साहित्यपोस्ट डट कम

समीक्षा: ‘डोरम्याट’ टेकेर अघि बढेका कवि छविरमण

समीक्षा: ‘डोरम्याट’ टेकेर अघि बढेका कवि छविरमण

सबै प्राणी र मानिसलाई आफ्नै साथी ठानेर मिलिजुली बाँच्नुपर्छ र अरुको पनि बाँच्ने अधिकारको रक्षा एवम् सम्मान गर्नुपर्छ भन्ने मानवतावादी विचार प्रकट भएको पाइन्छ ।

===

कविता लेख्ने रहर गर्नु एउटा कुरा, निरन्तर सिर्जना कर्ममा डुबिरहनु फरक र स्तुत्य कुरा । २०५९ सालमै अरू दुई साथी सर्जकसँग मिलेर ‘सहृदयी स्वरहरू’ प्रकाशन गरेका कवि छविरमण सिलवालले २०६७ सालमा ‘मनको शिविरबाट’ अर्को कवितासङ्ग्रह ल्याएका थिए । ‘सात कवि : एक साथ’ अभियानमा कविहरू आर.एम. डङ्गोल, गोविन्द नेपाल, टङ्क उप्रेती, ठाकुर बेलवासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीसँगको सहकार्यमा नेपाली कविता साहित्यमा निरन्तर योगदान दिइरहेका प्रखर कवि छविरमण सिलवालको २०८० सालमा ‘डोरम्याट’ कवितासङ्ग्रह भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।

सङ्ग्रहको शीर्षकविता शुरुमै छ जसमा एक आम मानिसले महाराज समक्ष यसरी प्रश्न गर्छ :

महाराज !

कतिन्जेल चल्नेछ

हाम्रो छातीमाथि हजुरको राज ?

उपयुक्त विम्ब र प्रतीक खेलाउन खप्पिस कवि छविले आम मानिसको छातीलाई ‘डोरम्याट’का रूपमा प्रस्तुत गर्दै जसरी डोरम्याटमा जुत्ता पुछेर मानिस घर, कोठाभित्र पस्छ त्यसैगरि कथित नेता हाम्रो छातीमा टेकेर, फोहोरी तलुवा घसारेर सत्तामा पुग्छ । ‘सिंहदरबार भद्दा मजाक गरिरहेछ’ शीर्षकको कवितामा भागबन्डामा मारामार गर्दै सहमतिको रडाको मच्चाउने प्रवृत्तिप्रति आक्रोश र व्यङ्ग्य छ । स्मृतिमा बा आउँछन्, कवि बाको तस्बिर हेर्दै टोलाउँछन् । धानका बोरासँग सन्तानको भविष्य साटेर बा मीठोमसिनो आँटोपिठो खुवाएर उनीहरूको भविष्य सेतो चामलजस्तै उज्यालो बनाउन जिन्दगीभर लागिपर्छन् । बाको तस्बिरले मलाई हेरिरहेको छ भनेर कवि नोस्टाल्जिक भएका छन् । आमालाई सम्झिरहेका कवि छोरालाई पनि सम्झिन्छन् । बाबु बनेकोमा गर्व गर्छन् । ठूलो भइसकेको छोरालाई पनि सानै देख्छन् ।

‘समय त्रासदी’ शीर्षकको कविता चार खण्डमा विभाजित छ । कवितामा देशको यथार्थ चित्रण छ, चिन्ता छ । प्राकृतिक विपत्ति छ, भोक छ, प्यास छ, पीडा छ, क्रन्दन छ । ‘बुङ्गाको देश’ मा देशको गौरव, भाषा, संस्कृति दुब्लाउँदै गएको र पूरै देश बुङ्गाहरूले कब्जा गर्न लागेकोमा कवि चिन्तित बनेका छन् । त्यसैले त उनी ‘एउटा युगपुरुषको खोजी’ मा छन्; ‘स्वाभिमानी मान्छेको खोजी’ मा छन् ।

रुख काटेर

धन जोड्नेहरूलाई

………..

