पच्चीस वर्षदेखि डायस्पोरिक जीवन बिताएका वरिष्ठ साहित्यकार कृष्ण बजगाईँ नेपाली साहित्यका चिरपरिचित स्रष्टा हुन् । लामो समयदेखि लन्डनमा बसोबास गर्दै आए पनि नेपाली भाषा–साहित्यको सेवा र सिर्जनामा निरन्तर सक्रिय छन् । उनले आख्यान, कविता, निबन्ध तथा विशेषतः नियात्रा साहित्यमा उल्लेखनीय योगदान पुर्याएका छन् । फुटकर लेख–रचनाबाहेक उनका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् । यसका साथै उनले झन्डै एक दशकदेखि भाषा, साहित्य र प्रवासनका विषयमा केन्द्रित अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ को सम्पादन तथा प्रकाशन गर्दै आएका छन् ।
बेलायतबाट प्रकाशित हुने समकालीन साहित्य प्रतिष्ठानका अध्यक्षका रूपमा समेत उनी सक्रिय छन् । उनका कृति नेपालका केही शैक्षिक पाठ्यक्रममा समेत समावेश भएका छन् । साथै उनका नियात्रामाथि प्राज्ञिक शोध–अनुसन्धानसमेत भएका छन् । यसले उनको साहित्यिक योगदानको महत्त्व र प्रभावलाई स्पष्ट पार्छ ।
यिनै सृजनात्मक यात्राको निरन्तरता स्वरूप पछिल्लो पटक ‘लन्डिनियम (नियात्रा सङ्ग्रह २०८२)’ प्रकाशन गरेका छन् । लेखकले आफ्ना यात्राका अनुभव, अनुभूति, अवलोकन र चिन्तनलाई अक्षरको सुन्दर मालामा उनेर पाठकसमक्ष प्रस्तुत गरेका छन् । यात्रा केवल स्थान परिवर्तन मात्र होइन; यो त अनुभूति, ज्ञान, संस्कृतिसँगको साक्षात्कार र आत्म अन्वेषणको प्रक्रिया पनि हो । यस कृतिमा लेखकले बेलायत,जर्मनी र नेदरल्याण्डको यात्राको बहुआयामिक रूपलाई कलात्मक ढङ्गले अभिव्यक्त गरेका छन् ।
विषयवस्तु र संरचना
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित ‘लन्डिनियम’ मा पाठकलाई ज्ञान, मनोरञ्जन र अनुभूतिको त्रिवेणीमा डुबाउने सामग्री समेटिएका छन् । कुल १८२ पृष्ठमा फैलिएको र अठार शीर्षकमा विभाजित यस सङ्ग्रहका प्रत्येक नियात्राले पाठकलाई फरक परिवेश, फरक अनुभूति र फरक ज्ञानक्षेत्रतर्फ डोर्याउँछन् । नेपाली पाठकका लागि मूल्यका हिसाबले पनि यो पुस्तक उपयुक्त देखिन्छ, जसको मूल्य रु. ३९० राखिएको छ । रोमन साम्राज्यका बेला राजधानीका रूपमा विकास गरिएको ’लन्डिनियम’ नै अहिलेको आधुनिक लन्डन भएकाले, लेखकले पुस्तकको नाम राख्दा इतिहासलाई यसै नाममार्फत स्मरण गराएका छन् ।
सामान्यतः नियात्रामा यात्राका क्रममा देखिएका दृश्य, भोगिएका अनुभव, प्रयोग गरिएका यातायातका साधन, स्थानीय जनजीवन तथा यात्रा पथका विविध पक्षहरूको वर्णन गरिन्छ । तर, लेखक केवल यात्रा–वर्णनमै सीमित छैनन् । उनले यात्रालाई इतिहास, संस्कृति, भूगोल, साहित्य, समाज र मानव जीवनका विविध आयामसँग जोड्दै गहिरो अर्थ प्रदान गरेका छन् ।
