साहित्यपोस्ट डट कम

सम्मानको उज्यालो साँझ

सम्मानको उज्यालो साँझ

कहिलेकाहीँ जीवनका केही क्षण यस्ता हुन्छन्, जसले समयको सामान्य प्रवाहलाई रोकिदिन्छन् र मनभित्र एउटा दीर्घ स्मृतिको दीप बालिदिन्छन् । २०८२ साल फाल्गुण २४ गते आइतबार पनि मेरो लागि त्यस्तै यौटा अलग्ग उज्यालो क्षण बनेर आयो । यस दिन नेपाल स्रष्टा समाजले नेपाली साहित्यिक पत्रकारिताका दुई अग्रज व्यक्तित्व– नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई ‘रेखा–पवन सम्मान’ अर्पण गर्यो ।

हलभित्र प्रवेश गर्दा एउटा आत्मीय उज्यालो वातावरणले स्वागत गरिरहेको अनुभूति भयो । अनुहारहरूमा प्रसन्नता, आँखाहरूमा आदर र मनहरूमा स्रष्टाप्रतिको कृतज्ञता झल्किरहेको स्वत: महसुस हुन्थ्यो । अग्रजहरूका गलामा सजिएका सयपत्री र दुबोका माला सजावटका सामग्री मात्र थिएनन्, ती वर्षौंको साधना, समर्पण र साहित्यिक यात्राका प्रतीकजस्ता देखिन्थे ।

साहित्यिक पत्रकारिता आफैँमा सजिलो बाटो होइन । शब्दको बाँझो खेत जोत्नुपर्छ, आलाकाँचा विचारका बीउ रोप्नुपर्छ र अस्तव्यस्त समाजको संवेदनालाई सुललित भाव–सौन्दर्यको अक्षरमा रूपान्तरण गर्नुपर्छ । सहरदेखि ग्रामीण मनसम्मका अनुभूतिलाई प्रकाशनको माध्यमबाट फैलाइदिनुपर्छ । यस्तो कठिन यात्रामा आफ्नो जीवनको ठूलो अंश समर्पित गर्नुभएका अग्रणी व्यक्तित्वहरूलाई सम्मानित गरिएको दृश्य हेर्दा मनभित्र एउटा श्रद्धाको लहर उठ्नु स्वाभाविक हो ।

यस अवसरमा नेपाली साहित्यिक पत्रकारिताका दुई अग्रज व्यक्तित्व– नगेन्द्रराज शर्माको पहिचान बनेर परिचित ‘अभिव्यक्ति’ र रोचक घिमिरेको ‘रचना’ साहित्यिक पत्रिका नेपाली साहित्यकारलाई पाठक मनसम्म पुर्याउन अहम् भूमिका खेलेका प्रकाशन गृह हुन् । यी दुई व्यक्तित्व र दुई पत्रिकाका प्रति अर्पण गरिएको दृश्य एक युगको योगदानप्रति व्यक्त गरिएको कृतज्ञताको भावसमेत थियो । सभाहलमा भरिभराउ साहित्यिक अनुहारमा देखिने प्रसन्नता र सम्मानित व्यक्तित्वहरूको अनुहारमा झल्किने विनम्र मुस्कानले वातावरणलाई अझ अर्थपूर्ण बनाइरहेको मैले महसुस गरिरहेँ ।

समारोहमा समालोचक प्रमोद प्रधानले व्यक्त गर्नुभएको मन्तव्य अत्यन्त सारगर्भित थियो । उहाँले केवल दुई व्यक्तित्वको प्रशंसा मात्र गर्नुभएन; नेपाली साहित्यिक पत्रकारिताको एउटा भाग्यमानी युगलाई नै सम्झनुभयो । त्यो युग, जहाँ शब्दहरू कागजमा मात्र सीमित थिएनन्, बरु उहाँहरूले नयाँ प्रतिभालाई उज्यालो दिने दीपकको काम गरिदिनुभयो । साहित्यिक यात्राको एक–एक अध्याय उजागर गर्ने दीपहरू बनिदिनुभयो ।

उहाँले सम्झाउनुभयो– पत्रकारिता भनेको केवल समाचारको संसार मात्र होइन, त्यो त सिर्जनाको बगैँचा पनि हो, जहाँ शब्दका बिरुवाहरू रोपेर नयाँ प्रतिभाहरू हुर्काइन्छ । डा. गोविन्दराज भट्टराई र डा. लक्ष्मणप्रसाद गौतमले पनि यिनै र यस्तै भावना व्यक्त गर्नुभयो ।

