मानव जिन्दगी आफैँमा एउटा जीवन्त कथाहरूको संग्रह हो । प्रत्येक मानिसको जीवन–भोगाइ र त्यसको स्वरूप भिन्न हुन सक्छ, तर कथाको मूल मानवीय मर्म भने देश र परिवेशको सीमाभन्दा माथि उठेर सधैँ समान रहन्छ । परिवेश र भोगाइको यो विविधता मूलतः शीर्षकको भिन्नता मात्र हो, मानवीय संवेदनाको गहिराइ उही हो । यस्तै, देश–परदेश र विभिन्न भौगोलिक तथा मानसिक परिवेशभित्र छरिएर रहेका यथार्थपरक भोगाइहरूलाई कलात्मक रूपमा टपक्क टिपेर बुनिएको एउटा सुन्दर आख्यानात्मक शृङ्खला हो— कथाकार केदार सङ्केतको कथासंग्रह ‘अन्तिम साँझ’ । मिलाप प्रकाशन, काठमाडौँद्वारा प्रकाशित यस संग्रहभित्र संग्रहीत कथाहरू प्रेम, भावना, ईर्ष्या, लोभ, यौन र पहिचानको सङ्गम हो । कथा जहाँतहीँ छ र यसलाई प्रामाणिक रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने नवीन यथार्थवादी अवधारणालाई यो संग्रहले पुष्टि गर्छ । हुन त म आफैँ लेखकको पूर्व–कृति ‘अफगानी रणमैदान’ जस्तो दर्दनाक र विभीषिकापूर्ण युद्धभूमिमा प्रत्यक्ष नडुबेको त होइन, तर ‘अन्तिम साँझ’ भित्रका कथाहरूमा रुमलिँदा आफ्नै भूगोलको परिवेश र आफ्नाहरूको कारुणिक कथाले मन निकै भक्कानियो । कथाहरू पढ्दै जाँदा कतिपय मोडमा आफ्नै परिवारको सदस्य भेट्टाए जस्तो त कतिपय ठाउँमा आफ्नै बाल्यकाल, बितेका पुराना दिन र बालसखाहरूको बोलीचालीको लवज भेटे जस्तो आत्मीय अनुभूति हुन्छ । मैले बेलायतको माटो नटेकेको भए पनि, सुनेका र पढेका आधारमा यी कथाहरूले मलाई कहिले नेपालको विकट गाउँदेखि शहरसम्म त कहिले नेपालीहरूको बाक्लो बसोबास रहेको बेलायतको चर्चित डायस्पोरिक बस्ती ‘अल्डरशट’ सम्मको सघन यात्रा गराएका छन् ।
समीक्षात्मक दृष्टिले हेर्दा, यसभित्रका अधिकांश कथाहरू सम्पन्न परिवार र फौजी जीवनको पारिवारिक पृष्ठभूमि वरिपरि घुमेको देखिन्छ । यद्यपि, मानव जीवनमा आइपर्ने दुःख, पीडा, प्रेम र पारिवारिक विचलनको छटपटी संसारको जुनसुकै कुनामा पनि उस्तै सार्वभौमिक हुन्छ भन्ने यथार्थलाई यसले दार्शनिक रूपमा उजागर गरेको छ । ’ ले अभाव केवल धन–सम्पत्तिको मात्र हुँदैन, बरु भावनात्मक र संवेगात्मक अभाव अझ बढी पीडादायी र आत्मघाती हुन्छ भन्ने मनोवैज्ञानिक सत्यलाई स्थापित गरेको छ । नेपाल छाडेर विदेश जानेहरू सधैँ सुखी हुन्छन्, राम्रो लगाउँछन् र मीठो खान्छन् भन्ने आम नेपाली मानिसको सतही सामाजिक मनोविज्ञान र भ्रमलाई यसले जरैदेखि चिरेको छ । देश अनुसारको भेष भनेझैँ बेलायतको कानुनी प्रक्रिया र त्यहाँको जटिल सामाजिक संरचनाभित्र बाँच्नुपर्ने बाध्यता र अस्तित्ववादी सङ्घर्षहरूलाई कथाले कलात्मक रूपमा प्रस्तुत गरेको छ । जसरी नेपालका गाउँबाट शहर पस्नेहरूले पटक–पटक कोठा सर्दा सास्ती र पीडा भोग्नुपर्छ, ठीक त्यस्तै पीडा बेलायत पसेका नेपालीहरूको आवासीय सङ्घर्षमा पनि समानान्तर रूपमा देखिनु लेखकको सूक्ष्म निरीक्षणको उपज हो । मानिस जुनसुकै भौतिक सुख वा दुःखमा किन नहोस्, आफ्नो माटो र आफ्नोपनप्रतिको आदिम प्रेम कहिल्यै टुट्दैन भन्ने दह्रो राष्ट्रिय चेत यसमा छ । चाहे त्यो बोस्नियाली युद्धको जातीय हिंसाबाट प्रभावित भएर सिङ्गो गाउँ छोड्नुपर्दाको वैश्विक पीडा होस्, या नेपालको संस्कार, संस्कृति र बारीका पाटा अनि खोल्साहरूको बाल–स्मृति— कथासङ्ग्रहले वर्तमान परिवेश र वैश्विक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
