साहित्यपोस्ट डट कम

समीक्षा: ‘जीवनका कथाहरू’मा समयको ऐना र मातृत्वको महागाथा

समीक्षा: ‘जीवनका कथाहरू’मा समयको ऐना र मातृत्वको महागाथा

हामी मोबाइलको स्क्रिनमा संसार खोज्छौँ, तर वास्तविक इतिहास त हाम्रा हजुरआमाहरूका चाउरिएका गाला र उहाँहरूका अनुभवका भण्डारमा सुरक्षित हुन्छ ।

===

समय एउटा यस्तो नदी हो, जो निरन्तर बगिरहन्छ तर आफ्ना किनारहरूमा अनगिन्ती अनुभवका डोबहरू छोडेर जान्छ । हामी मानिसहरू त्यही समयको नदीका यात्री हौँ । कसैको यात्रा शान्त हुन्छ त कसैको आँधीबेहरीले भरिएको । आमा राममाया बिमलीका यी ‘जीवनका कथाहरू’ पल्टाउँदै जाँदा मलाई बोध भयो— यो केवल एउटा ९४ वर्षीया वृद्धाको स्मृति होइन, यो त एउटा सिङ्गो युगको जीवन्त संकथन हो ।

मैले सधैँ भन्ने गरेको छु— जीवन आफैँमा एउटा ठूलो ‘लीला’ हो । यहाँ पात्रहरू फेरिइरहन्छन्, परिवेश बदलिइरहन्छ, तर मानवीय संवेदना र संघर्षको आधारभूत रङ्ग भने उस्तै रहन्छ । यस आत्मकथामा लेखकले आफ्ना स्मृतिहरूलाई जसरी प्रस्तुत गर्नुभएको छ, त्यसले एउटा कुरा प्रष्ट पार्छ— हामीले भोगिरहेको वर्तमानको जग हिजोका आमाहरूको आँशु र पसिनाले बनेको हो । उहाँको स्मृतिको ढोका खोल्दा एउटा यस्तो संसार प्रकट हुन्छ, जहाँ अभाव थियो तर आत्मीयता थियो । जहाँ ढिकी-जाँतोको आवाज थियो र ‘भगवान भरोसा’ मा टिकेको एउटा बलियो विश्वास थियो ।

पुस्तकको पहिलो खण्डमा वर्णित संघर्षका कथाहरूले जोकोहीलाई स्तब्ध बनाउँछ । बाल्यकालमै आमाबुबाको छत्रछाया गुमाएर ‘टुहुरी’ हुनुको पीडा भोग्दै गर्दा, उहाँले जुन साहसका साथ पाइला सार्नुभयो, त्यो आजका पुस्ताका लागि कल्पनाबाहिरको कुरा हुन सक्छ । तत्कालीन समाजमा एउटी नारीको अस्तित्व कति कमजोर थियो र उनले आफ्नो खुट्टामा उभिन कति ठूलो पहाड फोर्नुपर्थ्यो भन्ने कुरा यस कृतिले छर्लङ्ग पारेको छ ।

विशेष गरी, आफ्नै दिदीको सन्तान रहरको इच्छा पुर्याइदिन तेह्र वर्षको उमेरमा आफूभन्दा २८ वर्ष जेष्ठ भिनाजुसँग विवाह गरी उनैको सौता बनेर एउटै घरमा भित्रिनुपर्ने पारिवारिक बाध्यता, कलिलै उमेरमा जन्माएको सन्तान र पतिको मृत्युपछि त्यही घरबाट बेघर भइ माइत फर्किनु पर्दाको पीडा, फेरि इच्छा नहुँदानहँदै २८ वर्षै जेठो पुरुषसँगै दोस्रो बिहे गरी आफूभन्दा जेठा सन्तानहरूकी आमा बन्न पुग्दाको अवस्था र २६ वर्षकै उमेरदेखि घरव्यावहारको सबै जिम्मेवारी आफ्नो काँधमा लिएर ‘महतारी’ को भूमिका निभाउनु— यी घटनाक्रमले नेपाली नारीको अदम्य धैर्य र त्यागलाई उजागर गर्छन् । यहाँ कुनै कृत्रिम आदर्श छैन, बरु जीवनको नग्न यथार्थ छ । राममाया आमाले छोरा रामकुमार बिमलीको माध्यमबाट आफ्नो जीवनलाई एउटा खुला किताबजस्तै पाठकका सामु राखिदिनुभएको छ, जहाँ लुकाउनुपर्ने कुनै पर्दा छैन ।

