मध्य असारमा सिर्जु शाहद्वारा लिखित कर्णालीका दुःखको संग्रह 'बैकिनी' पढ्न मन लागेर आयो । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेख्ने भाव पढ्दा सिर्जु पठनीय हुनुपर्छ भन्ने मेरो अड्कलबाजी पनि थियो । एक दिन जब अवसर जुर्यो, तब खोलियो बैकिनी ।
खासै म पढ्नु अगाडि धेरै अपेक्षा त राख्दिनँ, पढ्दा उपन्यासले मन भने बराल्नुपर्छ । पाठकले चिया पिउनसमेत बिर्सनुपर्छ । अझ सामाजिक उपन्यासले पढ्दा-पढ्दै पढ्नेका आँखा, मन र होश सबै आफ्ना नियन्त्रणमा राख्न सक्नुपर्छ । यो उपन्यासको धर्म हो कि पाठकलाई अन्तसम्म लिएर जानैपर्छ । लेखकसँगै उपन्यासका हरेक आरोह-अवरोह पाठकले पनि अनुभूत गर्नैपर्छ । तब न उपन्यास ।
म लेखकसँगै ती अँध्यारा घना जंगलहरू, भुलभुलैयाका बाटा अनि रातो माटोका चिप्ला बाटा हुँदै ती गोरेटामा अल्झँदै कोसौँ-कोसको यात्रा गर्दै थिएँ । अनि सुन्दै थिएँ सुनिता दिदीका गह्रौँ घाउहरू । एउटा गोठभित्रबाट लुटिन शुरु भएको उसको जीवन र मृत्युको संघर्ष । अन्त्यमा मृत्युको जित र आत्माको चीत्कार । विवाह, परिवार र अभावले थलिएका कर्णालीका बैकिनीहरू । उनीहरूको रोदन, जिन्दगीको ताप र हर्षविहीन कैयौँ शिथिल रातहरू ।
बैकिनीभित्र कथै-कथा छन् । हरेक कथा फरक छन्, तर दुःख उही । कर्णालीका बैकिनीहरूले फेर्ने सासका बोझ त सबैका उस्तै छन् । रातका छटपटी र अनगिन्ती आँशु सबैका उस्तै छन् । आत्माको विलाप सबैका उस्तै छन् । देउडासँग साटेका विरह सबैका उस्तै-उस्तै छन् ।
उपन्यासकार उपन्यासभरि अरुकै दुःख लेख्छिन्, पढ्छिन् र सुन्छिन् । उनी सरुनीले सुत्केरी हुन त्यागेका जीवनहरू लेख्छिन् । सरुनीको पतिले गर्ने प्रेम लेख्छिन् । सँगै घरपरिवारका मानिसले गरेका हेला पनि लेख्छिन् । टुहुरी नानीको भविष्य पनि लेख्छिन् । मात्र त्यति जतिले पढ्नेको मन नछोएको होस् । कर्णाली दुःखहरूको राजधानी हो । बैकिनीले कर्णालीका ती अनगिन्ती दुःखहरू देखाएको छ । दुःखले थिचिएका तमाम स्त्रीहरूका चोटिला जीवन पनि देखाएको छ ।
ओरालो बाटो होस् या उकालो, घाँसका भारी हुन् वा नुनको जोहो, जे-जति लेख्छिन्, दुःखै लेख्छिन् । उनको लेखनीमा ११ वर्षीया गौमतीदेखि दुई महिनाकी सानी मुने पनि अटाउने गरी लेखिन्छन् । जीवनसँग साटेका नूनका ढिकाहरू पनि छुटेका छैनन्, न त छुटेका छन् आँशुका ढिक्काहरू ।
बैकिनी पढ्दै गर्दा कर्णालीका पीर, ती छोरीहरूका अथाह दुःख देखिन्छन् । छोरी हुनुको दुःख, छोरी पाउनुको दुःख अनि छोरी अन्मिएर पराइघर जानै पर्ने बाध्यताको दुःख सबै एक-एक गरी कथामा कुँदिएका छन् । गोठको बासमा कसरी एउटी बैकिनी डढेलो लागेर मर्नेदेखि धेरै छोरी जन्मिएर छोरा दिन नसकेको निहुँमा मुटुको किला घर भित्र्याएकी एक बैकिनीको अन्त्य, जसले कसरी आफ्नो देहसम्म त्याग्न पुग्छे- सबै-सबै कथा पढ्दा अत्यास लागेर आउँछ । आँखा चिम्लिएर महसूस गर्न मन लाग्छ । शायद कर्णाली भोग्नेहरूले ठान्लान्, कतै तीमध्ये कुनै एक बैकिनी म त होइन ?