यस कृतिमा इतिहासका पदचापहरू सुनिन्छन्, जीवनीका प्रेरक प्रसङ्गहरू भेटिन्छन्, प्रकृतिका मनमोहक दृश्य खुल्छन् अनि संस्कृति र सभ्यताका अनेक रूप उजागर हुन्छन् । कतै सुखद अनुभूतिका उज्याला क्षणहरू छन् भने कतै पीडा, सङ्घर्ष र जीवनका यथार्थ पक्ष पनि छन् । लेखकले यी सबै विषयलाई केवल वर्णन मात्र गरेका छैनन् आफ्नो ज्ञान, अध्ययन र अनुभवको आधारमा विश्लेषण गर्दै पाठकलाई सोच्न बाध्य बनाएका छन् ।
पुस्तकका मुख्य आकर्षण र विश्लेषण
यस नियात्रा सङ्ग्रहको सबैभन्दा ठूलो आकर्षण यसको विषयवस्तुको विविधता र प्रस्तुतिको कलात्मकता हो । नियात्रा पढ्दा लेखक कृष्ण बजगाईँले यात्रालाई केवल स्थान अवलोकनमा सीमित नराखी बहुआयमिक पक्ष समेटेका हुनाले यो साधारण यात्रा विवरणभन्दा धेरै माथि उठेको अनुभूति हुन्छ ।
नियात्रा सङ्ग्रहको पहिलो शीर्षक ‘पानीमाथि तैरिएका शब्दहरू’ नै अत्यन्त आकर्षक छ । पानीमा तैरिरहेको ’हाउसबोट’ भित्रको पुस्तकालय, त्यहाँ हुने साहित्यिक गतिविधि, कवि गोष्ठी तथा प्रत्येक दुई हप्तामा अर्को स्थानमा सर्नुपर्ने कानूनी व्यवस्थालाई लेखकले यति रोचक ढङ्गले चित्रण गरेका छन् । पढ्दै जाँदा पाठक सहजै त्यस वातावरणमा पुग्दछन् । पानीमाथि तैरिरहेका अक्षर र विचारका बिम्बले नियात्रालाई कलात्मक उचाइ प्रदान गरेका छन् । यो प्रसङ्ग पढ्दा, नेपालको साहित्यिक इतिहासमा वि.सं. २०२२ साल फागुनमा देवघाटमा भएको 'पानीमाथि कविता’ गोष्ठीको सम्झना आउँछ । त्यस्तै, भर्खरै २०८२ चैत्र २२ र २३ गते नारायणी नदीमा सानो पानीजहाज (क्रुज) भित्र एक ऐतिहासिक “पर्यटन काव्य उत्सव २०८२“ सम्पन्न भएको सन्दर्भ पनि यहाँ सान्दर्भिक देखिन्छ ।
त्यस्तै, ‘पोएट्री फार्मेसी’ शीर्षक यस कृतिको अर्को विशिष्ट आकर्षण हो । कविता केवल पुस्तकका रूपमा नभई औषधिका रूपमा पनि प्रस्तुत हुन सक्छ भन्ने अवधारणा नेपाली पाठकका लागि नौलो र रोचक लाग्छ । कवितालाई क्याप्सुलझैँ बेरेर सिसीमा सजाइने । विभिन्न मानसिक अवस्था र भावनात्मक समस्याका लागि कविता सिफारिस गरिने र बिरामीलाई कविता सुनाइने परम्पराको वर्णनले साहित्यको उपचारात्मक (थैराप्युटिक) पक्षलाई उजागर गरेको छ । लेखकले कविताको शक्ति र प्रभावलाई जीवनसँग जोडेर प्रस्तुत गरेका छन् । यसै क्रममा सस्तो लोकप्रियता र पुरस्कारका लागि लेखिने कविताप्रति गरिएको व्यङ्ग्य पनि सशक्त देखिन्छ ।
‘लिटिल भेनिस’मा हाउसबोटभित्र रेस्टुरेन्ट मात्र नभई तालिम तथा प्रशिक्षण कक्ष र रेडियो स्टेसनसमेत सञ्चालन हुने गरेको । साहित्यिक कार्यक्रम गर्ने, तालिम दिने र रेकर्डिङ गर्ने कार्य हाउसबोट भित्रै गरिने कुरा उल्लेख गरिएको छ । लेखक स्वयं साहित्यकार भएकाले होला, उनले धेरैजसो भ्रमणमा साहित्यलाई नै प्राथमिकता दिएको पाइन्छ । ‘पोएट्री वाक’ लगायतका शीर्षकहरूमा पनि लेखकको साहित्यप्रेम र सौन्दर्य बोध स्पष्ट रूपमा देखिन्छ ।
