पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा नियमित रूपमा आयोजना हुँदै आएको ‘समता काव्य सन्ध्या’ कार्यक्रमको ३९२औँ शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ । वि.सं. २०३४ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रम यसपटक संस्थाका पूर्वअध्यक्ष तथा गीतकार–कवि प्रकट पगेनी शिवप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख आमन्त्रित साहित्यकार सरुभक्तले सिर्जनात्मक चेतनाबारे चर्चा गर्दै कविहरूको कल्पनाशक्ति ब्रह्माण्डभन्दा परसम्म पुग्न सक्ने धारणा व्यक्त गर्नुभयाे । उहाँले ‘समता काव्य सन्ध्या’ ले बालकदेखि प्रौढसम्मका सर्जकलाई साहित्यिक अभ्यासको अवसर प्रदान गर्दै नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयाे ।
कार्यक्रममा पोखराका विभिन्न साहित्यकार तथा कविहरूले आ–आफ्ना कविता वाचन गर्नुभएकाे थियाे । वाचन गर्नेहरूमा ईश्वरमणि अधिकारी, चैतन्य अधिकारी, शिव त्रिपाठी, ढाकामोहन बराल, देवेन्द्र केसी, तेजबहादुर गुरुङ, टीकाप्रसाद भण्डारी, मनोज गौतम, गौरव पौडेल, आशीष रेग्मीलगायतको उपस्थिति रहेको थियो ।
परिवारकी अध्यक्ष रीता अधिकारी ऋतुको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य साहित्य विभाग संयोजक केशु शर्माले गर्नुभएकाे थियाे भने सञ्चालन सचिव एमडी काफ्लेले गर्नुभएकाे थियाे ।

