“फूलै फूल मात्र पनि होइन रैछ जीवन, काँडाबीच फुल्ने फूल रैछ जीवन ।” लाग्छ –यो पङ्क्तिमा जीवनको अर्थ पाइन्छ । जीवन भनेको फूलजस्तो सबैलाई सुवास छर्ने मात्र होइन र काँडाबीच फुल्न पनि सक्नुपर्दछ भन्ने हो । त्यसैले, जीवनलाई काँडैकाँडा भएको गुलाबको बोटभित्र फुलेको फूल जस्तै हो भन्न सकिन्छ । जीवनको परिभाषा गरिरहनु पर्दैन किनभने प्रत्येक मानिसको जीवन आ–आफ्नै हुन्छ । कसैको सरल रेखामा हुन्छ भने कसैको नागबेली भएर उतारचढाव भएको हुन्छ ।
मलाई भने जीवन भनेको संघर्ष नै हो जस्तो लाग्छ । काँडाबीच फुल्न फूलले कति सङ्घर्ष गर्नुपर्दछ । जताततै काँडा हुन्छन् यद्यपि काँडा पन्छाउँदै ऊ फुलेरै छाड्दछ । जुन फूलको बास्ना र आकर्षणले सबैलाई लोभ्याएको हुन्छ ।
मेरो पनि सबैकोझैँ आफ्नै कथा व्यथा छन् । अहिले आफ्नै इतिहास कोट्याउँदा आश्चर्य लागेर आउँछ । हुन त त्यसबेला जीवनको चरण फरक भएकाले पनि भविष्य बलियो छ भन्ने लाग्दथ्यो । जीवनको उत्तरार्धमा आइपुग्दा भने ती पुराना दिनहरू सम्झँदा अत्यास लागेर आउँछ । निश्चय नै ती दिन सहज थिएनन् । ७६ वर्षअघि देखिको कथा मसँग जोडिएको छ । अहिले जस्तो गाउँमा त्यो समयमा शिक्षाको सुविधा थिएन । प्राथमिक शिक्षा लिनका लागि पनि आफ्नो जिल्ला छोडी अन्य जिल्लामा जानुपर्दथ्यो । डेराडण्डा, खानपिन, सरसफाईको व्यवस्थापन आफूले नै गर्नुपर्दा कति असहज थियो आफ्नै इतिहास कोट्याउँदा अनौठो लाग्दछ । त्यसैले जीवन भनेको संघर्ष पो रहेछ जस्तो लाग्दछ ।
कतिपय अवस्थामा संयोगले पनि मानिसलाई अघि बढाउँदो रहेछ । संयोगलाई समात्न सकियो भने धेरै कुरा सहज हुँदा रहेछन् । संयोग जुर्दै गएकाले म काठमाडौँ आउन सकेँ । ५८ वर्षअघि गाउँघरबाट एसएलसी उत्तीर्ण गर्ने मानिस ज्यादै न्यून थिए । त्यसमा पनि प्रथम श्रेणीमा उत्तीर्ण हुनु भनेको धेरै परको कुरा थियो ।
म काठमाडौँ आएँ । तर अँध्यारोको जाँगरमा परेको जस्तो भएको थिएँ । कहाँ, कसरी, के गर्ने, के पढ्नेजस्ता विषयहरू मेरा लागि सजिला थिएनन् । त्यस समयमा खेमराज पण्डित र युवराज पराजुलीले मलाई धेरै सहयोग गरे । एकजनाका लागि मात्र व्यवस्थापन गर्नु पनि एउटा सिङ्गो परिवारको लागि जस्तै हुँदो रहेछ । जे होस् उनीहरूको सहयोगले मलाई धेरै सहज हुन गयो । उनीहरूको अभिभावकत्व र सहयोगका लागि म आभार व्यक्त गर्दछु ।
काठमाडौँको बसाइ कसलाई पो सहज हुन्छ र ! त्यसमा पनि हामी गाउँबाट आउनेहरूका लागि त कुरै नगरौँ । जता हेर्यो उतै दुखै दुःख । सजिलो भन्ने कुरा हुँदै हुँदै नहुने । कहिले लाग्थ्यो– पढाइ छाडेर आफ्नै घर फर्किऊँ । एकैछिनपछि मनमा अर्कै भावना आउँथ्यो । धत् लाछी, त्यसरी आत्तिने हो ! जसरी भए पनि जीवन चलाउन सक्नु पर्दछ ।
