बिस्तारै कुसंस्कार, अन्धविश्वासको कालो बादल हट्न थाल्छ । नारी शिक्षा, विधवा विवाहको विरोध गर्ने समाज बिस्तारो बिस्तारो नयाँ युगतर्फ लम्किन थाल्छ ।
असमियामा एउटा उखान छ, “लाउ जिमानेइ डाङर नहउक किय, यी सदाय पातर तलत हे थाके ।” अर्थात् लौकी जतिसुकै ठुलो, चिल्लो-राम्रो भए पनि के हुन्छ, उसले सधैँ पातको माझमा लुकेर बस्नुपर्छ, उसले आफैँलाई लुकाएर राख्नुपर्छ । यदि कुनै कारणले आफ्नो हक र अधिकारको निम्ति मुन्टो निकाल्यो भने उसको मुन्टो सधैँ सधैँको लागि गिँडिन्छ । जसरी गिँँडिएको थियो मध्ययुगीन मुसलिम सम्राज्ञी रेजिया सुलतानाको । उनको अपराध एउटै मात्र थियो कि उनी एउटी नारी थिइन् । साहसी योद्धा, कुशल शासक, पराक्रमी महिला भए पनि उनको हत्या गरिन्छ, किनकि उनी आफ्ना भाइहरूभित्रमा योग्य ठानिएर राजा बनिन् । एउटी महिलाको अधिनमा पुरुषहरूलाई काम गर्न अपमान बोध भयो र उनको हत्या गरियो ।
उनी सँगसँगै हत्या भयो एउटी कुशल शासकको, एउटी सशक्त महिलाको । इतिहास साक्षी छ, यहाँ आदिकालदेखि नै शक्तिशालीहरूले कमजोरहरूमाथि आफ्नो अधिकार जमाएर आएका छन्, चाहे त्यो मनुष्य होस् अथवा पशु । आफैँलाई बलवान मानेर शोषण गर्नेहरूले शोषण गरी नै रहन्छन् जबसम्म उनीहरूले आफू समानको अर्को कोही बली, पराक्रमी व्यक्ति भेट्दैनन् । भेट्नु पो कसरी ! हामी नारीहरूले भेट्नै दिएका छैनौँ । हामीले सधैँ आफैँलाई कमजोर ठान्दै आएका छौँ । कसैले ‘लेडिज फस्ट’ भन्यो भने फुरुक्क पर्छौं । तर त्यो फुर्क्याइमा हाम्रै कमजोरपन लुकेको छ, त्यसलाई वास्तै गर्दैनौँ । मात्रै यो समाजले बनाएको एकतर्फे खोक्रो नियममा इत्रिदै हिँड्ने गर्छौं । हामीले अझैसम्म आफैँलाई चिनेकै छैनौँ र आफैँलाई परजीवी, पराश्रयी ठान्दै एकअर्कालाई डस्दै आएका छौँ । हो, यो पितृसत्तात्मक समाजको मूल जरो नारी नै हुन्, नारीले नै नारीलाई अघि बढ्न कहिल्यै दिँदैनन्, जसरी दिएका छैनन् ‘युगसन्धि’की नायिका लक्ष्मीलाई । उसको जीवनका हरेक गोरेटामा बाधा भई रोकटोक गर्ने पुरुष छैनन्, नारी नै छन् । उसको खुशीमा आगो बाल्ने कुनै पुरुष होइन, नारी नै छन् । उपन्यासमा पुरुष पात्रले (सबैले नगरे पनि) उसलाई हरेक क्षेत्रमा सहायोगका हात अघि बढाएका छन्, हौसला दिएका छन्, चाहे त्यो साथी भुवन होस् या ससुरा होमनाथ हुन् । नारी शिक्षाको प्रतिकूल परिवेशमा पनि आफ्नो दृढ मनोबल तथा आत्मविश्वासले शिक्षा हासिल गरेर आफ्नो प्रतिभाको परिचय दिन सफल भएकी छे उपन्यासकी प्रमुख पात्रा लक्ष्मी ।
विषय प्रवेश :
उपन्यासलाई जीवनको छाया भनिन्छ । यसलाई मानव जीवनको चित्र पनि भन्न सकिन्छ । उपन्यासमा मानव जीवनको चित्रण कलात्मक पाराले प्रस्तुत गरिएको हुन्छ । उपन्यास पढ्दा मानिसको भोगाइ, क्रियाकलाप, अनुभव आदि सबै वास्तव जस्तो लाग्छ । ठीक त्यसैगरी ‘युगसन्धि’मा पनि नारी एउटीको सङ्घर्षमय जीवन एकदमै जीवन्त जस्तो भएको छ ।
