साहित्यपोस्ट डट कम

संवादबाट सम्बन्धको पुनर्जन्म

संवादबाट सम्बन्धको पुनर्जन्म

प्रेम सधैँ चिच्याएर आइदिँदैन, कहिलेकाहीँ त्यो चुपचाप आएर बस्छ, हृदयको कुनामा । बोल्दैन, महसुस हुन्छ । ठीक त्यसरी नै प्रेम कहिलेकाहीँ चिच्याएर मर्दैन पनि, नबोलेरै मर्छ । मेरा त्यस्ता केही प्रेम थिए । नबोलेर नै अनाहकमा टुटेर गए । अहिले पछुतो लाग्छ । उतिबेला बोलेरै आफ्ना कुरा राख्न सकेको भए !

हामीलाई लाग्छ, मौन रहनु नै शान्ति हो । सबै मौनतामा शान्ति हुँदैन, कहिलेकाहीँ त्यो सम्बन्धको बिट पनि बन्न पुग्छ, पुग्दो रहेछ ।

यो यस्तै फरक प्रसंगको कुरा हो । मैले पनि थाहा नपाउँदै धेरै पटक सम्बन्धको फ्रेम तयार पारेछु, बोल्न नसकेर । तिमीलाई रिस उठ्यो होला ! तिमी चुप भयौ । मलाई गाह्रो लाग्यो, मैले लुकाएँ । दुवै जनाले बोलेनौँ, दुवैजनाले सहेनौँ । सहन सकिएको भए हामी किन टाढा हुन्थ्यौँ र ?

याद छ मलाई एक साँझ हामी बगैँचामा हिँडिरहेका थियौँ । उनले केही भनिरहेकी थिइन् । म उनलाई ध्यान नदिइ मोबाइल स्क्रिन हेर्दै थिएँ । त्यतिबेला उनी पनि चुप भइन् । त्यो मौनता केही मिनेटको मात्रै भए पनि त्यसले हाम्रो सम्बन्धमा वर्षौँको दूरी ल्याइदियो । उनले केही दिनपछि भनिन्, “म महसुस गरिरहेकी थिएँ कि म तिमीलाई आवश्यक छैन भनेर ।”

त्यो क्षण एक प्रकारको सन्नाटा छायो, एक किसिमको झट्का । त्यो झट्कापछि पनि मैले केही भन्न सकिनँ । हामीले सानैदेखि सिक्यौँ, रुनु हुँदैन, प्रेममा गुनासो गर्नु कमजोरी हो, बोल्दा झगडा हुन्छ, सहनु नै बुद्धिमानी हो आदि इत्यादि । हामीले संवाद होइन, सहनशीलताको अनुशासन सिक्यौँ । अनुशासनले हाम्रो प्रेमलाई कैदी बनायो ।

केही कुरा त रिस होइन, असमझदारीको चिह्न पनि हुँदा रहेछन् । नबोल्दा, हामी त्यही असमझदारीलाई सत्य मान्न थाल्छौँ । अन्ततः सम्बन्धको अन्त्य कुनै ठूलो घटनाले होइन, थुप्रै साना साना झिनामसिना कुराले हुँदो रहेछ ।

कहिलेकाहीँ लाग्छ, यदि त्यो दिन तिमीले भनेको भए पनि त हुन्थ्यो- “आज तिमीले ध्यान नदिएकोमा मलाई दु:ख लागेको छ ।” म पनि भनिरहेको हुन्थेँ सायद- “सरी, म थाकेको छु, तिमीलाई सुन्नु छ ।” त्यही संवादले हामीलाई नयाँ समझदारीमा अभिप्रेरित गर्न सक्थ्यो ।