कृतिमा पुस्तान्तरण र सांस्कृतिक सङ्कटको पक्ष निकै विश्लेषणात्मक ढङ्गले आएको छ । आफ्ना सन्ततिले बाजे–बराजुको थातथलोप्रति चासो नराख्नु र आफ्नो संस्कार–संस्कृतिप्रति बेवास्ता गर्नुले रैथाने पहिचान नै धरापमा पर्ने चिन्ता पुरानो पुस्तामा प्रगाढ देखिन्छ । अर्कोतर्फ, नयाँ पुस्ता भने बेलायतको कानुनी स्वतन्त्रता र उत्तरआधुनिकतामा रमाइरहेका छन् । १८ वर्ष पूरा भएपछि आमाबाबुभन्दा अलग भएर आफ्नो छुट्टै संसारमा रमाउने पश्चिमा संस्कृतिले गर्दा पारिवारिक विखण्डन मात्र भएको छैन, बरु आपसी अपनत्व र आत्मीयता समेत मर्दै गएको विसङ्गतिपूर्ण आभास हुन्छ । नेपाली संस्कारमा हुर्किएको एउटा पुस्ताले बेलायतमा हुर्किएको अर्को पुस्ताको स्वतन्त्र र स्वच्छन्द क्रियाकलाप देखेर असन्तुष्ट हुनु पुस्तान्तरणको स्वाभाविक प्रतिफल हो । आफ्नो संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने सांस्कृतिक चाहना एकातिर छ भने अर्कोतिर बेलायती कानुनको कठोर पालना र व्यक्तिक स्वतन्त्रता मान्नुपर्ने बाध्यता छ । हुन त परिवारको परिभाषाभित्र आधुनिक पाश्चात्य समाजमा श्रीमान्, श्रीमती र छोराछोरी मात्र अटाउँछन् भनिए पनि हाम्रो पूर्वीय मानसपटलले स्वीकारेको परिवार संयुक्त र भावनात्मक स्वरूपको हो, जहाँ अपनत्व, जिम्मेवारी र पारस्परिक सम्बन्ध प्रगाढ हुन्छ । तर बेलायतमा हजुरबुबा–हजुरआमा, काका–काकी, दाजु–भाउजूको संयुक्त परिवारमा बसेर संस्कार सिक्ने उमेरमै आफ्नो पेट पाल्न एक्लै सङ्घर्ष गर्नुपर्ने र एकल जीवन यापनमा होमिनुपर्ने बाध्यता छ । जब ‘मेरो जीवन, मेरो स्वतन्त्रता’ भन्ने उग्र व्यक्तिवादी सोचतर्फ मोडिन्छ, तब आमाबाबु पनि पराई जस्तै बन्न पुग्छन् र भावनात्मक सम्बन्ध कमजोर हुँदै जान्छ । नयाँ पुस्ताको यस्तो पलायनवादी प्रवृत्तिले पुराना पुस्ताको पहिचान नै धरमराएको प्रक्षेपण गर्दै कथाकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने बलियो समाजशास्त्रीय सन्देश दिएका छन् ।
कथाकार आफैँ युद्धको प्रत्यक्ष साक्षी र भोगाइको गहिरो अनुभव बोकेका योद्धा हुन्, जसले यसअघि आत्मपरक उपन्यास ‘अफगानी रणमैदान’ नेपाली आख्यानजगत्मा पस्किसकेका छन् । त्यसैले पनि यस संग्रहभित्रका कथाहरूमा युद्धको मनोवैज्ञानिक प्रभाव, त्यसका अन्तर्निहित कारण र सामाजिक यथार्थको सघन उठान पाउन सकिन्छ । सम्बन्धप्रतिको संवेदनशीलता, प्रेम, स्मृति, पश्चात्ताप, बिछोड र मौनताभित्रको उकुसमुकुस जस्ता मानवीय संवेगहरू यसमा निकै गहिराइसँग सँगालिएका छन् । यसको जीवन्त उदाहरण ’फ्रेन्डको घरको त्यो छाया’ कथा हो, जहाँ फ्रेन्डको जेठो छोराले “मलाई माफ गर्नुहोला, अब तपाईं यो घरबाट सर्नुपर्ने भयो” भनी दिएको निर्मम खबरले साथी बितेकोमा भन्दा बढी स्तब्ध बनेका मुख्य पात्र केबी डेरा सर्नुपर्ने बाध्यतामा परेको देखाइएको छ । स्थायी ठेगाना परिवर्तन भएपछि जीवनमा आउने अस्थिरता, आवासीय सङ्घर्ष, ठाउँ अनुसारको सामाजिक मूल्य–मान्यता र संरचनागत अवस्थाहरूले मानिसलाई संसारको जुनसुकै कुनामा पनि गाँजिरहने रहेछ भन्ने वैश्विक सत्यलाई यस कथाले तार्किक रूपमा उजागर गरेको छ ।