‘युगसन्धि’ एक्काइसौँ शताब्दीको पहिलो दशकको प्रारम्भमा उपन्यासकार नयाँ देवीको करकलमबाट जन्मिएको एउटा घटना प्रधान उपन्यास हो । उपन्यासकी केन्द्रीय पात्र (नारी पात्र) लक्ष्मीको सेरोफेरोमा उपन्यास घुमेको छ भने अन्य सहायक पात्र (नारी पात्र) हरूले पनि उत्तिकै भूमिका खेलेका छन् । उपन्यासको नायक भुवन हो, तर उपन्यासमा पुरुष वर्गलाई गौण रूपमा तथा महत्त्वपूर्ण पात्रको रूपमा राखिएको छ । उपन्यासमा नारी शोषण, पक्षपात, वर्ण विभाजन, अत्याचार जस्ता नकारात्मक पक्षको थलथले छ भने पनि त्यही थलथलेमा, नारी शिक्षा, नारी सशक्तीकरण नारी स्वाधीनता, विधवा विवाहको प्रचलन आदि पाटाहरू कमलका कोपिलाझैँ निस्केर फूल भई फुलेका छन् ।
‘युगसन्धि’ हक र अधिकारको लागि लडेकी एउटी निडर, साहसी एवम् आत्मविश्वासी नारीको लडाइँको कथा हो । समाजमा एउटा छुट्टै पहिचान बनाउनको लागि गरेको एउटा सङ्घर्ष हो भने आफ्नो इच्छाको विरुद्ध समाजको एकपक्षीय नियम मान्न बाध्य भएका हतभागी महिलाहरूको भोगाइ हो, दुखेसो हो । नारीहरूले आफ्नो अधिकारका लागि उहिलेदेखि लड्दै आउनुपरेको छ । आफ्नो सुरक्षाको निम्ति सधैँ सङ्घर्ष गर्नुपरेको छ । तर आजको मितिमा पनि देशमा न त नारी घरमा सुरक्षित छन् ,न त समाजमा । उनीहरूको स्थान अझै पनि दयनीय छ । आज पनि नारी हरेक गल्लीमा नाङ्गिएका छन्, लुछिएका छन्, भोगको सामग्री बन्न विवश भएका छन् । यस्तै विवशतालाई आफ्नो साहस र उद्यमताले मुखबुजो लाउन सक्षम भएकी छ उपन्यासकी नायिका लक्ष्मी ।
विश्लेषण :
उपन्यासकी पात्र लक्ष्मी धर्मराज र धनमायाकी छोरी हो भने मणि र किरण उसका दुई दाजु हुन् । हजुरआमा हरिप्रिया र फुपू मनमाया, जो सानैमा आफ्नो लोग्ने गुमाएर बालविधवा भएकी छ ऊ पनि एकसाथ एउटै परिवारमा बस्छे । मोठ सातजनाको जहानले परिवार सम्पूर्ण भएको छ । उपन्यासको प्रारम्भमा लक्ष्मीलाई एउटी छ वर्षकी प्रचुर सम्भावना भएकी, जिज्ञासु बालिकाको रूपमा दर्शाइएको छ । लक्ष्मीले सानैदेखि नारीमाथि थोपिएका आधारहीन नियमको विरोध गर्दै आएकी छ जुन जबरजस्ती केवल नारीमाथि मात्रै थोपरिएका छन्, जसले गर्दा उसलाई हजुरआमाको नजरमा एउटी हठी, जिद्दी, संस्कारहीन बालिकाको रूपमा खडा गराएको छ । त्यसैले हजुरआमासँग ऊ सधैँ खट्किएकी छ । जब जब लक्ष्मी ठुली हुँदै जान्छे उनको तिखो नजर नातिनीमाथि सधैँ परिरहन्छ ।
उसका दुई दाजु मणि र किरणभन्दा परीक्षामा ऊ सधैँ अब्बल आउँछे । तर उसको ज्ञान-बुद्धिको प्रशंसा घरमा कहिल्यै हुँदैन, न त उसलाई कसैले हौसला दिन्छन् । उसको बुबा धर्मराज पनि छोरा दुईको पढाइको खोजी गर्न अथवा उनीहरूको हालखबर बुझ्न गोठ मदनको हातमा सुम्पेर धाएर घर आउँछ । उसको अनुपस्थितिमा भैंसी हराउँछन्, कति बाघले खान्छ, त्यो हानी भएको कुरा जानी जानी पनि ऊ घर धाउँछ किनकि उसले घरका ज्योति, भविष्यका धरोहर उसका छोराहरूलाई बनाउनु छ । उनीहरूको पढाइ कमजोर भयो भनेर सारा गाउँमा ट्युसन टिचर खोजी हिँड्छ, तर छोरीको केही खोजी गर्दैन । लक्ष्मी आफ्नै मनोबलले नै अघि बढ्दै जान्छे तर प्रत्येक पाइलामा उसलाई रोकिन्छ, टोकिन्छ । अन्धविश्वासको गहिरो कुवामा डुबेकी, कुसंस्कारकी कट्टर समर्थक हजुरआमा हरिप्रिया उसलाई सधैँ कटुवचन सुनाउने गर्छिन् ।
“छोरीले किन पढ्नु पर्यो ?”