दुःखलाई पनि सुख सम्झेर मैले मुस्किलले आफ्नो पढाइ पूरा गरेँ । काठमाडौँमा योग्यताले काम गर्न नसकेर म आफ्नै गाउँ फर्किएँ । त्यसबेला गाउँमा गएर जागिर खाने भनेको शिक्षक नै थियो । जागिर खोज्दै गोरखा पुगेँ । त्यहाँ पनि संयोगले हाइस्कुलको शीर्षक भेटाएँ । करीब दुई वर्ष त्यहाँ मैले अध्यापन गरेँ । त्यसबेला मेरा विद्यार्थी थिए नारायणकाजी श्रेष्ठ । जो अहिले राजनीतिमा सक्रिय छन् ।
भइरहेको शिक्षकको जागिर छाडेर आफ्नै जिल्ला लमजुङ आएँ । यहाँ पनि मैले तीन वर्ष जति नै पढाएँ । यसरी मलाई शिक्षा पेशाले छोड्दै छोडेन । यो शिक्षण पेशाले मलाई धेरै दियो जस्तो लाग्दछ । अहिले पनि आफूले पढाएका विद्यार्थी भेट्दा खुशी हुन्छु । उनीहरूले पनि श्रद्धा गर्दछन् ।
यसबेलासम्म मेरो जीवनले वृत्ति विकासको बाटो समात्न सकेको थिएन । जीवन चलाउन मैले केही न केही गर्नु नै थियो । त्यसैले यो मास्टर जागिर छाडेर पुनः काठमाडौँ नै फर्किएँ ।
लाग्छ– काठमाडौँले मलाई धेरै दियो । मैले केही पनि गुमाउनु परेन । जागिर दियो । त्यही जागिरले परिवार धानियो । दुःख र अभाव झेल्नु परे पनि तिनीहरूको व्यवस्थापन येनकेन गरियो । आफ्ना छोराछोरी यसै थिए । अन्य भुराभुरी थपिँदा अभावमाथि अभाव थपिएकै थियो । यद्यपि अनेक विकल्प अपनाइयो, किनभने जीवन त जसरी भए पनि चलाउनु नै थियो ।
जीवनमा सबैभन्दा माथि हुने भनेको जीवनसाथी नै रहेछ । श्रीमती नीरा अनेक उपाय अपनाउँथिन् । जसले गर्दा घर खर्च चलाउन केही राहत हुन्थ्यो । कहाँ किफायत र सस्तो पाइन्छ उनी खोज्दै त्यहीँ पुग्थिन् । कुशल व्यवस्थापन र किफायती तरिका अपनाउँदा केही मात्रामा भएपनि फु फु गरी अघि बढ्न सजिलो हुँदोरहेछ । डेराका लागि काठमाडौँका राम्रा घरमा कहिले आँखा लगाउन सकिएन । खाद्यवस्तुमा पनि कहाँ सरकारी सुविधा मिल्छ खोजी खोजी हिँडिन्थ्यो । त्यस समयमा तुलनात्मक रुपमा नेसनल ट्रेडिङ् लिमिटेडमा केही सस्तो मूल्यमा सामान पाइन्थे । थोरै सामान किन्नका लागि पनि हामी श्रीमान श्रीमती लुरुलुरु टेकु पुगिन्थ्यो । यसरी हामीले धेरै चुनौती झेल्नु परेको अवस्था थियो ।
हामीले यसरी दुःख गर्नु हाम्रा लागि नभएर केवल सन्तानहरूका लागि थियो । राम्रो संस्कारमा हुर्काउनु र शिक्षा दिनु हाम्रो उद्देश्य थियो । यसका लागि हामीले निरन्तर रुपमा एक प्रकारको संघर्ष नै गर्यौं । निजी विद्यालय र कलेजमा पढाउन सक्ने हाम्रो हैसियत थिएन । त्यसैले सरकारी विद्यालय र कलेजमा पढाइयो । जहाँ पढे पनि लगनशील हुने हो भने शिक्षा आर्जन गर्न कठिन हुँदो रहेनछ । तीनवटै सन्तानले हाम्रो संघर्षलाई राम्रोसँग बुझे । त्यसैले होला आफ्नै क्षमताले उनीहरू युरोप अमेरिका पढ्ने अवसर पाए । अहिले तीनैजना अमेरिकामा छन् । एउटा छोराले कलेज पढाउँछन् भने अर्को छोरा विद्यावारिधी गर्दैछन् । छोरी पनि कृषि विज्ञ हुन् । अमेरिकामा नै काम गर्दै छिन् । अहिले हामी दम्पति निकै खुशी छौँ । खुशी भनेको जीवनको उत्तरार्धमा चाहिँदो रहेछ । यसभन्दा अघि त आफूमा केही न केही क्षमता हुन्छन् नै । त्यसबाट जीवन चलेकै हुन्छ ।
