साहित्यपोस्ट डट कम

समयचेतले बहिर्‍याएका अनुभूतिमय कविताको सङ्गालो

समयचेतले बहिर्‍याएका अनुभूतिमय कविताको सङ्गालो

काव्यका डल्ला फोर्नु कम्ती गाह्रो छैन, सबै व्यक्ति आफैँमा एक कवि हो भनेर के गर्नु ? झनै जीवनलाई विभिन्न अवयवमा सिंगार्ने सीप कहाँ सबैमा हुन्छ र ! कलात्मक रूपले फुलबारी सजाए जस्तो मानवेत्तर विभिन्न आयामहरूमा कविता सृजना गरेर सजाउने रहर त कसलाई हुन्न र ! तर रहर पालेर मात्र भएन । व्यवहारमा उतार्न सक्नुपर्छ । साँच्चै हो काव्यगंगामा पौडेर पार हुन जो कोहीले इच्छा र रहर मात्र गरेर हुँदैन । साँच्चै अप्ठ्यारो छ यो काव्यगंगामा पौडेर पारी तर्न । तर कवि गीता कार्कीले यही अप्ठ्यारो पार गरेकी छिन् ।

कवि गीताको परिपक्वता प्रस्तुत कृतिले प्रष्ट्याएको छ । कविता परिष्कृत भएर पस्कन सक्नु ठूलो कुरा हो । मीठा र सुस्वादु कविता लेख्न सक्नु पनि खुबी नै हो । प्रस्तुत कृतिभित्र ३६ थान कविता समावेश गरिएका छन् । ती कविता विषयगत रूपमा भिन्न भएपनि प्रायशः कविताले प्रेम पस्केका छन् । केहीमा निराशा छ । धेरैमा आशावादी भाव छ । जीवनसँग जोडिएका कविता झनै बलिया लाग्छन् । वर्तमान समाजको विद्रुप चित्र पनि कवितामा कोरिएका छन् । हरक्षेत्रका विकृति र विसङ्गति विरुद्ध तीखा व्यङ्ग्यरूपी भाला प्रहार गरिएका छन् ।

घात, प्रतिघात र सुखदु:खको दर्पण हो जीवन । दुखान्त हुँदा सुक्सुकाउँछ र सुखान्त हुँदा सुखानुभूति हुन्छ मन । यस्तै मन भएको जीवनको परिभाषा खोज्ने प्रयास कवितामा पाइन्छ । मान्छेको जीवन यथार्थमा हो चाहिँ के भन्ने कवितामा बोलिएको छ । वर्तमानले जहिल्यै डस्छ जीवन । भविष्यको चिन्ता उस्तै गर्छ जीवन । विभिन्न आशाको सानो त्यान्द्रोमा झुण्डिएर चिमोटिरहन्छन् विभिन्न समस्याले जीवन । जीवनलाई नियतिको कोर्राले हानिरहन्छ । जीवनलाई दु:खको धर्साले कोरिरहन्छ । बिरामी परेर अस्पतालको शैय्यामा पसारिनु पर्दा लेखिएको कविता हेरौँ:

खै ! कसरी सुनाउँ तिमीलाई मेरो कथा

मेरो मुटुको एक टुक्रा आज

अर्कै गोलार्धको यात्रामा छ (बेड नं.६०७)

जीवन चेतनाको विराट यात्रा पनि त हो । जति चिन्तन गर्यो उति चिन्ता । जति मन्थन गर्यो उति जटिल । कतिलाई लाग्दो हो यो जिन्दगी झिंझो भर्को । कतिलाई लाग्दो हो भार । त्यसै गीत रचिएको होइन नि –आफैंलाई भार भयो आज आफ्नै जिन्दगी । तर यहाँ कविमन न हो अलिकति बढी नै भावुक भैहाल्छ । संवेदनाले छोइहाल्छ । यस्तै हो जीवनदर्शन । यही हो जीवनको आलोक । वास्तवमै जीवन जिउने एक कला हो । यसका अनेकानेक रङ्ग र ढंग हुन सक्छन् । यस्तै कविले यहाँ दार्शनिक भाव अभिव्यक्त गरेकी छिन् :