डायस्पोरिक नेपाली जीवनको जटिलतालाई ‘सम्बन्धको जगेर्ना’ कथाले अझ बढी समीक्षात्मक धरातल प्रदान गर्दछ । नेपालीहरूको बाक्लो बस्ती रहेको बेलायतको अल्डरशटको परिवेशलाई मुख्य भूमि बनाएर लेखिएको यो कथा यथार्थको कसीमा खरो उत्रिन्छ । कथाको मूल पात्र फिरधन (माइला) का माध्यमबाट पारिवारिक विखण्डनको चित्र कोरिएको छ । फिरधन दोहोरी साँझको लतमा परेपछि कोजीलाई कान्छी श्रीमती बनाएर भित्र्याउँछन् । यता नेपालमा १० वर्षे जनयुद्धको द्वन्द्वका कारण उनकी जेठी श्रीमती मारिएपछि ठूलोबुबाको घरमा आश्रित रहेका तीन छोराछोरीलाई उनले बेलायत झिकाउँछन् र पारिवारिक मिलनको आशा गर्छन् । तर, ती टुहुरा बच्चाहरूको भविष्यलाई सरल र सुखद रेखामा कोर्न नसक्नु नै यस कथाको मुख्य दुःखद र कारुणिक पक्ष हो । कोजीले छोरी जन्माएपछि पारिवारिक द्वन्द्व र विखण्डन शुरू हुन्छ, जसले समाजमा स्थापित सौतेनी आमाको भूमिकालाई परम्परागत रूपमा नकारात्मक रूपमा प्रस्तुत गरेको छ । नारी र पुरुषको अस्तित्व र सम्बन्धको सन्दर्भमा कथामा भनिएको वाक्य— “नारी भनेको पुरुषको लागि घरै साबित हुने रहेछ, जहाँ स्त्री बस्छे त्यहीँ पुरुषले घर मान्ने रहेछन् ।” कोजीको प्रेममा पग्लिएका माइलाको यो अभिव्यक्तिबाट लेखकले एकातिर महिलाको स्थानलाई घरको मेरुदण्डका रूपमा उच्च राख्न खोजेका छन् भने अर्कोतिर माइलाका तीन सन्तानको तितरबितरले आमा नभएका बालबालिकाहरू बेलायत वा स्वर्ग जहाँ पुगे पनि आमाको अनुपस्थितिमा खुशी हुन सक्दैनन् भन्ने जिकिरले पाठकको मन खिन्न बनाउँछ । यद्यपि, संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नोपन र रैथाने पहिचानको चाहना मेटिँदैन भन्ने कुरा माइला र कोजीको दोहोरीको भेटले स्पष्ट पार्छ, जुन कथाको एउटा अत्यन्त मीठो र सांस्कृतिक पक्ष हो ।
“बच्चाको साख्यै बा–आमा हुनुको मजा त्यहाँनिर हुन्छ, जहाँ बच्चा हाँस्छन् ।” यो वाक्यमार्फत लेखकले बालअधिकार र बालमनोविज्ञानको गम्भीर मुद्दा उठाएका छन् । तर समीक्षात्मक कोणबाट हेर्दा, परिस्थितिवश आमाबाबु छुट्टिँदा के सबै बालबालिकाले सधैँ यस्तै दुःखद नियति भोग्नुपर्छ र ? भन्ने प्रश्न पाठकको मनमा उब्जिन्छ । जेठो छोरा र छोरीले आफ्नो खुशीले घरजम गर्नु र छोरीले नाति लिएर घर आउँदा बाबुले वास्ता नगर्नुमा के पारिवारिक विखण्डनको सम्पूर्ण दोष सौतेनी आमा मात्रै हो त ? भन्ने अर्को प्रश्न पनि उठ्छ । छोरीले पारिवारिक सामूहिक तस्बिर मागेर लैजानुले आफ्नो परिवारसँगको भावनात्मक सम्बन्ध अझै जीवन्त रहेको र तस्बिरमै भए पनि सँगै रहेको महसूस गर्नुले सम्बन्धहरू भौतिक रूपमा टुटे पनि भावनाहरू तोड्न सहज हुँदैन भन्ने मनोवैज्ञानिक सन्देश दिन्छ । कोजीले आफ्नी छोरी जन्मेर श्रीमानले सौताका छोराछोरी हेर्दा अँध्यारो मुख लगाउनुले ममता बाँड्न महिलाहरू कति कञ्जूस हुन्छन् भन्ने भान गराए पनि, के असल ममता र वात्सल्य आफ्नै कोखबाट जन्मेकाले मात्र पाउँछन् त ? भन्ने प्रश्न मानव अधिकार र नारी चेतनाका दृष्टिले अनुत्तरित रहन्छ । ‘सौतेनी’ भन्ने शब्दलाई नै पीडादायी बनाउने यस कथाले समाजमा सौतेनी आमाको भूमिकालाई सधैँ नकारात्मक रूपमा मात्र हेर्ने र आफ्ना सन्ततिप्रति मात्र ममता केन्द्रित गर्ने आमाहरूको प्रवृत्तिमाथि अलिकति सकारात्मक कोण पनि समेटिएको भए कथामा सन्तुलन आउने र सुनमा सुगन्ध हुने थियो ।
