रूपकी रानी प्रकृति जूनले नुहाउँछिन् शरदमा । फूलैफूल र हरियालीको मादकतामा बेस्सरी लठ्ठिन्छिन् वसन्तमा । हिउँ र तुसारोको सेतो बर्को ओढेर घामको झुल्कोसँगै पग्लिन्छिन् हिउँदमा । गृष्मको प्रचण्ड घाममा त्यसै-त्यसै लोलाउँछिन् र वर्षामा वर्षातले धित् मर्ने गरी नुहाउँछिन् । भुईंकुहिरोसँगै लुकामारी गर्छिन् । सङ्गीतमग्न भएर बगेका खोलाखोल्सीहरूसँगै गीत गाउँछिन् । यसरी प्रकृतिमा ऋतुपिच्छेका रङ्गहरू उत्तिकै मनोहर लाग्दछन् । उत्तिकै प्रिय लाग्दछन् ।
बादलुको घुम्टो ओढेर बेहुलीझैं सिंगारिएकी छिन् असार यो बेला । झमझम पानीको वर्षा मकैका पातमा ठोकिंदा सुनिने त्यो साङ्गीतिक आवाज बढो मीठो लाग्दछ । पहाडी ग्रामीण बस्तीमा साँझको बेला कुनै रूख, बुट्यान वा केराघारीमा बसेर झ्याउँ-झ्याउँ झननन गर्दै गीत गाउने झ्याउँकीरी त झन् प्रकृतिको आदिम गायक जस्तो लाग्दछ । जताततै जरुवा फुटेर धर्तीका कोखबाट निस्कने त्यो पानीको भुलभुल आवाज त्यत्तिकै कर्णप्रिय लाग्दछ । अरू बेला रूप-रङ्ग उडेका कमिलाका ताँती हिंड्ने खोलाखोल्सीहरू कुल्कुलाउँदै आफ्नो बैंस पोख्न आतुर हुन्छन् असारमा ।
यो बर्षातको बेला झरिला भएर आउँछन् गाउँघरका सम्झनाहरू । काठमाडौं शहरमा झमझम पानी पर्न थालेपछि जन्मथलो खोटाङको खाल्लेतिर कुहिरोसँगै उडेर जान्छ मन । एकाएक नोस्टाल्जिक बनाउँछ यो झरीले ।
०००
जब झरी पर्छ गाउँमा तब महाउत्सव सुरु हुन्छ किसानको । खुसीले उत्ताउलिन्छ मन । काहीं नभाको जाँगर भरिएर आउँछ ज्यानमा । मेलामा गएर एकै छिन टुसुक्क बस्न नभ्याई सबैले श्रम गरिरहेको बेला बुढाबुढीहरू पनि आफूचाहिं घरमा त्यसै के बस्नु भनेर कोही दाम्ला-नाम्ला बुनिरहेका हुन्छन् । बरिया, कुचा बाटिरहेका हुन्छन् त कोही पिरा र चकटी बुनिरहेका हुन्छन्।
केटाकेटी उमेरमा जे गरो त्यही राम्रो ।
पानी पर्न थालेपछि हामी बाहिर निस्केर ‘पानी पर-पर, घ्याम्पा भर-भर’ भनेर आँगनमा नाच्न थाल्थ्यौं। नाङ्गै-भुतुङ्गै भएर उफ्रिन्थ्यौं । घरिघरि हामीलाई डर देखाउँदै कुहिरो मडारिंदै आउँथ्यो । हामी वल्लाघर, पल्लाघरका केटाकेटी भेला भएर यस्तो गीत गाउँथ्यौं- ‘कुद कुहिरा कुद । तेरा घरमा चोर पस्यो । थोत्रे नाङ्लो ठटायो । बुढो भुइँसी लडायो......।‘
'घामपानी घामपानी, स्यालको बिहे, कुकुर जन्ति, बिरालो बाहुन.......।' घाम र पानी एकै चोटि भएको बेला बहुत रमाइलो लाग्थ्यो । यो गीत गाउँदै हामी आँगनमा उफ्रिन्थ्यौं । यही बेला चौबीसेखोला, सेराखोलाबाट इन्द्रेणी उठ्थ्यो । अहा ! सप्तरङ्गी इन्द्रेणी कति राम्रो । हेर्दा-हेर्दै इन्द्रेणी आकाशमा पुग्थ्यो । आकाशबाट माला बनेर फेरि अर्को ठाउँ झर्थ्यो । हामी केटाकेटी भेला भएर रमाइलो मान्दै त्यो प्रकृतिको जादुमयी रूप हेर्थ्यौ र मनमा इन्द्रेणी जस्तै सप्तरङ्गी सपना सजाउँथ्यौं ।