नगेन्द्रराज शर्मा र रोचक घिमिरेले आफ्नो अनुभव सुनाउँदै ‘अभिव्यक्ति’ र ‘रचना’ पत्रिकाको प्रकाशन–यात्राबारे चर्चा गर्दा सभाहल एकछिन समयको गल्ली हुँदै पुरानो युगमा पुगेजस्तो लाग्यो । त्यो बेला साहित्यिक संसार आजजस्तो ‘डिजिटल’ थिएन । त्यो समय आजजस्तो ‘प्रविधि मैत्री’ समय थिएन । त्यतिबेला एउटा पत्रिका निकाल्नु भनेको कागजमा अक्षर छाप्नु मात्र होइन, एउटा सपना छाप्नु थियो । एउटा कविता वा लेख छापिनु भनेको लेखकका लागि आफ्नै आवाजलाई संसारले सुनेको अनुभूति हुनु थियो । त्यही अनुभूतिलाई सम्भव बनाउने माध्यम बनेका थिए– ती पत्रिकाहरू !

नामै काफी छ– ‘अभिव्यक्ति’ र ‘रचना’ ! स्रष्टा हृदयका मझेरीबाट अभिव्यक्त सुकोमल भावनालाई अक्षरका माध्यमबाट यिनै पत्रिकाहरूले प्रकाशन गरिदिएर फक्रिन तम्तयार प्रतिभालाई फुल्न मलजल दिएर हलक्क हुर्कन हौसला प्रदान गरिदिएका थिए ।

उहाँहरूले सम्झनुभयो– काठमाडौँका मात्रै होइन, मोफसलका गाउँ–सहरमा बसेका युवा र पुराना कवि–लेखकहरूलाई पनि आफ्नो पत्रिकामा स्थान दिइन्थ्यो । कुनै नयाँ कविको पहिलो कविता, कुनै ग्रामीण कथाकारको पहिलो कथा– त्यो सबै यिनै पत्रिकाका पानामा छापिएर साहित्यिक यात्राको पहिलो पाइला बन्ने गर्थ्यो । शब्दहरूलाई उड्न पखेटा दिने त्यो उदारता वास्तवमा साहित्यिक पत्रकारिताको सबैभन्दा सुन्दर रूप थियो ।

मलाई त्यो क्षण सुन्दै गर्दा यस्तो लाग्यो– साहित्य, किताबमा लेखिएका अक्षरसँगै, मानिसहरूबिचको विश्वास पनि हो । कसैले नयाँ प्रतिभालाई विश्वास गरेर अवसर दिनु नै साहित्यको सबैभन्दा ठूलो सेवा हो । शब्दलाई बाटो देखाउने मार्गदर्शक बनेर नगेन्द्रराज शर्मा र रोचक घिमिरेले त्यही सेवा गर्नुभयो । यही निःस्वार्थ सेवाकर्मको निरन्तरताले सम्पादक र लेखकबिचको सुमधुर सम्बन्ध नेपाली साहित्यको भण्डार भर्न पर्याप्त भइदियो ।

सभाहलमा हार्दिक मनले सम्मान ग्रहण गरिरहेका क्षण हेर्दा यस्तो अनुभूति हुन्थ्यो– समय आफैँले आफ्नो इतिहासलाई सम्मान गरिरहेको छ । एकातिर दशकौँको श्रम र समर्पण, अर्कोतिर नयाँ पुस्ताको आशा र प्रेरणा ! यी दुई धाराहरू आज एउटै नदीमा मिसिएका थिए ।

सम्मानको त्यो क्षण दुई व्यक्तित्वका लागि मात्र थिएन । त्यो त नेपाली साहित्यिक पत्रकारिताको धरोहरका लागि गरिएको अभिवन्दना र अभ्यर्चना थियो । आजका युवा लेखकहरूले जुन सहजताले आफ्नो रचना प्रकाशित गर्न पाउँछन्, त्यसको आधारशिला यस्तै समर्पित व्यक्तित्वहरूले कुनै समय चुपचाप राखेका थिए ।

‘अभिव्यक्ति’ र ‘रचना’ प्रकाशन–यात्राले आफ्ना स्मृतिका ढोकाहरू खोल्दै र पत्रिकाको यात्रा सुनाउँदा उपस्थित हामी स्रोता तत्कालीन समयका यात्रु बन्यौँ । उहाँहरूले सम्झाउनुभयो– त्यो जमानामा कतै डाकबाट आएका कविताहरू, कतै अस्पष्ट हस्तलिखित कथाहरू, कतै कुनै अपरिचित लेखकको आत्मीय पत्र– यी सबैलाई समेटेर एउटा–एउटा अक्षर जोड्दै ‘लेटर प्रेस’ को झन्झटिलो काम आज सम्झिँदा कसरी धैर्यले गर्न सकिएको होला भन्ने लाग्छ । अन्ततः ‘अभिव्यक्ति’ र ‘रचना’ ले नेपाली साहित्यको एउटा विशाल आँगन बनाएको थियो ।