यही ‘सौतेनी’ सम्बन्धको नकारात्मक र क्रूर रूप ‘लोभी प्लान्स’ कथामा पनि प्रखर रूपमा प्रस्तुत छ । सौतेनी आमा लिसाले क्रिस्टिनाको विवाहमा पैसा खर्च हुने डरले विवाह चाँडो गर्न नचाहनुले सौतेनी आमाको तीतो व्यवहार मात्र प्रस्तुत गर्दैन, बरु जोनको सम्पत्तिको लागि आफ्नै स्टाफ मारिया र लिसाले बुनेको योजना वर्तमान आधुनिक समयको डरलाग्दो भौतिकवादी अवस्था हो । जोनको हत्यापछि अनुसन्धानमा परेकी लिसाले पहिले पनि श्रीमानहरूको हत्या गरेको तर प्रमाण नपुगेर पक्राउ नपरेको रहस्य खुल्नुले महिलाहरू पनि सम्पत्तिको लोभमा कतिसम्म क्रूर, हिंस्रक र कुकर्म गर्न माहिर हुन्छन् भन्ने नकारात्मक पाटोलाई उजागर गरेको छ । महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् भनेर वकालत गर्ने म जस्तो आधुनिक पाठकलाई ‘अन्तिम साँझ’ भित्रका यी तीनवटा शीर्षकका कथाले ‘सौतेनी’ शब्दसँगै त्रसित हुन बाध्य बनाउँछ । तथापि, लोभ र ईर्ष्याको सेरोफेरोमा घुमेको यो कथा वर्तमान परिवेशमा अत्यन्त यथार्थपरक छ र यसले सौतेनी साइनोको विकृत पक्षलाई सशक्त रूपमा उठाएको छ ।
वर्तमान डिजिटल र प्रविधिको युगले निम्त्याएका विसङ्गतिहरूलाई ‘डाक्टर राफेलको धन्दा’ कथाले निकै मिहिन ढङ्गले विश्लेषण गरेको छ । शिकारी मुखियाको परम्परागत शैली जस्तै, अचेल अनलाइन ठगीका आधुनिक कथाहरू धेरैले इमेल र फेसबुक खोलेर भोगेका र देखेका छन् । वर्तमान डिजिटल परिवेशमा यो एक कटु सत्य र समसामयिक विषय हो । धैरेलाई यसको विषयवस्तु सामान्य लाग्न सक्छ, तर लेखकले समाजमा घटेका घटनाहरूलाई टपक्क टिपेर कथामा सुन्दर ढङ्गले उनेका छन् । पात्र डाक्टर राफेलको धन्दा र लोभले गर्दा सोझा मानिसहरू कसरी फस्छन् भन्ने यसमा देखाइएको छ । वास्तवमा डाक्टर त ठग थिए नै, तर त्यसमा फस्नेहरू पनि कतै न कतै लोभी र भावनात्मक रूपमा कमजोर नै थिए भन्ने समीक्षात्मक निष्कर्ष निस्किन्छ । आफू एक्लो पुरुष भएको र डाक्टर श्रीमतीसँग सम्बन्धविच्छेद भएको भन्दै ठग्ने यो साइबर अपराधको धन्दा बेलायत जस्तो विकसित देशमा पनि अछुतो नरहेको कुरा कथाले प्रष्ट पारेको छ । कोरोना लागेर अस्पताल भर्ना भएको, सरसामान सबै बेचेर उपचार गर्नुपरेको र आफ्नो हातको घडी समेत बिक्री गरेर दुःखमा परेको भन्दै भावनात्मक नाटक रच्दा, सेवाभाव र प्रेमभाव बोकेकी सविताको मन पग्लिन्छ र उनी ठगिन्छिन् ।
तीनवटी नानीकी आमा, दुःखीहरूको सेवा गर्ने, दानधर्म गर्ने र समाज हाँक्न अगुवा मानिने महिलाले पनि भावनात्मक र आर्थिक रूपमा सहयोग गर्नुको पछाडि कतै न कतै लोभकै भूमिका हुन सक्छ भन्दा अत्युक्ति नहोला भन्ने आँट लेखकले गरेका छन् । “युरोपका मानिस सहयोगी हुँदैनन्, एसियाका मानिस त सहयोगी हुने रहेछौ” भन्दै डाक्टर राफेलले ठग्नुभित्र नकारात्मकताका बीच पनि एउटा सानो व्यङ्ग्य र पूर्वीय सभ्यतामाथिको गर्वको टुसा उम्रिएको छ । के एसियाली मानिसहरू साँच्चै यति सोझा र सहयोगी हुन्छन् त ? आफ्नो आईडी हराएको भन्दै मुम्बईमा पैसा थाप्नेहरू खजुरीमाया लिम्बू, कालीमाया तामाङ र सुनील शर्माको नाम दिनुले अन्तर्राष्ट्रिय ठगहरू कति संवेदनशील