मेरा प्रिय गुरु श्री तुलसीनाथ ढकाल,
“गुरुले दिएको ज्ञान कहिल्यै सकिँदैन, बरु पुस्तौँसम्म ब्याजसहित बढ्दै जान्छ ।”
यो भनाइ मेरो जीवनमा अक्षरशः लागू हुने हो भने त्यसका सत्पात्र हुनुहुन्छ—आदरणीय तुलसीनाथ ढकाल ।
विद्यालय जीवनमा धेरै शिक्षकहरू भेटिए, धेरै विषय पढाइए, धेरै पाठ सम्झिए र धेरै परीक्षा दिएँ । तर समयको आँधीले धेरै कुरा बगायो, एउटा कुरा भने अझै मनको मन्दिरमा दीपझैँ बलिरहेको छ—पर्वत कुस्मास्थित नारायण माध्यमिक विद्यालयमा तुलसीनाथ गुरुको नेपाली भाषा पढाउने अद्भुत शैली । उहाँले हामीलाई नेपाली विषय मात्र पढाउनुभएन; उहाँले शब्दलाई श्वास दिनुभयो, भाषालाई भावना दिनुभयो र लेखनलाई जीवन दिनुभयो ।
नेपाली उखान छ—“मीठो बोलीले ढुङ्गा पनि पग्लिन्छ ।” गुरुको बोली त्यस्तै थियो । उहाँको कक्षामा घण्टी बज्नेबित्तिकै हामी पाठ्यपुस्तक होइन, एउटा नयाँ संसारमा प्रवेश गर्थ्यौं । उहाँ पाठ शुरू गर्नुहुन्नथ्यो, एउटा कथा सुनाउनुहुन्थ्यो । कहिले कुनै लोककथा, कहिले ऐतिहासिक प्रसंग, कहिले कुनै पौराणिक कथा, त कहिले आफ्नै जीवनको अनुभूति । कथा सुन्दै–सुन्दै हामी व्याकरण, अलंकार, छन्द, उखान, टुक्का, निबन्ध र कविता सिकिसकेका हुन्थ्यौँ । त्यसैले उहाँको कक्षामा पढाइ कम, जीवनको उत्सव बढी लाग्थ्यो ।
गुरु भन्नुहुन्थ्यो—“भाषा मानिसको अनुहार हो, व्याकरण त्यसको ऐना हो । यो वाक्य आज पनि मेरो मनमा अक्षरझैँ कुँदिएको छ । उहाँले सधैं शुद्ध वाक्य निर्माण गर्न सिकाउनुहुन्थ्यो । एउटा अल्पविरामको महत्त्व, एउटा पूर्णविरामको आवश्यकता, एउटा शब्दको उचित प्रयोग र एउटा वाक्यको सौन्दर्य कति ठूलो हुन्छ भन्ने कुरा उहाँ अत्यन्त सरल तर प्रभावकारी शैलीमा बुझाउनुहुन्थ्यो । “बोली मीठो भए बाटो खुल्छ”, भन्ने उखान उहाँको शिक्षणको मूल मन्त्र जस्तै थियो ।
उहाँको कक्षामा व्याकरण कुनै बोझिलो नियम थिएन; त्यो त भाषाको संगीत थियो । कविता केवल कण्ठ गर्ने विषय थिएन; त्यो त अनुभूति थियो । निबन्ध केवल परीक्षा पास गर्ने माध्यम थिएन; त्यो त विचार व्यक्त गर्ने कला थियो । उहाँले हामीलाई लेख्न सिकाउँदा भन्नुहुन्थ्यो—“लेखाइमा शब्द होइन, आत्मा बोल्नुपर्छ ।” आज जब म कलम समाउँछु, उहाँका ती शब्दहरू कानमा गुञ्जिरहन्छन् ।
तुलसीनाथ गुरु आफैँ बहुआयामिक प्रतिभाका धनी हुनुहुन्थ्यो । उहाँ नेपाली साहित्यका प्रेमी, संस्कृत भाषाका ज्ञाता, पौराणिक ग्रन्थका अध्येता, कवि र भाषाका साधक हुनुहुन्थ्यो । उहाँलाई हेर्दा लाग्थ्यो, फल लागेको रूख सधैं झुक्छ । यति धेरै ज्ञान भएर पनि उहाँमा अहंकारको कुनै छाया थिएन । उहाँको विनम्रता उहाँको विद्वत्ताभन्दा अझ ठूलो थियो ।
गुरुले हामीलाई केवल पढ्न मात्र होइन, पढेर सोच्न सिकाउनुभयो । केवल लेख्न होइन, भावनासहित लेख्न सिकाउनुभयो । केवल बोल्न होइन, मर्यादित र प्रभावकारी रूपमा बोल्न सिकाउनुभयो । केवल सुन्न होइन, धैर्यपूर्वक बुझेर सुन्न सिकाउनुभयो । आज शिक्षा जगतले Reading, Writing, Speaking and Listening Skills लाई विशेष महत्त्व दिन्छ । तर हामीले त ती सबै सीप वर्षौं अघि उहाँकै कक्षामा अभ्यास गरिसकेका थियौँ ।
