साहित्यपोस्ट डट कम

समीक्षा: ‘डाँफेको रङ’मा रमाउँदै

समीक्षा: ‘डाँफेको रङ’मा रमाउँदै

अल्लारे उमेर, उमेर बढेसँगै जिम्मेवारी, अनि फटाइँ र नराम्रो कामको पछुतो; यही त रहेछ जिन्दगी ।

===

बहुमूल्य प्रतिभाका धनी डा.नवराज लम्सालको बोली सुनूँ सुनूँ लाग्छ । व्यक्तिगत रूपमा चिनजान नभए पनि हेम्जामा कवि मुकुन्दशरण उपाध्यायज्यूको रथारोहण कार्यक्रम हुँदाको दिन अनौपचारिक रूपमा चिया पसलमा समूहमा नै भए पनि सँगै चिया पिउने अवसर मिलेको थियो । उहाँलाई मैले चिनेको सञ्चार माध्यमको बोलीबाट मात्र हो । नेपाली सञ्चार जगतका अग्रणी व्यक्ति हुनुहुन्छ उहाँ । रेडियो नेपाल र बी.बी.सी. नेपाली सेवाले आम नेपाली भाषीलाई उहाँसँग जोडिन सघायो । उहाँको जीवनको यो पाटोभन्दा बढी महत्त्वपूर्ण पाटो अर्को छ, त्यो हो साहित्यिक पाटो ।

ऐतिहासिक विषयवस्तु समेटेर लेखिएको ‘अग्नि’ महाकाव्यबाट २०७८ मा मदन पुरस्कार प्राप्त गर्न सफल डा. नवराज लम्सालका कर्ण, धरा, अग्नि, कल्प जस्ता महाकाव्य तथा अन्य कविता संग्रह र गीत संग्रह प्रकाशित छ्न् ।

नेपाली साहित्यका प्रतिनिधि कवि तथा गीतकारका रूपमा आफ्नो अधिपत्य जनाउनुहुने डाक्टर साहेब आख्यान विधाको उपन्यास “डाँफेको रङ” लिएर आउनुभएको छ, त्यो पनि किशोरलाई सम्झेर ।

यस किशोर उपन्यासमा पर्यावरणीय सन्तुलन, जीवनका भोगाइ र पुस्ताबिचको सम्बन्धलाई बिम्बात्मक रूपमा सिकाउन खोजिएको छ ।

बाल साहित्यमा थुप्रै सामाग्री भए पनि किशोर साहित्यमा पाठ्य सामाग्रीहरूको अभाव रहेको सन्दर्भमा यो उपन्यास आएको छ । डाँफे चरालाई प्रतीक मानेर आत्मपरक शैलीमा लेखिएको यो उपन्यास अत्यन्त रोचक छ । मैले जस्तै छोरा छोरीको किताब दराजबाट अन्य अभिभावकले पनि सुटुक्क लगेर पढ्दै जाँदा हाम्रो आफ्नै कुरा बुझाउन खोजे जस्तो हुन्छ पुस्तकले ।

सान्दर्भिक उपकथाहरूको प्रसङ्ग, पुराना मिथकहरूको प्रयोग, अभिव्यक्तिमा सरलता तथा छोटा वाक्यहरूले उपन्यास पढ्न बस्दा बाँधेर नै राख्दछ ।

पुस्तकको आवरणको डाँफेले नै शुरुमा मन लोभ्याउँछ । भित्र पस्दै गएपछि यसले आफ्नो नौ रङ देखाउँदै जान्छ । अन्धाअन्धी र श्रवणकुमारको उपकथा, रावण र लक्ष्मणको संवाद, कर्णको जन्म र भाग्य जस्ता प्रसङ्ग जोडेर किशोरहरूलाई शिक्षा दिइएको यस उपन्यासमा काफल चरीको प्रचलित मिथक समेत जोडिएको छ ।

मन्दिरमा पुजारी छनौटको प्रसङ्ग निकालेर समसामयिक रूपमा संस्थाहरूको नेतृत्वमा हुने नियुक्ति प्रक्रिया तथा कार्यशैलीमा तीखो व्यङ्ग्य गरिएको छ ।