यो बेला बारीभरि घारी मकै । काँक्रा, फर्सी, चुचे र स्कुसका लहराहरूले गोठ र करेसाबारी पूरै ढाकेको । मकैबारी र यिनै बाक्ला झालहरूमा स्याल कुखुरा ढुकेर बस्ने । गाउँमा स्यालले कुखुरा त कति लान्थ्यो कति । मेलामा हिंडेका बा-आमैले हामीलाई ‘स्यालले कुखुरा लान्छ बेला-बेला कराउँदै गर्नु’ भनेर अर्हाएका हुन्थे । हामी आँगनको डिलबाट ‘लुहाई-लुहाई' भनेर कराउँथ्यौ । ठूला कुखुराहरू चनाखा हुन्थे । ‘क-क-काँ....!’ गरेर कराउँथे। साना चल्लाहरू डराएर माउका पखेंटामुनि लुक्थे।
पानी पर्न लागेपछि आमोईहरू आँगनमा सुकाएका बिस्कुन उठाउन थाल्थे । दाउरा र तिउन-ताउनको जोहो गर्न गर्नतिर लाग्थे। मकैका पातमा बज्रिएको पानीको आवाज बढो सङ्गीतमय लाग्थ्यो । सिमसिमै झरीमा रुझ्दै आँगनमा खेल्ने हामी केटाकेटीहरू दर्के पानीमा चाहिं डराएर घरको दलान, मतान वा खोल्माको टाँडबाट पानी परेको हेर्थ्यौं । भरिएका आँगनमा पानीका फूलहरू उठ्दै-फुट्दै गर्थे । हेर्दाहेर्दै बलेसी ठूलो कुलो भएर बग्थ्यो । अनि कुलाहरू चाहिं साना खोला भएर बग्थे । घरपर्तिर हिँउदमा पानी सुक्ने चौबीसेखोलो कालो धुवाँ छुटाउँदै डाङडाङ र डुङडुङ गर्दै उर्लिन्थ्यो । सेराखोलो त्यो भन्दा ठूलो भएर बग्थ्यो । पानी रोकिएर खोलो नघटेसम्म काममा गएका मान्छेहरू वारिका वारि र पारिका पारि नै हुन्थे ।
बर्खे झरीमा ग्रामीण युवायुवतीहरू निथ्रुक्क भिजेर लेकबेंसी गर्दाको आनन्द फेरि अर्कै ।
असार-साउन हरिया मकैको सिजन । खेतमा मकै पाकेपछि धान रोप्ने तरखर । मकै पाक्दै गर्दा नै आँठा-भित्ता गर्नुपर्ने । डोकामा मरिकुच्चे मकै हालेर घरमा पुर्याउनुपर्ने । मकैका टुप्पा बरियाले बाँधेर सेउलाजस्तै थाप्लोमा नाम्लो हालेर वस्तुभाउको लागि गोठमा पुर्याउनुपर्ने । घोगा भाँचिसकेका यी मकैका बोटहरू अलि बढी नै भए त्यतै खेतका छेउछाउ रूखहुँदि झुण्ड्याएर पछि फुर्सदको बेला घरतिर लगिन्थ्यो ।
खेतबाट ओसारेका मकै बाहिर दलानभरि हुन्थे । दिउँसो त कामले नभ्याइने । बेलुका भात खाएपछि राति अबेरसम्म मकै सर्याउनुपर्थ्यो । सलक्क परेका मकैका कुनै छ घोगे कुनै आठ घोगे झुता बनाउनुपर्ने । अलि साना कुटुङ्ग्रा-कुटुङ्ग्री नङ्ग्याउनुपर्ने । दिउँसोभरिको कामले लखतरान भाको ज्यान निद्राले झपक्कै पार्थ्यो । निद्रा भागोस् भनेर बा-आमोईहरू गीत गाउँथे । सिलोक भन्थे । कथाहरू भन्थे । भूत-प्रेतका कुराहरू गर्थे ।