र बलियो सञ्जाल बनाएर सक्रिय छन् भन्ने कुरा पुष्टि हुन्छ । नेपालीहरू सजिलै ठगिएका यस्ता सत्य घटनाहरू हाम्रै समाजमा व्याप्त छन् । बेलायतमा बस्ने सशक्त महिला सविताको सबै बैंक ब्यालेन्स सकाएर डाक्टरले फोन बेचेको प्रसङ्ग निकै मार्मिक र दुःखद छ । “कस्तो दशा लागेछ” भन्दै भ्वाइस म्यासेज गरेर, “घर पुगेपछि अर्को… फोनबाट फोन गर्नेछु, ह्याभ अ नाइस डे” भन्दै एक्कासि बिदा भएका डाक्टर फेरि कहिल्यै सम्पर्कमा नआएको घटनाले लोभी र पापीहरूको सक्कली चरित्रलाई छर्लङ्ग पारेको छ ।
यसैगरी ‘सिङ्गापुरे साडी’ कथामा मोहन र आस्थाको वैवाहिक सम्बन्ध कानुनी मान्यतामा मात्र बढी हाबी देखिनु, प्रेम र यौनप्रतिको आसक्ति अमर्यादित हुनु जस्ता प्रसङ्गले लाहुरेहरूले भावनाभन्दा बढी भौतिक सुखलाई मात्र प्राथमिकता दिन्छन् कि भन्ने वैचारिक शङ्का उब्जाउँछ । आस्थाको मोहनसँग हिमचिम बढेको कुरामा पनि भावनात्मक सम्बन्धको अभाव देखिन्छ । तर परिवारको महत्त्व र अस्तित्वलाई जीवित राख्न सम्बन्धको पुनस्र्थापना (मिलापत्र) हुनुले कथामा क्षणिक र भ्रामक प्रेमभन्दा वैवाहिक सम्बन्ध बढी टिकाउ हुनुपर्छ भन्ने सकारात्मक आदर्श देखाउन खोजिएको छ । भावना र यौन तृष्णामा भौँतारिएर रोजेको अवैध बाटोलाई क्षमादान दिएर वैवाहिक सम्बन्धको जगलाई बलियो देखाइएको छ, जसका कारण परिवार विखण्डनतर्फ उन्मुख हुनबाट जोगिन्छ भन्ने सकारात्मक सन्देश कथाले छोडेको छ । संग्रहको केन्द्रीय तथा शीर्षकीय कथा ‘अन्तिम साँझ’ मा दुई धार्मिक दृष्टिकोणले संवेदनशील घटनाहरू प्रस्तुत गरिएको छ भने यस कथामा नेपालको जनयुद्धको भित्री रूपलाई पनि सँगसँगै प्रतिविम्बित गर्न खोजिएको छ । बोस्नियाली युद्धका क्रममा जातीय हिंसाका कारण सिङ्गो गाउँ नै अस्तित्वविहीन भएको अन्तर्राष्ट्रिय घटना समेटिएको यस कथाले युद्ध कसरी मानवता विरोधी, समाज–विनाशक र सिङ्गो सभ्यता नै कुरुप पार्ने प्रक्रिया हो भन्ने सङ्केत गर्छ । कथाले युद्धलाई केवल भौगोलिक वा ऐतिहासिक विषयमा मात्र सीमित नराखी मानवीय पीडा, भौतिक तथा संरचनागत हिंसा र स्मृतिगत प्रभावबारे सोच्न बाध्य बनाएको छ ।
यसको विपरीत, ‘क्याम्प फायर कि दिल फायर’ कथाले पाठकलाई अलि छुट्टै, रमाइलो र गुणात्मक अनुभूति गराउँछ । ‘अफगानी रणमैदान’ जस्तो कारुणिक उपन्यास पढेको म पाठकलाई यस कथाले रातो च्याउ, स्थानीय खाना र पात्र ‘फुर्वा’ को स्थानीय भाषाको लवजलाई समेत पछ्याएर लेखेको हुनाले यो कथा पढ्दा पाठक प्रफुल्ल भएर एक्लै खित्का छोडेर हाँस्न सक्छन् । “बाटो ता ठीकै छा तर आलिक बालुको खतरा हुन्छ” भनी फुर्वाले दिएको जानकारी नबुझेर गोपीले “को बालु फेरि जिरीको डन ?” भनी प्रश्न गरेको संवादले स्थानीय भाषाको लवजबारे सचेत गराउनुका साथै त्यसको जगेर्ना र बहुभाषिकताको सम्मान समेत गरेको छ । जिरीका रैथाने जिरेल र शेर्पा जातिको नेपाली भाषा बोल्ने यो लवजको मिठास र फुर्वा शेर्पाको नाममार्फत लेखकले पाठकलाई बाल्यकाल बितेको जिरी र त्यहाँका साथीभाइसँगै डोर्याएका छन् । जिरीको सेरोफेरोमा घुमेको यो कथाले जीवनमा केवल पीडा मात्र हुँदैन, पीडाभित्र पनि खुशी र रमाइलो लुकेको हुन्छ भन्ने द्वन्द्वात्मक यथार्थ देखाउँछ । तन्नेरी पुस्ता खोज–अनुसन्धानमा निस्किएको