कुन इतिहासले लेखा राखिदिएको होला र त्यो बाटोमा अकाल मृत्युवरण गर्ने भरियाहरूको संख्या कति थियो भनेर ? दुखियाको जिन्दगी सम्झिँदै छाती पोलेर उछ्वास आउँछ अहिले पनि ।
===
चैत लागेदेखि सुनसान छ बजार । मन्दी छ व्यापारमा । छैनन् कुनै लगन । हाइ काढ्दै पसल रुग्नुभन्दा घुमघाम गर्नु उचित ठान्दो रहेछ व्यापारी मन पनि ।
छिमेकी लक्ष्मण दाइले भने, “अब त व्यापारको मूल पनि चैते खडेरीले सुकायो भाइ, निस्कनु पर्छ घुमघाममा यै बेला । व्यापारीको फुर्सद भनेकै सुख्खाजर्तीमा त हो नि । सिङ्गो जेठ खर्लप्पै घामले निल्छ, चैत धुलोले । वृहस्पति अन्ध नहुँदा त वैशाखे लगनका रसले अन्तिम चैतलाई पनि भिजाउँथ्यो । त्यही आशाको दियो पनि निभेपछि बाँकी त के नै रह्यो र ? तालालाई रुँग्न दिए पनि मान्छे आफैँले रुँगे पनि एकै न हो ।”
उनको कुरा सुनेपछि यसो सम्झेँ, गएसाल पनि यिनी चाल मारेर हिँडेका थिए पहाडतिर । यसपटक पनि खुट्टा उचाल्दै रहेछन् । डुलुवा भूत पनि बानी बनेर घुस्तो रहेछ मान्छेभित्र । उनको त्यो बानीमा पानी बनेर छिर्न सके आफ्ना आँखाले पनि डाँडाकाँडा देख्ने थिए । मन खेल्दैखेल्दै उनकै कित्तामा पसेपछि मेरा पनि गोडा सक्सकाउन थाले । मौकामा चौका हान् भाइ भन्यो मनले र सोधिहालेँ–
“कता जाऊँ त दाइ यसबाजी ?”
मलाई पुलुक्क हेरेर हाँसे उनी । मेरो साथ चाहिएर नै इसारा दिएका रहेछन् उनले ।
“पोहोर सङ्खुवासभा गइयो, यसपालि भोजपुर चढ्नुपर्ला । बाबुबाजेले टेके टेकेनन् थाहा छैन तर हामीलाई त समयले बाटो खोलिदिएको छ । टेकौँ न त्यो नयाँ धर्ती । बा पवित्र नै पो भइन्छ कि !”
उनले भोजपुर भन्दा मैले हतुवाली सम्झेँ । जुनसुकै ठाउँबाट आए पनि भोजपुरे भनेपछि हतुवागढीमा बस्ने राई जातिका तेजिला मानिसहरूको अनुहार नाच्थ्यो आँखाभरि । अहिले पनि नाच्न थाल्यो उसैगरी । मैले मेरा आँखामा नाच्ने बाल्यकालका तिनै स्मृतिहरू सुनाउन थालेँ उनलाई । चाख लागेछ क्यारे मेरी श्रीमती रेणुका पनि अलि नजिक सरेर सुन्न थालिन् । योगेश भाइ पनि मुढा बोकेर छेवैमा टुस्किए ।
त्यो बेला भोजपुरका सबै मान्छे हाम्रो बुझाइमा हतुवाली नै हुने गर्थे । भारी नबोकी हिँडेको छ भने चाहिँ हतुवाली हुँदैनथ्यो । हिँड्दैनथे पनि फुक्लोफाक्लो । गाडीको हर्न पनि सुन्न पाएको थिएन सिङ्गो भोजपुरले । बाटोले छुने त कुरै भएन । मसिना किथ्रे टुइनअटर विमान पनि विराटनगरबाट हप्तामा एकदुई पटक जाइआइ गर्थे । अरुण नदीमाथिबाट उडेको हवाइजहाज कि टक्सार कि तुम्लिङटार पुगेर फर्किन्छ भन्थे ठुलाबडाहरू । तर कति नै पो थिए होलान् र जहाजको पहुँचमा पुग्नेहरू ?