म बुझ्छु, चुपचाप रहनु चाहे आत्मसम्मानकै नाममा किन नहोस्, प्रेमका लागि पनि घातक हुन्छ । हामी नबोली रहँदा भावना हराउँदा रहेछन् । हामी चुप लाग्दा, विश्वास ओइलिने र झर्ने गर्दो रहेछ । अन्ततः सम्बन्ध दुई चुप लागेका मानिसको तस्बिर बनिदिँदो रहेछ । जसका मुटुमा शब्द छन्, ओठमा मुस्कान अलिनो हुँदो रहेछ ।

प्रेममा कहिलेकाहीँ केही त्यस्ता क्षण आउँछन् जुन क्षणमा बोलेको शब्द, देखाएको व्यवहार वा खिचिएको सासले सम्बन्धको रूप नै बदलिदिन्छ । ती क्षण कहिले अनायास आउँछन्, भावनाको अतिवाहमा । जब आउँछन् नियन्त्रण गर्न सकिँदैन ।

त्यस दिन म रिसाएको थिएँ । बाहिर देखिने कुराको कारण होइन, असाधारण प्रेम भित्रको असुरक्षा, थकान र कहिल्यै खुलेर व्यक्त गर्न नसकेको आफ्नै अपूर्णताको बोझ । तिमीले केही भन्यौ, एकदम सामान्य कुरा, म त्यही सामान्यमा तिमीले मलाई दोष लगाएको अर्थ निकालेर तिमीमाथि बर्सिएँ ।

“तिमी जहिले पनि ममाथि दबाब दिन्छ्यौ !” मैले चिच्याएर भनेको सम्झना छ । तिमी चुप भयौ । कहिलेकाहीँ तिमीले केही नबोल्नु पनि आवाज लाग्थ्यो आफ्नै अन्तर्मनको चिच्याहट जस्तै । त्यो दिन केही भन्यौ- “यदि म दोषी नै देखिन्छु भने म चुप नै बस्ने ।” त्यसपछि तिमी हिँड्यौ । ढोका बन्द भयो, त्यस आवाजले मभित्रको ढोका खोलिदियो ।

साँझ भएको थियो । फोन उठाएर माफी माग्न कति मन थियो । सोचेँ, “किन म ?” म त रिसाएको थिएँ, तिमीले त बुझ्नुपर्ने होइन र ? यही द्विविधामा रात बित्यो । मैले पनि फोन गरिन, तिमीले पनि गरिनौँ ।

भोलिपल्ट म तिमीलाई भेट्न गएँ । तिमीले आँखा झुकाएर मात्र भन्यौ- “हामी दुवै रिसाउँछौँ तर एक चुप लाग्दा अर्काले सम्हाल्नुपर्छ होइन र ?”

त्यही वाक्य थियो, मलाई भित्रैदेखि हल्लाउने । त्यस दिन पहिलो पटक मैले बुझेँ- सम्बन्धमा ठूलो वा सानो गल्ती हुँदैन, हुन्छ त क्षमाको इच्छा ।

गल्ती हामी सबैबाट हुन्छ, प्रेम त्यतिबेला बाँचिरहन्छ जब गल्तीलाई नकारेर होइन, स्वीकार गरेर अघि बढ्ने प्रण गरिन्छ । क्षमाको हृदय विराट बनाउन सकिन्छ । अनि मात्रै सम्बन्ध साँच्चै प्रगाढ बन्न सक्छ ।

माफी माग्नु कमजोरी होइन, माया बलियो छ भन्ने प्रमाण हो । सरी भन्न सक्नु प्रेमको एक अद्वितीय सौर्य हो । क्षमाशीलताले आत्मसम्मान त घट्दैन बरु आत्मीयता बढ्छ ।

तिमीले देखाएको सहनशीलता, तिमीले दिएको क्षमाको ठाउँ अनमोल लाग्छ । त्यही क्षणले मलाई सिकाएको हो प्रेम फूलमात्रै होइन, काँडासँग साक्षात्कार गर्नु पनि हो । हामी काँडामा पनि हिँड्न सक्ने भएकाले नै साँचो माया गर्न सक्षम छौँ ।