अवसरमा स्थानीय जडीबुटी, खानपान र भाषाको प्रचारप्रसारमा यस कथाले ठूलो सांस्कृतिक भूमिका खेलेको देखिन्छ । यस्तै, ‘नक्कली फिया’ कथामा पैसाको लोभमा मानिसले आफ्नो अस्तित्वको त ख्याल गर्दैनन् नै, बरु अरूको घरबारमा आगो लगाउन पनि पछि पर्दैनन् भन्ने यथार्थपरक सन्देश ’फिया’ पात्रमार्फत दिइएको छ । वर्तमान परिवेशमा स्वार्थका सम्बन्धहरू बढी देखिन्छन्, जसले जीवन तहस–नहस गराउन सक्छ । यस्ता दोहोरो चरित्र भएका मानिसहरूको उपस्थिति समाजमा कति सहजै भइरहेको छ भन्ने विषयलाई यसले प्रष्ट पारेको छ ।
यस संग्रहको सबैभन्दा विशिष्ट, जातीय र पहिचानवादी पक्ष ‘सुनकोशी नदीको कथा’ मा प्रकट भएको छ । सुनुवार (कोइँच) जातिको इतिहास, उत्पत्ति, संस्कार र संस्कृतिसँग एकाकार भएको यो कथामा नयाँ पुस्ताले आफ्नोपन स्वीकार गर्न नसकेको र स्वीकार गर्नेहरूले पनि सही ढङ्ग पुर्याउन नसकेकोमा गहिरो चिन्ता प्रकट गरिएको छ । सुनुवार जातिको परम्परा, प्रकृति, पुर्खा र आत्माबीचको सम्बन्धलाई जीवन्त रूपमा स्थापित गर्न पुजारी, देम्बाकाजी, धामी र ती ’सलाक’ (मुन्धुम जस्तै सुनुवार जातिको पवित्र मन्त्र वा श्लोक) का हरफहरूले महत्त्वपूर्ण भूमिका खेलेका छनः
“सिदा पिदार पन पन
खटे् चिरा. जन् जन्
इन थुम् आ थु कितोःओ
मार दुम्मै झन झन ।”
सुनुवार भाषाको यो रैथाने सलाकले कथालाई सांस्कृतिक रूपमा झन् ठूलो साहित्यिक उचाइमा पुर्याइएको छ । पुजारी (नासो) देम्बाकाजीले हराउँदै गएको सुनुवार कोइँच संस्कृति र विरासतको पुनर्जागरणको अभियान चलाउनुले पहिचानप्रतिको सजगता र रैथाने चेत देखाउँछ । सलाक नम्बर १ को ‘सुरो को सु’ हराएर ’रो’ मात्र पढ्दा पाठकलाई एकछिन अलमलमा पारे पनि नेपाली भाषाको अनुवादले त्यसलाई स्पष्ट पारेको छ, जहाँ ‘सुरो’ को अर्थ ’लच्छिन’ (लक्ष्मी÷शुभ) भन्ने बुझिन्छ । यो कथाले विशेषतः सीमान्तकृत र लोपोन्मुख पहिचानलाई जीवन्त बनाउन खोजेको छ ।
आध्यात्मिक र दार्शनिक चेतका दृष्टिले ’शान्तिको खोजी’ कथा निकै उत्कृष्ट छ । यसले दर्शाउँछ कि मानिसहरू जन्मिँदा शान्त परिवेशमै जन्मिन्छन्, तर अशान्तिको बिउ आफैँ रोप्छन् र फेरि यो सुन्दर संसारमा शान्ति खोज्दै भौँतारिन्छन् । भौतिक सुखले मात्र मानिसलाई सच्चा सुख र सन्तोष प्राप्त हुँदैन भन्ने कुरा यस कथामा आत्मवादी र भौतिकवादी दृष्टिकोणबीचको द्वन्द्वद्वारा सशक्त रूपमा देखाइएको छ । मानवीय इच्छाको स्वभावलाई उजागर गर्दै कथाले एकातिर भोग र इन्द्रिय तृष्णालाई देखाएको छ भने अर्कोतिर अनन्त अर्थको खोजीमा रहेको अस्तित्ववादी आकाङ्क्क्षा प्रस्तुत गरेको छ । धार्मिक विचलन र आध्यात्मिक सन्तुष्टिबीचको अन्तर्न्द्वलाई वस्तुपरक र यथार्थपरक ढङ्गले प्रस्तुत गर्दै यस कथाले शान्ति बाहिर खोज्नु नै व्यर्थ हो, यो त अन्तःकरणको विषय हो भन्ने दार्शनिक निष्कर्ष निकाल्ने आँट दिएको छ ।