उहाँको शिक्षण शैलीमा रूपक थियो, उपमा थियो, अनुप्रास थियो, व्यञ्जना थियो । उहाँ भन्नुहुन्थ्यो—“शब्दहरू बीउ हुन्, राम्रो बीउ रोप्यौ भने राम्रो विचार उम्रिन्छ, राम्रो विचार उम्रियो भने राम्रो समाज बन्छ ।” यो केवल शिक्षण होइन; यो त राष्ट्र निर्माणको दर्शन थियो ।
मलाई अझै सम्झना छ, कुनै विद्यार्थीले कमजोर लेख्यो भने उहाँ कहिल्यै निराश बनाउनुहुन्नथ्यो । उहाँ भन्नुहुन्थ्यो—“घाम नलागेसम्म सुन पनि चम्कँदैन, अभ्यास नगरेसम्म प्रतिभा पनि खुल्दैन ।” यही प्रोत्साहनले धेरै विद्यार्थीमा आत्मविश्वास जगायो । उहाँले गल्तीलाई कमजोरी होइन, सिकाइको पहिलो खुड्किलो मान्नुहुन्थ्यो ।
उहाँका कक्षामा हाँसो थियो, हास्य थियो, साहित्य थियो, संस्कार थियो, उत्सुकता, करुणा र सिर्जना थियो । उहाँले हामीलाई रटाउने होइन, जगाउने काम गर्नुभयो । उहाँले उत्तरहरू दिनुभएन; प्रश्न गर्न सिकाउनुभयो । उहाँले किताब पढ्न सिकाउनुभएन; जीवन पढ्न सिकाउनुभयो ।
आजको समयमा कृत्रिम बुद्धिमत्ता, इन्टरनेट र प्रविधिले ज्ञान सजिलै उपलब्ध गराएको छ । तर एउटा प्रश्न अझै बाँकी छ—ज्ञानलाई विवेकमा रूपान्तरण गर्ने शिक्षक कहाँ पाइन्छ ? तुलसीनाथ गुरु त्यही दुर्लभ शिक्षक हुनुहुन्थ्यो । उहाँले जानकारी होइन, प्रेरणा दिनुभयो । पाठ होइन, दृष्टि दिनुभयो । भाषा होइन, संस्कार दिनुभयो ।
आज म जीवनको जुनसुकै क्षेत्रमा लेख्छु, बोल्छु वा कुनै विचार व्यक्त गर्छु, त्यसको आधारमा उहाँले राखिदिनुभएको भाषाको जग अझै मजबुत भएर उभिएको छ । यदि मेरो लेखाइमा केही मिठास छ भने त्यो उहाँको शिक्षाको सुगन्ध हो । यदि मेरो भाषामा केही शुद्धता छ भने त्यो उहाँको व्याकरणप्रतिको अनुशासनको प्रतिफल हो । यदि मेरो विचारमा केही गहिराइ छ भने त्यो उहाँले सुनाउनुभएका कथाहरूको प्रभाव हो ।
आजका शिक्षकहरूलाई म तुलसीनाथ गुरुबाट एउटा पाठ सिक्न आग्रह गर्न चाहन्छु—पाठ्यपुस्तकभन्दा विद्यार्थीको मन खोल्नुहोस् । व्याकरण सिकाउनुहोस्, तर त्यससँगै विचार पनि सिकाउनुहोस् । भाषा सिकाउनुहोस्, तर त्यससँगै संस्कार पनि सिकाउनुहोस् । अनि विद्यार्थीहरूलाई भन्न चाहन्छु—यदि तपाईंको जीवनमा एउटा असल भाषा शिक्षक भेटिएका छन् भने, तपाईंले अभिव्यक्तिको अमूल्य सम्पत्ति पाउनुभएको छ ।
अन्त्यमा, मेरा आदरणीय गुरु तुलसीनाथ ढकालज्यूलाई समर्पित गर्दै केही शब्द—
उहाँ शब्दका शिक्षक होइन, शब्दका शिल्पी हुनुहुन्थ्यो ।
उहाँ व्याकरणका अध्यापक होइन, अभिव्यक्तिका अभियन्ता हुनुहुन्थ्यो ।
उहाँ कविता पढाउने गुरु होइन, जीवनलाई कविता बनाउन सिकाउने मार्गदर्शक हुनुहुन्थ्यो ।
उहाँले हामीलाई कलम समाउन सिकाउनुभयो,
तर त्यसभन्दा ठूलो कुरा—कलमलाई सत्य, सौन्दर्य र संस्कारको पक्षमा चलाउन सिकाउनुभयो ।
आज पनि उहाँका प्रत्येक शब्द, प्रत्येक कथा, प्रत्येक कविता र प्रत्येक सुझाव मेरो मनको पानामा ताजा छन् । समयले धेरै कुरा परिवर्तन गर्यो, तर गुरुले रोपेको ज्ञानको बिरुवा समयसँगै झन् विशाल वटवृक्ष बनेको छ ।
हजुरप्रति हार्दिक श्रद्धा सुमन ।
रामकृष्ण शर्मा