यो नियात्रा केवल स्थानहरूको यात्रा विवरण मात्र समावेश छैन, महान् व्यक्तित्वहरूको जीवनयात्राको खोज पनि उल्लेख छ । लेखकले दार्शनिक कार्ल मार्क्स, चित्रकार भान गोग र वरिष्ठ साहित्यकार शेक्सपियर सम्बन्धी प्रसङ्गहरूलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । विशेषतः कार्ल मार्क्सको निर्वासन जीवन, गरीबीको पीडा, बेलायती नागरिकता प्राप्त गर्न असफल भएका प्रयास तथा आर्थिक सङ्घर्षका प्रसङ्गहरूले पाठकलाई भावुक बनाउँछन् । मार्क्सका बारेमा उनी लेख्छन्, “३४ वर्ष बेलायतमा बसेर पनि बेलायती नागरिकता पाउन पटक–पटक दिएको निवेदन अस्वीकृत हुँदा मन चसक्क हुन्छ” (पृ. ४९) । उनलाई जन्मभूमि जर्मनीले समेत नागरिकता नदिएर राज्यविहीन बनाएको र यस्ता महान् दार्शनिकको मृत्यु अत्यन्त हृदयविदारक स्थितिमा भएको कहानी पुस्तकमा उल्लेख छ । यसै सन्दर्भमा लेखकले चिनियाँ प्रवासी समुदाय र नेपाली प्रवासी समुदायको सामाजिक व्यवहारको तुलना गर्दै विचारोत्तेजक टिप्पणी पनि गरेका छन् । उनी लेख्छन्, “विदेशमा भएका चाइनिजहरू राजनीतिमा संलग्न भएको मलाई थाहा छैन” (पृ. ४३) । उनीहरू विभिन्न व्यापार गर्छन् र 'चाइना टाउन’ बनाउँछन् । तर नेपाली भने काँग्रेस र कम्युनिस्ट अन्य भनेर ’थाङ्ने राजनीति’ गर्दछन् भनी विदेशमा बस्ने नेपालीले अनावश्यक राजनीतिमा चासो दिएको विषयमा लेखकले तिखो टिप्पणी गरेका छन् ।
विलियम शेक्सपियरको प्रसिद्ध भनाइ “संसार एउटा रङ्गमञ्च हो, र सबै पुरुष तथा महिलाहरू यसका पात्र हुन्” भन्ने उद्धरणलाई पृष्ठ ८६ मा उल्लेख गर्दै लेखकले यी महान् साहित्यकार, नाटककार, अभिनेता तथा कविको जीवन र योगदानलाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् । थेम्स नदी किनारमा ‘ग्यारिक्स टेम्पल टु शेक्सपियर’ लेखेको देखेर टेम्पल अर्थात् मन्दिरका बारेमा चर्चा गरेका छन् । शेक्सपियरको पूर्णकदको शालिक रहेको स्थानलाई ‘टेम्पल’ भनिएको प्रसङ्ग उठाउँदै लेखकले यसको नेपाली रूपान्तरण ‘मन्दिर’ हुन सक्ने तर्क गरेका छन् । क्रिश्चियन बहुल देशमा समेत कुनै महान् व्यक्तित्वप्रति श्रद्धा व्यक्त गर्न ‘टेम्पल’ शब्दको प्रयोग गरिनु र त्यसलाई नेपाली सांस्कृतिक सन्दर्भसँग जोडेर व्याख्या गर्नु लेखकको मौलिक दृष्टिकोणको परिचायक बनेको छ ।
भान गोगको जीवनकथा झन् बढी मार्मिक छ । गरीबी, अभाव, असफल प्रेम, मानसिक पीडा र सिर्जनाप्रतिको समर्पणलाई लेखकले संवेदनशील ढङ्गले प्रस्तुत गरेका छन् । जीवनकालमा पर्याप्त सम्मान नपाएका यी महान् कलाकारहरूको कथा पढ्दा प्रतिभा, सङ्घर्ष र समयको मूल्यबारे गम्भीर भई सोच्न बाध्य बनाउँछ । “एकोहोरो प्रेममा पागल भएर भान गोगले ब्लेडले आफ्नो कान काटेर ती वेश्यालाई उपहार दिएका थिए” (पृ. १३६) भन्ने प्रसङ्गले पाठकलाई स्तब्ध बनाउँछ ।
