साहित्यपोस्ट डट कम

सन्तुलित जीवनको कुञ्जी

सन्तुलित जीवनको कुञ्जी

समयको अनिकालमा छौ । समयको भागदौडमा छौँ । आखिर यो समय के हो ?

समयले नै हो मानव जीवनलाई व्यवस्थित गर्ने । समयलाई साथी बनाए समयले शान्तिको अनुभव गराउँछ। सफलता र सौभाग्यको साँचो हो समय । म गम खाँदै थिएँ समयको सन्दर्भमा । हातमा थियो श्रीश भण्डारीको नवीनतमा कृति समय सूत्र ।

श्रीश भण्डारी भन्छन्, ‘प्रकृति नै समयको अन्त्यहीन नदी हो जसका थोपाथोपामा असङ्ख्य ब्रह्माण्डहरू बगिरहेका छन् ।’ मुस्कराउँछु दार्शनिक उत्तर सुनेर । लेखक पुनः समयलाई व्याख्या गर्छन्, ‘मन्दिरमा बलिरहेको अखण्डदीप जस्तै हो समय । यसबाट जसले जति चाहन्छ त्यति नै दियोहरू सल्काउन सक्छन् ।’ हृदय आनन्दी हुन्छ लेखकको चिन्तन र विचार पढेर ।

लेखक पुनः हावी हुन्छन्, ‘समयरूपी तारहरूले बनेको गीतारजस्तै हो जीवन । यसको सार्थकता औँलाहरू कति चलाइए भन्नेमा होइन कस्तो धून पैदा भयो भन्नेमा निर्भर गर्छ ।’

हठात् सोच्न विवश हुन्छु, मेरो जीवनरूपी गीतारबाट कस्तो धुन निस्किँदै छ ? मेरो औँलाहरूले सकारात्मक तारहरू भेटे कि भेटेनन् । आहा ! समय सुत्र पढ्दा मन दङ्गियो । निकै शान्त त ऊर्जावान भयो । गम्न थालेँ समय कति मूल्यवान रहेछ । हिसाबका अनेकौँ सूत्रहरू रटेर, घोकेर अङ्गणित, बिजगणित र ज्यामितीका अनेकौँ समस्या हल गरेर हुर्किएका हामीलाई हाम्रा शिक्षकले समय सूत्र किन सिकाएनन् ! मानव जीवनमा समयको नाइल नै देखेका बिमार आँखाले समयलाई कहिले पूजा गरेन । हामीले समयको इज्जत गर्नै जानेनौं । हामी यो धरामा निश्चित समयका लागि आएका छौँ तर हामी यसरी बाँच्छौँ कि हामीले मृत्युलाई पराजय गरिसकेका छौँ । वर्षलाई दिनमा भाग लगाएर हेर्यौं भनेँ हाम्रो होस पक्कै ठेगानमा आउँछ । हामीसँग जम्मा ३६,५०० दिन छ त्यो पनि यति हामी १०० वर्ष बाँच्यौँ भने । नत्र ७० वर्षको आयुलाई हिसाब गर्ने हो भने २५५२५ दिन मात्र छ हामीसँग । तर विमूढतालाई श्रीपेच बनाउँदै बाँचेका हामीलाई मानव जीवनको सीमाबोध छैन । समय सूत्रको ज्ञान नै छैन । कतिबेला उठ्ने, कतिबेला सुत्ने, कतिबेला खाने, कुनै नियम छैन । हामी समयलाई पनि पराजित गर्ने युद्धमा लागेका छौँ । समयलाई दास बनाउने असफल प्रयास गर्दै आएका छौँ । समयको चन्दन मस्तकमा लगाएर मस्त हुँदै जीवन उत्सवमय बनाउनु पर्नेमा समयलाई नै खोटो ठान्न पुग्छौं ।

