साहित्यपोस्ट डट कम

समीक्षा: दहाडभित्रको अव्यक्त पीडा

समीक्षा: दहाडभित्रको अव्यक्त पीडा

जब कथासङ्ग्रह ‘दहाड’ सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको थियो, त्यसै बेलादेखि यो पुस्तक पढ्ने हुटहुटी जागिरहेको थियो । भारतको सिलगडीमा दहाड पुस्तकको भारत लोकार्पण हुन लागेको रहेछ । ‘दहाड’का सर्जकले मलाई पनि निमन्त्रणा पठाएका थिए । तर सिलगडी पुग्न सकिनँ ।

तर लेखक स्वयम् सिक्किम आएपछि भने म निकै उत्साहित बनेँ । भेटमा आफ्ना केही थान पुस्तक मलाई दिए । सिक्किमकै कवि तथा पत्रकार अर्जुन यावाको साथमा बसेर हामीले साहित्यका तमाम विषयमा कुराकानी पनि गरेका थियौँ । लेखकले एक थान सिक्किम अकादेमीलाई, एकथान नेपाली साहित्य परिषद् सिक्किमलाई पनि किताब सिक्किमका लागि छुट्याइदिए ।

समयको व्यवस्थापन गरेर मैले ‘दहाड’ पढेँ । पढ्न थालेपछि यो पुस्तकले मेरो मन लुट्यो । मेरो विश्वास जित्यो । अझ म पञ्चायत भोगेकी, नेपालको भूगोल देखे-बुझेकी भएर पनि होला, हरेक कथा पढ्दा कथाका पात्रमा म आफैँ पस्दो रहेछु । गहिरिएर पढ्दै जानेक्रममा पटक पटक श्वासनै रोकिएर आएको महसुस भयो । जम्मा एक दर्जन कथाहरूको सङ्ग्रह र जम्मा दुई सय बाइस पृष्ठको यो पुस्तकभित्रका कथाहरू पढ्दा हिक्क, हिक्क नहुने कमै पाठक पाइएलान् भन्ने अनुभव भयो ।

विशेष गरेर कथित दलितको समुदाय पीडालाई यो किताबले उजागर गरेको छ । कथामा पात्रहरू जीवन्त बनेर आएका छन् । स्थानीय भाषाको प्रयोगले कथालाई रोचक मात्र बनाएको छैन, आञ्जलिकता छर्लङ्ग देखाएको छ । कथा सरसर्ती पढ्दा आफू सोही स्थानमा उभिएर ती दृश्य देखिरहेको भान हुन्छ ।

‘हृति’ पहिलो कथा हो । बिधुवाको जीवन भोगाइ, एक्ली आमाको पीडा, अपहेलित भएर बाँच्नुको पीडा । गरिबीले अठ्याएको पीडा र अन्त्यमा बाबुछोरी अनि आमा छोराको बिछोड । त्यो म पात्र अर्थात् छोरा पात्रको दुख यहाँ लेखेर व्यक्त गर्नै सकिन्न मात्र यसलाई अनुभव गर्न सकिन्छ ।

दोस्रो कथा हो ‘उछिट्टे’ । उछिट्टे शब्दको अर्थ कथा पढेर नै पाठकले बुझ्नेछन् । मैले यहाँ अर्थ्याउनु उचित ठानिनँ । पहाडी भूभागमा बस्ने र महिनौँ लगाएर नुन भुटुनको जोगो गर्नुपर्ने बाध्यता भएका व्यक्तिहरूको कथा हो यो । मूलतः यो हटारुहरूको कथा हो । शारीरिक कमजोरी, आर्थिक कमजोरी आदि भएका परिवारहरूको कथा हो यो । यसमा जातीय विभेदलाई पनि त्यस समयको सामाजिक व्यवहार स्पष्ट देखाइएको छ । अभाव हर चिजको हुन्छ । कहिले नुनको अभाव, कहिले आफन्तको अभाव । अभावै अभाव बीच कथा टुङ्गिन्छ ।

यो कथा पढिरहँदा मैले मेरा बालाई सम्झिएँ र भक्कानिएँ । मैले सम्झिएँ मेरा बा र बाका गाउँले साथीहरुले पनि यसै गरी हाट गरे होलान् । उति बेला दिक्तेलबाट धरान आएर नून भुटुन बोकेको कुरा कथाझैँ सुनाउनुहुन्थ्यो । रावा खोला किनारै किनार आएर तल सप्तकोसी काटेर साँघुरीगढी हुँदै धरान, चतारा आएको कुरा गर्नुहुन्थ्यो । कहिले फत्तेपुर, बेल्टार आएका कुरा सुनाउनुहुन्थ्यो । म यो ‘उछिट्टे’ पढुञ्जेल स्वर्गवासी बालाई सम्झेर मौन भएँ । एकछिन पढ्नै छोडेर सुस्ताएँ ।

