साहित्यपोस्ट डट कम

सैँप्रोलमा समाहित हुँदा

सैँप्रोलमा समाहित हुँदा

कवि गौरी तमूसँग चिनजान खासै पुरानो हैन । तैपनि घनिष्टताको सीमा छैन । ‘समैँ दर्बानी’ मुक्तकसंग्रह पढेपछि उनको साहित्यिक कुशलता बुझेको थिएँ । उनलाई गुरुङ साहित्यिक मञ्च, नेपालको संस्थापक अध्यक्षको हैसियतले समेत चिनेको हुँ । शिक्षण सेवामा समर्पित गौरीले उच्च शिक्षाका निम्ति गरिरहेको प्रयास, प्रयत्न र परिणाम पनि उल्लेखनीय नै छ ।

यतिबेला उनको ‘सैँप्रोल’ कवितासंग्रह हातमा परेको छ । हुन त पाण्डुलिपि पाएको थिएँ । पढेर आवश्यक सुझाव दिने अवसर गौरीले दिएकी थिइन् । छोटा, चोटिला र मर्मस्पर्शी कविताहरू पढेपछि मनमा अनेक तर्क उब्जिएका थिए । समय, साधना र संघर्षले नै गौरीलाई कवि बनाएको थाहा लाग्यो ।

सैँप्रोल गुरुङ जातिसँग सरोकार राख्ने शब्द हो । अर्थात् प्रतिरोधको अर्थमा हामीले बुझ्न सक्छौँ । यस कवितासंग्रहमा महिला अस्तित्वसँगै गुरुङहरूको उत्पत्ति अनि आगो, मर्चा र जाँडको उत्पत्ति कहाँ र कसले गर्यो, मरेपछि गुरुङको संस्कार कसरी गर्नुपर्छ, यस जातिका संस्कृति र भूगोलमाथि आक्रमण कसरी भइरहेको छ ? आदिवासी जनजातिका खास अधिकारहरूमाथि किन हस्तक्षेप र अपदस्थका श्रृङ्खला कायम छन् भन्ने विषयलाई उठान गरिएका छन् ।

कविले कवितामा विद्रोहका ज्वाला दन्काएकी छिन् । अधिकारको खोजीमा शाब्दिक राँको बालेकी छिन् । जातीय दमन र हिंसा गर्नेहरूमाथि अक्षरका जुलुस लगाएकी छिन् । सबैका अधिकारलाई सम्मान र सुरक्षित राख्नका निम्ति कवितामा दरा बिम्बहरू प्रस्तुत गरेकी छिन् । अक्षर, शब्दका लहरहरूमात्र छैनन् बरु उकुसमुकुसका कुहिनाहरू ठोक्किएका छन् कवितामा ।

‘प्रेम–मोक्ष’ शीर्षकको कवितामा उनी लेख्छिन्

छाडेर नछाडिने

बिर्सेर नबिर्सिने

दुखाएर नदुख्ने

मोक्ष प्राप्तिमा छ अब

मेरो प्रेम ।

सायद जीवन र प्रेमको अर्थ बुझ्न कविताको यो अंश नै काफी छ । हुन त यो कविताले वैराग्यताको अनुभूत गराउन सक्ला तर प्रेमको अर्थ बुझाउन र जीवनसँग आफूलाई दाँज्न अरु सन्देश दिनेछ ।

त्यति सजिलै

कहाँ सक्छौ तिमी

मेरो अस्तित्वविना बाँच्न ?

‘बेपत्ता’ शीर्षकको कविताको अंश हो यो । जीवनको सार खोज्दै जाँदा माटोको भर ढुंगा र ढुंगाको भर माटो नै हो । पुरुषको सारथि महिला र महिलाको सारथि पुरुष नै होलान् । जो जे भएपनि एक्लै बाँच्छु भन्ने कोरा कल्पनाले सायद कल्पनामा नै विश्राम लिनेछ । हरेक पल कसैको नै कसैको साथ, हात र गाथको आवश्यकता पर्छ नै । एक्लै बाँच्छु र संसारलाई हल्लाउँछु भन्ने सोच नै अतिवादी सोच हो । भावना हो । विचार हो । समन्वय, सहकार्य र सहयात्रा नै जीवनको सार्थक रूप हो ।