कृतिको अर्को रोचक पक्ष बेलायतभित्र रहेको ’नाङ्गाहरूको बसोबास क्षेत्र’ (नेचुरिस्ट भिलेज) को वर्णन हो । लेखकले नाङ्गा–नाङ्गीहरूको गाउँका रूपमा चित्रण गरेका छन् । यथार्थमा यो एउटा रिसोर्टको वर्णन हो । पर्खालले घेरिएको उक्त क्षेत्रमा प्रवेश गर्ने नियम, त्यहाँको जीवनशैली र सामाजिक व्यवहारलाई लेखकले साहसिक तथा हास्यरस मिश्रित शैलीमा प्रस्तुत गरेका छन् । रिसेप्सनिस्टसँगको पहिलो भेटको वर्णनले पाठकलाई मुस्कुराउन बाध्य बनाउँछ । उनी भन्छन्, “रिसेप्सनिस्ट नाङ्गै देखेर रन्थनिन्छु म, झुन्डिएका उनका स्तनले परैबाट घोचे मेरा दुवै आँखा” (पृ. ६६) । त्यहाँ फोटो खिच्न नपाइने नियमले गोपनीयता र उनीहरूको संस्कृतिप्रतिको सम्मानलाई पनि सङ्केत गर्छ ।
यात्राका क्रममा ’नर्दन लाइट्स’ (उत्तरी प्रकाश) हेर्न नपाउँदाको निराशालाई समेत उनले रोचक र रसपूर्ण शैलीमा व्यक्त गरेका छन्, जसले पाठकलाई यात्राको वास्तविक उतारचढावसँग जोड्छ ।
‘लन्डिनियमका कामुक सुन्दरी’ शीर्षकमा लेखकले सिटी अफ लन्डनद्वारा सञ्चालन गरिएका आर्ट ग्यालरी तथा रोमन एम्फिथिएटरको परिचय दिएका छन् । विशेषगरी ती ग्यालरीमा सङ्ग्रहित चित्रकलाको सौन्दर्य, कलात्मकता र ऐतिहासिक महत्त्वको उनले मुक्तकण्ठले प्रशंसा गरेका छन् । पुस्तकको आवरण (कभर) मा प्रयोग गरिएको चित्रले पनि सम्भवतः यिनै कलात्मक सुन्दरी र आर्ट ग्यालरीहरूको स्मरण गराउने सङ्केत दिएको हो कि भन्ने जिज्ञासा पाठकमा जागृत हुन्छ ।
यसैगरी लेखकको यात्रा बेलायतमा मात्र सीमित छैन । उनले नेदरल्यान्ड्सको ऐतिहासिक तथा अन्तर्राष्ट्रिय न्यायको केन्द्र मानिने 'द हेग'को भ्रमणलाई पनि जीवन्त रूपमा प्रस्तुत गरेका छन् । विश्वव्यापी युद्ध अपराध तथा अन्तर्राष्ट्रिय विवादहरूको न्यायिक केन्द्रका रूपमा परिचित हेगमा ‘शान्ति’सँग भएको उनको प्रतीकात्मक भेट रोमान्टिक अनुभूति र नेपालीपनले भरिएको छ । उनी लेख्छन्, “मार्बलमा ‘शान्ति’ भन्ने शब्द देवनागरी लिपिमा लेखेको देखेर औधी खुशी हुन्छु (पृ ११७) ।” ‘शान्ति’ शब्दमाथि गरिएको उनको विश्लेषणले नेपाली पाठकलाई थप आत्मीय अनुभूति दिलाउँछ । नेपालमा माओवादी द्वन्द्वपछिका वर्षहरूमा पटक–पटक सुनिने गरेको ‘हेग’ सम्बन्धी चर्चाको पृष्ठभूमि बुझ्न चाहने पाठकका लागि पनि यो नियात्रा उपयोगी देखिन्छ ।
नेदरल्यान्डकै ‘बतासे गाउँ’का हावाचक्कीहरूको प्रसङ्ग झन् रोचक छ । प्राकृतिक हावाको शक्तिलाई ऊर्जामा रूपान्तरण गरी राष्ट्रिय समृद्धिमा प्रयोग गरिएको उदाहरणलाई लेखकले नेपालको सन्दर्भसँग जोडेर प्रस्तुत गरेका छन् । यसले यात्रा संस्मरणलाई केवल दृश्य वर्णनमा सीमित नराखी विकास र सम्भावनाको विमर्शमा समेत विस्तार गरेको छ ।