भुइँ मान्छेका लागि काठमाडौँको दैनिकी कष्टकर नै हुन्छ । सीमित साधनबाट असीमित आवश्यकता पूरा गर्नुपर्ने बाध्यता हुन्छ । तपाईं हामीसँग २०/२५ रूपियाँ छैन भने एक स्टप बस चढ्न पनि सकिन्न । एक कप चिया खान पनि सकिँदैन । सहयोग गर्ने मानिस भेट्टाउन पनि मुश्किल हुन्छ ।
केही घटनाहरूले यसरी मन दुखाउँछन् कि त्यो दुःख मापन नै गर्न सकिँदो रहेनछ । बच्चाहरूमा बालहठ हुन्छ । उनीहरूलाई जे राम्रो लाग्दछ त्यही नै चाहिन्छ । कोठाबाट बाहिर लिएर हिँड्दा बुबा तपाईंसँग पैसा छैन है , ऊ त्यो मन परेको छ मलाई भन्थ्यो । म अनुत्तरित हुन्थेँ । जवाफ दिन सक्दैनथेँ । त्यो सानो चार पाँच वर्षको बच्चाले मेरो आर्थिक अवस्था बुझिसकेको हुन्थ्यो । म मनमनै भन्थेँ । यस्तो अभाव त कसैलाई नआओस् । चार पाँच वर्षको बच्चाको सानोतिनो चाहना पनि पुर्याउन नसक्ने कति सम्मको कमजोर रहेछु भन्ने पनि लाग्दथ्यो ।
जीवनको अन्तिम चरणमा आइपुग्दा म विचार गर्छु ती दिनहरू मेरा लागि दुःख होइन रहेछन् र सुखका रहेछन् । त्यो दुःखले मलाई सुख दिन सहयोग गर्यो । अहिले भने छोराछोरी पनि रमाएका छन् । हामी पनि खुशी छौँ । जीवन भनेको यस्तो पो रहेछ – कहिले दु:खी, कहिले सुखी र खुशी ।
अहिले पुराना कुरा सम्झँदा कसरी पार गरिएछ भनेर अत्यास पनि लाग्दछ । यही कुराले छोराछोरीहरूलाई खुशी ल्याएको छ । उनीहरू भन्दछन् –हामीले त चाँदिको थालमा सुनको चम्चाले भात खान पाइरहेका छौं । तपाईंहरूले त्यति दुःख नगरेको भए हामी युरोप–अमेरिका गएर अध्ययन गर्ने भन्ने कुराको कल्पना नै गर्न सक्दैनथ्यौँ । उनीहरूको यो भनाइले हर्षका आँशु झर्दछन् । अहिले हामी सबै खुशी छौंँ । अभाव भए पनि अभावको महसूस हुँदैन । जीवनयापन गर्ने भनेको त अभावमा नै हो जस्तो लाग्दछ । यो आलेख लेख्दा लेख्दै एउटा हिन्दी गीतको आवाज मेरो कानमा गुन्जिन्छ– जो मजा हे फकिरीमे, ओ मजा नही अमिरीमे । यसको सारतत्व भनेको संघर्ष नै रहेछ । मलाई लाग्छ – हामीले जसरी संघर्षमय जीवनयापन गर्यौँ, निश्चय नै ठीक गरेका रहेछौँ ।
शिक्षाको तुलनामा अन्य कुराहरू गौण हुँदा रहेछन् । शिक्षाले मानिसलाई ज्ञान, बुद्धि, चेतनाजस्ता धेरै कुरा दिएको हुन्छ । जीवनलाई हेर्ने दृष्टिकोणमा नयाँ विचार ल्याएको हुन्छ । थोरै आयमा पनि रमाउन सिकाउँछ । मुख्य कुरो व्यक्तिले व्यवस्थापन गर्न सक्नु पर्दो रहेछ ।
केही समयअघि मेरो एउटा आलेख प्रकाशित भएको थियो । त्यसमा सामान्यभन्दा पनि सामान्य कुरा थिए । जीवन भनेको पाँच अङ्क पो रहेछ भन्ने शीर्षक थियो । जीवन चलाउन मानिस महत्त्वाकांक्षी हुनै पर्दैन । कुनै नराम्रो काम गर्नै पर्दैन किनभने मानिसलाई बिहान बेलुकीका लागि पाँच मुठी अन्न भए पुगिहाल्दो रहेछ । पाँच फिटको धर्ती र ५ फिटकै आकाश भए पनि पुग्दो रहेछ । ५ मिटर वस्त्र भए पनि जीवन चल्दो रहेछ । धेरै साथीको पनि आवश्यकता पर्दो रहेनछ । पाँच जना शुभचिन्तक भए पुगिहाल्दोरहेछ । मृत्युपश्चात् पनि पाँच जना मलामी भए पुगिहाल्दो रहेछ ।
