‘युग यात्रा’ उपन्यास हो । पदम काफ्ले यस उपन्यासका रचनाकार हुन् । उनी नेपालीभाषी भुटानी हुन् । उनी जन्मेको ठाउँ भुटानको लामीडाँडा गाउँ हो । उनी कलिलै उमेरदेखि कविता, कथा, नाटक र प्रहसन लेख्दै गर्दै नेपाली साहित्यमा देखा परेका प्रतिभा हुन् । प्रस्तुत उपन्यासचाहिँ उनको पहिलो पुस्तकाकार कृति हो ।
‘युग यात्रा’ यथार्थवादी उपन्यास हो । यस उपन्यासले एक लाख बाह्र हजार भुटानी शरणार्थीहरूको जीवनलाई यथार्थ रूपमा चित्रण गरेको छ । त्यसमा पनि खास गरी भुटानको लामीडाँडा गाउँमा बसेका नेपालीभाषी भुटानीका भाषा, भेष र परम्परामाथि राज्यबाट भएको दमन, सामूहिक हत्या र जबरजस्ती विस्थापनको हृदयविदारक यथार्थलाई मार्मिक ढङ्गबाट चित्रण गरिएको छ । भुटानको अत्याचार सहन नसकी पूर्वी नेपालका टिमाई, पथरी, बेलडाँगी, गोलधाप र खुदुनाबारी लगायतमा आएर बसेका भुटानी शरणार्थीहरूका दुःख र समस्याका कथा उपन्यासमा छन् ।
शरणार्थीहरूले भोग्नुपरेको भुटानी सरकारको मानवीय अत्याचार अनि शिविरमा हावाहुरी र झरीको प्राकृतिक अत्याचारको हृदयविदारक कथा उपन्यासमा रोइरहेको छ । गरिबका झुप्रामा दुःख, पीडा र समस्या पाहुनाका रूपमा सधैँ आएर सताइरहने मार्मिक कथा पनि उपन्यासमा पढ्न पाइन्छ । उडुस, लामखुट्टे र सर्पको आतङ्कले शिविरका शरणार्थीको निद्रा हराम गरेको कथा लेख्न उपन्यासकार चुकेका छैनन् । उपन्यासभित्रका कथा र उपकथा भुटानी शरणार्थीको जीवनभन्दा टाढा छैनन् ।
‘युग यात्रा’ भाषा, वेश र परम्पराका लागि नेपालीभाषी भुटानीहरूले ज्यानको माया मारेर लडेको लडाइँ अनि पहिचानका लागि गरेको सङ्घर्षको कथा हो । यो कुरा उपन्यासको मुख्य पात्र मुक्तिले शिविरमा बसेर होस्, बनारसमा बसेर होस् वा काठमाडौँमा बसेर भुटानमा प्रजातन्त्र र मानव– अधिकारको स्थापनाका लागि गरेको सङ्घर्षका माध्यमले देखाइएको छ । उपन्यासको मुख्य पात्र मुक्ति भुटानको लामीडाँडा गाउँमै जन्मेको पात्र हो । ऊ सामान्य संस्कृत पढेको, हिन्दु संस्कारअन्तर्गतका व्रतबन्ध, विवाह र मृत्यु संस्कार राम्ररी बुझ्न खोज्ने जिज्ञासु पात्र हो । भुटान सरकारले आफ्नो भाषा, भेष र परम्परा शुरुमा खाइदिएको, पछि मानव अधिकार र प्रजातन्त्र खोसिदिएको उसले देखेको छ । पार्टी र आर्मीको चेपुवाबाट जोगिँदै नातागोतासहित सपरिवार ऊ झापाको टिमाईको बगरमा आइपुगेको छ । पहिचान फर्काएर ल्याउने आशले उसले त्यहाँ अभाव र अनिश्चित भविष्यसँग सङ्घर्ष गरेको छ । उसले बनारस पुगेर राँड, साँढ, सिँढी र सन्न्यासीसँग सङ्घर्ष गरेको छ । काशी हिन्दु विश्वविद्यालयबाट नेपालीमा एम.ए. गर्न र भुटानमा प्रजातन्त्र र मानव अधिकार स्थापना गर्न सक्दो सङ्घर्ष गरेको छ । ऊ शरणार्थी शिविर फर्केर मीठो मसिनो खाने दशैँजस्तो महान् चाड अभावमै मनाएर सङ्घर्ष गरेको छ । काठमाडौँ आएर पनि सङ्घर्षपूर्ण जीवन बिताएको छ । देश फर्कने मानसिक सङ्घर्षको कथा त छँदै छ । तेस्रो मुलुकमा पुनर्वासका लागि जाने कि नजाने द्विविधाको मानसिक द्वन्द्व त्यत्तिकै पीडादायी छ ।
‘युग यात्रा’ पवित्र प्रेम सम्बन्धको मीठो कथा हो । नायक–नायिका बालसखा हुन् । यी दुईबीच बुद्धि नमिसिएको पवित्र प्रेम रहेको छ । दुवैमा पवित्र प्रेमको भाव देखिन्छ । दुवैमा बालापनको निश्छलता छ अनि असल साथीमा हुनुपर्ने गुण पनि छन् । तर उनीहरूको जीवन सोचेजस्तो छैन; भोगेजस्तो छ ।