रोपाईं पश्चात् बारीका मकै भित्र्याएर कोदो रोपिसकेपछि मात्र आँगनमा काठको खाँबा वा छिप्पिएका बाँसको थाङ्ग्रो हालेर झुता पारेका मकै थन्काइन्थ्यो । गाउँलेहरू त्यही थाङ्ग्रो हेरेर एक-अर्काको प्रशंसा गर्थे । 'फलानाको घुमाउने थाङ्ग्रो, तिलानाको यति कोठे थाङ्ग्रो...' भनेर धेरै मकै फलाउनेको गाउँभरि चर्चा चल्थ्यो ।
हरिया मकै भनेपछि केटाकेटीदेखि लिएर ठूलाहरू पनि हुरुक्कै । दुधिला मकै त अगेनासम्म पुग्नै नपाउने । काँचै दारिन्थ्यो । बर्खाको बेला चिसा दाउरा । अगेनोले पालै नपाउने । आगोको रापले पिल्सिन र पड्किन थालेपछि तात्तातै मुखमा हालेर दार्न थाल्थ्यौं । खोसेलासहितको मकै आगोमा पिल्सिएपछि खोसेला फालेर आगोको रापमा पोल्दा यति मीठो हुने कि एकै जनाले आठ-दश घोगा खाइदिने । त्यसमाथि पोलेका मकैसँग हरियो खोर्सानी सहितको फर्सीका मुन्टा कति मीठो हो कति । अझ त्यसमाथि मोहीको सुरुप-सुरुप । यसको स्वादको बयान गरी साध्य छैन । हरिया मकैको सिजन हुञ्जेल बिहान, दिउँसो, बेलुका जतिखेरै भुँडीले पालो नपाउने । अटेस-मटेस भएर भुँडीमा पहिरो चलेजस्तो । तलबाट वायु चलेर हैरान । नछोडे बिरामी परिने । छोडौं मान्छेका अगाडि बस्नै नहुने। जतिखेरै भरुवा बन्दुक पड्किए जस्तो । त्यतिखेर गाउँघरमा निजी शौचालय नहुँदा बाँसघारी र खोलाखोल्सीको बाटो गुहुले गन्हाएर हिंडिनसक्नुको हुन्थ्यो ।
झ्याउँकीरीको गुञ्जन असार-साउनको अर्को विशेषता हो । झ्याउँकीरी प्रकृतिका गायक । ‘झ्याउँ-झ्याउँ झनन-न !’ अहाँ ! कति मीठो सङ्गीत । साँझ परेपछि गाउँघरका केराबारी, बाँसघारी अनि मकैका पातमा बसेर जादुगरी सङ्गीत भर्ने गर्छन् ठूलो साङ्ला जस्तै देखिने यी कीरा । झ्याउँकीरी बास्ने बेला भएपछि मेलो छोडेर घरतिर लाग्थे किसानहरू । बुढाबुढीहरू दलानमा बसेर फर्सीका मुन्टा केलाउन थाल्थे । बर्खामा यो झ्याउँकीरी बास्ने समय ठ्याक्कै वस्तुभाउ गर्ने बेला पनि हो । मेलाबाट आएपछि आमा-बाहरू घाँस र दुधेंरो बोकेर गोठ जान्थे । वस्तुभाउ बाँ-बाँ र बुँ-बुँ गर्दै पुच्छार उचालेर आफ्ना मालिकलाई पर्खिन्थे ।
यही बेला हो गौंथलीले गुँड लाउने । घरको सिकुवामाथिको दलिनमा चुच्चाले आँगनको माटो च्यापेर कति राम्रो गुँड बनाएका यी साना गौंथलीले । न तलबाट अड्याउने कुनै ढुङ्गा, काठ वा केही कुरा छ । बिना कुनै आड दलिनमा माटो मात्र टाँसेर कस्तो आकर्षक गुँड बनाउन सकेका यी प्रकृतिका डकर्मीहरूले । यो अद्भूत कला कसले सिकायो होला यिनलाई ?