तर, पारिवारिक विचलनको क्रूर रूप ‘उर्मिला उर्फ रोनी’ कथामा पुनः प्रकट हुन्छ । विजय र सविताले आफ्ना सन्तानलाई अलपत्र छाडेर बेलायत पलायन हुनुले नेपाली समाजमा सन्तान र जिम्मेवारीभन्दा विदेशको हावापानी र भौतिक सुखलाई बढी प्राथमिकता दिने आधुनिक प्रवृत्तिको कुरुप विकृतिलाई प्रष्ट पारेको छ । सौतेनी आमाको क्रूर व्यवहारका कारण नै उर्मिला ‘रोनी’ जस्तो विद्रोही पात्र बन्न बाध्य भएकी छिन् । बाबुलाई छायामा पारेर सौतेनी आमाको नकारात्मक चरित्रलाई बढी उजागर गरिएको यस कथाले मानिसहरू लोभमा फसेपछि बाध्यताको बहाना बनाएर कसरी आफ्नो मानवता नै गुमाउँछन् भन्ने गम्भीर सन्देश दिएको छ । यसको ठीक विपरीत ’अन्तरिक्षको यात्राः सपनाको उडान’ कथामा बाध्यताको बाटो र कमजोर भावनात्मक सम्बन्धको उथलपुथलपछि प्रेमको वास्तविक ताकत के हुन्छ भन्ने कुरा गणेश र कान्छीको सम्बन्धले देखाएको छ । आफ्नो कर्मप्रति आफ्नै आत्मसन्तुष्टि नै ठूलो कुरा हो, जसलाई राज्यले देखोस् वा नदेखोस् भन्ने स्वाभिमानी भाव गणेशमा छ । उनलाई भेट्न बालुवाटारको ३ नम्बर गेट अगाडिको पसलमा मानिसहरू आउनुले उनको इमानदार कर्मको सामाजिक सम्मानलाई दर्शाउँछ ।
कथाहरूको चिरफार गरिरहँदा कतिपय ठाउँमा लेखक महिला पात्रहरूप्रति त्यति धेरै सकारात्मक र उदार छैनन् कि भन्ने सन्देह पैदा हुन्छ । जस्तै, त्यति सुन्दर भावनात्मक सम्बन्ध हुँदाहुँदै पनि कान्छीले खाजाको बिल तिर्न खोज्दा गणेशले “नेपाली चलन गरौँ” भन्दै आफैँ पैसा तिर्नुले महिला र पुरुष समान हुन् र आर्थिक–नैतिक रूपमा दुवैजना सबल वा कमजोर हुन सक्छन् भन्ने आधुनिक लैङ्गिक दृष्टिकोणलाई केही संकुचित वा पितृसत्तात्मक बनाएको जस्तो देखिन्छ । वर्तमान समयमा महिलाप्रतिको यस्तो परम्परागत र रूढिवादी दृष्टिकोणले गर्दा कथाभित्रका अन्य कतिपय सशक्त विषयवस्तुहरू छायामा परेका हुन् कि भन्ने भान हुनु यस संग्रहको एउटा सीमा हो ।
संग्रहकै अर्को महत्त्वपूर्ण कथा ‘वास्तविक आँगन’ हो । विदेश पलायन हुने नेपालीहरूको लर्को निकै बाक्लो र चिन्ताजनक भए पनि यस कथाभित्र गोर्खाको पारिवारिक पलायनको विशिष्ट विषय समेटिएको छ । बेलायत पलायन हुनु केवल भौगोलिक स्थानान्तरण मात्र नभएर जीवन र अस्तित्वको पुनः परिभाषा बनेको देखिन्छ । सामूहिक पारिवारिक संरचनामा बाँच्न र रम्न चाहने नेपालीहरू बेलायत पुगेपछि आफ्ना बालबालिकाहरू १८ वर्ष पुग्नासाथ व्यक्तिवादी दृष्टिकोण अपनाएर अलग हुन खोज्दा पारिवारिक सम्बन्ध विच्छेदको सङ्कट निम्तिने खतरालाई कथाले देखाएको छ । खुशीसाथ नेपाल छोडेर बेलायत पसेकाहरूको सङ्घर्ष र पारिवारिक–सांस्कृतिक विचलनलाई यसले बडो मार्मिक र समाजशास्त्रीय ढङ्गले उजागर गरेको छ । एकातिर भौतिक सुखको खोजी छ भने अर्कोतिर आफ्नै संस्कार र संस्कृतिको विच्छेद तथा भावनात्मक सम्बन्धको रित्तोपन छ । तर जहाँ भए पनि आफ्नो रैथाने पहिचान खोज्ने मानवीय स्वभावलाई कथाले जताततै जीवित राखेको छ ।
संग्रहको दार्शनिक उत्कर्ष ‘म्यान्सनभित्र पहिचानको मृत्यु’ कथामा देखिन्छ । यो जितबहादुर (जितेदास्ती) कवि पात्रका माध्यमबाट व्यङ्ग्य तथा भावनात्मक उतारचढावका साथ बुनिएको एउटा गहन दार्शनिक कथा हो । रात्रिभोजमा उज्ज्वलजङ्गको रहस्यमय देहान्तपछि मानसिक सन्तुलन गुमाएका कविको चेत निरन्तर पुनर्निर्माणको प्रक्रियामा रहन्छ । यो पहिचान र अस्तित्वको सङ्कटको तहमा समाज विघटन भएर पुनः निर्मित हुने अवस्था पनि हो । अन्ततः बेलायतको विलासी जीवन त्यागेर आफ्नै गाउँ फर्कनु केवल भौगोलिक पुनरागमन मात्र नभएर वैचारिक पुनर्जन्म र आत्मबोधको गहिरो अनुभूति पनि हो ।