केही कुराहरू हाम्रो मनमा हुन्छन् जसलाई शब्दमा भन्न गाह्रो पर्छ । गाह्रोपन, चुपचाप त अक्सर सम्बन्धका हरेक गहिरा तहमा मन्द विष बनिरहन्छ । हामी सँगसँगै हाँस्छौँ, खाना खान्छौँ, यात्रा गर्छौँ तर हाम्रो मनमा गुम्सिएका ती संवादविहीन भावनाहरू भित्रभित्रै चिच्याइरहेका हुन्छन्- सुन मलाई, बुझ मलाई, भन्न देऊ मलाई ।

सम्बन्धमा सबैभन्दा गहिरो कुरा त्यतिबेला हुन्छ जब हामी समस्या नभएजस्तो अभिनय गर्छौँ तर हाम्रा आँखामा, हाम्रा प्रतिक्रियामा, स्पर्शमा ती नबोलेका कुराहरू बाँचिरहन्छन् ।

त्यो एक साँझ हामी एकै टेबलमा थियौँ । चिया अगाडि थियो, नबोली बिचमा । मैले तिमीलाई हेरेँ, तिमी मोबाइल हेरिरहेकी थियौ । तिमीले मलाई हेर्ने आँखा झुकाइनौँ । त्यो क्षण मलाई लाग्यो, हामीबिच अब कुनै कुरा बाँकी छैन ।

धेरै कुरा तिमीलाई भन्न मन थियो- “म असुरक्षित महसुस गरिरहेकी छु ।” मलाई भन्न मन थियो- “तिमी धेरै पर भएकी छ्यौ अचेल ।” तिमी भन्न चाहन्थ्यौ—”तिमी बदलिँदै गएका छौ ।” म भन्न चाहन्थेँ—”म डराउँछु, तिमीलाई गुमाउँछु कि ! भन्ने डर लाग्छ ।”

हामी चुप बस्यौँ ।

त्यस रातले मलाई सिकायो, चुपचाप रहनु प्रेमको शत्रु होइन तर अस्वीकार गरिएको संवादको परिणाम हो । हामीले समयमै मनका कुरा भनिरहेका भए त्यो परिस्थिति बन्दैनथ्यो । तिमीले नै भन्यौ निकै दिनपछि- “त्यसरी भन्न मलाई थाहा भएन, तिमी बदलिएको महसुस हुन्छ । तिमी तिमी जस्तो छैनौँ हिजोआज ।” एक वाक्यले मलाई झस्कायो । तिमी बोल्न सक्यौ । म बोल्न सक्थेँ । हामी चुप रह्यौँ, निरर्थक हिसाब-किताबमा ।

त्यसैले आज मलाई लागिरहेको छ, सम्बन्ध जोगाउनु भनेको ठूलो बलिदान हो । साना साना कुरामा संवाद गरिरहनु हो । मन परेन भन्न सक्नु, रिस उठ्यो भन्न सक्नु, म असुरक्षित छु भन्न सक्नु । वास्तवमा यिनै हुन् वास्तविक प्रेमका संवादहरू । रिसले भत्काउँछ, संवादले जोड्छ । जोडाइमा नै त सम्बन्धको साँच्चिकै पुनर्जन्म सम्भव हुन्छ ।

सम्बन्धको अन्त्य अपराधबाट होइन, अहंकारबाट हुन्छ । जब दुवैजना म सद्देको दम्भमा बाँधिन्छन् तब प्रेम हामीबाट छुट्टिएर म र तिमीमा टुक्रिन्छ । अनि सम्बन्ध बाँचिरहेको देखिए पनि भित्रभित्रै कुहिन पो थाल्दो रहेछ !