त्यो आँगनमा धेरै नवप्रवेशी लेखकहरूले पहिलो पटक आफ्ना मनका भाव प्रकाशित हुने अवसर पाए । कतिपयका लागि त्यो पहिलो प्रकाशन नै जीवनको पहिलो आत्मविश्वास थियो । त्यसैले आज जब ती अग्रजहरू सम्मानित भए, त्यो सम्मान केवल दुई व्यक्तिलाई अर्पण गरिएको थिएन; त्यो त ती सबै लेखकहरूको सपनालाई पनि समर्पित थियो, जसले कहिल्यै नदेखिएका सम्पादकहरूको विश्वासमा आफ्ना रचनाहरू पठाएका थिए ।

समारोहको वातावरणमा एउटा अनौठो भावुकता थियो । लाग्थ्यो– साहित्य भनेको शब्दहरूको संसार मात्रै होइन, त्यो त सम्बन्धहरूको ऊर्जाशील संसार पनि हो । सम्पादक र लेखकबिचको सम्बन्ध, गुरु र शिष्यबीचको सम्बन्ध र समयसँगै बदलिँदै गए पनि नटुट्ने सिर्जनात्मक विश्वासको गहिरो आत्मीय सम्बन्ध !

त्यो क्षणले एउटा कुरा झन् स्पष्ट गरिदियो– साहित्यिक पत्रकारिता भनेको नदीजस्तै हो । नदीले आफ्नै लागि पानी बगाउँदैन; ऊ त बाटोमा भेटिएका खेत, वनस्पति, बस्ती र जीवनलाई सिँचाइ गर्दै बगिरहन्छ । ठीक त्यसरी नै रोचक घिमिरे र नगेन्द्रराज शर्माले पनि आफ्ना पत्रिकामार्फत् अनेकौँ प्रतिभाहरूको सिर्जनात्मक यात्रालाई सिँचाइ गरिदिएर हराभरा बनाउन भूमिका खेल्नुभएको थियो ।

आज उहाँहरूलाई प्रदान गरिएको ‘रेखा–पवन सम्मान’ वास्तवमा एउटा उज्यालो दीप हो, जसले अतीतको समर्पणलाई सम्झिँदै भविष्यका स्रष्टाहरूलाई पनि मार्ग देखाइरहेको छ । जब समारोह समाप्त भयो, मनमा एउटा मधुर अनुभूति बाँकी रह्यो– साहित्यको संसारमा केही मानिसहरू आफैँ पुस्तक जस्तै हुन्छन् । जसका स्मृति–विम्बहरू समयका साक्षी बनेर व्यतीत कालखण्डका दस्तावेज बन्छन् । स्मृतिका पानाहरू समयले पल्टाइरहन्छ तर त्यसमा लेखिएका प्रेरणाका अक्षरहरू कहिल्यै मेटिँदैनन् ।

समारोहको एउटा अनुकरणीय अर्को क्षण थियो, पुरस्कार स्थापना पवन आलोकका छोरी ज्वाँइको सौजन्यमा अक्षय कोष स्थापना गरी त्यसैबाट ‘रेखा–पवन सम्मान’ को थालनी गरिएको थियो । त्यस्तै समारोह साहित्यकार पवन आलोक र उहाँकी धर्मपत्नी रेखा कंडेलको सन्ताउन्नौँ वैवाहिक वर्षगाँठको पारेर आयोजना गरिएको थियो । त्यसैले कार्यक्रम सम्मानको औपचारिकता मात्र थिएन; त्यो प्रेम, साहित्य र समर्पणको एउटा सुन्दर संगमजस्तो लाग्थ्यो । अतः त्यो सम्मानको साँझ सम्मान र मायाको मालाले उज्यालिएको थियो ।

जीवनमा धेरै भेटघाटहरू हुन्छन्, धेरै कार्यक्रमहरू पनि हुन्छन् । तर केही दिनहरू यस्ता हुन्छन्, जुन स्मृतिको डायरीमा सुनौला अक्षरले लेखिएर बस्छन् । फाल्गुणको त्यो आइतबार पनि मेरो मनको पानामा त्यस्तै एउटा उज्यालो पृष्ठ बनेर बसिरहनेछ– जहाँ सम्मान, स्नेह र साहित्यको सुगन्ध एकैसाथ फैलिएको थियो । वसन्तको हल्का हावाजस्तै त्यो समारोहको स्मृति मनमा बसेर रह्यो– जहाँ शब्दहरू सम्मान बने, सम्मान इतिहास बन्यो र इतिहासले भविष्यलाई प्रेरणा दियो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.