‘आशा’ शीर्षकको कवितामा गौरी लेख्छिन् :

निम्त्याउँदै अन्धकार

डुब्दैछ डाँडामाथि घाम

पर्खिरहेछु

सुनौलो बिहानी ।

कविताको पूर्ण अंश हो यो । सामान्य लाग्छ यो कविता । तर, यसमा उज्यालो कुरिरहेका मानिसका स्वर्णीम इच्छाहरू प्रष्टिएका छन् । उज्यालो देख्न पनि अँध्यारोको अनुभूत गर्नैपर्छ । दुःख भोगेकाले नै सुखका सास फेर्न सक्नेछन् । हामीले यसै युगमा अनेक पक्षहरू भोग्यौँ र त यहाँ आइपुगेका छौँ । थाहा छैन कतिञ्जेल पर्खिनुपर्ने हो उज्यालोका लागि सुनौलो बिहानी ?

तर,किन हुन्न

छोरीहरूको आफ्नै घर ?

‘घर’ शीर्षकको कवितामा गौरीले प्रश्नद्वारा परिवर्तनको आशा गरेकी छिन् । कविताको चोटिलो हरफले उत्तर दिनुपर्नेलाई नाजवाफ बनाएकी छिन् । मोदनाथ प्रश्रितद्वारा २०३३ मा प्रकाशित ‘नारी बन्धन र मुक्ति’ पुस्तकमा सोधिएको प्रश्न यतिबेला पनि कवि गौरीले सोधेकी छिन् । अंश र वंशका कुरा उठेका छन् तर समाधानका बाटाहरू पहेली बनेका छन् । कसले बुझाउला कवि गौरीको मन ? कसले देला उनले सोधेको प्रश्नको उत्तर ? धेरै महिलाहरूका साझा समस्या उठाएकी छिन् गौरीले ।

गुरुङ भाषा, सभ्यता, संस्कार, रहनसहन, चालचलन, रीतिरिवाजका जानकार मात्र होइन कवि गौरी, आफ्नै भेषभुषामा सजिएर दुनियाँलाई आफ्नो संस्कृति सिकाउने गुरुमा समेत हुन् ।

कवि गौरीले संसार छाडिगएका आफ्ना बाउलाई यसरी सम्झिएकी छिन्:

बोलाउने छैनन् अब

तिम्रो घरैअघिको बाटो काट्दा पनि

इष्टमित्रहरूले

पाउने छैन अब मैले

बाउ ! भनी सम्बोधन गर्न ।

कवि छोरीले सम्झनाका यी अक्षरहरू कुँदिरहेका बेला सायद आँखा ओभाना रहेनन् होला । बाबाप्रतिको नोस्टाल्जिया झल्किन्छ । धेरैले आमाका बारेमा कविता कोरेपनि बाबाप्रति श्रद्धाका शब्द कोर्ने कमै छोराछोरी हुने गर्छन् । बाबाको जिम्मेवारीलाई उतार्नेहरू कमै भेटिएका हुन्छन् । हुन त गौरीले कवितालाई दोस्रो प्रेम गरेकी छिन् । पहिलो प्रेम त आमालाई दर्शाएकी छिन् ।

पौने सय वटा कविताहरू सैँप्रोल कवितासंग्रहमा संग्रहित छन् । आफ्ना साहित्यिक अनुभवहरू समेत गरेर एकसय ६ पेजमा कवितासंग्रह टुङ्गिएको छ । इण्डीगो इंकले प्रकाशन गरेको उक्त पुस्तक, आकारमा सानो भएपनि विचारले सघन छ । फराकिलो छ । समयको जवाफ खोजिरहेको यो कविता संग्रहको शीर्ष कविता ‘सैँप्रोल’मा यसरी आफ्ना विचार प्रस्तुत गरेकी छिन् गौरीले:

योग्यता

क्षमताको कसीमा

किन दिनुपरिरहन्छ

रिमै च्यो सैँप्रोलहरूले

अझै पनि अग्निपरीक्षा ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.