‘सिँहुर’ तेस्रो कथा हो । यो तराईबासी कैली थरुनी र प्यारेलालको कथा हो । हुन त यिनीहरू प्रतिनिधि पात्र मात्र हुन् । तराईमा अहिले पनि यदाकदा यस्ता दारुण कथाहरू भेटिन्छन् । यस कथामा थारु भाषालाई पनि समेटिएको छ । हुन त जसको बारेमा कथा लेखिन्छ उसको भाषा, संस्कार, रीतिरिवाज समेटिएकै हुन्छ । कथाको अन्त्य वियोगान्त छ । भाषा प्रयोग, शब्द चयन, कला र भाव सबै मिलेर वाक्यहरू मिठासपूर्ण छन् ।

चौथो कथा हो ‘रैँया’ । यो एउटा रहस्यमयी कथा छ । अभावले होस् या तनावले, विभेदले होस् या संयोगले नेपालका मानिसहरू परदेशिने ठाउँ भनेको भारत नै थियो त्यसताका । परदेशी जीवन र साहु मुखियाको अधिकारबाट मुक्त हुन निकै गाह्रो समयमा परिवार छोडेर एक्लिनुको पीडा र सधैँलाई बिछोडिनुको रहस्यमय कथाले मन च्वास्स च्वास्स बनाउँछ । कथा अन्त्यसम्मनै मार्मिक छ । कथामा कताकता छ्वास्स जातीय विभेद पनि देखाइएको छ । त्यसताका देश दुनियाँ देखेका बुढापाकामा पनि छुवाछूत, जातीय विभेद अलिकति पनि कम भएको देखिन्न ।

‘किनार’ हो यस सङ्ग्रहको पाँचौँ कथा । यस कथामा राप्ती किनारका किनारेहरूको व्यथा छ । अझ घाटमा नाउ खियाएर बाली बुझ्नुपर्ने नियमको बालीघरे प्रथा । आफ्ना आर्तनाद पीडाहरू बीच पनि जितेन्द्रमानहरुलाई मुखको बोली खसिसक्दा हाजिर हुनुपर्ने, हुकुमको पालना गर्नुपर्ने वाध्यता बोकेका दुखरामहरूको दर्दनाक कथा समेटिएको छ यसमा । गरीबको मृत्युभन्दा धनीको कामको मूल्य राख्छ । काँधको गम्छाले जमिनदारको (मुखियाको) जुत्ता सफा गर्नुपर्ने बाध्यताको कथा हो यो ।

छैटौं कथा हो ‘दमाहा’ । जम्मा बाह्र पृष्ठको दमाहा कथा प्रकृति प्रकोपसँग जोडिएको अत्यन्तै दु:खद् कथा हो । यो कथा सेते दमाइ र रुक्सीको संघर्ष र विफलताको पराकाष्ठा हो । जात व्यवस्था र समाजको चित्रण पाइन्छ यसभित्र । सिनोको गन्धले हैजा लाग्दा पनि एकनजर पर्दैन त्यस गाउँमा मुखियाको । योभन्दा भावुक दृश्य के हुँदो हो र !

‘चौरासी’ सातौँ कथाको रूपमा सजिएको छ । एक वृद्ध दलित महिलाले चौरासी पूजा गर्ने तीव्र इच्छाका बाबजुद आफू दलित भएकै कारण पण्डित नपाइने व्यथा । उता छोरो घर नफर्किएकोमा चिन्ता । यो कथा पढ्दै गर्दा म पात्रमा नै सुटुक्क घुसिसकेछु । सिक्किमको दोछुम भन्ने बस्ती डल्लै एउटा कामी गाउँ हो । त्यस बस्तीको इन्द्र शंकरको घरमा हामी बस्थ्यौं । हाम्री माहिली छोरीको जन्म त्यसै घरमा भएको हो । हामीले न्वारान गर्न पुरोहित बोलायौँ । पहिले “हुन्छ म आउँछु” भनेका पुरोहित न्वारानका दिन आएनन् । नानीको न्वारान भएन । मैले आफैँ नाम राखेँ ‘नतिजा’ । र पछि बुझ्दा थाहा भयो, पुरोहित त हामी कामीको घरमा बसेकै कारण पो नआएका रहेछन् ।