“उसको पढाको के मूल्य छ ?” आदि व्यङ्ग्य वाणले उसका अग्रसर भएका पाइलामा सधैँ अङ्कुश लगाउन खोज्छिन् ।
विद्यार्थी जीवनमा लक्ष्मीले रुग्णताले गर्दा शिक्षाबाट पछि परेको देवराज र पवित्राको छोरो भुवनलाई धेरै सहाय गर्छे, हौसला दिन्छे जसले गर्दा भुवनले फेरि आफ्नो शैक्षिक यात्रा आरम्भ गर्छ । उनीहरूमा मित्रता बढ्छ जो निस्वार्थ हुन्छ ।
आज राजनैतिक क्षेत्रमा होस् या व्यापार-वाणिज्यको क्षेत्रमा होस् नारीहरूको सहभागिता मात्र १० बाट १५ प्रतिशत भित्रमा रहेको देखिन्छ । किनकि उनीहरूलाई घरेलु समस्याले घेरेको हुन्छ, माया र ममताले जेलेको हुन्छ ।
बीसौँ शताब्दीको पहिलो दशकसम्म नारीलाई घरायसी काममा मात्रै नियोग गरिन्थ्यो, राजनैतिक क्षेत्रमा होस् या शिक्षा-दीक्षाको क्षेत्रमा होस् उनीहरूको योगदान शून्यको बराबर थियो । उमेर नपुगी बिहे, त्यसपछि घर-संसार, सन्तान , आदिको लहरामा अल्झनु परेपछि उनीहरू आफैले आफ्नो अस्तित्व चिन्नै पाउँदैनन् थिए । कोही साहस गरेर अघि बढे पनि समाजले उनीहरूलाई लाञ्छना दिन्थ्यो र नारीहरू घरमै अल्झेर बस्थे । ठीक यस्तै यस्तै बाधा आइपरे लक्ष्मीका जीवनमा पनि । तिखो बुद्धि भए पनि अध्ययनबिचमै छोडेर इच्छाको विरुद्ध बिहेमा होमिनु पर्यो । बिहेपछि उसले आठ दसजनाको सासू-ससुरा, नन्द-देवर भएको परिवार सम्भालेर पनि आफ्नो इच्छाशक्तिले फेरि पढाइ आरम्भ गर्छे । पहिले त लोग्ने शङ्करबाट भरपुर समर्थन पाएकी थिई तर पछि ऊ पनि आफ्नी आमाका कुरा सुनेर स्वास्नीलाई खेदो गर्न थाल्छ र उसलाई त्यागेर अर्की भित्र्याउँछ । पछि गएर उसलाई धेरै पछुतो हुन्छ तर लक्ष्मीका सामु पर्ने उसको साहस हुँदैन ।
“नारी नै नारीकी शत्रु हो” भन्ने भनाइअनुसार यस उपन्यासमा पनि त्यस्तै चित्र प्रस्तुत गरिएको छ । लक्ष्मीकी सासू सविताले उसलाई सधैँ गालीगलोज गर्ने गर्छिन् । सधैँ अपयश निकाल्नु, एउटा न एउटा निहुँ झिकेर उसलाई वचन सुनाउने उनको दिनचर्या बनेको थियो । तर ससुरा बाबाट उसले हमेसा साथ पाएकी थिई । एकदिन उनी आफ्नी स्वास्नीलाई सम्झाउँदै भन्छन्:
“घरको यत्रो काम सकेर, छोरालाई खुवाइ पियाइ गरेर जाँदा पनि तँलाई नभएको ! तेरी बुहारीको मानसिक चेतना, कर्तव्यनिष्ठ, लगन, परिश्रम , दायित्वबोध धेरै छ । घरपरिवारप्रति उसले कहिल्यै केही त्रुटि राखेकी छैन । एउटा मान्छेको दोष नभईकन किन यसरी दोष देख्छेस् ?”
