साहित्यपोस्ट डट कम

संस्करण: प्रिन्टमेकिङ कलाहरू

संस्करण: प्रिन्टमेकिङ कलाहरू

गत ३० जनवरीमा काठमाडौँ आर्ट ग्यालरीमा रहरलाग्दा कलाहरू प्रदर्शनमा आए । प्रिन्ट मेकिङका यी कलाहरू आगामी ११ फेब्रुअरीसम्म प्रदर्शनमा रहनेछन् । आकार–मूलक अमूर्तता यसको स्वरूप हुँदा पनि यी चित्रहरू निक्कै नै आकर्षक देखिन्थे । हिजोआज यसलाई निश्चित प्रतीकात्मक बिम्बको रूपमा पनि हेर्ने गरिन्छ । कलाहरू चाहिँ यथार्थ रूपमा देखिन्छन् । तापनि यथार्थता हुँदै गर्दा पनि यसले गहिरो अर्थ भने बोक्ने गर्दछ ।

जस्तो कि यी कलाकारहरू कै कथनमा पनि गजबको दृष्टिलाई अवलम्बन गरिएको छ । यी कलाकारहरू भन्छन् – हामी कसरी सोच्छौँ?, अनुभव के गर्दछौँ? अनि हाम्रो समग्रमा के भाष्य बन्दै जान्छ । यसैलाई नजिकमा ल्याउन नै स्पेसको निर्माण गर्न खोज्दैछौँ । यसैले यो मात्र प्रिन्ट होइन यो एउटा हाम्रो आफ्नै कल्पना अनि आजको यथार्थ बीचको रेखाहरू पनि हो ।

यिनै कलाकारहरूको सोच र भाष्य नै अनेक रूपमा यी कलाहरूमा प्रतिविम्बित भएको देखिन्छ । अनि यो कला प्रदर्शनीको नाम चाहिँ संस्करण राखिएको रहेछ । नेपालमा पहिले–पहिले यस्ता आधुनिक स्वरूपका प्रिन्ट कलाहरू प्रदर्शनमा आउने प्रचलन थिएन । तापनि विशेष गरेर कपडामा बुट्टा हाल्ने गर्दथे । यो रूप चाहिँ प्रिन्ट गरेर गरिन्थ्यो । यो काठको ब्लकबाट गरिन्थ्यो । हिजोआज यसलाई उडकट भन्ने चलन छ । यस्ता यस्तै कला चाहिँ आज पनि प्रशस्त प्रयोग भएको पाइन्छ । यो प्रचलन सदियौँदेखि हाम्रै आफ्नै संस्कृति किँवा संस्कार मै आबद्ध भएर देखा पर्दै आएको इतिहास पनि छ ।

विशेष गरेर भेषभूषामा यस्ता कलाहरू प्रिन्टको रूपमा देखिन्थ्यो । अनि लोक–कलामा, धार्मिक–कलामा आवश्यक हुने सामग्रीहरूमा पनि यस्ता प्रिन्ट कलाहरू देखिन्थ्यो । यसबाहेक यसलाई हस्तकलाको रूपमा पनि यसको यथेष्ट मात्रामा प्रयोग भएको पाइन्थ्यो । त्यस बखत सिर्जनात्मक कलाको रूपमा यसलाई प्रयोगमा ल्याइएन । यसो हुँदा पनि यो बढी जसो उपयोगी वस्तुको रूपमा हामीबिच गाँसिँदै आएको कला बन्न गयो । तर यसैलाई आधुनिक कलाको रूपमा भने यता पछि ईसाको ६० को उत्तरकालमा मात्र देखा परेको हो ।