भनिन्छ, २४ घण्टामा एक घण्टा हामी आफ्नोलागि समय छुट्याउनुपर्छ । एक घण्टाको निजी समयमा आफूलाई सुन्नु पर्छ । बुझ्न पर्छ र आफैँलाई नजिकबाट हेर्नुपर्छ । स्वलाई बोध गर्नुपर्छ । आफ्ना लागि खर्च गरिएको एक घण्टाले २३ घण्टा ऊर्जावान बन्छ तर एकघण्टा पनि आफूलाई दिननसक्ने व्यक्तिको २४ घन्टामा २४ घण्टै बर्बाद हुन्छ । श्रीश भण्डारीको समय सूत्र पढेपछि अझ छ्याङ्ग भएको छ समय सूत्र मानव जीवनको अमूल्य सम्पति रहेछ ।

तर बिडम्बना, समयलाई बुझ्न नसक्दा समयलाई नै धारे हात लगाउँछौँ । ‘समय नै अगतिलो चलेको छ ठान्छौं । मलाई समयले नै साथ दिँदैन । मेरो समय उल्टो बगेको छ । मेरो भाग्यमा राम्रो समय त लेखेकै छैन ।’ भन्दै समयरूपी सौभाग्य आफ्नै हातले निमोठेर बर्बाद गर्दैआएका छौँ । समयको कदर गर्नुपर्छ भन्ने कुराको त विचार नै गरेनौँ । समयको सङ्केत बुझ्ने कोशिश पनि गरेनौं । समयको हिसाब गर्न पनि जानेनौँ । समयको हिसाबलाई महत्त्व नै दिएनौँ ।

समयको अमूल्य सूत्रको ख्याल नै गरेनौँ ।

साहित्यले बेलाबेला सङ्केत गरेको छ तर समय सूत्रको बारेमा हामी अन्जान नै रहेछौँ । अझ भनौँ बेहोसीमै समयको हीरा हिलोमा मिल्काइरह्यौँ । समयको उचित सूत्र प्रयोग गरेर जीवनका अनेकौँ समस्याहरू समाधान गर्न सकिन्छ भन्ने सूत्र श्रीश भण्डारीले यो पुस्तकमा लेखेका छन् ।

समयको सूत्र नै नजानेर आज हामी विक्षिप्त हुँदै छौँ । जीवनको सरल हिसाव पनि नमिलेर अस्तव्यस्त हुँदै छौँ । समय त सबैभन्दा मूल्यवान हिसाब रहेछ । समय त अनमोल सम्पति रहेछ । जसले समयलाई बुझ्यो उसको भाग्य उदय भयो । प्रकृतिले हामी सबैलाई २४ घण्टाको समय दिएको छ तर त्यही समयमा कसैले कति धेरै काम गरेका छन् भने कसैले केही गर्न भ्याएका छैनन् । आजको भागदौडको दैनिकीमा प्रायःको मुखमा एउटै वाक्य मुखर हुँदैगएको छ ‘मसँग त समय नै छैन । म त भ्याउँदिनँ । के गर्नू मलाई त ४८ घण्टाको दिन भए पनि हुँने नि !’ मलाई त यस्तो लाग्छ, जसले समय सूत्रलाई आफ्नो जीवनमा प्रयोग गर्दैन उसलाई हजार वर्षको एक दिन दिए पनि उपलब्धि शून्य नै हुन्छ ।

आखिर के हो त समय सूत्र ? श्रीश भण्डारीले किन लेखे त यो कृति ?

हामीले बुझ्दै आएको समयको परिचय आखिर के हो ? दिन, रात, बार, गते, महिना वर्ष मात्र समय सूचक हो त ? समय घडीको सुईले देखाउने गति मात्र हो ? मलाई यस्तो लाग्छ दिन, रात, घडी पला हेर्ने चेतना नै हो होइन समय । समय त बोध पनि त हो । जब बोध हराउँछ समयको परिभाषाको के अर्थ ? समय परिभाषामा अटाउँदैन । समय दृश्य होइन दृष्टिकोण हो ।भनिन्छ, समय गतिशील छ । समयको रूप रङ्ग, आकार प्रकार हुन्छ र ! यसै पुस्तकको आवरणको कुनामा रागिनी उपाध्याय समयको बारे यसो भन्छिन्, ‘हरेक सेकेन्ड, हरेक मिनेट, हरेक घण्टा, दिन, महिना र वर्ष समयका आफ्नै खुट्टा छन् । जीवनचक्रका पदचापहरू बोक्दै ऊ निरन्तर अघि बढिरहेछ… समय शक्तिशाली छ । समय अनन्त छ । उसका मौन आँखाहरूले अपलक नियालिरहेकाछन् हामी प्रत्येकको जीवन यात्रा ।’