बैकिनीमा कथाकार कहीँ सपना जस्तो दुनियाँमा पुग्छिन् । कहीँ लाग्छ, यो कुनै हरर फिल्मको स्क्रिप्ट पढ्दै छु । या कतै लाग्छ, उपन्यासकार कुनै सपना देखिरहेकी छिन् । लगभग आधा उपन्यास पढिसक्दा पनि पाठकले लेखक कहाँ बसेर कथा भनिरहेकी छिन् भन्ने थाहा पाउन मुस्किल पर्छ । यस्तो लाग्छ, कथाकार आफैँ मरिसकेपछि पुगेको दुनियाँको चर्चा गर्दैछिन् । वा लेख्दैछिन् आफ्नै मृत्युशय्यामा सुतेर । आफ्नै जीवनको अन्त्य हेरेर लेखिरहेकी छिन् । उपन्यासकार कतै आफ्नै कथा पो भन्दैछिन् कि अरुकै कथाको सिलसिलेवार कथा भन्दैछिन्, शङ्का लागिरहन्छ । यो यथार्थ हो वा कल्पना, पाठक दुविधामा पर्छ । कतै मृत्युपछिको जीवनजस्तो, या अवचेतन मनको संशयजस्तो । कस्तो-कस्तो लागिरहन्छ ।
कथाको नायिका को हो ? उपन्यासकार आफैँ वा भद्र महिला ? नायिका कर्णालीको दुःखले निभाइरहेको छ वा ती दुःख भोग्ने पात्रहरू हरेक नायक हुन्, जसले बैकिनी लिएर बग्छन् ? कथामा कहिले लोहोरे खोला तैरिन्छ, त कहिले तिला नदीको सुसाहट । अनि कतै-कतै भेरी नदीको सूक्ष्म छलाङ । अनि तिनै पानीसँग तैरिएका जिन्दगीहरू । लेखकले यहाँ बडो चातुर्यका साथ पाठकलाई अड्काइरहन्छिन् । पाठकहरू अल्झिरहन्छन् ।
यस उपन्यासमा कथा मात्र छैनन्, जीवनका संघर्षहरू पनि उत्तिकै छन् । विरोधाभास र परिवर्तनका अध्यायहरू पनि छन् । जब उपन्यास भारी-भरकम महिला सशक्तीकरणका दस्तावेज लेख्न थाल्छ, अनि लेखकले पाठकमाथि आफ्नै विचार थोपर्न थाल्छिन् । लाग्छ, यति स्किप गरिदिऊँ, तर अर्को वाक्यांशमा फेरि कुनै कथा छुट्न सक्छ कि भन्ने सानो कौतूहलताले शब्द-शब्द पढ्नुपर्ने बाध्यता सिर्जना हुन्छ । अनि त पाठकले केही बोझिला वाक्यहरू पढिरहँदा हाइ काढ्दै पढ्नै पर्छ, ताकि सुटुक्क कतै अर्की बैकिनीको पीडा पो झुल्किने हो कि ।
यी कथाहरूमा सबैजसो केटी पात्रहरूको वियोगान्त पढ्न पाइन्छ । कताकता लाग्छ, कर्णालीमा बैकिनीहरू केवल हार्न मात्र जन्मिएका हुन् । उनीहरू केही जित्दैनन् र ? कर्णालीका छोरीहरू विवशतासँगै सधैँ सबै पिल्सिएका छन् ? उनीहरूको सपना सधैँ डरलाग्दो नै हुन्छ र ? के कर्णालीले लोग्ने जति सबैलाई पकलापत्थर नै खेदिरहन्छ र ?