हिजोआज यस्ता प्रिन्ट कलालाई परम्परागत टेक्निकमा मात्र होइन नितान्त नयाँ प्रविधि अर्थात् प्रयोगात्मक रूपमा पनि प्रयोगमा ल्याइन्छ । आज चाहिँ यसलाई सिर्जनशील कलाको रूपमा हेरिने हुँदा मिक्समिडियामा समेत यस्ता कलाहरू देखिन थालेको छ । हिजो आज प्रिन्ट गर्ने मात्र होइन । प्रिन्ट भइसकेका सतहमा थप अनेक रङ्गहरूले भर्ने प्रचलन पनि तीव्र रूपले बढ्दै गएको छ । कोलाज वा एसेम्बल नामकरण गरिएका यस्ता कलाहरू भाव अभिव्यक्तिका साथ आजका कलाकारका लागि मन पर्ने माध्यम बनेको छ । आज विश्वमै देखा परिरहेको दर्जनौँ नयाँ नयाँ टेक्निकहरूलाई सिकाउने प्रचलन त नेपालमा पनि भित्रिसकेको छ । नेपालमा यस्ता सिर्जनात्मक कलाको रूपमा चाहिँ यता सन् साठीको उत्तरार्ध देखि मात्र सुरु भएको हो । जब कलाकारहरू नेपाल बाहिर गई कलामा अध्ययन गर्न थाले । कलाको पश्चिमी प्रविधि र प्रवृत्तिलाई अध्ययन गर्न थाले । यसै बखत यस्ता प्रिन्ट कलालाई पनि अध्ययन गर्न थाले । अनि यसैलाई सिर्जनात्मक रूपमा बनाउन थालिएको हो । यस्ता प्रिन्ट कलालाई सर्वप्रथम नेपालमा अमूर्त स्वरूपमा भित्राउने पहिलो महिला कलाकार उर्मिला उपाध्याय गर्ग हुन् ।

हिजोआज यस्ता कलाहरूलाई एक महत्त्वपूर्ण विधाको रूपमा हेर्ने अनि प्रदर्शन गर्ने पनि चलन बनिसकेको छ । यस्ता कलाहरू सिर्जना गर्ने कलाकारको जमात पनि निक्कै ठूलो छ । कलाका स्कुल, क्याम्पसमा समेत यो कलालाई पाठ्यक्रममा राखिएको छ । अनि एक प्रमुख विधाको रूपमा यसलाई संलग्न गरिएको छ । यसर्थ पनि कलाका विद्यार्थीहरूलाई यो कलाको विधामा पस्नै पर्ने हुन्छ । अहिलेको यो कला प्रदर्शनी पनि केयू कला सङ्कायका विद्यार्थी कलाकारहरू कै काम हो । समय लगाएर अनुशासनबद्ध भएर यो प्रविधिमा पस्न निक्कै नै मिहिनेत गर्नु पर्ने हुन्छ । यसका प्रविधि अलिकति जटिल छ । यसो हुँदा प्रविधिमा मात्र दक्ष भएर पुग्दैन अनि प्रविधि र भाव अभिव्यञ्जनालाई मिलाएर लान पर्ने पनि हुन्छ । शिल्प दक्षता पनि कुशल हुन आवश्यक छ । यसो भएकोले गर्दा पनि राम्रा राम्रा कलाकारहरू देखा पर्न थालेका हुन् । अहिले प्रदर्शनमा आएका सबै जसो कलाहरू अव्वल देखिन्छन् । सबैजसोको चित्रपटमा सबल शक्तिशाली रेखाहरू निर्धक्क कुदिरहेको देखिनु यो कला प्रदर्शनीको विशेषता नै देखिन्छ ।

कला मार्फत विचारको पनि आदानप्रदान समुदायको अन्तरात्माको अगाध लोकाचारको प्रतीकात्मक बिम्बको रूपमा हेरिएको यो कला प्रदर्शनीमा यस्तायस्तै भावनात्मक कलाहरूले भरिएको देखिन्छ । यसो हुँदा पनि यी कलाहरू यथार्थ र कल्पना बीच समागमन हुँदै अगाडि बढेको अर्थमा देखा परेको छ । आयोजककै अनुसार पनि यो कला प्रदर्शनी एक अर्काका विचारहरू साटासाट गर्न अनुकूलता प्रदान गर्दछ । छलफलको वातावरण बनाउँछ । अनि नितान्त व्यक्तिगत अनुभवहरू साथै सामूहिक संस्कृतिलाई पनि अवलम्बन गरिन्छ । यो स्पेस यसैको लागि बनाइएको आयोजक बताउने गर्दछन् ।

यसैले यो मात्र कला प्रदर्शनीको रूपमा होइन विद्यार्थी कलाकारलाई भावकसँगको सामिप्यमा रहन वातावरण सिर्जना गर्दछ । अनि अन्तर्क्रियाका साथ बाह्य संसारसँगको मिलनको रूपमा पनि हेरेको आयोजकहरू बताउने गर्दछन् । पहिचानको सन्दर्भ पनि यसले जोड्ने गर्दछ । यी कलागत प्रक्रियामा आबद्ध हुनु अनि आम जनता पनि यस्ता कलामा संलग्न रहने गर्दछ । आम मान्छेका अवस्थालाई पनि कलामा समावेश गरिने हुन्छ । यसर्थ यस्ता कलाहरू परम्परा भन्दा अलिक अलग्गै पनि देखिन्छ । यो अहिले विश्वमा प्रचलनमा रहेको सर्व नवीन कला प्रवृत्ति पनि हो ।