इतिहास केवल राजाहरूको नामावली वा युद्धको तिथिमिति मात्र होइन । वास्तविक इतिहास त हाम्रा आमाहरूका ती चाउरिएका अनुहारका धर्साहरूमा लेखिएको हुन्छ, जुन कहिल्यै कुनै औपचारिक दस्तावेजमा अटाएनन् । राममाया बिमलीको यो आत्मकथा त्यही नलेखिएको इतिहासको एउटा सग्लो र जीवन्त प्रमाण हो ।

यो पुस्तक पढ्दै जाँदा हामी एउटा यस्तो युगमा पुग्छौँ, जहाँ महिला हुनुको अर्थ केवल ‘सहिनु’ र ‘खपिनु’ मात्र थियो । तत्कालीन पहाडी समाजमा महिलाको जीवन एउटा असाध्यै साँघुरो घेराभित्र कैद थियो । आमाको भोगाइमा देखिएका ती दुःखका शृङ्खलाहरू—चाहे त्यो सानै उमेरमा पितृशोक भोग्नु होस् वा अभाव र गरिबीको डरलाग्दो खाडलमा उभिनु होस्—ती सबैले त्यो युगको एउटा कठोर सत्यलाई उजागर गर्छन् । समाज यति कठोर थियो कि महिलाको सामर्थ्यलाई केवल घरधन्दा र सन्तान उत्पादनमा सीमित गरिन्थ्यो । आमाले आफ्नो जीवनमा भोगेका असमयका मृत्युहरू र त्यसपछिको एक्लोपनले तत्कालीन समाजमा महिला कति असुरक्षित र सहाराविहीन थिए भन्ने कुरालाई ऐनाझैँ छर्लङ्ग पार्छ ।

त्यो समय यस्तो थियो, जहाँ महिलाका लागि ‘निर्णय’ भन्ने शब्द नै पराई थियो । घरको मुली पुरुषको इसारामा चल्नु नै उनीहरूको नियति थियो । आमाका कतिपय प्रसङ्गहरूमा हामी पाउँछौँ, आफ्नो जीवनको दिशा तय गर्ने बेलामा पनि उहाँ मौन बस्न वा अरूकै निर्णयलाई ‘भाग्य’ मानेर स्वीकार गर्न बाध्य हुनुहुन्थ्यो । “दोष मेरो भाग्यकै थियो” भन्नुपर्ने त्यो विवशता वास्तवमा व्यक्तिको कमजोरी नभएर समयको संरचनागत दमन थियो । निर्णय गर्न नसक्ने वा निर्णय गर्ने अवसर नै नपाउने त्यो अवस्थाले देखाउँछ—महिलाहरू आफ्नो जीवनका चालक होइन, केवल यात्री मात्र थिए, जसलाई अरूले नै डोहोर्याइरहेका हुन्थे ।

यो पुस्तकको एउटा सुन्दर पक्ष भनेको ७३ वर्षको उमेरमा अक्षर चिन्न शुरु गर्ने आमाको त्यो अदम्य इच्छाशक्ति हो । बाल्यकालमा पढ्न नपाएको त्यो छटपटीलाई दोहोरिन नदिन आफ्ना सन्तानहरूको उच्च शिक्षा पूरा गराइन् । आफू बुढेसकालमा आएर ‘क ख ग’ सिक्दै भजन र किताब पढ्न सक्ने हुनु एउटा ठूलो क्रान्ति हो । यसले के सिद्ध गर्छ भने, आफूभित्र ज्ञानको ज्योति बालिसकेपछि त्यसले अन्धकारलाई चिरेरै छाड्छ । आजका शिक्षित पुस्ताका लागि ९४ वर्षको यो अनुभवको पोको एउटा विश्वविद्यालय जस्तै छ ।