ढाकरको बिटभन्दा आधामान्छे अग्लो भारी बोकेका, शिरमा नाम्लो, काखीमा खकन र हातमा तोक्मा लिएका लावालस्कर मानिस कहिले पाख्रीबासको बाटो, कहिले चुङमाङको मूलबाटो, कहिले कोसी भित्ताका अक्करे भिर खोपेर चतारा हुँदै धरान निस्किने त्रिवेणीघाटको बाटो हिँडिरहेका हुन्थे । अलि हुनेखानेहरू पनि ढाकरमा जत्तिकै गह्रौँ झोलीतुम्बा हालेका धागो बाटेर बुनेजस्ता ठुलठुला बोरेझोला बोकेर उकालोओरालो गरिरहेका हुन्थे । अहिले बुझ्दा टक्सारतिरबाट आउँदा रहेछन् बाँडाहरू । ती बाँडाहरूले पनि भरिया लगाएर भाँडा बोकाएका हुन्थे । आफू पनि सँगसँगै बोकेर गाउँगाउँ डुल्थे । झर्का, काँस, पित्तल, तामा आदि धातुका नयाँ भाँडाकुँडा दिएर दुई खुट, तीन खुट भन्दै दोब्बर, तेब्बर हेरीहेरी पत्रु साटेर लान्थे । एकै प्रकृतिका धातु भएमा नयाँको दुईगुणा बेसी पत्रु लान्थे र झर्का, काँसका सामानमा पित्तल आदि कमसल धातुको पत्रु साट्नुपरेमा तीनगुणा बढी अर्थात् तीनखुट लिन्थे ।
ज्यादै खतरनाक थियो त्रिवेणीघाटको बाटो । ज्यानकै जोखिम हुने । फुक्ला मान्छे पनि दुईजना क्रस गर्न मुस्किल पर्ने । ढुङ्गा खोपेर कुलोजस्तै बनाइएको बाटोमा क्वीन्टलका ढाकर बोकेका भरियाहरू कसरी क्रस गर्थे होलान् ? भिर त्यस्ता थिए जहाँबाट खुट्टो चिप्लियो कि जाकिन्थ्यो सिधै नदीको भुमरीमा । कि त अचार बन्थ्यो टुक्राटुक्रा भएर माथि अक्करमै । ती टुक्रा बटुल्न जान पनि सक्तैनथ्यो कोही । छिनभरमा गिद्धको आहारा बन्थे टुक्राहरू । कुन इतिहासले लेखा राखिदिएको होला र त्यो बाटोमा अकाल मृत्युवरण गर्ने भरियाहरूको संख्या कति थियो भनेर ? दुखियाको जिन्दगी सम्झिँदै छाती पोलेर उछ्वास आउँछ अहिले पनि ।
भरियाको जीवनयात्रा सुनेर लक्ष्मण दाइको अनुहार अमिलो भयो । स्तब्ध भए योगेश भाइ । रेणुकाले सोधिन् “अनि तिनीहरू के खान्थे ? कहाँ सुत्थे ?”
प्राय समूहमा हिँड्थे उनीहरू । सबै मिलेर एकसरो सिलबरे भाँडा, कराइ, थाल बोकेका हुन्थे । जहाँ खानेपानी भेटिन्छ त्यहीँ उनीहरूको भान्सा हुन्थ्यो । ढाकर बिसाउँथे । ढुङ्गा खोजेर तीनचम्के चुला बनाउँथे । कसैले दाउरा खोजेर ल्याउँथे । कोही धारा-कुवाबाट पानी ल्याउँथे । एउटा चुल्होमा भात पकाउँथे । अर्कोमा गुन्द्रुक उमाल्थे । सिलबरकै थालमा जनगिन्ती बराबरका भाग लाउँथे । वरिपरि बस्थे र खपाखप खान्थे । गुन्द्रुक नहुँदा नुन खोर्सानी, धुलेअचार, अदुवाका टुक्रा आदि जे छ आफूसँग त्यसैसँग खान्थे । कोही त गाँसैपिछे खोर्सानीका ढिँडी कर्यापकर्याप चपाउँथे र घाँटी बज्नेगरी कर्लक् कर्लक् पानी पिउँथे ।
भन्थे “आन्नाले पेट उक्सेपाछि माट्रै पो यो ढुमिलो आँखाहारू आलिआलि खुलिजान्छा को । नाट्रा टो वारिपारि डेख्नु साक्टैना पो ।”
खाएपछि मात्रै हामीसँग पनि बोल्थे । “आढाक्छे बाको छोराहारू हो इनीहारू” भन्थे । हामी कहिले वरको रूखमा वर खाँदै हुन्थ्यौँ, कहिले घाँसका भारी बिसाएर ढुङ्गामा सुस्ताउँदै हुन्थ्यौँ ।
खानापछि पोल्टाबाट सुर्ती र सखुवाका पात झिक्थे । पातमा सुर्ती बेरेर आनन्दका सर्का तान्दै हावामा धुवाँका बादल उडाउँथे । खुसी मनाउँथे । ढुङ्गामा बसेर सुर्ती तान्दा जत्तिको आनन्द अरू केमा थियो र उनीहरूको ?