असारको १५ दही चिउरा खाने दिन । ऊ बेला ढिकीमा कुटेका चिउरा हुन्थे । असुरा र धुर्सुलमा पकाएका केरा हुन्थे । दारको ठेकीको दही हुन्थ्यो । सबै मगमग । कति मीठो ! भनेर साध्य छैन । असार १५ यही दहीचिउरा खाएर हिलोमा पस्ने अनि हिलाकै टीको लाउने दिन । माटोप्रतिको श्रद्धा । अगाध प्रेम । यही माटोले जीवन दिने हो मान्छे अनि समस्त प्राणी जगतलाई । अहिले त रोपाइँजात्रा वा धान दिवस भनेर जताततै मनाइन्छ । फोटो खिच्न वा सामाजिक सञ्जालमा देखाउनकै लागि भनेर तडकभडकका साथ असार १५ मनाइन्छ शहरहुँदि । जे होस् देखावटी नै भए पनि यस्तो प्रचार-प्रसारले हाम्रो मौलिक पर्व असार १५ को महत्व भने बढेर गएको छ । तर गाउँघरका वास्तविक किसान भने मानो रोपेर मुरी फलाउनको लागि यस्तो आधुनिक तडकभडक जान्दैनन् । हमेसा श्रम गर्नमै तल्लीन हुन्छन् । जतिखेरै हिलोमा खेलिरहेका हुन्छन् । मोतिसरी पसिना बगाइरहेका हुन्छन् ।
वर्ष दिनमा गरिने धान रोपाईंको लागि अगाडि नै विशेष तयारी हुन्छ गाउँमा । कोदालो, कोदाली, फाली, मकैका टुप्पा काट्ने कचिया, खुर्पा अगाडि नै विश्चकर्मा (शिल्पकार) को मा लगेर अर्जापिन्छ । काममा धोका नहोस् भनेर हलो र दाँदेको अनौ, हरिस, जुवाको सोइला सबै ठोकठाक पारेर ठीक गरिन्छ । जुवाको जोतारा बेलैमा बाटिन्छ । नौनी दलेर हल्लुँड ठीक पारिन्छ । मकै बोक्ने दर्हो डोका बुनिन्छ । अहिले त घुम हरायो । ऊ बेला बाँसको मसिनो चोयामा भोर्लाको पात बिछ्याएर घुम बुनिन्थ्यो । अहिलेको जस्तो मिल थिएनन् गाउँमा जेठका घाममा धान सुकाएर भक्ल्याङ-भक्ल्याङ ढिकीमा कुटीकन चामल तयार गरिन्थ्यो । गोरु घस्याउने भुस, पिठो अगाडि नै व्यवस्था गरिन्थ्यो ।
अब रह्यो रोपाईंको कुरा ।
धान रोपाईं भनेको विशेष उत्सव हो किसानहरूको । मुठी रोपेर मुरी उब्जाउने । खेतका गरामा मोतितुल्य पसिना पोखेर पहेंलपुर सुनजस्तै धान फलाउने । यो बेला पाकेका मकै घर भित्र्याउने र खेतमा आँठाभित्ता सकेर धान रोप्ने काममा किसानहरूलाई यति लछारो हुन्छ कि उनीहरू भनेको बेला न खान नै पाउँछन् न त विश्राम गर्न नै पाउँछन् । न झरी भन्न पाइयो । न हिलोमैलो भन्न पाइयो । लोग्ने मान्छेहरू एकाबिहानै गोरु घस्याएर हातमा कोदाली, काँधमा हलोजुवा बोकेर सखारै खेततिर जानुपर्ने हुन्छ । घरको कामधन्दा, खाजापानी, वस्तुभाउलाई घाँसपात यी सबै काम गरेर आइमाई मान्छेहरू पनि हातमा घुम, कम्मरमा हँसिया र पछाडि डोको भिरेर खेततिरै दगुर्नुपर्ने हुन्छ । धानको बीउ काढ्ने, आलीमा मास-भटमास रोप्ने अनि फेरि धान रोप्ने । लोग्नेमान्छे कम हुँदा आली लाउने, बाउसे गर्ने जस्ता कामहरू पनि महिलाले नै भ्याउनुपर्ने हुन्छ ।