यस उपन्यासमा सबैको जीवन सधैं एउटै गतिमा चल्दैन । जीवनमा उतारचढाव आइरन्छ्न् । प्रत्येक घटनाको सामना गर्दै अगाडि बढ्नु पर्छ भन्ने देखाइएको छ । उमेरअनुसार विचार, चिन्तन, सोचाइ, शक्ति र सामर्थ्य पनि परिवर्तन हुने यथार्थलाई सरल ढङ्गले देखाउन खोजिएको छ । हुन त यो उपन्यास पनि अल्लारे जीवन, प्रेम र इन्द्रेणी सपना, बिछोड, वास्तविक धरातल र पुनर्मिलनजस्ता आम उपन्यास वरिपरि घुमेको छ तर अत्यन्त रोचक शैलीमा ।

वयोवृद्ध भएपछि आफूले भोगेको जीवनको संस्मरणका रूपमा आएको छ यो उपन्यास । उपन्यासको मूल पात्र जब्बर डाँफेले आफ्ना भोगाई भोर्लाको पातमा लेखेर सन्ततिलाई बुझाउन चाहन्छ ।

“डाँफे हुनु नौरङ्गी हुनु हो । नौ रङ जोगिएन भने डाँफे कसरी जोगिन्छ ? डाँफे जोगिएन भने नौ रङ कसरी जोगिन्छ ? …” साँच्चिकै सांस्कृतिक विविधता र पर्यावरणीय सन्तुलन मिलाएर अगाडि बढ्नु नै हाम्रो आवश्यकता हो । बुबा आमाको सेवा गर्ने श्रवणकुमारको हत्या भएपछि अन्धाअन्धीको हालत के भयो । उनीहरू कता गए, के खाए, कसले पाल्यो ? भन्ने प्रश्नहरू पुनः सलबलाए मेरो मनमा समेत । नेपालमा विभिन्न आन्दोलन र लडाइँमा मृत्युवरण गरेका शहीदका अभिभावकलाई पनि त्यस्तै भयो होला नि ।

लेखकले मनिसको जीवनको वास्तविकता यसरी देखाउनु भएको छ ।

“बुढो हुनु समयको कुरा हो । सबैले एक दिन बुढो हुनैपर्छ तर बुढो भएपछि रूप पनि बुढो हुँदो रहेछ । योचाहिँ गज्जब लाग्यो । यसरी सोचेकै थिइनँ । अरु फेरिएको त कति देखेँ तर आफैँ फेरिएको चाहिँ पहिलोपटक देख्दैछु ।”

जीवन भोगाइपछि मात्र थाहा पाइने यस्ता यथार्थ थाहा पाउँदासम्म धेरै ढिलो भइसक्छ । जीवन भोगाइको बारेमा अग्रजहरूको शिक्षा कति महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा जोड दिन खोजिएको छ उपन्यासमा ।

वनको संरक्षण, नदीहरूको पानीमा भएको प्रदुषण, फुल्न छोडेका फूलहरू, मानिसहरूको बसाइँसराइको प्रभाव, परम्परागत पेशामा हुँदै गएको कमीले भएको वातावरण असन्तुलन बारेमा समेत ‘डाँफे’मार्फत चिन्ता गरिएको छ । मान्छे, जनावर अनि चराहरूको सन्तुलित उपस्थितिले नै संसार बन्ने कुरा देखाइएको छ ।

अल्लारे उमेर, उमेर बढेसँगै जिम्मेवारी अनि फटाइँ र नराम्रो कामको पछुतो; यही त रहेछ जिन्दगी ।

लगनशीलता त्यागेर अन्य कुरामा मन डुलाउँदै सीताहरणको पछि लाग्दा स्वर्ग जाने भर्याङ् र गुलियो उखुमा मीठो फल फलाउने रावणको परियोजना अधुरै भएको प्रसङ्ग जोड्दै किशोरहरूलाई लगनशील हुन जोड दिइन्छ उपन्यासमा । भाइहरूबिचको एकताले नै समस्या समाधान गर्न सकिन्छ भन्ने सन्देश पनि दिन्छ ।

बर्सेनी विदेशिने नेपाली घरमालिकहरूका परिवारको पीडा बोकेको छ काफल चरिको मिथकले । बुबाको आउने बाटो कुर्दा कुर्दै आफैँ विदेशिन बाध्य छ्न् युवाहरू सम्भावनाको खोजीमा ।

मानिसको जीवन भोगाई पनि अचम्मको हुन्छ । सम्बन्धको माखे साङ्लोमा जकडिएपछि कति कुरा छोड्नुपर्छ कति समात्नुपर्छ । कहिलेकाहीं त आफ्नो मुटु झिकेर पातमा पनि राख्नुपर्छ जिन्दगीको सम्झौतामा । यहाँ जब्बर डाँफेलाई कान्छी मुनालसँग छुट्टिनुपर्दा यस्तै भएको छ । रामकृष्ण ढकालको गीतको प्रसङ्ग:

“तिमी जून हौ आकाशैमा बस

जग्मगाउने तारा छोडी भुइँमा नझर

तिमीलाई सुहाउन्न मेरो संसार …”

निकालेर मन बुझाउँछ ऊ पनि ।

विवाह, घरजम, जायजन्म हुँदै अगाडी बढ्दै गर्दा समेत केही न केही सन्देश दिइरहेको छ उपन्यासले । चरा र मान्छे बिचको पौराणिक कालदेखिको सम्बन्ध, चराहरू हराउँदै गएको चिन्ता, जातीय विभेदमाथी प्रहार गरिएको छ । उपन्यासमा लेखिन्छ ।

“ हामी चराहरूमा दाइजो प्रथा छैन । जातपातको कुरा छैन । छुवाछुत छैन । हामी मान्छे जस्ता खराब छैनौँ ।”

थोरै डाँफेको बारेमा पनि जानकारी प्राप्त हुन्छ यस पुस्तकबाट । ओभानो माटोमा अण्डा लुकाउने डाँफेहरूलाई घाँसे मैदान र भिरालो चट्टान पनि चहिँदो रहेछ र जङ्गल पनि मनपराउँदा रहेछन् । हिउँ मन परे पनि ज्यादा हिउँ परेको समयमा तल पहाडी जङ्गलतर्फ आउन रुचाउने रहेछ्न् । विशेषगरि गुराँसको जङ्गल उनीहरूलाई मनपर्दो रहेछ । सिमसिम पानी परेको बेला अझ बढी रमाउँदा रहेछ्न् ।

अनुशासनमा गुमाउँदा अनेकौं अबैध सन्तान जन्मन्छन् । तर कर्ण पाल्ने अधिरथ भेटिँदैनन् सधैंभरी । संयमित हुनुपर्छ समयमा नै भन्न समेत खोजिएको छ । सरल गतिमा चलेको जीवनमा पनि विभिन्न दुर्घटना हुन्छ । श्रीमान् श्रीमती बिचको हाँसो ठट्टा, खेल मजाकमा अकस्मात् भएको बाह्य आक्रमण, निस्ठुरताले जिन्दगीमा भएको फेरबदल, प्रकृति प्रकोपले मान्छेलाई मात्र हैन जनावरलाई समेत पारेको बिचल्ली, बिछोड पीडालाई समेत सजिव ढंगले प्रस्तुत गरिएको छ । राजाको भोजको प्रसङ्ग ल्याएर खानेकुरा खानुअघि धेरै विचार पुर्याउनुपर्ने देखाइएको छ ।

नेपाल कृषिप्रदान मुलुक भएको, धान काट्ने मौसममा फाँटमा हुने रमाइलो, परिश्रमी किसानको मनमा आउने उमंग, श्रमको सुन्दरता, प्राकृतिक सौन्दर्य र रमाएका चराचुरुङ्गीहरूको चित्र देखाएर पाठकलाई समेत फाँटमा नै पुर्याउनुहुन्छ डा.नवराजले । यसमा जीवन दर्शनका महत्त्वपूर्ण सन्देश पनि भेटिन्छ्न् । एक प्रसङ्गमा लेखकले लेख्नुहुन्छ ।

“…मुख हाँस्नु एउटा कुरा रहेछ, आँखा हाँस्नु अर्कै कुरो तर साँचो कुरा दिल हाँस्नु पो रहेछ । दिल नहाँसे संसार आफ्नो हुँदो रहेनछ । परिवार सबैभम्दा माथि रहेछ ।”

उपन्यासमा केही कुरा खट्किएका पनि छन् । चराको माध्यमबाट छुवाछुतको विरोध गर्न खोजे पनि “ ….हामी डाँफेले डाँफे संग नै विवाह गर्नुपर्छ…” भन्दै जातीय प्रसङ्ग ल्याएर मुनाल र डाँफेको प्रेममा तगारो राखिएको छ । दधिची ऋषि तथा पीप्लादको प्रसङ्गमा अलि दुईचार पृष्ठ बढाउन क्न्जुसाई गरिएको छ ।

समग्रमा बिस्तारै सशक्त रूपमा सत्मार्ग र आत्म अनुशासनलाई बुझाउन खोजिएको अत्यन्त रोचक, पठनीय उपन्यास लेख्नुभएका नवराज लम्सालको साहित्यिक यात्रा अझ सफल हुँदे जावस् भन्ने कामना गर्दछु ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.