गह्रौँ भारीले थाप्लो किचेपछि, ढाड पिल्स्याएपछि एकैछिन ढाकरको काम्रोमा तोक्माको तोक्चे अड्याएर खुइय सुस्केरा हाल्थे, पसिना पुछ्थे भरियाहरू । बिसाएका बेला स–साना तुम्लेटमा बोकेको पानी घुटुक्क पिउँथे र लामो सास फेर्थे । हिँड्दाहिँड्दै रात परिहाले बाटो नजिकैको घरतिर छिर्थे । सिकुवामा वरिपरि भारी बिसाउँथे । बिचमा सुकुल, गुन्द्री जे भेटिन्छ त्यही ओछ्याउँथे । सिरक, डसना, तन्दा, सिरानी सबैको सट्टा उनीहरूसँग “थकान” नामको एउटा यन्त्र हुन्थ्यो । त्यही ओढेर पल्र्याकपुर्लुक लड्थे, मजाले निदाउँथे । घर नभेटिए बगरका गोठहरूमा सुत्थे । त्यो पनि नभेटिए चौतारो, ओढार, रूखका छहारी वा सामुन्ने जे आइपर्छ त्यसैमा रात गुजार्थे । जाडो याममा चाहिँ एकएकवटा पातला बर्की ओड्थे । सारै जाडो भएर ब्युँझे वा निद्राले छोड्यो भने जतिखेर ब्युँझन्छन् त्यतिखेरै भारी बोकेर हिँडिहाल्थे ।
हिले, धनकुटा, धरानतिर नाङ्ला, चाल्ना बेच्न जाने, बेचेको पैसाले नुन, तेल, खाद्यान्न किनेर ढाकर भर्ने र फर्कने उनीहरूको दिनचर्या हुन्थ्यो । नजिक हुनेहरू कम्तीमा पाँच दिनमा र टाढा हुने, भारी पनि गह्रौँ हुनेहरू त बाह्र दिनमा मात्रै फर्केर आफ्नो घर पुग्थे रे ।
ओरालो झर्दा पैतालाले खियाएर तलुवा दुला परिसकेका हात्तीछाप चप्पल पट्याक् पट्याक् पट्याक् पट्याक् पड्काउँदै हिँड्थे । हामी बयार टिप्न कोसीका बगरतिर जाँदा अक्करे भिरको बाटो भित्तो छाम्दै, थरथर गोडा कमाउँदै हिँडिरहेका पनि देख्थ्यौँ । आफ्नै भाषामा खाङ्लाङ–खुङ्लुङ केके हो केके नबुझिने कुरा गरिरहन्थे ।
रेणुकाले कुरा थपिन्, “मलाई बिहे गरेर पहाड लैजाँदा अदुवा र कोदो किनेर लगेका होइनन् हतुवालीले ?”
हो । हाम्रा गाउँको अन्नपात सबै उनीहरूले नै त किन्थे । अदुवा, लसुन, खुर्सानी, गुन्द्रुक, मकै, कोदो जेजे छ सबै उठाउँथे घरघरमै आएर ।
हामी केटाकेटी पनि उनीहरूसँग जिस्किन्थ्यौँ । उनीहरू पनि ठट्टा गर्थे । उनीहरूले पर्वते भाषा बोलेको सुन्न मज्जा आउँथ्यो हामीलाई । हामी सोधनी गर्थ्यौं –
घर कता पर्यो हउ बाजे ?
उनीहरू भन्थे– “हाटुवा”
अनि के ल्याउनुभयो त ढाकरमा ?
“आडुवा”
तपाईंको पछिपछि एउटा कुकुर पनि आउँदै छ त बाजे ?
