काठमाडौं । कवि सन्तोषी पाण्डेको पहिलो कवितासङ्ग्रह ‘सुमेरण’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
कार्यक्रममा समालोचक प्रमोद प्रधान, विमल भौकाजी, कवि सन्तोषीकी माताश्री देउसदा पाण्डे, पवनजङ्ग पाण्डे तथा भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली लगायतको उपस्थिति रहेको थियो । मञ्चासिन अतिथिहरूद्वारा कृतिको सामूहिक लोकार्पण गरिएको हो ।
कृतिमाथि समालोचनात्मक टिप्पणी गर्दै प्रमोद प्रधानले कविता केवल शब्द संयोजन नभई संवेदना र अनुभूतिलाई अभिव्यक्त गर्ने सशक्त माध्यम भएको उल्लेख गर्नुभयाे । उहाँले सन्तोषीका कवितामा कवि चेतना प्रबल रहेको र सङ्ग्रहका ३१ वटै कविता प्रतिस्पर्धी स्तरका रहेको धारणा राख्नुभयाे । साथै, उहाँले कविलाई अग्रज साहित्यकारका कृतिहरू अध्ययन गर्न सुझाव दिनुभएकाे थियाे ।
सभापति राधेश्याम लेकालीले नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउन कृतिहरू प्रकाशनअघि सुदृढ सम्पादन आवश्यक हुने बताउँदै कृतिका सम्पादक विमल भौकाजीको भूमिकाको प्रशंसा गर्नुभयाे । उहाँले सन्तोषीका कविताहरू समय सापेक्ष र अनुभूतिप्रधान रहेको उल्लेख गर्नुभयाे ।
सम्पादक विमल भौकाजीले कृति सम्पादनका क्रममा कविताभित्रको भावनालाई आत्मसात गरेको बताउनुभयाे । उहाँले पहिलो कृति भए पनि सन्तोषीका कवितामा आवश्यक साहित्यिक गुणहरू विद्यमान रहेको बताउनुभयाे ।
कवि सन्तोषी पाण्डेले ‘सुमेरण’ आफ्नो जीवनसँग गहिरो रूपमा जोडिएको भावनात्मक नाम भएको बताउँदै कृतिभित्रका अनुभूति, पीडा, आशा र विश्वास आफ्नै जीवनका उतारचढावबाट जन्मिएको उल्लेख गर्नुभयाे । उहाँले ‘अमिट स्मृति’ शीर्षक कविता वाचन गर्दै दिवङ्गत दाजुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयाे ।
कार्यक्रममा कवि तथा गीतकार सुमन थापा ले ‘कविताको जन्म’ शीर्षक कविता वाचन गर्नुभएकाे थियाे । प्रकाशक केशव पराजुलीले पहिलो कृति भए पनि पठनीय र सशक्त भएकाले प्रकाशन गरिएको बताउनुभयाे । कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्की, राजेश खनाल, श्रीराम राई, शिवप्रसाद भट्टराई, जीवन श्रेष्ठलगायत साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा राधेश्याम लेकाली को सभापतित्व रहेको थियो । कार्यक्रमको सञ्चालन सुभाष चन्द्र पौडेल ले गर्नुभएकाे थियाे ।