कविता पढेपछि झसङ्ग भएँ । समयलाई सतही रूपमा आँक्नु त भुल पो रहेछ । तर समयलाई त्यति सजिलै बुझ्न पनि त नसकिने रहेछ । समयको गन्तव्य कहाँ हो ? समय हिँड्छ कि हामी हिँड्छौँ ? हामीले भोगेको समय साँच्चै हराएकै हो त ? सामान्यरूपमा हेर्दा हाम्रो बाल्यकालको समय अहिले छैन । आखिर त्यो स्वर्णिम समय गयो त कता गयो ? म खोज्छु बितेको समय । स्मृतिमा सजीव भएर उदाउँछ मेरो बाल्यकाल, आफूले बिताएको युवाकाल तर यथार्थमा वर्तमान बनेर समय हाँस्छ । पार पाउन सक्दिनँ समयको चक्र । समयसँग गाँसिएका अनेक प्रश्न, चिन्तन, विचार, तर्क, ज्ञान र विज्ञानको सुन्दर कलेवरमा समय सूत्र सजिएको छ । समयलाई कसरी सौभाग्यको साधन बनाउने ? समय के हो, यसलाई कसरी उपयोग गर्ने ? भन्ने कुराको उत्तर भेटिन्छ यहाँ ।

भण्डारीले यो पुस्तकमा पूर्वीय र पाश्चात्य दुवै तरिकाबाट समयलाई नियालेका छन् । भौतिकशास्त्रका विद्यार्थीदेखि सर्वसाधारण जिज्ञासुहरूलाई पनि समयको व्यापकता र विशालतालाई बुझ्न मद्दत गर्छ । यो पुस्तकमा समयलाई ज्ञान, विज्ञान, दर्शन, कथाबाट बुद्धिवादी दृष्टिकोणले व्याख्या गरिएको छ। पुस्तक पढिसकेपछि यस्तो लाग्छ आजदेखि त म प्रत्येक पललाई सार्थक बनाउँछु । समयरूपी खजानालाई खराब पार्दिनँ । नियम बनाएर उठ्छु, सुत्छु, खान्छु । पाठकलाई प्रभाव छोड्न सफल छ पुस्तक । नेपाली भाषामा यो किसिमको पुस्तक पढ्दा बडो आनन्द लाग्छ । समयदर्शन, अनुशासित दैनिकी, सन्तुलित जीवन सङ्गीत सुन्न प्रेरित गर्ने पुस्तक छ । युवा पुस्तालाई समयको महत्त्व बुझाउन निकै उपयोगी हुने पक्का छ । हरेक घर, परिवार, विद्यालय तथा कार्यालयहरूमा यो पुस्तक राखिनुपर्छ ।

समयको रहस्यलाई उद्घाटित गरिएको छ । लेखकले वेद, उपनिषद्, पुराण, भागवत् गीताको विचारभूमिमा उभिएर समयको वैज्ञानिक र व्यवहारिक व्याख्या गरेका छन् । समयको व्याख्या त युगदेखि युगसम्मै हुने नै छ तर श्रीश भण्डारीले यति सरल र सुन्दर तरिकाले प्रस्तुत गरेका छन् कि हृदय बारम्बार भन्छ हार्दिकता प्रकट गर्छ ।

यो पुस्तक अनुसन्धानात्मक कृति हो भन्दा फरक नपर्ला । सन्दर्भ सामाग्रीहरूको सूचि पढ्दा श्रीश भण्डारीको अध्ययनको दायरा फराकिलो भएको आभास हुन्छ । जीवनभरको अभिन्न साथी र हरेक कर्मको निष्पक्ष साक्षी मानेका छन् समयलाई ।