मैले यतिबेला नै महसुस गरेको हो । मैले सधैँ तिमीलाई दोष दिन सजिलो मानिरहेँ । तिमी ढिला आयौ, तिमीले बिर्सियौ, तिमीले बुझेनौ मलाई । यी मेरा चिरपरिचित वाक्य भएर खोला बनी बगिरहे । एक दिन म साँच्चिकै एक्लिएर बसेँ, तिम्रो लागि पुरानो सन्देश पढेर, त्यो सन्देशमा म आफ्नै कठोरताको आभासले गलित बन्न पुगेँ ।

तिमीले लेखेकी थियौ: “म तिम्रा लागि परिवर्तन हुन खोजिरहेकी थिएँ । तिमीले कहिल्यै बुझेनौ कि म पनि थाक्दछु । म पनि असुरक्षित हुन्छु । म पनि सुन्न चाहन्छु – तिमी गलत होइनौंँ भनेर ।” त्यो पढेपछि म टोलाएँ ।

मैले कहिल्यै माफ गर भन्ने शब्दलाई महत्त्व दिइनँ । मलाई लाग्थ्यो – म त सहि छु । त्यो अहंता आफैँमा एउटा बलियो गलफती थियो । मैले महसुस गरेँ—म पनि बदलिएको छु । म पनि अलि निर्दयी बनेको छु । म सुन्नेभन्दा बढी बोल्ने प्रयास गर्दै थिएँ त्यतिबेला ।

मैले आफैँलाई सोधेँ, के मैले कहिल्यै भनेंँ –

“माफ गर, म पनि अलि कठोर भएँ ।”

“मैले बुझ्न सकिनँ तिमीलाई ।”

“गल्ती मसँग पनि थियो ।”

हो, मैले ती शब्दहरू ननिकालेको भए सायद तिमी अझै मेरो सामुन्ने हुन्थ्यौ, चुपचापै भए पनि ।

हामी सम्बन्धमा कहिल्यै कमजोर देखिन चाहँदैनौँ । हामी सोच्छौँ— “मैले माफी मागेँ भने उसले मलाई कमजोर ठान्छ ।” तर साँचो सम्बन्ध त्यहीँ बलियो हुन्छ जहाँ हामी आफ्नो कमजोरी देखाउन डराउँदैनौँ ।

त्यो दिन मैले आफैँलाई पहिलोपटक स्पष्ट देखेँ—म पनि दोषी थिएँ । अनि त्यो बोधले मलाई कमजोर होइन, अझ गहिरो बनायो । किनभने जब हामी “गल्ती मसँग पनि थियो” भन्न सिक्छौँ त्यहीँबाट सम्बन्धले फेरि शुद्ध रूप लिन्छ ।

र प्रेम त्यही हो—जहाँ हामी गल्तीको साक्षात्कार गर्छौं, आत्मस्वीकृति गर्छौं र फेरि एकपटक न्यानोपन सँगाल्न खोज्छौँ ।

सम्बन्ध भनेको प्रेम वा आकर्षणको नाम होइन । त्यो भनेको दुई पृथक् आत्माहरूबिचको पुल हो—जसलाई संवादले मजबुत बनाउँछ । जब यो पुल चिरा पर्न थाल्छ तब बोल्न छोडिन्छ । फेरि बुझ्ने प्रयास रोकिन्छ, त्यहीँबाट सम्बन्धको क्षय शुरु हुन्छ ।

म र ऊ बिचको दुरी कुनै एक दिनको परिणाम थिएन । त्यो क्रमशः जम्दै गएको पानी पोखरी थियो—जहाँ मैले उसको आँखाको असन्तोष पढिनँ, उसले मेरो अधुरोपन महसुस गरिन । हामी दुवै असन्तुष्ट थियौँ तर हामीले त्यो असन्तुष्टि शब्दमा राख्न जानेनौँ ।

ऊ कहिलेकाहीँ रातको साढे दश बजे म्यासेज गर्थी—”के सुत्यौ ?” मैले लेख्थेँ—”हो, अलि थाकेको छु ।” त्यसपछि ऊ टाईपिङमा देखिन्थी अनि गायब । त्यो गायब हुनुको कारण थाहा पाउन म कहिल्यै तयार भइनँ । किनकि मलाई लाग्थ्यो— उसले आफैँ बताउली तर केवल पर्खाइरही —”उसले किन बुझ्दिन ?” यस्तो द्विविधा असल सम्बन्धका लागि घातक हुन्छ ।

हामीले कहिल्यै खुलेर भनेनौँ—

“तिमीलाई मेरो कुन बानी मन पर्दैन ?”