लेखकको यात्रा जर्मनीको रेल सेवा, व्यवस्थित सडक संरचना तथा सङ्ग्रहालय संस्कृतिको आकर्षक चित्रण गर्दै मोडिन्छ । ‘पाब्लो पिकासोसँग भेट’ शीर्षकमार्फत उनले एउटा रोचक प्रसङ्ग पनि उल्लेख गरेका छन् । विश्वप्रसिद्ध चित्रकार पाब्लो पिकासोका चित्रहरू करोडौँ डलरमा बिक्री हुने तथ्यले उनले कलाको मूल्य केवल आर्थिक मात्र नभई, सभ्यता र संस्कृतिको धरोहरका रूपमा पनि रहने कुरा प्रस्तुत गरेका छन् ।
जर्मनीको ऐतिहासिक बर्लिन शहरका प्रसिद्ध सङ्ग्रहालयहरूको सूक्ष्म र जीवन्त वर्णनले पाठकलाई प्रत्यक्ष भ्रमण गरेजस्तै अनुभूति गराउँछ । त्यस्तै, क्रूर शासकका रूपमा परिचित हिट्लरसँग सम्बन्धित ऐतिहासिक स्थलहरूको वर्णन अत्यन्त मार्मिक बनेको छ । यातना शिविर, कैदीहरूले भोग्नुपरेका अमानवीय व्यवहार र रगताम्य इतिहासका पदचाप लेखकले संवेदनशील ढङ्गले प्रस्तुत गरेका छन् । यस सन्दर्भमा लेखकको एउटा वाक्य विशेष स्मरणीय छ, “प्रतिशोध, सङ्घर्ष र यहुदीहरूको पीडा झल्किने शब्दचित्र र सामग्रीहरूको इतिहासको विलाप पढिरहेँ” (पृष्ठ १७३) । यो वाक्यले दोस्रो विश्वयुद्धका पीडितहरूको वेदना र मानव इतिहासको दुःखद अध्यायलाई प्रभावकारी रूपमा अभिव्यक्त गर्दछ । लेखकले हिटलर शासनकालमा बन्दीहरूमाथि गरिएका अमानवीय औषधि परीक्षण तथा त्यसका कारण हजारौँ मानिसले ज्यान गुमाउनु परेको तथ्यलाई पनि उल्लेख गरेका छन्, जसले पाठकलाई इतिहासका अँध्यारा पाटासँग साक्षात्कार गराउँछ ।
नियात्राको अन्तिम शीर्षक ‘हाम्बर्गमा बिटल्स’ मा लेखकले जर्मनीको दोस्रो ठूलो शहर हाम्बर्गको परिचय गराएका छन् । उनले केवल आफैँले भ्रमण गरेको अनुभव सुनाएका छैनन्, बरु पाठकलाई पनि सँगै यात्रा गराइरहेका छन् । स्थान, इतिहास, संस्कृति र मानवीय अनुभूतिलाई एकसाथ बुन्न सक्ने लेखकको क्षमता यस शीर्षकमा पनि स्पष्ट देखिन्छ ।
यसरी अठार शीर्षकमा फरक फरक रस र शैलीले यो “लन्डिनियम” साँच्चै पाठक प्रिय छ । यो नियात्रा साहित्यप्रेमीका साथै भ्रमण प्रेमी, खोजकर्ता, इतिहासविद् र अनुसन्धानकर्ताका लागि उपयुक्त सामाग्री हुनेछ भन्ने विश्वास लिएको छु ।
पुस्तकका सबल पक्ष र सानो सुझाव
‘लन्डिनियम’ नियात्रा सङ्ग्रह भनिए पनि यो केवल नियात्राको पुस्तक मात्र होइन; यात्रा, इतिहास, संस्कृति, साहित्य र जीवनदर्शनको सुन्दर समन्वय भएको एउटा महत्त्वपूर्ण दस्ताबेजका रूपमा स्थापित भएको देखिन्छ । यसले पाठकलाई नयाँ ठाउँको परिचय मात्र गराउँदैन, संसारलाई हेर्ने फराकिलो दृष्टिकोण पनि प्रदान गर्छ ।
यस पुस्तकमा लेखिएको भाषा प्रवाहमय भएकाले पढ्न थालेपछि पुस्तक सरर अघि बढ्छ । पढ्दै जाँदा कति वेला सकियो भन्ने नै थाहा हुँदैन । वास्तवमा यो पुस्तक औषधि मात्र होइन, पाठकका लागि भिटामिनजस्तै लाग्छ । अझ भनौँ, थकित मनका लागि सेलाइन पानीसरह ताजगी दिने शक्ति झैँ लाग्छ ।