समयको रहस्य, भौतिक समय, अनुभूत समय, जैविक समय, मनोवैज्ञानिक समय, समयको मूल्य, समय र सत्य, सहज समय- असहज समय, समयको सार्थकता, वर्तमानको मूल्य समय बाँकी छ ? समयदृष्टि, समयको अनिकाल, समयको मापन, समयको सदुपयोग, जीवन- व्यवस्थापन शीर्षकमार्फत समय सूत्रलाई बडो सुन्दर र उपयोगी तरिकाले लेखेका छन् ।

श्रीश भन्छन्, ‘समयलाई बुझ्नु र परेलीको डिलमा सिङ्गै सूर्य बोकेर हिँड्नु उस्तै हो । भौतिक समयलाई पाँच हजार वर्षअघिको नचिकेता र यमराजको संवादबाट बुझाएका छन् । कथाबाट प्रस्ट्याएका छन् संवादको अन्त्यमा यमराजले नचिकेतालाई भन्छन्, ‘आत्मा न जन्मिन्छ न मर्छ । यो कतैबाट आएको होइन । न यो कुनै विशेष व्यक्ति हो । यो अजर, शाश्वत र प्राचीन छ । शरीर नष्ट हुँदा पनि यो नष्ट हुँदैन ।’ कठोपनिषद्को कथाबाट भौतिक समयलाई व्याख्या गर्दै आधुनिक विज्ञानको झ्यालबाट देखाँछन् समयको रूप, ‘अल्बर्ट आइन्स्टाइनको विशेष सापेक्षतावादको सिद्धान्त र सामान्य सापेक्षतावादको सिद्धान्त आधुनिक भौतिकशास्त्रका आधारस्तम्भ हुन् जसले समय, स्थान,गति,गुरुत्वाकर्षण र ब्रह्माण्ड संरचनालाई बुझ्ने हाम्रो तरिकामा एक प्रकारको हलचल पैदा गरे। यधपि यी सीमारहीत छैनन् ।’ (पृष्ठ २१ )

समय सौन्दर्यलाई बुझ्दै गर्दा लेखक भन्छन् , ‘समय एउटा यस्तो ऐना हो जसमा हामी आफ्नै चेतनाका छायाहरू देखिरहेका हुन्छौँ ।’ चेतनाबिना भोगेको समय उपहार हैन उपहास बन्छ । मेरी १०५ वर्ष बाँचेकी हजुरी समयको चक्रवादमा फसेकी थिइन् थाहै थिएन उनलाई कुन समय चल्दैछ । उहाँ २०७५ सालमा भएर पनि १९८५ मै बाँच्नु भएको थियो । वर्तमान समय स्मरणमा थिएन । उहाँले जीवनको अन्तिम घडीमा आफ्नो बाल्यकाल र यौवनकाल मात्रै सम्झिनु भयो । जीवन कष्टमा हुँदा पनि स्मृतिमा युवाकालीन समय उज्यालो भएर बसिरह्यो ।

मलाई हजुरीको त्यो अवस्था देख्दा लाग्थ्यो चेतनाबिनाको समय त सजाएँ रहेछ । श्रीश भण्डारी लेख्छन्, ‘घडीको चाल वा परिवेशका परिवर्तनहरू आफैँमा अर्थहीन घटनाक्रम हुन् । ती घटनाक्रमलाई अर्थ दिने काम गर्छ हम्रो चेतनाले । आफूले अनुभव नै नगरेका, गरेका र गर्न बाँकी सबै घटना- शृङ्खलालाई हाम्रो चेतनाले स-साना खण्डहरूमा बाँडेर बुझ्ने गरेको छ – विगत, वर्मान र भविष्य । (पृष्ठ ३९ )

समय सूत्रमा समयका विविध आयामहरूलाई निकै वैज्ञानिक तरिकाले व्याख्या गरिएको छ । जीवनउपयोगी छ पुस्तक ।

साझा गर्नुहोस्:
अनिता कोइराला

लेखकको बारेमा

अनिता कोइराला

अनिता कोइराला साहित्यका सबैजसो विधामा कलम चलाउँछिन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.