“तिमी किन टाढा जस्तो लाग्छौ ?”

“हामी किन पहिले जस्तो छैनौँ ?”

हामीले कुरा टारेका हौं, चुप बस्यौं, नबुझेझैँ गर्यौं—तर अन्ततः तिनै बोली वाक्यहरूले हामीलाई टाढा बनाइदिए ।

कसैले कसैको मनको पाना पढ्न सक्दैन । शंका, डर, असुरक्षा—यी कुरा खुला संवादबाट मात्र निकास पाउँछन् । तर हामी डराउँछौँ—कहिले झगडाको डरले, कहिले सम्बन्ध बिग्रन्छ कि भन्ने डरले । तर यथार्थ यही हो—सम्बन्ध तब बिग्रन्छ जब संवाद बन्द हुन्छ ।

साँचो प्रेम भनेको सहमति मात्र होइन, असहमति सहन सक्ने सामर्थ्य हो । अनि त्यो सामर्थ्य संवादबाट आउँछ—जहाँ ‘तिमीले यस्तो गरेऊ’ भन्ने होइन ‘मलाई यस्तो लाग्यो’ भन्ने शैली हुन्छ ।

त्यसैले जब कोही तपाईँलाई आफ्ना डर सुनाउँछन् । शंका, पीडा र भावनाहरू खोल्छन्—त्यो विषाक्तता होइन । त्यो विश्वास हो । र हामीले त्यही विश्वासको कदर गर्नुपर्छ । किनभने नबोलिएका कुराहरू कहिलेकाहीँ सम्बन्धको अन्त्य बनिदिन्छन् ।

जीवनका धेरै रंगहरूबीच सम्बन्ध एउटा यस्तो चित्र हो, जुन दुई जनाको ब्रशले मात्र पुरिन्छ । एकजनाले रंग भर्ने काम गर्ने र अर्काले हेरिरहने हो भने त्यो चित्र अधुरो रहन्छ । सम्बन्ध मात्रै भावना होइन, त्यो दायित्व पनि हो—सुनुवाइ गर्ने, महसुस गराउने र सँगसँगै हिँड्ने ।

अहिलेको सम्बन्धीय युगमा हामीले प्रेमलाई सजिलो बनाएजस्तो गर्छौँ तर त्यो सजिलोपनाभित्र धेरै अव्यक्त कठिनाइहरू लुकेका हुन्छन् । कसैले एकातर्फ आफ्नो मनको बटुवामा प्रश्न र पीडाको भारी बोकेको हुन्छ भने अर्कोतर्फ कहिल्यै त्यो चिन्ने प्रयास नगरेको पनि हुन्छ । त्यहाँ कुनै शत्रुता हुँदैन तर गहिरो गम्भीरता पनि हुँदैन—र यस्तै तटस्थतामा सम्बन्धहरू क्रमशः मक्किँदै जान्छन् ।

‘म ठीक छु’ भन्ने संवाद अहिलेको सम्बन्धीय संसारको सबैभन्दा शंकास्पद वाक्य हो । धेरैजसो त्यसमा लुकेको हुन्छ—”मलाई बुझिदेऊ तर सोध्नु पर्दैन भन्ने आशा ।” यस्तो अवस्थामा संवाद हुन सक्दैन मात्र बुझाइको अपेक्षा रहन्छ । तर सम्बन्ध बुझाइको व्यापार होइन । सहभागिताको संगत हो ।