गाउँघरमा रोपाईं लगायत खेतबारीका विभिन्न कामहरूमा अर्मपर्म चल्ने असाध्य राम्रो चलन । एउटालाई पर्दा अर्काले सघाउने, सुख-दुःखमा आपसी साथ सहयोग लिनेदिने कुरा गाउँको विशिष्ट पक्ष हो । मौलिकता हो । रोपाईंको बेला ठूलाहरूले हामी केटाकेटीलाई खेताला खोज्न पठाउँथे । बाउसे, रोपाहार, फ्याउरे, गोरु के कति चाहिने हो, आवश्यकता अनुसार घर-घर गएर खेताला खोजिन्थ्यो । आफ्नो विशेष काम बाहेक यस्ता कुरामा कुनै नाइनास्ती हुँदैनथ्यो । खुलेर सहयोग गर्न तयार हुन्थे मान्छेहरू ।
कुनैकुनै खेत त कुलोले नभेट्ने हुन्थे । तिनमा आकाशे पानीको भर पर्नुपर्थ्यो । जतिखेरै तयारी हालतमा बसेर पानी पर्नासाथ रुझ्दै-भिज्दै दाउ छोप्नुपर्ने । कुनै साल खडेरी परो भने त खेत बाँझै । एक-दुई साल खडेरी पर्दा चौबीसे खेतमा हामीले सुठुनी (सखरखण्ड) र कोदो पनि रोपेका छौं।
खेतका गराहरू पनि कुनै ठूला, कुनै साना । कुनै लामा, कुनै सुर्का-फोगटा । सेराखोलानेरी सिमलबोटे धामीबाको एउटा ठूलो गरो भको खेत थियो । एउटै गरामा चार-पाँच हल गोरु अट्ने । त्यो एउटै गरामा मङ्सिरमा पाँच-छ मुरीसम्म धान फल्ने । धामी बाको ठूलो गराको रोपाईं भनेपछि छुट्टै रमित । हलीहरू पुच्छर निमोठेर गोरु कुदाउँथे । रोपाहारहरू असारे गाउँदै गराको बीचमा बीउका मुठा गाडेर ठूलो भकारी बनाउँथे । वरपर खेतमा काम गरिरहेकाहरू आफ्नो मेलो छोडेर समेत त्यही ठूलागराको रमाइलो हेर्थे ।
हाम्रा हल बाँधेका अरिंगाले र सिंदुरे गोरु थिए । हाम्रो अरिंगाले । पल्लाघरको सिंदुरे। लरक्क परेको अरिंगाले गोरु आमाले दम्कुबाट छ बीस (एक सय बीस) हालेर ल्याएको । पल्लाघरका दाइ गोरु कुदाउनमा खप्पिस । झगडिया खेतमुनि पाँचगरे खेतका गरा निकै लामा । पल्लाघरका दाइले दाँदेमा चढेर पुच्छर निमोठेपछि अरिंगाले र सिंदुरे गोरु यस्तो कुद्थे कि वरपर खेतमा काम गरिरहेका मान्छेहरू मेलो छोडेर रमित हेर्थे ।
ठूलाघर काइँलाउ, खर्केली काजीमान र तीनतले बिन्दाका बाउ खेत हिल्याउनमा सार्है छिटा । मतानका दाइ, डाँडाघर बढाउर भैल माइलाउ आली लाउनमा सिपालु । पानीले चिल्याएर चिटिक्क पार्थे । जन्तरेका नमराज कान्छाउ, मतानको काजी, अगौटेबारीका टङ्क र राजन बाउसे गर्नमा सिपालु । सिरानघरका बढाउ, बाटाघरे जेठा बा, सिमलबोटे कान्छा बा र ठूलाघर सम्शेर बा फ्याउरी लाउनमा बेस्मारी