रकाशन गरिसकेका लेखक प्रकाश सापकोटाले । ‘विरक्त बाटो’ सापकोटाको दोस्रो उपन्यास कृति हो । हामीबिच परिचित सुन्दर ग्रामीण इलाकाबाट उच्च शिक्षा अध्ययन र अवसरका लागि शहर छिरेकी एउटी युवतीको कथा उनिएको कृति हो यो । इस्तानबुलबाट काठमाडौँ फर्कने क्रममा विमानस्थलमा लामो समयको ट्रान्जिटलाई समय कटनीमा ओइलाइरहेका अनुहारबाट कथावस्तु अगाडि बढेर फ्लासब्याक हुँदै टुङ्गिन्छ ।
सानी नानीसहित यात्रामा अलिनो अनुहार भएकी अस्मितासँग प्रकाशको भेट हुन्छ । यही भेटमा लेखकसमेत रहेका प्रकाशले आत्मीय भावसहितको व्यवहार गर्दा प्रभावित भई ‘कन्सेन्ट’ लिएर उसको कथा लेख्दा यो कृति तयार भएको छनक पाठकले पाउँछन् । यथार्थ र कल्पनाको सहज बुनोटले पाठकमा शुरूदेखि नै गहिरो करुणा जगाउँदै पठनलाई अगाडि बढाउन प्रेरित गरिरहन्छ । अस्मिताको शहरमा अवसरको खोजी गरिरहँदा भेटिएकी सोनियासँगको संवाददेखि पठाओ राइडर विनयसँगको परिचयले नै पाठकलाई अनौठो परिवेशमा अल्झाइरहन्छ ।
अस्मिता र विनयको अप्रत्यासित भेट र निरन्तरताको परिणाम खोजिरहन पाठक जति अघि बढ्छ उति प्रभावकारी हुँदै जान्छ । छोटा छोटा आकारका परिच्छेद विभाजनले पनि पठनमा सकारात्मक उत्प्रेरणाको काम गरेको देखिन्छ । विनयको विदेश यात्रा, उसैसँग अस्मिताको अप्रत्यासित प्रेम, विश्वास र व्यवहारबीच अस्मिता र उसका बुबा तथा अनुलाई पनि लेखकले आवश्यकीय जीवन्त भूमिका लेखकले दिएका छन् । उपस्थित सबै पात्रप्रति कहीँकतै लेखकीय अन्याय हुन नदिनु परिपक्व लेखनको नमुना हो । यस कुरामा लेखक शुरूदेखि अन्त्यसम्म संयमित छन् ।
विनय र अस्मिताको सहज प्रेमभावमा झाङ्गिएको विश्वासले एउटा सानो गल्ती हुन पुग्छ । अचानक हराएको विनयले उसलाई आत्महत्याको अवस्थासम्म पुर्याएको छ । झण्डै उस्तै प्रकृतिको सिकार बनेकी वनकालीकी साधिकाबाट उद्धार हुन्छ । उसले बाँच्न र भ्रूणलाई बचाउन उत्साह भरिदिएपछि बाबुले खोजिदिएको केटासँग विवाहको प्रस्तावलाई अगाडि बढाउन राजी हुन्छे । विदेशबाट विवाहका लागि आएको लोकेशसँग उसले खुलेर गरेको व्यवहारबाट आफ्नो सानो तर गम्भीर गल्ती लुक्ने आशामा समर्पित भइदिन्छे ।
कानूनी विवाह र वैदिक दुवै विवाहपछि अस्मिताका लागि सबै डकुमेन्ट तयार गरेर फर्केको लोकेश टाढिन पुग्छ । वैधानिक रूपमा शरीर सुम्पेर भ्रूणलाई लोकेशकै बनाउने सपनाबाट विछिप्त भएकी अस्मिता आफ्नी बहिनी अनुको प्रेम र दुर्घटनाको समेत दोषी बन्न पुग्छे । सबै कुराबाट आजित भइरहेका बेला स्वीडेन जाने संयोग अकस्मात् जुर्छ । युरोपमा व्यस्तताबीच लोग्ने लोकेश र उसको परिवारबाट खासै सकारात्मक व्यवहार नपाएकी अस्मिताको गर्भमा रहेको बच्चाका कारण पनि अप्ठ्यारामा फस्छे । अन्ततः डिएनए परीक्षणबाट लोकेशले मुक्ति पाएपछि अस्मिताको दुर्दिनहरू शुरू हुन्छन् ।
नेपालमा रहँदै भेटिएकी सोनिया, जर्मनबाट उहीँ स्वीडेन भेटिन्छे । ऊसँगको भेटपछिको कथाले पाठकलाई मजाले तानिरहन्छ । घरेलु हिंसा भोगिरहेकी अस्मितालाई सोनियाले खुब सहयोग गरी उद्धार गरिदिन्छे । यो उद्धारमा किन सोनियाले नि:स्वार्थ अहोरात्र सदाशयता देखाई भन्ने पाठकले कृतिबाट अनुमान लगाउन त्यति कठिनाइ हुँदैन ।