ससुरा बाको यस्तो मानसिक साथ र सहयोगले गर्दा लक्ष्मी अघि बढ्दै जान्छे । उसको बुद्धिमताको परिचय उनलाई भए पनि घरका अरू सदस्यले त्यो कुरो कहिल्यै स्विकारेनन् । अरू सदस्यले परै जाओस् स्वयं उसको श्रीमान् शङ्करले पनि बुझेन । दिनहुँ उसलाई गाली गर्नु तथा कुटपिट गर्नु शङ्करको मानौँ दैनिक काम बनिसकेको थियो । जसको परिणामस्वरूप लक्ष्मी-शङ्करको विवाहविच्छेद हुन्छ । बोकाको मुखमा कुभिन्डो नआँटे झैँ भई लक्ष्मी त्यो घरमा ।
यस घटनाले कति मान्छेले उसकै निन्दा गरे, कतिले “घर खान नसकेकी छाडा आइमाई” भन्ने समेत अपयश लगाए, तर महान् उद्देश्य लिएर अघि हिँड्ने, मुक्त मन भएकी लक्ष्मीलाई यो कुराले अझ प्रेरणा दिन्छ । उसले आफ्ना समस्त पिरहरूलाई अस्त्र हिसाबले व्यवहार गर्न थाल्छे । समाजको हितमा अझ बलियो तरिकाले लाग्न थाल्छे । ऊ मान्छेको कुरो सुन्दिन, आफ्नो मनको सुन्छे र निरन्तर खटिन्छे । पीडित, शोषित महिलाहरूको ढाल बन्छे ।
उता भुवनको जीवन पनि अचानक आएको हुरीले तहसनहस पार्छ । एउटा सडक दुर्घटनामा उसकी श्रीमतीको ज्यान जान्छ र ऊ गहिरो शोकमा डुब्छ । यस पीडाबाट निस्किन उसलाई धेरै समय लाग्छ । ऊ लक्ष्मीको साथी भएको हुनाले लक्ष्मी उसलाई मानसिक सान्त्वना दिन थाल्छे । ऊ पनि लक्ष्मीलाई सहाय गर्न थाल्छ । दुवैको साथ र सहयोगमा मिलिङ्गपुर गाउँका महिलाहरूको धेरै विकास हुन्छ । बिस्तारै कुसंस्कार, अन्धविश्वासको कालो बादल हट्न थाल्छ । नारी शिक्षा, विधवा विवाहको विरोध गर्ने समाज बिस्तारो बिस्तारो नयाँ युगतर्फ लम्किन थाल्छ । समयले भुवनको घाउ पनि भरिदिन्छ । एउटै सोच, विचार भएकाले पछि उनीहरू सँगै जीवन व्यतीत गर्ने सोच गर्छन् र आफ्नो मिलिङ्गपुरका पीडित महिलाहरूको आवाज बन्छन् । यो कुरा लक्ष्मीका घरका मान्छेले सजिलोसँग लिँदैनन् । बाउले “नाकमा गहुँ लगाई” भन्छ भने आमै उसलाई अभिशाप दिन थाल्छिन् । तर आमा र फुपूले आमैको कुराको विरोध गर्छन् र “लक्ष्मीले जे गरी सही नै गरी” भन्छन् ।
-युगसन्धि’ले परम्परागत रूढीवादी सोचको घोर विरोध गर्दै समाजमा परिवर्तन ल्याएको छ । उपन्यासमा वर्णित लक्ष्मीकी फुपू ‘मनमाया’को माध्यमबाट उपन्यासकारले बालविधवाको पीडादायी जीवनको वर्णन गरेकी छन् भने राधा नाउँ गरेकी अर्की एउटी पात्राको माध्यमबाट विधवा विवाहको प्रचलन भएको देखाएर नयाँ बिहानको शङ्खघोष गरेकी छन् । समाजको दुवै वर्गलाई, एउटा पुरानो सोचमा रम्ने कट्टर कुसंस्कारी बाजे-बज्यै र अर्को परिवर्तन चाहने युवाहरूको युक्तिसंगत एवं तार्किक सोचलाई वर्णन गर्दै समाजमा नौलो परिवर्तन ल्याउन सफल भएकी छन् ।