‘युग यात्रा’ भुटानको लामीडाँडाको गाउँदेखि अस्ट्रेलियाको सिड्नीसम्मको फराकिलो परिवेश समेटेर लेखिएको उपन्यास हो । लामीडाँडा गाउँ नजिकै चार परिवार भेट भएर खोलानाला, डाँडाकाँडा रातिराति छिचोल्दै भारत पसेपछि भुटानी आर्मीको डरबाट मुक्त भएर भविष्यको डर पछ्याउँदै झापाको टिमाईको बगरमा छाप्रो हालेर बसेको शिविर नै उपन्यासको मुख्य परिवेश हो । उपन्यासमा गोलधाप, पथरी, बेलडाँगी र खुदुनाबारी पनि परिवेशका रूपमा आएका छन् । बनारस, काठमाडौँ, सिड्नी, क्यानबेरा पनि उपन्यासका परिवेश हुन् । क्राइस्टेली संवत् १९९०/९१ देखि २०२५ सम्मको समय उपन्यासले कैद गरेको छ । नायकको भुटानको शान्त र सुखी जीवनदेखि लगाएको लुगा मात्र साथमा लिएर भुटान छाडेर टिमाईको शरणार्थी शिविरमा लगभग दुई दशक अभाव र कष्टमा बस्नुपरेको अनि अस्ट्रेलिया पुगेर भौतिक रूपमा सम्पन्न जीवन बाँचेको तर पहिचान मासिएको अवस्था नै उपन्यासको खास परिवेश हो ।
‘युग यात्रा’ उपन्यासले भुटानी शरणार्थी भएर जिरोमा झरेको मुख्य पात्र मुक्तिलाई अस्ट्रेलिया पुगेर भौतिक रूपमा सम्पन्न बनेको यथार्थ बताएर जीवन सङ्घर्ष हो भन्ने दर्शन दिएको छ । जस्तोसुकै परिस्थितिमा हरेस नखाई समयअनुसारको ज्ञान र सीप सिक्दै अगाडि बढेको मुक्तिको कथा पस्केर उपन्यासले सङ्घर्षलाई सकारात्मक रूपमा ग्रहण गर्नु नै जीवन बाँच्ने कला हो भन्ने दर्शन पनि दिएको छ । धनसम्पत्ति मात्र सुखको आधार होइन; परम्परा, पारिवारिक आत्मीयता र पहिचान सुखको आधार हो भन्ने जीवन दर्शन उपन्यासको मुख्य पात्र मुक्तिको जीवन बचाइ र सोचाइबाट दिएको छ । व्यक्तिको सङ्घर्षशील स्वभावबाट वृद्धि मानसिकता विकास हुने अनि त्यसले सामान्य मानिसलाई विशेष मानिस बनाउने मनोवैज्ञानिक दर्शन उपन्यासले दिएको छ । अभाव र दबाबमै वृद्धि मानसिकता सशक्त हुने अनि व्यक्ति समय र ठाउँअनुसारका ज्ञान र सीप सिकिरहने सोचले उन्नत बनाइरहने भन्ने विश्व प्रसिद्ध मनोविद् क्यारोल ड्वेकको मनोविज्ञानलाई दर्शन बनाउन उपन्यासले कुनै कसर बाँकी राखेको छैन ।
‘युग यात्रा’ एक हिसाबले आत्मकथात्मक उपन्यास प्रतीत हुन्छ । मुख्य पात्रको जीवनका सत्य घटना, अनुभव, उतारचढाव र उपलब्धिलाई पदम काफ्लेका नामबाट लिपिबद्ध गरिएको जस्तो लाग्छ । मुक्ति र मायाको प्रेम कथामा औपन्यासिकता छ । प्रकृति चित्रण गर्दा काल्पनिकीको प्रयोग निकै नै भएको छ । आत्मकथाको शक्ति स्मृति र सत्य अनि उपन्यासको तागत कल्पना र रचनात्मकता एकै ठाउँ मिसिएर आएकाले यसलाई उपन्यासभन्दा आख्यानात्मक आत्मकथा भन्नु न्याय हुन्छ । परिवेश चित्रण सशक्त छ; मुक्ति र मायाको प्रेम कथा नाटकीय छ । बाँकी औपन्यासिक तत्त्व सशक्त पार्न उपन्यासकारले भ्याएका छैनन् ।
‘युग यात्रा’ मीठो र प्रवाहमय भाषामा लेखिएको उपन्यास हो । ठाउँ, परिवेश र पात्र सुहाउँदा उखानटुक्काको प्रयोग, परिवेश अनुकूलको हिन्दी र अंग्रेजी संवादले उपन्यास मनप्रिय बनेको छ । अज्ञानी बालकको जस्तो प्रस्तुति रोचक छ । बुद्धि नपसेको अबोध पात्रका कारण उपन्यास पाठकप्रिय हुने सम्भावना छ । उपन्यास भाग १ र २ गरी दुई खण्डमा विभक्त छ । पहिलो खण्ड ‘क’ देखि ‘ध’ सम्म विस्तारित छ । यस खण्डमा भुटानी शान्त र सुखी जीवनदेखि त्यहाँबाट लखेटिएको कथा लेखिएको छ । दोस्रो भाग ‘क’ देखि ‘म’ सम्म फैलिएको छ । झापाको टिमाईको बगरमा छाप्रो बनाएर बसेर गरेको अनिश्चित भविष्यको यात्रादेखि अस्ट्रेलियाको सम्पन्न जीवनसम्मको सुरक्षित र सुनिश्चित जीवनको कथा छ ।
२८६ पृष्ठमा फैलिएको उपन्यासले मुक्तिको गुमेको पहिचान खोजेको छ; वैश्विक नागरिकको पहिचान पाएको छ तर जन्मेको माटो छातीमा टाँस्ने पहिचान पाएको छैन । गङ्गा लामिठारे र प्रकाश आङ्गदेम्बेका भूमिका गहिरा र बौद्धिक छन् । सङ्घर्षशील जीवन र सिर्जनशील लेखनको सङ्गम ‘युग यात्रा’ पढ्दा पाठकलाई पैसा र समयको शोषण भएको महसुस हुँदैन ।