नाम चलेका । सुविदार्नी आमोई र पल्लाघरकी आमोई बीउ काढ्नमा सिपालु । माझाघर जम्दार बा र कटुवाका बा चाहि कामभन्दा पनि खेतमा पानी मिलाउन र अरूलाई अर्हाउनमै व्यस्त। नाम चलेका रोपाहार निकै थिए गाउँमा । तिनको नाम लिएर साध्य छैन । कटुवाकी ठूली भाउजु र सिमलबोटे गौतमनी आमोई धान रोप्न र असारे गाउन खुबै नाम चलेका । असारे गीतबाट विरह-वेदना, दुःख-सुख, मायापिरतिका भावहरू छताछुल्ल पोख्दै खेत मात्र होइन वरिपरिका डाँडाकाँडा समेत रन्काउँथे।
कोही खेत हिल्याइरहेका । कोही गोरु साइरहेका । कोही आँठाभित्ता गरिरहेका । कोही फ्याउरी लाइरहेका। कोही बीउ काढिरहेका । कोही कचियाले उधिनेर आँठामा मास, भटमास रोपिरहेका । रोपाहारहरू बात मार्दै, हाँस्दै, गीत गाउँदै हातमा बीउ लिएर को भन्दा को कम छिटोछिटो धान रोपिरहेका । कोही छुल्याहा बाउसेहरूले हिलोमा रोपाहार लडाउन भनेर ताकी-ताकी हिलाले डम्म भरिएको खेतका गरामा खाडल खनेका । एक सुरले धान रोपिरहेका रोपाहारहरू त्यसमा परेर लड्दा सबैको हाँसोको फोहोराले पूरै खेत गुञ्जायमान । त्यसपछि रोपाहार र बाउसेको हिलोमै घमासान युद्ध । एक-अर्कामा हिलो छ्यापाछ्याप । खाल्डोमा पर्ने रोपाहारले गाली गर्दै, सराप्दै लखेटिरहेका । बाउसे जवानहरू जाँघे तान्दै भागिरहेका । बढो गज्जबको प्राकृतिक खेल । दबदबे हिलोले एक-अर्काको शरीर नुहाइदिने खेल ।
मेलो अघि सरिरहेकै बखत खेतको डिल, छेउकुना वा ढुङ्गातिर खेतालाका झुण्डहरू पालो-पालो एक छिन बिसाएर कोही सुर्ती बेरिरहेका । कोही दर्सिन ढुङ्गामा ट्याक्क-ट्याक्क झुलो चकमक पारेर साल वा भोर्लाको पातमा बेरेको बिंडी सल्काइरहेका । कुलाबाट खेततिर पानी बगिरहेको । एउटा गरादेखि अर्को गरामा समाहाबाट झरर-र पानी झरिरहेको । यो दबदबे हिलोमा धर्तीपुत्रहरू छप्ल्याङ-छ्प्ल्याङ हिलोमा खेल्दा अनि जताततै ‘ह..ह, होरी...आइज......‘ जस्ता ध्वनिको माधुर्यले एउटा छुट्टै साङ्गीतिक बान्की थपेको । ओहो ! बढो सङ्गीतमय रोपाईं उत्सव । खेतमा ठूलो मेला लागेजस्तो । जात्रा लागेजस्तो । बहुत रमाइलो।
धान रोपेको एक-दुई दिनपछि आँठाका भट्मास टुसाएर माटो बाहिर निस्कन थाल्थे । हामी केटाकेटी चार-पाँच दिन जति एका बिहानै आँखा मिच्दै ट्यापट्यापे बोकेर भटमास रुङ्न जान्थ्यौं । खेतको सबै भाग देखिने गरी अलिक डाँडो ठाउँमा मकैका ढोडमाथि घुमको छानो हाल्थ्यौं । कहिलेकाहीं त पकाउने कुरा पनि त्यहीं लान्थ्यौं । कतै हरिया मकै बाँकी भए त्यतै सिटासिटी बालेर पोली खान्थ्यौं । ट्यापट्यापे बाँसको हुन्थ्यो । एकतिर समातेर अर्कोतिर छोड्दिए पछि ट्याप-ट्याप बज्ने । यो बजाएर हामी 'हा......