गहन अध्ययन अनि प्रशस्त मात्रामा मिहिनेत गरिएको देखिने यी कलाहरू शिल्प दक्षताको हिसाबमा त अव्वल छँदैछ । अझ यसले नवयुवा कलाकारहरूले सोच्दै गरेको परिकल्पनालाई समेत कलामा उतारेका छन् । यी कलाहरू सफा सुग्घर अनि सुन्दर देखिन्छन् । बढी जसो श्वेत श्याम या मोनोक्रोम रङ्ग–संयोजन देखिनु यो कला प्रदर्शनीको विशेषता नै हो । चित्रपटमा बढी रेखाहरू चलमलाउनु अनि यसैको बाहुल्य देखिनु पनि यसको अर्को विशेषता देखिन्छ । यसर्थ पनि यी कलाहरू वास्तवमा साधारण छन् । सरल अनि सहज छन् । यसैले गर्दा पनि यसलाई अवलोकन गर्न भावकहरू मुग्ध भएका देखिन्छन् । आम मान्छे पनि आजका यी कलाकारहरू समाजलाई कसरी हेरिरहेका छन् भन्ने कुरा पनि यथेष्ट मात्रामा अनुभव गरिरहेका देखिन्छन् ।

कलाको एउटा निश्चित धार खासमा भन्ने हो भने यो केयूको यो कलाको निकायले शुभारम्भ देखिनै एउटा अलग्गै कलागत स्कुलिङको प्रारम्भ पनि गरिसकेको छ । आफ्नैपनको एक अलग्गै कलागत विशेषता, मान्यता प्रस्तुत हुन गराउन विश्वमै हरेक कलाका यस्ता स्कुलहरूमा निश्चित स्वरूपमा विकास गर्ने प्रचलन छ । बाहिरका कला स्कुलको यसकारण पनि अलग महत्त्व हुने गर्दछन् । नेपालमा चाहिँ केयूले यसैको थालनी गरेका हुन् । यसकारण पनि यहाँका विद्यार्थी कलाकारको कसैको कला पनि कलाको निश्चित धारमै बसेका देखिन्छन् ।

यस कला प्रदर्शनीमा सहभागी भएका कलाकारहरूमा आर्या उदास, गगन कुमार ज्यापु, समिप लिम्बू, श्रीनिधि खड्का, सस्मिता साख, सुधा पौडेल, इभा केसी, पलिस्था महर्जन, दिभास वज्राचार्य, दोर्जे छिरिङ शेर्पा थिए ।

अब अलिकति कलाका कुराहरू आर्याले ड्राइ पोइन्टमा बनाएको भुन्टु नामक चित्र बाल–सुलभ मनको प्रतिविम्ब देखिन्छ । जनावर मार्फत बालबालिकाको भावनालाई प्रकटन गर्ने उनको स्पष्ट अभिलाषा देखिन्छ । यो उनको जनावर अनि मानव बिचको अन्तर्सम्बन्ध, जीवात्माको आन्तरिक सुखानुभूतिको बिम्ब पनि हो । फूलहरूमाथि सानो भरखरकै बिरालोको बच्चा मस्तसँग निदाउनुको सन्दर्भलाई बालबालिकासँग जोडेर हेर्दा रमाइलो अनुभूत पनि हुन्छ । यो पोस्चरले साँच्चिकै मायालुपनको आभास दिन्छ । उनैको कारलाई सजिसजाउ गरी प्रस्तुत गरिएको अर्को चित्र छ । अहिलेको बिहेको बेलामा जन्ती जान कार फूलले सिङ्गार्ने प्रचलनलाई उनले ल्याउन खोजेका छन् । तर सुनसानमा देखिनु मान्छे वा हुलहाल नदेखिनु चाहिँ यसको अर्को रमाइलो पक्ष हो । यसर्थ पनि अहिलेको प्रचलनमाथिको एउटा तितो व्यङ्ग्य पनि हो ।

यस्तै गरी उनको अर्को चित्र जीवन अझ चाखलाग्दो छ । लोक गाथाको रूपमा देखा परेको यो साप सिँढीको अनौठो खेलमा, मान्छे अल्झिनु अझ रोमाञ्चक देखिन्छ । भाग्यको खेलमा अल्झेका मानवहरू यथार्थबाट पर भाग्दै गरेका बिम्बहरू उनको कलामा छाम्न पनि सकिन्छ । अनि जीवन स्वयं आफैँमा नहुनु वा कुनै अदृश्य शक्तिले डोर्‍याइरहेको हाम्रो जीवनलाई उनले सिस्टमसँग जोड्न पुगेका छन् ।