‘अन्तिम साँझ’ कथा संग्रहले समकालीन नेपाली समाजको उत्तरआधुनिक र डायस्पोरिक कटु यथार्थलाई पूर्ण रूपमा प्रतिनिधित्व गरेको छ । लेखक केदार सङ्केत सामाजिक यथार्थवादी र प्रगतिशील परम्पराभित्र रहेर आफ्नै मौलिक, सरल र संवादात्मक शैलीमार्फत नेपाली आख्यानमा एक विशिष्ट पहिचान निर्माण गर्न सफल भएका छन् । कलकलाउँदो बैँसालु उमेरको एउटा युवक आफ्नो भविष्य खोज्दै, गाउँको चिसो हावा र सङ्लो पानीको स्वादलाई स्मृतिमा राखेर लाहुर (वैदेशिक फौजी सेवा) मा होमिएका छन् भन्ने सङ्केत । लाहुरे जीवन केवल सुखद र विलासी हुन्छ भन्ने भ्रमलाई चिर्दै, देशको रक्षार्थ किराँत वा रैथाने जातिको छोरो फौजी हुनु कूलधर्म मानिने मूल्य–मान्यता बोकेको परिवारमा जन्मिएर, पराई भूमि बेलायतमा आफ्नो बैँस, रगत र पसिना साटेर जीवनको कर्मक्षेत्र बनाउँदै निरन्तर साहित्य साधना गरिरहेका लाहुरे साहित्यकार केदार सङ्केतको लेखनले स्थापित गर्छ— “भौतिक सुख–सुविधाले मानिसलाई न त सच्चा खुशी दिन सक्छ, न त आन्तरिक शान्ति नै ।”
हाम्रा पुर्खाहरूले विश्वयुद्धहरूमा ज्यान गुमाए, बाँच्नेहरू अपाङ्ग भए । यसैगरी कथाकारले आफ्नै हातले कति बम–बारुद खेलाए, कति युद्ध जिते र कति धूलोमाटोमा खेले— कहिले अफगानिस्तान त कहिले काबुलमा । तर उनको चेतनाले सधैँ तिनै युद्धबाट प्रभावित सर्वसाधारण मानिसहरू, त्यसको दुरगामी असर र कारणहरूलाई एउटा मानवतावादी सर्जकका आँखाले नियालिरह्यो । समयको चक्रमा हुत्तिएर पैदा भएका ती मानसिक उकुसमुकुसहरूलाई ‘अन्तिम साँझ’ मार्फत सबैसँग बाँड्दा लेखकलाई युद्धको कृत्रिम जितभन्दा बढी यी कथाहरूको मानवीय सिर्जनाले नै आत्मिक सुख र शान्तिको वास्तविक अनुभूति गराएको हुनुपर्छ ।
जहाँ रहे पनि उनले समय र परिवेशसँग निरन्तर संवाद गरे र अनुभवले उनलाई जिन्दगीको भोगाइमा झन् परिपक्व र तिखार्दै लग्यो । एक सर्जकका लागि हरेक समय र हरेक घटनाहरू खुला डायरी बन्दा रहेछन् । तिनै डायरीका पानाहरूबाट कहिले ‘अफगानी रणमैदान’ जस्ता गहन कृति त कहिले ‘अन्तिम साँझ’ जस्ता उत्कृष्ट कथाहरू प्रस्फुटित भइरहेका छन् । बाल्यकाल बिताएको जन्मस्थान र यौवनकाल बिताएको पराई भूमिको अनुभवको सुन्दर सम्मिश्रण उनका हरेक सिर्जनामा भए पनि सबैभन्दा बढी शिल्पगत परिपक्वता ‘अन्तिम साँझ’ले ओगटेको छ । नेपाली संस्कार, संस्कृति र धर्म मात्र होइन, सुनुवार कोइँच जातिको रीतिथिति, चाडपर्व, माटो र पहिचानको गहिरो सम्बन्धलाई जोडेर विदेशी भूमिमा सामना गर्नुपर्ने विविध आयामको पीडा, सङ्घर्ष र नेपालको वर्तमान परिवेशको यथार्थलाई उनले एउटै आख्यानात्मक मालामा कलात्मक रूपले उनेका छन् ।
कथाशिल्पका हिसाबले कतिपय ठाउँमा केही संरचनागत कमजोरी र वर्णनात्मक अत्यधिकता देखिए पनि, लेखक स्वदेश र प्रवासमा देखिएको, भोगिएको आत्मिक पीडा र भावनात्मक लडाईंलाई विभिन्न पात्रमार्फत पोख्न अत्यन्त खप्पिस र अब्बल छन् । नारी चेत बोकेका आधुनिक पाठकका लागि नारी चरित्रको एकपक्षीय र नकारात्मक पक्षमाथि केही सैद्धान्तिक प्रश्न उठाउने ठाउँ रहे तापनि, डायस्पोरिक र समकालीन नेपाली समाजको समग्र यथार्थलाई जीवन्त, सशक्त र आफ्नै विशिष्ट शैलीमा प्रस्तुत गर्न ’अन्तिम साँझ’ कथासंग्रह पूर्ण रूपमा सफल र सङ्ग्रहणीय देखिएको छ ।

