साहित्यपोस्ट डट कम

सलहेस: गहबरदेखि झापसम्म

सलहेस: गहबरदेखि झापसम्म

मिथिलाञ्चलको समृद्ध लोकपरम्परा, सांस्कृतिक चेतना र सामाजिक संघर्षको इतिहासमा राजा सलहेस एक अद्वितीय र प्रेरणादायी लोकनायकका रूपमा स्थापित छन् । उनी केवल ऐतिहासिक पात्र मात्र होइनन्, जनआस्था, प्रेम, समानता र सांस्कृतिक आत्मसम्मानका प्रतीक पनि हुन् ।

मिथिलाको जनजीवनमा गहिरोसँग गाँसिएको उनको कथा लोकगीत, नाच, चित्रकला, गोदना (ट्याटु) तथा मूर्तिकला जस्ता विविध लोक अभिव्यक्तिहरूमार्फत आजसम्म जीवित छ । विशेषतः दलित समुदायको सांस्कृतिक आत्म पहिचानमा राजा सलहेसको स्थान अत्यन्त महत्त्वपूर्ण छ ।

इतिहासकार तथा साहित्यकार ब्रजकिशोर वर्मा ‘मणिपद्म’को अनुसार, राजा सलहेसको जन्म पाँचौँ वा छैटौँ शताब्दीमा मिथिलाको मोरङ क्षेत्रमा भएको मानिन्छ, जुन आजको नेपालभित्र पर्दछ । उनी दुसाध जातिका थिए, जसलाई कठिन कार्य सम्पन्न गर्न सक्ने साहसी र दक्ष समुदायका रूपमा चिनिन्छ । ‘सलहेस’ शब्द स्वयं ‘शैलेश’ को अपभ्रंश मानिन्छ, जसको अर्थ “पर्वतहरूको राजा” हुन्छ । यस नामले नै उनको वीरता, उच्चता र नेतृत्व क्षमताको संकेत गर्दछ ।

जनश्रुति अनुसार बाल्यकालदेखि नै विलक्षण प्रतिभा र साहसका धनी सलहेस सबै जाति र वर्गका मानिसप्रति समान व्यवहार गर्ने, सहृदय र न्यायप्रिय शासक थिए । तर, त्यति बेलाको सामाजिक संरचनाको कारण उनले विभेद र चुनौतीहरूको सामना गर्नुपरेको थियो । जीविकोपार्जनका लागि उनी पकडिया (हालको बिहार क्षेत्र) का राजा भीमसेनको दरबारमा दरबान बने । तर, उनको पराक्रम र ज्ञानले प्रभावित भई राजा भीमसेनले उनलाई आफ्नो व्यक्तिगत अंगरक्षक नियुक्त गरे ।

यही क्रममा उनको जीवनमा अर्को महत्त्वपूर्ण पात्र चुहरमल सँगको प्रतिस्पर्धा देखिन्छ । दुवै दुसाध समुदायका वीर थिए, तर प्रतियोगितामा सलहेस विजयी भएपछि चुहरमलमा ईर्ष्या उत्पन्न भयो । यस घटनाले सलहेसको वीरता मात्र होइन, सामाजिक प्रतिस्पर्धा र आन्तरिक द्वन्द्वलाई पनि उजागर गर्दछ ।

राजा सलहेसको शासनकाल मिथिलाको सांस्कृतिक पुनर्जागरणको काल मानिन्छ । जनश्रुतिअनुसार उनले आफ्नो राज्यलाई तिब्बती आक्रमणबाट बारम्बार जोगाए र आफ्नो नाम ‘शैलेश’ लाई सार्थक बनाए । उनले महिसौथा–सिरहा क्षेत्रलाई राजधानी बनाए, जहाँ आज पनि प्राचीन किल्लाका भग्नावशेषहरू पाइन्छन् । उनको शासनकालमा न्याय, सुरक्षा र सांस्कृतिक समृद्धिमा उल्लेखनीय प्रगति भएको मानिन्छ ।

राजा सलहेसको व्यक्तित्व केवल युद्धकौशलमा सीमित थिएन । उनी प्रेम, सौन्दर्य र मानवीय संवेदनाका प्रतीक पनि थिए । कुश्मा, मालिनी र चन्द्रावतीसँग जोडिएका उनका प्रेमप्रसंगहरू मिथिलाको लोकसाहित्यमा अत्यन्त लोकप्रिय छन् । विशेषतः सिरहाको सलहेस फूलबारीमा प्रत्येक वर्ष वैशाख १ गते फुल्ने अद्भुत माला आकारको फूललाई उनीहरूको अमर प्रेमको प्रतीक मानिन्छ । यस फूललाई साक्षी राखी प्रेमी युगलहरूले प्रणय सम्बन्ध बाँध्ने परम्परा आज पनि जीवित छ ।

मिथिलाको सांस्कृतिक अभिव्यक्तिमा ‘नाच’ अर्थात् नृत्य-नाटिकाको विशेष स्थान छ, जसमा राजा सलहेसको जीवनीलाई गीत, नृत्य र अभिनयमार्फत प्रस्तुत गरिन्छ । यसले केवल मनोरञ्जन मात्र होइन, ऐतिहासिक चेतना र सामुदायिक एकताको सन्देश पनि दिन्छ ।