सुधा पौडेलको पद्मा नामक चित्र स्वाभाविक देव अर्थपूर्ण पोस्चरको रूपमा देखिन्छ । श्वेत श्याम यो चित्र फुलै फूलको पृष्ठभूमिमा सजिएर प्रस्तुत हुँदा पनि यसले थप आकर्षण पैदा गरेको देखिन्छ । अर्को चित्र गहिरो भावनात्मक रूपमा देखा पर्दछ । उनले यसको नाम चाहिँ गलैँचा र हामी राखेका छन् । जहाँ उनको आग्रह छ – “मैले हाम्रो लागि एउटा कोठा बनाएको छु । यसलाई कहिले नछोडौँ ।” गलैँचा चाहिँ केन्द्रमा देखिँदैन अनि सोफामा उनी ढल्किँदै सानो पप्पी साथ देखा पर्दछन् । यो उनको अनौठो कलागत संरचनाले भावकमा यथेष्ट कौतुहलता पैदा गर्दछ ।

इभा केसीको ‘वेनेथ द स्किन’ नामक चित्र, इचिङ माध्यमबाट बनाएका छन् । यो चित्रले संवेदनशील सूचनालाई प्रवाह भइरहेको महसुस हुन्छ । गतिला रेखाहरूको बाहुल्य रहेको यो चित्रमा नितान्त नग्न आइमाई अनौठो क्रियाकलापमा आबद्ध देखिन्छ । पात्र नाङ्गो छ । तर नाङ्गोपनको अहसास हुँदैन । अझ सत्यताको बोध हुन्छ । अनि यथार्थ सन्देशलाई प्रवाह गरिरहेको अनुभूत हुन्छ । उनैको अर्को चित्र ‘क्रान्ति’ अझ चाखलाग्दो पाराले देखा परेको छ । नितान्त रातो भयावह पृष्ठभूमिमा जनावरहरू डरलाग्दो स्वरूपमा झगडा गर्दै गरेका देखिन्छन् । हिंसाको स्वरूपमा देखा परेको परिदृश्यले आज क्रान्ति भनेको हिंसाकै प्रतिविम्ब हो जस्तो पनि देखिन्छ । नभन्दै आज असहमतिका लागि द्वन्द्व देखिँदैन । द्वन्द्वको नाममा एकैपल्ट हिंसामा उत्रिहालेको देखिन्छ । किनकि सरकारले यसो नगरे सुन्दैनन् रे । यसैको प्रतिविम्बको रूपमा उनका कला देखा परेको छ । इभाको यस्तै अरू शान्त स्वरूपमा बसेका भेडाहरूको चित्र पनि छ । यी प्रभावमा देखिएका भेडाहरूलाई चारैतिर राक्षसी काँडेदार फूलहरूले घेरिएको छ । जसलाई भ्रमको प्रतीकात्मक बिम्बको रूपमा उनले प्रयोग गरेका छन् । उनको प्रेम र प्रेममाथिको दृष्टिमा गहिरो प्रश्न पनि उठाएकी छिन् ।

यो प्रदर्शनीमा गगन कुमार ज्यापुको थुप्रै चित्रहरू छन् । तथापि दुईवटा चित्रहरू विशेष छन् – प्रभा र धर्मचक्र । जहाँ प्रिन्टमा इम्बोजको प्रयोग भएको छ । अनि निष्कलङ्क सेतो प्रतीकात्मक बिम्ब चित्रपटको केन्द्रमा प्रस्तुत भएको देखिन्छ । बौद्ध धर्ममा यसको एक अलग्गै महत्त्व छ । नितान्त परम्परागत विषय अनि मोटिफहरूलाई आधुनिक पाराले पस्कँदै गर्दा चाहिँ यो आध्यात्मिकता अनि भावनाको सम्मिश्रणमा देखा परेको छ । यसैगरी प्रभा चाहिँ सेतो बिम्ब अनि यसैलाई चारैतिर घेरेर बसेका परम्परागत बुट्टाहरूले धर्म अनि आध्यात्मिकताको अनुभूत गराउँछ । उनको अर्को चित्र ‘कमल’ पनि आकर्षक ढङ्गबाट यहाँ प्रदर्शनमा छ । कमलको कोपिला, पातहरू अनि फक्रेको फूलको संयोजन अझ आकर्षक रूपमा यहाँ समायोजन भएको देखिन्छ ।