जब कोही आफ्ना सीमा प्रष्ट गर्छ, असहज भएको कुरा नजिकको मान्छेलाई बताउँछ, त्यो सम्बन्धको अपमान होइन, बरु सम्मान हो । सम्बन्धमा साझा निर्णय, साझा अनुभव र साझा जिम्मेवारी हुन्छ । यदि दु:ख एकजनाको मात्र रहन्छ र समाधान अर्काले मात्र खोज्नुपर्ने हुन्छ भने त्यो सम्बन्ध हैन—त्यो सहानुभूतिको एकतर्फी परिदृश्य मात्र हो ।

एकपटक यस्तो अनुभव भयो—उनी धेरै दिनदेखि अलिकति टाढा-टाढा जस्ती लाग्थी । म सोच्थेँ, उसले भनिहाल्छे होला । ऊ सोच्थी, म बुझिहाल्छु होला । तर हामी दुवैले जे ठान्यौँ, त्यही हाम्रो गल्ती थियो । किनभने सम्बन्धहरू बुझाइको आडमा होइन, सहभागिताको आधारमा बाँच्छन् ।

सफल सम्बन्धमा एउटाको पीडा दुवैको बोझ हुन्छ र एउटाको खुसी दुवैले मनाउने उत्सव । त्यसैले, म भन्न चाहन्छु— सम्बन्ध केवल रोमान्स होइन । त्यो एउटा अभ्यास हो—जहाँ दुईजना मान्छे निरन्तर सिक्दै छन्, बढ्दै छन्, गल्ती गर्दै, माफी माग्दै र फेरि सँगै उभिँदै छन् ।

त्यो अभ्यासमा लचकता, संवाद र जिम्मेवारी सबै आवश्यक हुन्छ । यदि तिनीहरू छैनन् भने त्यो सम्बन्ध होइन—त्यो सम्झौतामा टाँसिएको एक अन्त्यहीन मौनता हो ।

र हामी त आखिर त्यो सम्बन्ध खोजिरहेका हुन्छौँ—जहाँ मनको भाषा खुला होस्, व्यवहार पारदर्शी होस् र साथ त्यस्तो होस् जसमा जीवनको हरेक उचाइ वा ओराली एकसाथ टेकिन्छ ।

कुनै पनि सम्बन्ध यात्राजस्तै हुन्छ । शुरुवातका केही दिनहरू सधैँ उज्याला लाग्छन्—नयाँपनको झल्को, समझदारीको रस र भावनाको मिठासले सबै कुरा पूर्ण लाग्छ । तर जब समय बित्छ, हामीबिच मतभेद देखा पर्न थाल्छ र त्यहीँबाट सम्बन्धको साँचो परीक्षा शुरु हुन्छ ।

यो परीक्षा पास गर्ने तिनीहरू हुन्, जसले ‘गल्ती भयो’ भन्न सक्ने आँट राख्छन्, ‘माफ गर’ भन्न सक्ने नम्रता राख्छन् र फेरि पनि ‘सँगै हिँडौँ ’ भन्न सक्ने भरोसा राख्छन् ।

यथार्थ के हो भने, सहयात्रा सधैँ समरूप हुँदैन । कहिले हामी अघि बढ्छौँ, कहिले थकित भएर रोकिन्छौँ । कहिले एकजना बोल्छ, अर्को सुन्छ । कहिले एकजना चिच्याउँछ, अर्को मौन हुन्छ । तर अन्ततः त्यो सम्बन्ध टिक्छ, जसमा दुवैले थकित क्षणमा पनि हात छाड्दैनन् ।

याद गर्नुपर्ने कुरा हो—निष्ठा भन्नाले सधैँ मिल्ने कुरा मात्र होइन । निष्ठा भनेको त असहमतिमा पनि सँगै बस्न सक्नु हो ।

म सम्झन्छु, कुनै दिन मैले धेरै तिक्त शब्द प्रयोग गरेको थिएँ । रिसले भरिएको त्यो पलमा ऊ चुपचाप थिई । केही समयपछि ऊ नजिक आएर भनेको थिई— “तिमी रिसाएको ठीकै हो तर म यहाँ छु । तिमीलाई सुनिरहेकी छु । हाम्रा लागि बोल त ।”