के कर्णालीले क्रान्ति गरेन र ? खै त कुनै एक पात्रलाई क्रान्तिकारी देखाएको ? के कर्णाली सबै आँशुको सागर मात्र हो र ? के कर्णालीमा खुशीहरू जुरमुराउँदैनन् र ? के त्यहाँका बैकिनीहरू श्रापित मात्र छन् ? खै, तिनीहरूले हिम्मत गरेका ? खै, कर्णालीका नारीहरूले बन्दुक बोकेर त्यहाँका अवस्था फेर्न सत्तासँग पौठेजोरी खेलेको कथा ? खै त कर्णालीमा बाटो, बिजुली र इन्टरनेटसँगै बैकिनीहरूले भोगेको सुख ?
कर्णालीमा अब बाटो पनि पुग्यो, बत्ती पनि बल्यो । स्कुल पनि खुल्यो । अब कर्णाली बैकिनीका अभाव, अशिक्षा र रोदनमा मात्र सीमित छैन । कर्णाली अब राजधानीसँगै हातमा हात मिलाउन लामबद्ध भइसकेको छ । उपन्यास समकालीन समाजको ऐना पनि हो, तत्कालीन समाजको यथार्थ उपन्यासले ढाँट्न मिल्दैन ।
एक पाठकको दृष्टिले मलाई लाग्यो, उपन्यासकारले कमसेकम एउटा यस्तो कथा टिप्नुपर्ने हो, जसले कर्णालीका बैकिनीलाई प्रेरणा दिइरहेको होस् । अहँ, त्यो अबला बैका मिसले कर्णालीले अहिले खोजिरहेको जीवन त भन्नै सकिन । अधुरो-अपुरो । बैका मिस र हेडसरले मात्र त बदलिएको कर्णाली देखाउनै सक्दैनन् ।
समग्रमा उपन्यासकारले तेर्साएका प्रश्नहरू गम्भीर छन् । कर्णालीमा देखेका जीवन उराठलाग्दा र अत्यासलाग्दा छन् । छोरीहरूको अवस्था चिन्ताजनक छ । बैकिनीहरू कथामा बाँच्नै सकेका छैनन् । बलात्कारलाई समाजले हेर्ने दृष्टिकोण अझ परिष्कृत हुन सकेको छैन ।
बैकिनी एक दुःखद कर्णालीको अद्योपान्त दस्ताबेज हो । पढ्दा बेलाबेला भावनामा ठेस लाग्छ, मनमा ज्वाला उठ्छ, पढ्दा-पढ्दै मन भक्कानिन्छ र शब्दहरू प्रस्फुटन हुन थरथराउँछन् । दुःख मन पराउनेलाई यो एक मीठो दुःखको खुराक बन्नेछ । एक सङ्गीन औषधि बन्नेछ ।
एकछिन लाग्छ, रमा मिसले थोरै बदलिएको कर्णालीको लय बताउनेछिन् । त्यहाँका मानिसको फेरिएको मस्तिष्क लिएर एक सुन्दर जीवन निर्माण गर्नेछिन् । जसले आम कर्णालीका बैकिनीहरूमा प्रेरणा देओस् । अहो, जीवन त रमा मिसको जस्तो बाँच्नुपो पर्छ, यस्तो कथा पनि बाँचिदिएको भए अझ सुन्दर हुन्थ्यो । त्यस्तै कथाका हरेक भोगाइ र नियति उस्तै बेमेल र त्रासदीयुक्त छन्, जो कोहीले बाँच्नै नसक्ने, सोच्नै नसक्ने ।
मेरा निम्ति उपन्यास दस्तावेज वा निबन्धजस्तो मात्र नभएर प्रेमको रसिलो स्वाद पनि हो । स्नेह, रोमान्स, भावनाहरू र स्पर्शहरू जोडिएर बनेको प्रेमको सुन्दर कथा पनि हो । बैकिनीमा त्यो अनुभव गर्न भने म असमर्थ रहेँ ।
उपन्यासकार सिर्जु शाहको यो कृतिले कर्णालीलाई देश-विदेशमा पुर्याओस् । पढिदिनलाई पो यो भएन, त्यो भएन भनेर प्रतिक्रिया दिन सजिलो छ । यसलाई जन्माउने एउटै प्रसवपीडाले समेत पुग्दैन । जसरी आमालाई आफ्ना सन्तानहरू प्रिय र उत्कृष्ट लाग्छन्, लेखकलाई आफ्ना रचनाहरू उत्तिकै अब्बल लाग्छन् । आगामी दिनमा अझै परिष्कृत सिर्जनाका निम्ति लेखकलाई हार्दिक शुभकामना ।