“आउँछा नि टो पाढुवा”
उनीहरूले हाटुवा, आडुवा, पाढुवा मिलाएर बोलेको कुरा हाम्रालागि सधैँको जोक-ठट्टा बन्थ्यो ।
एक दिन हाम्रो बारीमा ४-५ जना हतुलालीहरू अदुवा खन्दै थिए । हामीले खन्दा टुक्रिने, काटिने हुनाले उनीहरू आफैँले खनी, केलाई भनेजस्तोगरी बेच्न लान्थे । यसो गर्न पाउँदा उनीहरू खुसी हुन्थे । छेउछाउबाट हाम्रा बुबा र हामी केटाकेटीहरू पनि सफा गर्न सघाउँदै थियौँ । त्यो साल अदुवाको भाउ २ रुपैयाँबाट बढेर ५ रुपैयाँ प्रतिकेजी पुगेको थियो । भाउ बढेको प्रसङ्गमा हतुवाली बाजेले हाम्रो बुबासँग दुःख पोखे ।
“आ बाज्या, टिमी टा ढानी छा । खानु, बास्नु, खार्चा गार्नुको डुख्खै छैना । हामी टा खानुकै डुख्खोले मोर्छा हाउ बाज्या । जाटि फाले पानि टिमीटा बाज्या ल्याउडै ठान्काउडै, ल्याउडै ठान्काउडै । हामी टा बाज्या ल्याउँडै खाँडै, ल्याउँडै खाँडै । टै पानि जाहान बाच्चा भोकै हुन्छा । ठान्काउने टा कुरै छैना । खानै ढाउढाउ हुन्छा, काइले ठान्काउनु ? हामी टा भारी बोक्टाबोक्टै एटिकै मोरिजान्छा हाउ बाज्या ।”
हामीले त सोझो अर्थका गम्भीर कुराहरू अलिअलि बुझ्यौँ । केही असर भएन । तर बुबा भने सर्माएर मुसुमुसु हाँस्तै फर्कनुभयो अर्कोतिर । पछि बुझ्दा थाहा भयो, मातृभाषा मात्रै बोलिरहने हतुवालीहरूले पर्वते भाषा बोल्दा उच्चारणमा कठिनाई उत्पन्न हुँदोरहेछ । उनीहरूको जिब्रोले “त” लाई “ट”, “थ” लाई “ठ” र “द” लाई “ड” उच्चारण गर्दो रहेछ । त्यसमा पनि प्राय कान्दानी लागिदिनाले पर्वतेको लाँदै थन्क्याउँदै, लाँदै खाँदै शब्दलाई अश्लील सुनाइदिँदो रहेछ । छोराहरूले थाहा पाए कि भन्ठानेर बुबा लजाउनुभएछ । हामीलाई त हाम्राअगाडि बुबा हाँस्नु नै अनौठो विषय भयो र हास्यौँ हामी पनि लाटा घतको हँसाइ । नत्र हामी कहिल्यै बुबाका सामुन्ने बोल्न सक्तैनथ्यौँ । दोहोरो हेराहेर गरेर हाँसखेल गर्नु त सपनाको कुरा थियो हाम्रालागि ।
चुङमाङबाट पश्चिम फर्केर कोसीपारि हेर्दा देखिने हतुवागढी र त्यसको माथिमाथि देखिने तहतह मिलेका डाँडाहरू हाम्रा छातीमा कुँदिएका भोजपुरका निसानी हुन् । ती डाँडाका टुप्पामा पाथी भरेजस्तै देखिने ट्याम्केको थुम्को निसानाछापमाथिको राष्ट्रिय झण्डाजस्तो हो । यो छाप जति मेटे पनि मेटिँदैन, सधैँ नाचिरहन्छ आँखाभरिभरि ।
लक्ष्मणदाइले अझै उत्साहित भएर थपे “उसोभए हेरिदिउँ न त एकपल्ट मध्यपहाडी लोकमार्गमा पर्ने तिनै मनोरम पहाडी श्रृङ्खलाहरू । तपाईंका स्मृतिका हतुवालीहरू अहिले माजन पो बनेका छन् कि ? सिसाको महलमा पो बसेका छन् कि ? छोराछोरीले राम्रै बाटो समाते भने, लाहुरे बने भने त सिसाको महल कुन ठुलो कुरा हो र ? घरघरमै गाडी पुगेपछि बुढा बाबुआमालाई सरर्र घुमाउँदै ट्याम्केडाँडाबाट रमिता हेराउन लाँदै ल्याउँदै छन् कि ? समयको खेल न हो । नदीको भेलजस्तै थाहै नदिई आउँछ । कसैलाई गुट्मुट्याएर लान्छ त कसैलाई किनारा लगाइदिन्छ । पत्तै हुँदैन ।”
