१. जिन्दगी
तिम्रो हाँसोसँगै त्यो अबोध रुवाइ
सृष्टि बधाई दिँदै थियो
चेतनाभित्र भएका अनेक कोतपर्वहरू
प्रेम, ममता, विश्वास र भरोसा
छरपस्ट भुइँमा ढलेका
सृष्टिकर्ता बुझ्न नसकी मौन रहँदा
सत्य लड्खडाउँदै
उठ्ने प्रयास गर्दै थियो ।
जिन्दगी – २
अपरिचित छ
बाँधिएको छ
नजरमा झुटो छ
नक्सा भुलेको छ
यात्रामा अल्मलिएको छ
सँगै हिँडेका यात्री
सास र आस पनि
धोकेबाज बन्न सक्छन्
कथा, कथाजस्तै छ
पात्र पनि कथाजस्तै छ ।
जिन्दगी – ३
हाँसेर
पीडा लुकाउनुको आनन्द
बेग्लै हुँदो रहेछ
कथामा त
सीताको पवित्रता
त्याग र समर्पण
रामले पनि त बुझेनन् ।