समिप लिम्बूको चित्र एक्वाटेन्ट माध्यमबाट अनौठो संरचनामा देखा पर्दछ । एकातिर बाल्टिनबाट हजारौँको तादातमा झर्दै गरेका मान्छेहरू अनि अर्को पाटामा दुईजना चाहिँ घोप्टो मुन्टोमा मान्छेहरू देखिन्छन् । स्वभावतः यो चरम निराशाको प्रतिविम्ब पनि हो । दुईजना महिलाहरू सम्भवतः आमा छोरीहरू नै हुन् । जसले आजको समाजमा महिलाको उपस्थिति र अवस्थालाई जनाइरहेको महसुस हुन्छ । पलिस्थाको ‘बोन्डेड इन्फिनिटी’मा एउटा वस्तु अनि माछाको चलखेललाई गजबले समायोजन गरेका छन् । उनैको अर्को चित्र चाहिँ ‘न्यानो घर’ ड्राइ पोइन्टबाट बनाउन पुगेका छन् । ‘कोलाज अफ मेमोरिज’ उनको अर्को आकर्षक काम हो । जहाँ भौतिक रूपमै प्रिन्ट मेकिङ कलालाई कोलाजको फर्ममा विकास गरिएको छ । चित्रहरूका टुक्राहरूसँगै साँच्चिकै खाम अनि टिकट पनि यसैमा गाँसिँदा थोरै अनौठो लागे पनि रोमाञ्चित देखिन्छ । दिभास चाहिँ रुखका जराहरूसँग खेल्न बढी रुचाएको देखिन्छ । चित्रपटभरि जराहरू छरपस्टिएर एउटा गतिका साथ कुदिरहँदा हेर्नेको लागि रमाइलो अनुभूत पनि हुन्छ ।

दोर्जेले परम्परागत मोटिफलाई पात्रको रूपमा भित्राउँछन् । अनि सम्पूर्ण बाँकी स्पेसलाई खाली छोडिदिन्छन् । यो आफैँमा नौलो प्रस्तुति पनि हो । कुनामा एउटा वस्तु एउटा अलग्गै भावभूमिमा देखा पर्दछ । ‘जर्नी टु द वेस्ट’ नामक यो चित्रमा उनले बादलको डफ्फामाथि कलात्मक भेडालाई प्रस्तुत गरेका छन् । परम्परागत कलाका मोटिफहरू परलौकिकताको प्रत्याभूति दिँदै गर्दा अचानक यसैमा भेडा देखिन्छन् । स्वभावतः यसले परोक्ष रूपमा एउटा कथा बोकेर देखा पर्छ । अनि यही कथा लोकगाथामा परिणत हुन जान्छ । उनैको ‘ट्याङ्गल’ नामक अर्को चित्रमा चाहिँ जोडी जुत्तालाई तुनाले एकै ठाउँमा बाँधिदिएको रूपमा देखा पर्दछ । यो जीवनको अड्चनको बिम्ब पनि हो ।

समिपको ‘कमब्याक’ नामक चित्र अर्को रमाइलो काम हो । जहाँ हातका पन्जाले अनेकानेक अवयवहरूलाई एउटा भूमिकाका साथ प्रयोग गरेका छन् । परोक्ष रूपमा हेर्दा चाहिँ यसले फर्केर आउने आग्रह गरिरहेको देखिन्छ । फूलपातका झ्याङबाट अनौठो संयोजनमा बसेका यी पात्रहरू कता गएका थिए? कता फर्कने हो? भावकहरू भने अन्योलमा देखिन्छन् । उनको अर्को चित्र टेबलमाथिको कपमा सजिएका फलफूलको चाङ पनि हो ।

श्रीनिधि चाहिँ मयुरसँगको सुमधुर सम्बन्ध अनि संवाद आदिलाई रमाइलो तरिकाले प्रस्तुत गर्ने तरखरमा देखिन्छन् । उनको अर्को चित्र हार्डर रेखाङ्कनबाट बनेका छन् । माध्यम चाहिँ इचिङ हो । कोठाभित्र पाल अनि यही पालभित्र आफू पल्टेको देखिन्छन् । आफूसँगै खेलौना अनि माइक्रोफोन आदि थुप्रै कुरा पनि देखिन्छन् । धेरै कथाहरू सम्झनाको रूपमा देखिनु पुनः कल्पनामा बाँध्नु यो चित्रको अनौठो विशेषता देखिन्छ ।

(मुकेश मल्ल, कलाकार/कला समीक्षक)

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नु हुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.