त्यो भनाइले मलाई भत्किएको ठाउँमा पुनः निर्माण गर्न सिकायो । सम्बन्ध निर्माण गर्न फूल र कविताको खाँचो पर्दैन । त्यहाँ त चाहिन्छ – स्पष्टता, निष्ठा र क्षमा गर्ने मन ।

गल्ती नहुने मान्छे छैनन् । तर सम्बन्ध बिग्रिन्छ, जब हामी आफ्ना गल्तीहरू स्वीकार गर्न डराउँछौँ । कहिलेकाहीँ हाम्रो ‘ईगो’ हाम्रो प्रेमभन्दा अग्लो हुन थाल्छ । त्यति बेला हामी आफैँले निर्माण गरेका सम्बन्धका ढोकाहरू आफैँले बन्द गरिरहेका हुन्छौँ ।

त्यसैले, सम्बन्ध जोगाउन संवाद गर्नुपर्छ । संवाद गर्नुभन्दा पहिले मन सफा हुनुपर्छ । मन सफा भएपछि शब्दहरू नरम हुन्छन् र जब शब्द नरम हुन्छन्, त्यसले चोट होइन उपचार दिन्छ ।

आजको युगमा सम्बन्धहरू चाँडै बन्छन् र चाँडै टुट्छन् पनि किनभने हामीले तिनलाई राख्न ऊर्जा खर्च गर्न चाहँदैनौँ । तर साँचो सहयात्रा भनेको त्यो हो—जहाँ दुई व्यक्तिहरू समय, ऊर्जा र समझदारीको लगानी गर्छन् । जहाँ रिस पनि हुन्छ, बहस पनि हुन्छ, तर अन्तमा बिर्सन र अँगाल्न सक्ने मन पनि हुन्छ ।

मैले बुझेको छु— सहयात्रा भन्नाले सबै कुरा सहमतिमा हुनु होइन तर असहमति हुँदा पनि एक-अर्कालाई नछोड्ने निर्णय हो । त्यो निर्णय जुन दिनहुँ गरिनुपर्छ ।

त्यो निर्णय, जसले सम्बन्धलाई जोगाउँछ, बनाउँछ, अनि बलियो बनाउँछ ।

सम्बन्धलाई बलियो बनाउने सबभन्दा महत्त्वपूर्ण आधार भनेको संवाद हो । खुला मनले कुरा गर्नु, आफ्ना भावना र सोचहरू एक अर्कासँग बाँड्नु नै सम्बन्धलाई जीवित राख्ने मुख्य सूत्र हो । तर संवाद भन्नाले झगडा वा विवाद मात्रै होइन । संवाद हो—एकअर्कालाई सुन्ने कला, समझदारीपूर्वक प्रतिक्रिया दिने क्षमता र भावनालाई सम्मान गर्ने अभ्यास पनि ।

धेरैजसो हामी संवादबाट भाग्ने प्रयास गर्छौं—किनभने डर लाग्छ कि हाम्रो कुरा सुनेर अर्कोको प्रतिक्रिया कस्तो आउला ? कहिलेकाहीँ हामीलाई लाग्छ, “यदि मैले आफ्नो मनको कुरा बताएँ भने हामी बीच झगडा बढ्न सक्छ ।” तर साँच्चिकै समस्या तब हुन्छ जब हामी केही व्यक्त गर्दैनौ र बस्छौँ । आफ्ना भावना दबाउँछौँ त्यसपछि सम्बन्धमा दुरी बढ्न थाल्छ ।

साँचो संवादको अर्थ—आफ्ना मनका कुरा छोप्नु होइन, सही र सम्मानजनक तरिकाले खुलाउनु हो । सम्बन्धमा कहिलेकाहीँ रिस, निराशा, डर र शंका हुन्छन् । यी सबै भावना छन् तर तिनीलाई व्यक्त नगर्ने हो भने मनभित्र दु:ख र तनाव भित्रिन्छ । त्यो तनाव समयसँगै सम्बन्धमा दरार ल्याउँछ ।