हाए.......हा...हाए । ढुकुरले भटमास नखाए.....!' भनेर ठूलो स्वरले गीत गाउँथ्यौं । त्यसपछि भटमास खान आएका ढुकुरहरू भुरुर्र उडेर कतै रूखमा गएर बस्थे । वल्लो-पल्लो, तल्लो-माथ्लो सबै खेतका डिलमा बसेर ट्यापट्यापे बाजा सहित केटाकेटीले त्यसैको लयमा 'हा......हाए.....हा......हाए......." भन्दा पर-परसम्म एक किसिमको साङ्गीतिक रौनक छाउँथ्यो । वातावरण गुञ्जायमान हुन्थ्यो ।
मेलो सकेपछि सबै जना खुसी । खेतका मालिक त झनै दङ्ग । रोपाहारहरू घुम च्यापेर, बाउसे कोदाली बोकेर, फ्याउरे फ्याउरी बोकेर, हली दाँदै काँधमा हालेर गोरु अघि लगाउँदै बिस्तारो-बिस्तारो खेतधनीको घर लाग्थे । अहिले त खाजाको चलन आयो । ऊ बेला रोपाईंमा खाजाको चलन थिएन । उही धनीमानीको ठूलो-ठूलो बेठीमा मात्रै । घर पुगेपछि आ-आफ्नो गच्छे अनुसार कालो मासको दाल, फर्सीका मुन्टामा बोक्रैसँग आलु मिसेको तरकारी, कर्कलाको अचार अनि गाई-भैंसीको ओलन । श्रमले थाकेको र भोकले हैरान भाको ज्यानमा चोइलीका चोइली चामलको भातले बल्ल त्राण दिन्थ्यो ।
रोपाईं सकिने दिन-मैजारो । हुनेखानेहरूले मैजारोमा घरमै खसीबोका काट्थे भने नसक्नेहरूले अरूकोमै काटेको खसीको मासु ल्याएर गच्छेअनुसार मैजारो मनाउँथे । मैजारोपछि असिम आनन्द आउँथ्यो किसानहरूलाई । कामले थिल्थिलो भएको ज्यानले केही दिनसम्म राम्रै आराम पाउँथ्यो । खेतमा धानका पहेंला गाबाहरूमा बिस्तारै हरियो फिर्दै गएपछि खेतका डिलमा बसेर किसानहरू आफ्नो पसिनाको पौरख हेर्दै मनभरि हरिया सपनाहरू सजाउन थाल्थे ।
अहा ! कति राम्रो असार । बर्खे झरीसँगै हिलोमा पसिना रोपेर सुन फलाउने समय । प्रकृतिको काखमा निथ्रुक्कै भिजेर, खेतको हिलोमा हिलाम्य भएर श्रमको गीत गाउने बेला । श्रमका पुजारीहरू हिलोमा कमलझैं फक्रिएर जीवनको सुगन्ध छर्ने मौका । पानीले टम्म भरिएका धारा-पँधेराहरू । भुलभुल उम्रेका पानीका जरुवा । लेकबेंसी जताततै कुलकुलाउँदै गरेका कुलेसाहरू । उँभोबाट गीत गाउँदै झरेका खोलाखोल्सीहरू । भुइँकुहिरोले घरि छोपिंदै र घरि उघ्रिंदै गरेको गाउँबस्ती । रात परेपछि भ्यागुताको ट्वार्र-ट्वार्र ।
असार-साउनसँग गाँसिएका हाम्रा थुप्रै मौलिक र विशिष्ट संस्कृतिहरू छन् । तिनको संरक्षण गर्दै र हाम्रो जीवन पद्धतिमा भिजाउँदै भावी पुस्तामा यिनको महत्व बोध गराउनु हामी सबैको अहम् दायित्व हो ।