अस्तित्वलाई छाम्नू हावामा

कतै नादहरूको रङ्ग छुन सके

त्यसभित्र तिमी समाहित हुन्छौ

जीवन –

कला र रङ्गहरूको नाद बन्छ (नादहरूको रङ्ग)

जीवनवादी छिन् कवि । त्यसैले त्यस्तै सोच आउँछ मनमा र कविता उमार्छिन् – शब्दहरूको खेती गरेर । सकारात्मक भावको अभिव्यक्ति कविताको अर्को महत्त्वपूर्ण विषय हो । चेतनाको प्रचुरतालाई कलात्मक रूपले व्यक्त गर्दा जिम्मेवारी र सुझबुझ अत्यन्तै संवेदनशील रूपमा लिइएको पाइन्छ । जीवनलाई कलात्मक सुन्दरताको लेपन लगाएर कवितामा पोखिएको पाइन्छ । वर्तमान समयलाई कविताले न्याय गरेका छन् । सम्बोधन गरेका छन् । विकृतिमा खबरदारी, द्वेष भन्दा पर असल भावना र आफ्नोपन कविताले अर्थ्याएका छन् । जीवनदर्शनका अवयवहरू परेका छन् यस्ता कवितामा । जहाँ मानवका साश्वत कुरा आएका छन् । यस्तै कविता हुन् –अक्षरहरूको सङ्ग्राममा विजयधुनहरू, सपनाको सङ्गीत, आगमन-निर्गमन,धुवाँ: आदिम सत्य, एक बुँद पानी र एक दृष्टि जिन्दगी, मान्छेभित्रका मान्छेहरू । यी प्रायः कवितामा यथार्थको सत्यापन गरिएको छ । जीवनको अस्तित्वलाई उनले जिजिविषाका ध्वनिमा कैद गरेकी छिन् । गहिरो सचेतत छ कविमा । मान्छेले आशावादको फूल फुलाउन पर्नेमा उनको जोडको पक्षधरता छ । स्वार्थभन्दा परको चिन्तन छ । कलुषित भावलाई त्याज्य गर्नुपर्नेमा बल दिइएको छ ।

मान्छेको हृदय र फूललाई तुलना गर्दै तिनमा समानता देखाइएको छ । हृदय, दुःख व्यवधान आउँदा पनि फूल जस्तै फुल्छन् । निराशाका बादल छाउँदा पनि झुल्छन् । कविले मान्छेको आँसुलाई पनि फूलको संज्ञा दिएकी छिन् । अत्यन्तै कोमल र सुन्दर बिम्ब र प्रतीक मिसिएको सुन्दर कविता बनेको छ –बिहानीको प्रथम भेट । जीवनमा इच्छा र चाहना अधुरै रहन सक्ने तर्फ सचेत गराइएको छ । त्यसैले समयछँदै पूरा गर्न सम्झाइएको कविता –जन्मोत्सव र सालका ठुटा हो । जीवन सम्झाइएको छ यहाँ । अनि भनिएको छ बहुरङ्गी पनि छ है जीवन ।

आफैँभन्दा धेरै माया गरेकी प्रेयसीको लास आर्यघाटमा जलाइरहेको मान्छेको मनोदशा बडो मर्मस्पर्शी भावमा अभिव्यक्त भएको छ – निस्पृह धुनमा झङकृत जिन्दगी । यतिबेला भावनाका भुल्काहरूले मुटु हल्लाउँछ –पाठकको । लाग्छ पाठक आफैँ जलिरहेको छ त्यो चितासँगै । बेतोडले घायल हुन्छ मन । कविताले सिङ्गो आख्यान बोलेझैं भान पर्छ । मन साँच्चै झस्काउँछ कविताले । आफ्नै जीवनसँग अभिन्न भएर आउने कविताले पाठक सुस्काउँछ । यो हो गीताको कविताको शक्ति ।