यसैकारण, सम्बन्धमा संवादका लागि साहस चाहिन्छ । आफ्ना कमजोरी र त्रुटिहरू स्वीकार्न, गल्ती मान्न र माफी माग्नु पनि संवादकै अंश हो । जब हामीले आफ्ना कमजोरी देखाउँछौँ र अर्कोले त्यसलाई स्वीकार्छ, तब सम्बन्ध गहिरिन्छ ।

म सम्झन्छु, एकपटक म आफैँलाई थाहा नदिइकन रिसाएको थिएँ । त्यसले हाम्रो सम्बन्धलाई कति टाढा पुर्यायो । तर पछि मैले आफ्नो मनका कुरा स्पष्ट रुपमा व्यक्त गरेँ, त्यो अन्तराल कम हुन थाल्यो । यो सानो कुरा हो जस्तो लाग्छ तर यसको शक्ति असीम छ ।

संवादले केवल दु:ख कम मात्र गर्दैन, यसले विश्वासको नयाँ पुल पनि बनाउँछ । त्यो पुल जहाँबाट हामी फेरि सँगै हिँड्न सक्छौँ, फेरि समझदारी र माया बढाउन सक्छौँ । त्यसैले सम्बन्धमा जबसम्म खुला र इमानदार संवाद हुँदैन, तबसम्म साँचो निकटता सम्भव छैन ।

सम्बन्धलाई जीवित राख्न संवादलाई प्रोत्साहन गर्नुपर्छ । डरलाई छोडेर, प्रेम र समझदारीका लागि बाटो खोल्नुपर्छ । “मनका कुरा खोल्ने साहस नै सम्बन्धको सबैभन्दा ठूलो शक्ति हो ।”

निष्कर्ष: संवादबाट सम्बन्धको पुनर्जन्म

जीवनका कुनै पनि सम्बन्धहरू प्रेम, मित्रता, परिवार जहाँसुकै जोसँग होस् तिनमा संवादको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । खुला मनले कुरा गर्दा मात्र सम्बन्धहरू बलियो, दिगो र भरपर्दो बन्दै जान्छन् ।

अझ हामीले आफ्नो असल र खराब दुवै पक्षलाई मूल्याङ्कन गर्ने, गल्ती स्वीकार गर्ने, माफी माग्ने र माफी दिन सक्ने क्षमता विकास गर्छौं तब सम्बन्धमा नयाँ जीवन नवीकरण हुँदै जान्छ । संवादले हाम्रो मनको ढोका खोल्छ, विश्वास र समझदारीको वातावरण सिर्जना गर्छ र विश्वासमा रहेको दुरी घटाउँछ ।

सम्बन्धमा मौनता, डर र शङ्का मात्रै गर्ने व्यवहारले टाढा टाढा पुर्‍याउँछ । विषाक्तता त्यो हो जुन हामीले आफैँभित्र दबाएर राख्छौँ । त्यसैले खुला संवादलाई हाम्रो सम्बन्धको आधार बनाउन आवश्यक हुन्छ ।

यस्ता सम्बन्ध जहाँ मनका कुरा खोल्न सकिन्छ त्यहाँ इमानदारी र समझदारीले भरिएका कोलाज हुन्छन् । तिनै सम्बन्ध साँच्चिकै सफल र सुखी हुन्छन् ।

हाम्रा सम्बन्धमा संवादलाई कहिल्यै नछोडौँ । मनका कुरा खोल्ने साहस गरौँ र त्यसका माध्यमद्वारा नाता अझ प्रगाढ बनाऔँ । हामीले प्रेम, विश्वास र सम्मानका साथमा मायाका सम्बन्धहरू बनाउन सकौँ, जो जीवनभर हाम्रो साथ रहनेछन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.