लेखकको सबैभन्दा ठूलो खुबी भनेको पाठकलाई आफूसँगै यात्रामा सहभागी गराउनु हो । पुस्तक पढ्दै जाँदा पाठक स्वयं लेखकसँगै ती ठाउँहरूमा पुगेको अनुभूति गर्छ । आजका थ्रिडी चलचित्रमा पर्दामा परेको पानी आफूमाथि नै परेको जस्तो महसूस भएझैँ, यो पुस्तक पढ्दा लेखक पुगेका ठाउँमा आफैँ पुगेको भान हुन्छ । लेखकले यात्राका क्रममा देखेका दृश्य, त्यति बेलाको मौसम, वातावरण र अनुभूतिलाई अत्यन्त रोमान्टिक र जीवन्त ढङ्गले प्रस्तुत गरेका छन् । हरेक भ्रमणमा कफीको स्वाद लिएको कुरा गर्दै उनी कफीप्रेमी भएको पनि परिचय दिएका छन् । नहर, शहर, गाउँ, समुद्र, हाउसबोट तथा यात्राका मार्गहरूलाई प्रकृतिसँग घुलमिल गराउँदै चित्रण गर्ने उनको शैली निकै आकर्षक छ । हरेक यात्रालाई साहित्यसँग जोडेर लेख्ने कला अनुसरण योग्य छ ।
यति धेरै सबल पक्षहरूको बीचमा एउटा सानो सुझाव राख्न चाहन्छु । पुस्तकमा विभिन्न ठाउँहरूको प्राकृतिक सौन्दर्य अत्यन्त मनमोहक ढङ्गले प्रस्तुत गरिएको छ । कतिपय प्रसङ्गमा नेपालसँग तुलना गर्दा बागमती नदीको फोहोर अवस्थालाई बिम्बका रूपमा प्रयोग गरिएको छ । जुन देशको यथार्थ अवस्थाप्रति स्रष्टाको चिन्ता हो र स्वाभाविक पनि हो । तर, त्यससँगै नेपालका अनुपम प्राकृतिक सम्पदाहरू मनाङको तिलिचो ताल, स्वर्गकी अप्सरा भनेर चिनिने रारा ताल, माछापुच्छ्रे हिमालको छायामा अवस्थित फेवा ताल तथा अन्य अद्वितीय प्राकृतिक सौन्दर्यहरूलाई पनि तुलनात्मक रूपमा समेटिएको भए अझ सुनमा सुगन्ध हुने थियो कि ? त्यसो भएको भए विदेशका रमणीय स्थलहरूको वर्णनसँगै नेपालको अथाह पर्यटन सम्भावना र प्राकृतिक सम्पदाको परिचय गराउने अवसर पनि थप सशक्त बन्न सक्थ्यो कि ? यो मेरो डायस्पोरिक लेखकहरूप्रति एक पाठकको सानो रचनात्मक अपेक्षा मात्र हो ।
“आऊ संसारका साथीहरू,
डाँफे नाचेको हेरौँ,
मयूरले पखेटा फैलाएको देखौँ ।
हात्ती र गैँडाको यो खेल,
प्रकृतिको अद्भुत मेल ।
सुन...बाघको गर्जन !
सुँघ...वनको सुवास !
हेर घडियालको आक्रोश,
महसुस गर
कोशी र नारायणीको जलक्रीडा ।
र विश्वास गर,
यहाँ आएपछि
बगेर जाने छन् मनका पीडा ।।”
निष्कर्षमा, नियात्रालाई आँखा, खुट्टा र ज्ञानको संयुक्त अभिव्यक्ति मानिन्छ । यस सङ्ग्रहका रचनाहरूले पनि यही शाश्वत परम्परालाई आत्मसात् गरेका छन् । यस नियात्रा सङ्ग्रहको वास्तविक शक्ति यसको बहुआयामिक दृष्टि, रोचक प्रस्तुति, साहित्यिक संवेदना र ज्ञानवर्धक सामग्रीमा निहित छ । समग्रमा, ‘लन्डिनियम’ पाठकलाई ज्ञान, आनन्द र अनुभूतिको यात्रामा सँगै डोर्याउने एक सफल, अत्यन्त पठनीय र सङग्रहणीय कृति हो ।