अतिशय कठिन दिनहरू भोगेर आफ्नी काखे बालकलाई लिएर नेपाल फर्कन गैरआवासीय नेपाली संस्थाले गरेको सहयोग अतुलनीय छ । यसबाट विदेशी भूमिमा नियम, काइदाकानून नबुझ्दा र संस्कारजन्य व्यवहारबाट हुने दुष्परिणामका सन्दर्भहरूले प्रवासमा नेपालीहरूले भोग्नुपर्ने समस्यालाई चित्रण गरिएको छ ।
प्रेम प्रणयभावमा मात्र सीमित हुन्न । कहिलेकाहीँ कठोर घृणामा रूपान्तरित हुन जान्छ । पत्रकारको भूमिकामा रहेको लोकेशकै आफन्ती भाइ अस्मिताकी बहिनी अनुलाई देखेपछि उसमा आएको व्यावहारिक परिवर्तन अनौठो छ । अन्तर्मुखी स्वभावको, खासै नबोल्ने, ज्यादै अल्छी ऊ चिया, खाना आदि बनाउने, गीत गुनगुनाउने, हँसीमजाक गर्ने जस्ता बहिर्मुखी बनेको छ । अन्ततः अनुलाई भगाएर लैजान्छ । यस क्रममा दुवैको सवारी दुर्घटना हुनु दुःखद छ ।
एकपछि अर्को समस्याको उल्झनमा रहेकी अस्मिता बि.पी. कोइरालाको चर्चित उपन्यासकी पात्र इन्द्रमायाको जीवन जस्तै हुन्छ । अस्मिताको जीवनमा पनि अनेक घुम्ती सँगसँगै आउँछन् । एकातिर विनय बेपत्ता भयो भने अर्को अनुले छाडेर गई । यस परिबन्धमा फसेकी अस्मिताले कठोर परिवेशको सामना गरेकी छे । यी सबैबाट मुक्ति पाएझैँ सोचेकी उसले युरोपमा पनि उस्तै कठिनाइको सामन गर्नुपरेकाले पनि ‘विरक्त बाटो’ शीर्षकले सार्थकता पाएको छ ।
उपन्यासको एउटा रमाइलो किस्सा छ । भनिन्छ, समाजमा जन्मने बच्चाको बाबु को हो भन्ने कुरा सत्य जन्माउने आमालाई मात्र थाहा हुन्छ । तर, यहाँ अस्मिताको गर्भमा रहेको बच्चा विनयको हो कि लोकेशको भन्नेमा स्वयम् ऊ नै अलमलमा छे । विनयसँगको आकर्षण र शारीरिक सम्बन्धलगत्तै बसेको गर्भ हो वा लोकेशसँग वैधतापूर्ण सम्बन्धबाट भएको होला भन्नेमा अस्मिताको अन्योलपूर्ण अवस्थाले पुष्टि गर्छ ।
उपन्यासकारले दुइटा तथ्यलाई खुला राखेका छन् । विनयको आकस्मिक अनुपस्थिति पाठकलाई अन्योलमा राख्छ । ऊ कहाँ गयो भन्नेमा कुनै चासो नराखी उपन्यासको अन्त्यमा अस्मितासँगै भेटिनु अनौठो लाग्छ । विनयको कथा जान्न चाहनेलाई लेखकले पुनः अर्को कृति जन्माउन सक्ने तथ्यको सङ्केत गरिदिएका छन् । यसरी पाठकको जिज्ञासाको शमन लेखकले गरिदिँदा पनि अन्योल उद्घाटित भएको छैन ।
अस्मिताको एक भूल नै उपन्यास घटनाको मूल हो । जसको परिणाम घरदेश र परदेश सबैतिर भोगिने एक्लोपन, छटपटी र स्वत्व खोजीको मार्मिक अभिलेखन हो । यसले समकालीन डायस्पोराको प्रतिनिधित्व पनि गरेको छ । परिपक्व लेखनशैलीले पाठकलाई अद्योपान्त बाँधिराख्न सफल छ । आइफोन, एप्पल वाच, सुनौला झुम्का आदि कुरा अधिकांश नेपालीको सपना, विदेश मोह र आर्थिक अवसरका आधारहरू बनेका छन् । समग्रमा, नेपाली साहित्य भण्डारका लागि पछिल्लो डायस्पोरिक समसामयिकताको कसीमा उपन्यासकार प्रकाश सापकोटाले उल्लेखनीय कृति दिएको कुरा प्रष्ट हुन्छ ।