उपन्यासमा तत्कालीन असममा देखा परेको जातीय विवाद, हिंसा, आतङ्क आदि वर्णन गरिएको छ । असम आन्दोलनको बेला असममा युगौँदेखि बसोबास गर्दै आएका गोर्खेहरूको अवस्था, रैथाने हुँदाहुँदै पनि आफ्नो अस्तित्वमा आइपरेको सङ्कटको कुरा उपस्थापन गरिएको छ । १९८०-८१ सनमा असममा भएको आन्दोलनमा मानिसहरूको डर, छात्रहरू भोगाइ, जस्तै परीक्षा नभएको, जनगणना नभएको, डर र आतङ्कले सामाजिक जनजीवन त्रासिद भएको कुरा अति मार्मिक तरिकाले उपस्थापन गरिएको छ । जसले गर्दा नेपालीहरूको भोगाइ, उनीहरूको सामाजिक स्थिति के कस्तो थियो त्यो एकदमै सजीवजस्तो देखिएको छ । यसरी प्रस्तुत उपन्यासमा समाजको विकासमा कुसंस्कार पर्खाल बनेको, नारी शिक्षा र नारी स्वाधीनतामा आइपर्ने अडचन र बाधाहरू वर्णन गरिएको छ ।
उपसंहार:
उपन्यासको मूल विषयवस्तु समानताको माग, वर्ण विभाजनको विरोध, नारी शिक्षा, विधवा विवाहको प्रचलन रहेको छ भने उपन्यासको उद्देश्य परम्परागत रूढीवादी सोचलाई निर्मूल पारेर नयाँ युगको निर्माण गर्नु नै रहेको छ । उपन्यास पढ्दा पढ्दै यस्तो भान हुन्छ कि बिसौँ शताब्दीको पहिलो दशकको सामाजिक व्याधिले जर्जर भएको भारतीय समाजमा राजा राम मोहन रय, केशव चन्द्र सेन, स्वामी दयानन्द सरस्वतीजस्ता सन्त पुरुषहरूको सहयोगमा समाजमा नारी शिक्षा, विधवा विवाह आदिको प्रचलन, बालविवाहको घोर विरोध भएको थियो र समाजमा एउटा नौलो परिवर्तन भएको थियो । ठीक त्यसैगरी उपन्यासकारले उपन्यासमा विभिन्न चरित्रका माध्यमबाट रूढिवादी समाजका झिनामसिना सोचहरूलाई निर्मूल पार्दै पुरानो सोच र नयाँ सोचको बिचमा एउटा सन्धि भएको देखाएकी छन् र अन्तिममा रूढिवादी सोचले नयाँ सोचलाई सहृदय अङ्गालेको छ जसले गर्दा उपन्यासको शीर्षक ‘युगसन्धि’ पूर्णरूपमा सफल भएको छ ।
उपन्यासको भाषा वर्णनात्मक र संवादात्मक रहेको छ । पात्र-पात्राहरूको नाउँ पनि सधैँ सुनिरहेका अथवा बोलाइएका भएको हुनाले उपन्यास हामीबीच कसैको भोगाइजस्तो देखिएको छ । अँ कतिपय ठाउँमा ‘ऊ’ ‘हामी’ जस्ता सर्वनामको वर्तनी गलत मुद्रण भएको छ । अनि कुनै कुनै ठाउँमा अनुच्छेद नछुटिएको हुनाले अलिकति नमिलेको देखिए पनि पढ्दा त्यो कुराले केही बिगारे जस्तो भान हुँदैन ।
मूलतः नयाँ युगको प्रतिनिधित्व गरेको ‘युगसन्धि’ साँच्चैनै पठनीय छ । उपन्यासले पुरानो विचारलाई पन्छाउँदै नयाँ युगलाई आह्वान गरेको छ । सरल, सुबोध तथा बोलचालको भाषा प्रयोग भएको हुनाले पाठकको मन जित्न सकेको छ । तत्कालीन असमको ग्रामीण जीवनको सपाट वर्णन पाइन्छ उपन्यासमा । महान् उद्देश्य लिएर लेखेको ‘युगसन्धि’ मूकबधिर नारीहरूको आवाज बनेको र नयाँ युगको निर्माण गर्न सफल भएको छ । अन्तिममा यस्तो सुन्दर उपन्यास नेपाली साहित्यमा भित्राउनु भएकोमा नयाँ देवीलाई आन्तरिक धन्यवाद दिन चाहन्छु । साथै उहाँको साहित्यिक यात्राको दीर्घायु कामना गर्दै मेरो लेखलाई विश्राम दिन चाहन्छु ।