हाम्रो जीवन यात्रालाई लागि सहज बनाउन मेरी श्रीमती नीरा पराजुलीको ठूलो सहयोग छ । सानैमा विवाह भएर आफु जन्मिएको आँगनलाई चटक्क छोडेर अर्कै अपरिचित मान्छे, ठाउँ र समाजमा आउँदा उनीलाई कति पीडा भयो होला ! त्यसको मूल्यांकन म पनि गर्न सक्दिनँ । फराकिलो सिउँधो रङ्गिएको छ । थर फेरिएको छ । गोत्र फेरिएको छ । आफ्नो विवेकले केही गर्न पाइँदैन । जता डोर्यायो उतै डोरिनु पर्दछ । मानवीय जीवनका महत्त्वपूर्ण पक्षहरू मानसपटलबाट हटाइदिइन् र आफूलाई मन नपर्ने कुराहरूमा परिवर्तन गराउँदा पनि सधैँ हाँसीखुशी नै रहेर घर परिवार चलाइदिइन् । बच्चाहरूलाई राम्रो संस्कार दिनका लागि उनले सक्दो योगदान गरिन् । उनको यो योगदान नभएको भए शायद मैले केही गर्नै सक्दिनथेँ । छोराछोरीहरूले त झनै दुःख पाउने नै थिए ।
अरुले देख्ने भनेको चाहिँ बाहिरी आवरण मात्र हो । भित्री पीर, मर्का, पीडा, दुःख चिन्ता कसले पो देखेको हुन्छ र ! हामीले कैयौं कुरा आफूभित्रै सीमित राख्यौँ । अरुलाई देखाउनुको कुनै अर्थ थिएन । त्यसैले देखाएनौँ ।
लाग्छ, जीवन चलाउन त्यति कठिन हुँदो रहेनछ । स्वच्छ विचारले ऊर्जा दिँदो रहेछ । अभावलाई पनि अभाव होइन भन्ने ठान्नु पर्दोरहेछ । दुःखलाई पनि सुख मान्नु पर्दो रहेछ । नमीठो कुरालाई पनि मीठो मान्नु पर्दोरहेछ । नकारात्मक कुरामा पनि केही न केही सकारात्मक पक्ष लुकेका हुन्छन् भन्ने बुझ्नु पर्दोरहेछ । अरुले जे जस्तो गरे पनि पचाउन सकियो भने आनन्द नै त्यही हुँदो रहेछ । अहिले हामीले पूर्व इतिहासलाई बिर्सिदै गएका छौं र नयाँ कुरालाई सम्झिँदै आएका छौँ । आत्मसन्तुष्टि लिन सक्ने हो भने जीवनमा जस्तो आनन्द अन्यत्र कतै भेटिँदैन होला ।
मेरो जन्म पनि अलि फरक किसिमको रहेछ । बाको मृत्युपछि मेरो जन्म भएको हुँदा मैले बाको मुख देख्न पाइनँ । त्यसैले घरमा बा भन्ने शब्द नै प्रयोग हुन्थेन । म सानो छँदा बाको विषयमा विचार गर्नै सक्दैनथेँ । तर पछि अलि ठूलो भएपछि सबैका बा हुने मेरो मात्र किन नभएका होलान् भनेर भित्रै मनबाट अनेक भावना आउँथे ।
यो कविता पढ्दा त्यो मेरै लागि लेखिदिएका रहेछन् भन्ने लाग्दछ —
छ्याङ् छ्याङ्दी बग्ने छहरे खोला
अब त छोरो कुद्ने भो होला
दिनभरि खेल्दो हो
मलाई नै खोज्दो हो
साँझ परेपछि
आमालाई सोध्दो हो
खै बाबा भनेर ।
मलाई लाग्छ गीतमा भनेजस्तो स्वर्गमा बसेका मेरा बाले पनि मलाई खोज्नुभएको होला । स्वर्गमा बाले खोज्ने । धर्तीमा मैले खोज्ने । तर कहिले भेट नहुने । कस्तो कारुणिक मेरो अवस्था !