अन्तिममा रुखले नै खरानी बनाउने शाश्वत सत्यलाई कवि छविरमणले सुलतित तरिकाले प्रस्तुत गरेका छन् । ‘रुख र फूल नहाँसे हुन्न र !’ शीर्षकमा पर्याचेत सहितका मीठा र चोटिला कविता सिर्जना गरेका छन् । ‘यो पृथ्वी कस

को हो महाशय ?’ भन्दै औँला ठड्याएका छन् । कवि छवि मानवीय संवेदनालाई केन्द्रमा राखेर कविता सिर्जना गर्ने मानवतावादी कवि हुन् । उनी कविताको राजमार्ग बनाउन तल्लीन छन् ।

सिरिया युद्धमा मारिएका बच्चाहरूप्रति समर्पित कविता ‘यो पृथ्वी कसको हो महाशय ?’ मा कविले हत्या, हिंसा र क्रयरताबाट मुक्तिको चाहना राख्दै यो धराबाट हराउँदै गएको मानवता, प्रेम र सद्भावको खाँचोको वकालत गरेका छन् । सबैको साझा पृथ्वीमा सबै जीव तथा प्राणीको साझा अधिकार हुनुपर्नेमा शक्ति र हिंसाका पुजारीहरूले आमाबाको काख र कोख रित्याएर रगतको होलीमा रमाउने शासकलाई कडा प्रश्न उठाएका छन् । यस कवितामा मानिसले धरतीका सबै प्राणी र मानिसलाई आफ्नै साथी ठानेर मिलिजुली बाँच्नुपर्छ र अरुको पनि बाँच्ने अधिकारको रक्षा एवम् सम्मान गर्नुपर्छ भन्ने मानवतावादी विचार प्रकट भएको पाइन्छ ।

‘टक्क रोकिएको समय’ मा प्रकृति र मानवबीचको पौंठेजोरी यसरी उत्खनन् गरिएको छ ।

मान्छे भने

सधैं स्वार्थसिद्धिका लागि

प्रकृतिसँग जोरी खेलिरहेका हुन्छन्

संसारको कुनै मेसिनले मापन गर्न नसक्ने

अहम् र लालच बोकेर

हिँडेको छ मान्छे

कवितामा गाउँले लोकभाकाको सुमधुर सम्झना गरेका छन् जहाँ कविले चराको आवाज, सङ्गीत, आमाको मधुर स्वर, पानीघट्टको मानीसँगै घुमेको समय, पसिनाको गन्धमार्फत सब ‘धुँवाको सिँढी’ मा उडेर गएका छन् । कविले भ्रमको खेती गर्नेहरूबाट ‘सावधान’ गराएका छन् । मानवीय सार्वभौम जीवन, अमिल्दो र विभेदपूर्ण समाजको चित्र तथा राजनीतिक चरित्र प्रस्तुत गरेका छन् ।

र अन्त्यमा उनी ‘अदृश्य ईश्वरको नाममा’ काव्यिक यात्रा गर्छन् । ईश्वरले बनाएका मान्छे ईश्वर भेटिएको भ्रममा मन्दिर, मस्जिद, चर्च र गुम्बा बनाउँछ । आफ्नो ईश्वर ठूलो भएको भ्रम छर्छ र ईश्वरकै नाममा अस्तित्वको युद्ध शुरु गर्छ । ईश्वरले रचेको यो संसारमा युगौँदेखि चलेरहेको धर्मयुद्धलाई टुलुटुलु हेरिरहेको ईश्वरलाई कवि यसरी प्रश्न गर्छन् :

युगौँदेखि चलिरहेको यो धर्मयुद्ध

तिमीले देखिरहेका छौ कि छेनौ ?

तिमीले गरेका युद्धका कथामा

हामीले उत्सव मनाइरहेका छौँ

यस कवितामा एकान्तप्रेमी र अदृश्य ईश्वरलाई भेट्न अनेक आशा बोकेर दौडिरहने मानिसहरू ईश्वर भेटिएको भ्रममा जिइरहेको कटु यथार्थलाई कलात्मक शैलीमा अभिव्यक्त गरिएको छ । कविताको शिल्प सौन्दर्यमा सचेत कवि छविरमण ईश्वरलाई भेट्ने प्रण गरेर काव्यिक यात्रामा निस्किएको उद्घोष गर्छन् र सुनसान स्थलमा तपस्या भङ्ग नहुनेगरि कविता कोरेर लेखकीय धर्म निर्वाह गर्ने विचार व्यक्त गर्दछन् ।

कवितामा सुन्दर र कलात्मक कथनपद्धतिको प्रयोग गरी जीवनजगत र मानवीय भावनाको सौन्दर्यपूर्ण अभिव्यक्ति गर्ने कवि छविरमण सिलवालको कवितासङ्ग्रह ‘डोरम्याट’ नेपाली काव्य साहित्यको एक सङ्ग्रहणीय कृति हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.