हो, यी र यस्ता घटनाहरूको कारण जोकोही पाठक हरेक कथाभित्र सहजै पात्र बनेर पसिजान्छन् । कथाको बुनोट शिल्पकारले बनाएको उत्कृष्ट चित्र झैँ सुन्दर छ । एक पटक किताब पढ्न थालेपछि छोडौंझैँ पटक्कै लाग्दैन । घरीघरी त लाग्छ म कथा हैन उपन्यास पढ्दै छु । कथाका दृश्य परिदृश्यहरू पहाडी बाटोका घुम्तीझैँ चटचट काटिएका छन् । यस कथाका ‘जैशी काले’जस्ता छिमेकी र ‘भक्तिप्रसाद’ जस्ता पण्डित पुरोहित रहुन्जेल समाजमा दलितलाई समान दृष्टिकोणबाट हेर्न मुस्किल नै देखिन्छ ।

आठौँ कथा ‘परित्यक्त’ हाम्रो गाउँ ठाउँमा हुने मेला-महोत्सव र विकृतिको ज्वलन्त चित्रण हो । युवतीहरूको सुन्दरतामा आकर्षित युवाबाट महिलाले पाउने प्रतिघात झल्किन्छ यो कथामा । आफैँलाई उच्च जाती भन्नेहरूको मनोमानी छर्लङ्ग देखिन्छ । विवाह गर्न, नाता सम्बन्ध जोड्न नमिल्ने भन्ने भाष्य तयार गर्नेले यौवनको भरपुर प्रयोग गरेर कथित दलित छोरी चेलीको जिन्दगीसँग खेलबाड गरिरहेको अवस्थालाई उजागर गरेको पाइन्छ । कथाकी पात्र कमली त एक प्रतिनिधि पात्र मात्र हुन् । अहिलेको समाजमा पनि यस्तो विकृति छ । यसरी एउटा विषयलाई चिरिच्याट्ट पारेर शब्द, भाव, कलाको मिश्रणबाट कथाभित्रै बाँधिरहने क्षमता राख्छन् लेखकले ।

‘एक्का’ नवौँ कथामा राजनीति, सर्वसाधारण र दुःख । महाजन, आसामी र गरिबमाथिको अत्याचारको दुखान्त कथा हो । पञ्चायती व्यवस्थामा हुने दमन र अत्याचारको कथा हो । वि.स २०३७ सम्मको चुनावी माहोल र त्यसताका हुने कम्जोर अवस्थाका मानिसहरूलाई गरिने प्रयोग र आशाहरूको चित्रण हो एक्का । इन्दल र सावरीजस्ता व्यक्तिहरूको जीवन सङ्घर्षको कथा हो एक्का । आजको समयमा “राजा आऊ देश बचाऊ” को नारा लगाउनेहरूले एक पटक पढ्नुपर्ने कथा हो एक्का । महत्त्वाकाङ्क्षी विचारले हुने अन्त्यको कथा हो एक्का । प्रिय पाठकहरू ! बाँकी तपाईं आफैँ यो पुस्तक पढ्नुहोस् । जति आफूले पढेर थाहा हुन्छ, महसुस हुन्छ त्यति यहाँ लेखेर बताउन मुस्किल हुँदो रहेछ ।

दशौँ कथा हो ‘दहाड’ । यो पुस्तकको नाम यसै कथालाई आधार बनाएर राखिएको छ । यस कथा विशेष गरेर मधेसमा बसोबास गर्ने मुस्लिम समुदायलाई कथाको पात्र बनाएर तयार गरेको छ । जुनसुकै धर्म होस् या जाति । आखिर गरीब, असहायको नियती एकै हुन्छ भन्ने बुझें मैले यस कथाबाट । जुन ठाउँमाजस्तो भाषा प्रयोग हुन्छ त्यस्तै उतार्न सक्नु लेखकको निपूर्णता हो । लेखक आफैँले भोगेकोजस्तो गरी पोखिएका छन् हरेक कथामा । कथाको बुनोट अत्यन्त कलात्मक छ । बिचार र भावमा कम्जोर हुने कुरै भएन ।

एघारौँ कथा ‘ताना’ पढ्ने क्रममा म भक्कानिएँ । पढ्दापढ्दैको पुस्तक फ्यात्त भुइँमा राखेर एकफेर सुस्केरा हालेँ । गर्जे गायनमा म आफैँ पसेर पात्रमा बदलिएँ । गर्जे गन्धर्व भएकै कारण समाजमा फरक छ । अछुतको दर्जा, हेयभावको बातचित । भो नगरौँ यस्ता कुरा । हुन त यो पञ्चायती व्यवस्था समेटिएको कथा हो । तर अझैसम्म जात व्यवस्थामा खासै परिवर्तन आएको छैन नेपालमा । काठमाडौँले अझै पनि कथित तल्लो जातलाई कोठा भाडामासम्म दिदैँन । समयका स्वरहरू जस्ताको तस्तै समेटिएको छ ।