पुस्तकको दोस्रो खण्डमा प्रवेश गर्दा पाठकले नेपाली समाजको एउटा कुरूप र त्रासदीपूर्ण राजनीतिक कालखण्डको सामना गर्नुपर्छ । आफ्नै गाउँका चिनजानका मानिसहरूबाट राजनीतिक हकअधिकारका नाममा भएको हिंसा, लुटपाट र हत्याको क्रममा आफ्नै देवर विष्णुप्रसाद बिमलीको विभत्स हत्याका सन्दर्भहरूले मन अमिलो बनाउँछन् । (यो हत्याकाण्डलाई नेपालको इतिहासमा २०२८ सालको झापाकाण्ड भनेर चिनिन्छ ।) एउटा शान्त गाउँ कसरी एकाएक ‘मसानघाट’ जस्तो बन्छ र मानिसहरू कसरी ‘विस्थापित’ हुन बाध्य हुन्छन् भन्ने कुराले तत्कालीन समयको असुरक्षालाई प्रष्ट पार्छ ।

यो पुस्तकका सम्पादक (लेखक) रामकुमार बिमलीले भूमिकामा उल्लेख गर्नुभएझैँ, आजको प्रविधिले हामीलाई संसारसँग त जोड्यो तर आफ्नै घरभित्रका ‘अनुभवका प्रौढ स्रोत’ (बा-आमा) बाट भने टाढा बनाउँदै लग्यो । हामी मोबाइलको स्क्रिनमा संसार खोज्छौँ, तर वास्तविक इतिहास त हाम्रा हजुरआमाहरूका चाउरिएका गाला र उहाँहरूका अनुभवका भण्डारमा सुरक्षित हुन्छ । कोरोना कालको ‘बन्दाबन्दी’ ले गर्दा नै यो कृति जन्मिन पाउनु एक प्रकारको अवसर नै हो, जसले एउटा महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज हराउनबाट जोगियो । उहाँको ९४ वर्षको उमेरसम्ममा पनि स्मृति यति चनाखो हुनुबाट हामीलाई सय वर्षभन्दा परको समाज, दबेर रहेको सामाजिक इतिहास र वर्तमानसम्मको उहाँको जीवन्त अनुभव सम्पत्तिको रूपमा प्राप्त भएको छ ।

यो पुस्तक एउटी आमाको मात्र कथा होइन, यो त “जिजू हजुरआमादेखि सधैँभरिका आमाहरू” को पनि साझा कथा हो । जसले अभावमा पनि हाँस्न सिकाए, जसले आँशु पिएर हाम्रा लागि सुखको संसार निर्माण गरे र जसले समाजको हरेक ठक्करलाई आशीर्वाद सम्झेर स्वीकारे । यो पुस्तक पढिरहँदा पाठकले आफ्नै आमाको अनुहार त्यहाँ भेट्टाउनेछन् ।

कृतिका सम्पादक रामकुमार बिमलीजीले आफ्नी आमाको कण्ठबाट निस्किएका यी अनुभवहरूलाई लिपिबद्ध गरेर एउटा महान् कार्य गर्नुभएको छ । यो पुस्तकले वर्तमान पुस्तालाई आफ्ना पुर्खाको जग बुझ्न र महिलाले भोगेका ती कष्टपूर्ण दिनहरूको सम्मान गर्न मात्र सिकाउँदैन, रोग र उमेरले जीवनको अन्त्यतिर जाँदै गरेका आफ्ना अग्रजहरूका कथा लिपिबद्ध गर्न पनि प्रेरित गर्दछ ।

साझा गर्नुहोस्:
कृष्ण धरावासी

लेखकको बारेमा

कृष्ण धरावासी

उपन्यास 'राधा'का लागि मदन पुरस्कार विजेता साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.