मैले भनेँ– होइन, लाहुरेहरू त त्यो बेला पनि प्रशस्तै थिए रे । तर समस्या के भने कमाएपछि कोही पनि दुःख गर्न त्यता फर्कँदैन थिए रे । यता धरानतिरै घडेरी किन्ने, घर बनाउने बस्ने । यातायात, खानेपानी, सिँचाइ, बिजुलीबत्ती, टेलिफोन केही नभएको ठाउँमा किन जान्थे र लाहुरेहरू ? जहाँ सुविधा छ त्यहीँ बस्ने र आफ्नो परिवार पनि त्यतै झार्ने गर्थे रे ।
गाउँमा चोरी डकैती पनि ज्यादै हुन्थ्यो । लाहुरेहरूलाई ज्यानको खतरा पनि थियो । बोधराज तिम्सिना बा भन्नुहुन्छ उहाँहरूको गाउँ तेह्रथुमको सोल्मा कालिमाटीमा त हजारको नोट ल्याएको छ रे लाहुरे भन्दा “अब लाहुरेलाई डाकाले काट्छन् भन्थे रे । नोट हेर्न गाउँभरिका मान्छे खोलोपैरो लागेर भेला भएका थिए रे । लाहुरेले मकैका थाङ्ग्रामाथि चढेर वरिपरि घुमाउँदै भेला भएका सबैलाई देखाएपछि नोटलाई धनकुटा पुर्याएर बैँकमा राख्न सल्लाह दिएका थिए रे गाउँका टाठाहरूले । म जन्मनुभन्दा ५ वर्षअघि वि.सं. २०२७ सालको कुरा हो यो ।
पछि धेरैपछि, कुनैकुनै भोजपुरे लाहुरेहरू ठुलाठुला क्यासेट बोकेर डाँडोखोलो थर्किनेगरी गीत घन्काउँदै मूलबाटोबाट ओरालो झर्थे । हामी ठाडाठाडा कान लाउँदै “ऊ लाहुरेले क्यासेट बजायो, जाउँजाउँ गीत सुन्न” भन्दै मूलबाटोतिर दौडिन्थ्यौँ । गीतको आवाज कानले सुनुन्जेल उभिएर सुन्थ्यौँ । सुनिन छोडेपछि गहिरो नैरास्यता बोकेर घरतिर फर्कन्थ्यौँ ।
रेणुकाले थपिन् “मस्तिष्कका जीर्ण दृश्यलाई पुनर्ताजगी गराउन पनि भ्रमण आवश्यक छ । दोकान–दोकान भन्दाभन्दै जीवन सिद्धिन्छ खिया परेर । लोभको ओखल भरिँदैन । ‘आजलाई भरिपूर्ण भयो अब बेच्तिन’ भनेको दिन हुन्छ कहिल्यै ? ढोका थुन्नुअघिसम्म पसलेको सय पुग्दैन, उनान्सय मात्रै हो । थुनेपछि मात्र हो सय पुग्ने । ‘भएन’ बाहेक मुखमा आउँदैन केही । जति नाफा भए पनि “घाटा भो” भन्न छोड्दैन । व्यापारको भाषा नै ढाँट भाषा ।”
व्यापारीका कर्तुत ओकलाओकल चल्दैथियो, मैले कुरा काटेँ । “ओखल” भन्दा कि ओखलढुङ्गा पनि भ्याउने हो दाइ ?”
दाइले भने –“ओखलढुङ्गा त कुन चरीको नाम हो, मलाई के थाहा । कहाँ पर्छ, कताबाट पुगिन्छ जन्मेकै छैन दिमागमा ।”
खाँदबारी त जन्मेको होला नि हैन ? त्यहाँ पुगेर दिङ्ला हुँदै भोजपुर छिरे के होला ?
दाइका अनुहारमा खुसीका रेसा फैलिए । कुरा पक्का भयो । योजनाले मूर्तरूप लिन लागेपछि प्लाष्टिकको हलुका रेनकोट किनेँ । हेलमेट मागेँ सरोज बासकोटासँग । आफ्नो ग्लामर भतिजोसँग साटेर एकसय पच्चीस सिसिको पल्सर बाइक ल्याए दाइले र सर्भिस गर्न दिए । ब्यागहरू साइडमा कसिलो गरी बाँधेर चैत ७ गते बिहान ५ बजे हुँइकियौँ हामी दमकलाई बाइबाइ गर्दै ।