र दर्जन कथाहरूको अन्तिम कथा हो ‘आफ्रे’। कथाको पहिलो वाक्यांश – “खलातीको हातोबाट लोहारको हात छुट्यो” । यति एक वाक्यले नै स्पष्ट पार्छ कि यो कथा कस्तो हो भनेर । झुपे लोहारको कथा । झुपेहरूको कथा । कम्जोर र गरीबीको चापमा परेका प्रायः नामको पछाडि एकलखे लागेकै पाइने समाजका कथा । कुष्टरोगलाई कोर भनिने समयको कथा हो यो । कोर लाग्नु भनेको पापीलाई लाग्ने बिरामी भनिने समयको व्याख्यान हो । बिरामीको उपचारको सम्भावना नदेखेपछि लखेटेर कोर गुफामा मृत्यु पर्खिन छोडिदिने त्यो समयको चित्र छ यसमा । कोर लागेको झेपे आफ्रे र त्यस समयका झुपेहरुको मार्मिक कारुणिक कथा हो ‘आफ्रे’। वर्दीधारीहरूले झुपेको कीरा लागेर स्याँस्याउँ भएको मृत देह देख्छन् । त्यसपछि आफ्रे कथाको बिट यसरी मारिएको छ । “के किराहरु अनुभव गर्न सक्छन् ? तर मनुष्यले सक्छ, दोस्रोलाई सामाजिक रूपले नै कम्जोर बनाएर, त्यसैको सीप र सिर्जनामा टेकेर आलिसान हैसियत निर्माण गर्ने मनुष्यले किराकै जीवन त बाँच्न सक्छ ।”

लेखक आफू जन्मिनु अघिको समयका कथाहरू छन् यस कथासङ्ग्रहमा । जतिबेला पञ्चायली व्यवस्था थियो नेपालमा र कर्णाली जस्तो बिकट ठाउँदेखि आसपासका भूगोलमा समयका स्वर, समयका क्रन्दन, समयका दारुण दृश्यहरु कथाका माध्यमबाट कलात्मक तरिकाले उजागर गरिएको छ । तर आज पनि कतिपय कुराहरू परिवर्तन भएको छैन । त्यस समयका ती पात्रहरू आफैमा बुझ्ने जान्ने नै भएर पनि आफ्ना समस्याहरू नसुनिदिने क्रुर शासकका अघि निरीह देखिन्छन् ।

यस सङ्ग्रहलाई मैले विशेष गरी जातीय विभेदको दृष्टिले एकदम बलियो साहित्य संसाधनको रूपमा हेरेको छु । यसमा धेरै राम्रा पक्ष छन् । भाषागत त्रुटि नभेटिएका हैनन्, तर कतिपय कुरा प्राविधिक समस्या पनि हुन सक्छ । एक दृष्टिकोणबाट अर्थात् म यस कथाको पात्र भएर हेर्दा पात्रहरू पीडित छन् र तिनीहरूले न्याय पाउनै पर्छ । तर यही ठाउँमा एउटा पण्डितले यो पुस्तक अध्ययन गर्‍यो भने ‘जात अनुसारकु बुद्धि ! हेर हेर यिनीहरूको हिम्मत ! यी हिजो पनि हाम्रा हलि गोठाला, बालीघरे आज ठुला कुरा गर्छन् ।’ भन्दा हुन् । त्यसैले दृष्टिकोण बदलेर मानिस सबै एक हुन् भन्ने सोँचले हेरेमा अतिनै उत्कृष्ट सूचीमा राख्न सकिन्छ यस पुस्तकलाई ।

अन्त्यमा, भाषागत त्रुटिलाई ध्यान दिने, जति सकिन्छ नेपाली भएको हैसियतले भन्नुपर्दा किताबको शीर्षक पनि मूल नेपाली भाषाकै भइदिएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो, भन्ने मैले महसुस गरेको कुरा हो । पुस्तकको उचाइ चुलिएको हेर्न मन छ । यसको अङ्ग्रेजी अनुदित होस् । यस्ता नेपाली मानिसले भोगेका कुरा विश्व साहित्यसम्म पुगोस्, र मदन पुरस्कार मात्र हैन नोवेल पुरस्कारका लागिसमेत दावेदार बन्न सकोस् भन्ने कामनासहित थप प्रगतिको कामना गर्दछु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.