पोखरा । वि.सं. २०३४ सालदेखि निरन्तर साहित्य, सङ्गीत र कलाको त्रिवेणीका रूपमा सक्रिय पोखराको अग्रणी वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवार द्वारा आयोजना हुँदै आएको मासिक काव्य वाचन कार्यक्रम ‘समता काव्य सन्ध्या’ को ३९४औँ शृङ्खला सम्पन्न भएको छ ।
पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालय को प्रेक्षालयमा शनिबार आयोजित उक्त कार्यक्रममा यसपटक “विद्यार्थी विशेष” शृङ्खला सञ्चालन गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित साहित्यकार डा. ईश्वरमणि अधिकारी ले ‘समता काव्य सन्ध्या’ ले विगत लामो समयदेखि निरन्तर रूपमा विविध विषयगत शृङ्खला सञ्चालन गर्दै आएको उल्लेख गर्दै यसपटक विद्यार्थीहरूका रचनामा देखिएको अनुभूतिको तीव्रता, समाजप्रतिको संवेदनशीलता र सिर्जनशीलताको उज्यालोले उनीहरूको साहित्यिक भविष्य उज्ज्वल रहेको धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै, अर्का साहित्यकार दीपक समीप ले आफ्नै विद्यार्थी जीवनदेखि सुरु भएको लेखन यात्रालाई स्मरण गर्दै अहिलेका विद्यार्थीहरूको प्रतिभा देख्दा आफ्नो बाल्यकाल झल्किएको बताउनुभयो ।
विद्यालयका निर्देशक त्रिभुवन शर्मा ले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अवसरहरू निरन्तर प्राप्त भइरहून् भन्ने कामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थी स्रष्टाहरू साश्वत पौडेल, सुविका घिमिरे, सुम्निमा क्षेत्री, सुष्मिता आचार्य, रिभा आचार्य, शुभानी पौडेल, नम्रता ढकाल, अक्षता पाण्डे लगायतले आफ्ना कविता वाचन गर्नुभएकाे थियाे । साथै अग्रज कविहरू नवराज न्यौपाने, रेशम गिरी, केशु शर्मा, सतीश रेग्मी, ढाकामोहन बराल, रती भट्टराई, देवेन्द्र चिनार, वसन्त चालिसे, भगवती बञ्जारा, प्रेमनारायण पोखरेल, विद्याविमल बराल, एकदत्त लम्साल, हरी पौडेल, लोचना अधिकारी, रोशन तिमिल्सिना, चन्द्रावती वाग्ले, निकेश गिरी, मनोज गौतम, शान्ति कँडेल, भवसागर घिमिरे, तेजबहादुर गुरुङ, आशिष रेग्मी, बिमला अधिकारी, सृजना आचार्य लगायतले पनि सहभागिता जनाउँदै कविता वाचन गर्नुभएकाे थियाे ।
परिवारका उपाध्यक्ष लक्ष्मण थापा को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्य विभागकी संयोजक केशु शर्मा ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव एमडी काफ्ले ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
विद्यार्थी र अग्रज स्रष्टाबीचको सशक्त साहित्यिक अन्तरक्रियासँगै सम्पन्न यस शृङ्खलाले पोखरामा सिर्जनशीलताको नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन् ।