एक बिहान

काखबाट सारेर चितामा

आफ्नी प्रेयसीलाई

घर फर्किएको मान्छे (निस्पृह धुनमा झङ्कृत जिन्दगी )

यही कवितामा नारीप्रति पुरुषको व्यवहार चित्रण गरिएको छ । पुरुषले त अर्कीको सिउँदो भरिहाल्छ भोलिपल्टै भनेर पितृसत्तात्मक समाजप्रति तीखो व्यङ्ग्य प्रहार पनि गरिएको छ:

अर्को बिहान

सङ्गीतमय चुरासँगै

सजिएको मण्डपमा उभियो

हातमा उसको

स्वयंवरको माला थियो (निस्पृह धुनमा झङ्कृत जिन्दगी)

स्वयंसिद्ध तथ्य जस्तो लाग्छ कविता –वर्तमानको अवसानसँगै । नियमित प्रक्रिया हो – बिहान सूर्य उदाउँछ, साँझ अस्ताउँछ । ऋतु क्रमशः परिवर्तन भैरहन्छन् । समय परिवर्तनशील छ, आफ्नै गतिमा परिवर्तन भैरहेछ । कोपिलाहरू भोलि फूल भएर हाँस्नेछन् । पुरानाको ठाउँ नयाँले लिनेछन् । यही हो शाश्वत सत्य ।

समय.–समयमा विभिन्न स्थानमा हुने द्वन्द्व र अन्य घट्नाले कविको हृदय पोल्छ र कवितामा अनुदित हुन्छ –बाढीमा फूलहरू, अलिखित कथा आदि यस्तै कारण जन्मिएका कविता हुन् । भीडमा एक्लो यात्रा गरिरहेकी नोरा, कविताले ऐतिहासिक नारी पात्र नोरालाई बिम्ब बनाएको छ । नोरा जसलाई विश्वभर स्वतन्त्रता र अन्याय विरुद्ध विद्रोहको जेहाद छेड्ने सकारात्मक पात्रका रूपमा चिनिन्छ, उसैलाई स्मरण गर्दै कवितामा पोखिएको छ । निर्मला दिदी त्यागको बिम्ब हो । च्यातिएको कविताका पङ्क्तिमा नारी पात्रको पीडा व्यक्तिएझैं लाग्छ ।

स्वार्थकै चङ्गुलमा फसिसकेको छ –सहर । आफ्ना रङ्गीन सपना बोकेर सहर पसेकाहरूको सपना तुहाउने –सहर । माया खोज्दा स्वार्थकै तलाउमा मात्र पौडी खेल्न पाइने –सहर । आफ्ना खोज्दा पराईमात्र भेटिइरहने– सहर । यस्तै सहरको दुर्दान्त कहानी समेटेको सुन्दर कविता हो – म सहरको कुरा कसरी गरुँ ?

कृतिभित्र तीव्र अनुभूत गरेर निकालिएका परिपक्व कविता छन् । भोगाइले ल्याएका अनेक बिम्बायुक्त कविता बलशाली लाग्छन् । कविता सुन्दरताका पगरी गुथेका सुललित भान पर्छन् । कविताले बहुआयामिक प्रतिबिम्बन गरेका छन् । बोधगम्य भावले रचिएका सरल भाषाशैलीमा सजिएका कविताका पारखीलाई कृतिले धीत मार्ने सामर्थ्य राख्छ । भावमा गाम्भीर्यता कृतिको विशेषता लाग्छ । प्राकृतिक बिम्बको प्रचुरता, मीठा र सरस कविताले जीवनको उद्बोध गरेका छन् । यति भएपछि कृति सफल नहुने कुरै भएन । हार्दिक बधाई !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.