राजा सलहेसको सांस्कृतिक प्रभाव विशेषतः गोदना र मूर्तिकला परम्परामा स्पष्ट देखिन्छ । दुसाध समुदायका महिलाहरूले आफ्नो शरीरमा गोदना खोप्ने परम्परा प्राचीन कालदेखि चलिआएको छ । यी गोदनामा सूर्य, चन्द्र, पशुपक्षी र विशेषतः राजा सलहेसका प्रतीकात्मक चित्रहरू अंकित गरिन्छन् । गोदना केवल सौन्दर्यको साधन नभई धार्मिक आस्था, सामाजिक पहिचान र सांस्कृतिक निरन्तरताको माध्यम हो ।

त्यस्तै, मूर्तिकलामा पनि राजा सलहेसको विशेष स्थान छ । प्रायः उनलाई घोडामाथि सवार, हातमा तरबार लिएका वीर पुरुषका रूपमा चित्रित गरिन्छ । गाउँका ब्रह्मस्थान वा गहवरमा स्थापित यी मूर्तिहरूले उनलाई ग्रामदेवताका रूपमा प्रतिष्ठित गरेका छन् । पहिले गाउँको बाहिरी क्षेत्रमा मात्र सीमित यी गहवरहरू आज दलित बस्तीभित्र मात्र नभई अन्य समुदायमा पनि सम्मानका साथ स्थापित हुन थालेका छन् ।

लहान बजारदेखि करिब ४ किलोमिटर पश्चिमतिर ऐतिहासिक तथा धार्मिक स्थलका रूपमा राजा सलहेशको फूलबारी अवस्थित छ। यस फूलबारीमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन मेला लाग्ने गर्दछ । सलहेश गहवरमा राजा सलहेशसहित विभिन्न सहायक मूर्तिहरूको निर्माण तथा रंगरोगन गरिन्छ। कुनै समय देवी–देवताका लागि चढाइने मूर्तिहरू बजारबाट किनिँदैनथे । आवश्यकताअनुसार मूर्तिहरू कुम्हारबाट बनाइन्थे र बदलामा धोती, सारी तथा अन्न दिने चलन थियो। प्रत्येक घरपरिवारसँग आफ्नै कुम्हार हुने गर्दथ्यो, जसलाई वार्षिक रूपमा अन्न दिइन्थ्यो, जसलाई ‘साली’ भनिन्थ्यो ।

केही वर्ष अघिसम्म मिथिलाका शिल्पकारहरू चित्रकार, कुम्हारहरूले प्राकृतिक रंगहरूको मात्र प्रयोग गर्दथे । उनीहरूले वनस्पति तथा खनिजबाट रंग तयार पार्थे । समतोला रंग गोदावरी र सिंगहारका फूलबाट, नीलो रंग नीलबाट, पहेंलो रंग बेसारबाट, र रातो रंग गेरु माटोबाट बनाएर माटाका भाँडाहरू रंगाइन्थे । साथै चुनबाट सेतो र रोसनाइ ( मसी) बाट कालो रंग बनाउने प्रचलन थियो । तर आजभोलि आधुनिक रंगहरूले प्राकृतिक रंगहरूलाई पूर्ण रूपमा विस्थापित गरेको देखिन्छ ।

सरकार र हाम्रो दायित्व: सिरहा जिल्लाभित्र रहेका राजा सलहेशसँग सम्बन्धित धार्मिक स्थलहरूको खोज तथा अनुसन्धान गरी सरकारी संरक्षणमार्फत नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ । पुरातात्त्विक महत्त्व भएका अवशेषहरूको उत्खनन गरी राज्यले यसको विकास गरेमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढ्न सक्छ । मिथिलाको यस्ता गौरवशाली ऐतिहासिक धरोहरहरूको संरक्षण, संवर्द्धन र विकासका लागि सरकारले अग्रसरता देखाउन आवश्यक छ । राष्ट्रिय गौरवका रूपमा रहेका यस्ता अद्भुत फूलहरूको सरकारी तहबाट प्रचार–प्रसार मात्र होइन, वनस्पति वैज्ञानिकहरूको सहयोगमा यस क्षेत्रका फूलहरूको थप विस्तार गर्नु पनि आवश्यक छ ।

प्रेम त अमर हुन्छ: राजा सलहेशले भनेझैं, प्रेम अमर हुन्छ। प्रेम युग–युगान्तरसम्म जीवित रहन्छ, र यसलाई न समाजले रोक्न सक्छ, न त कुनै पहाडले छेक्न सक्छ ।

मिथिलालोक चित्रकलामा पनि राजा सलहेसको प्रभाव उल्लेखनीय छ । १९७० को दशकतिर जब मिथिला चित्रकला कागजमा उतारिन थाल्यो, त्यसमा प्रारम्भमा ब्राह्मणीय विषयवस्तुको प्रभुत्व थियो । तर, दलित कलाकारहरूले आफ्नो अनुभव, संघर्ष र पहिचानलाई अभिव्यक्त गर्न गैर-ब्राह्मणीय विषयहरू समेट्न थाले । जो कुरा मिथिला कला सम्बन्धी विभिन्न शोधपत्रहरु बाट पुष्टि हुन्छ । यही क्रममा राजा सलहेस उनीहरूको चित्रकलाको केन्द्रबिन्दु बने ।

कला समिक्षक सुनील कुमारले भन्नुहुन्छ “जितवारपुर र लहरियागञ्ज ( बिहार ) गाउँका पासवान कलाकारहरूले सलहेसलाई आफ्नो सांस्कृतिक नायकका रूपमा चित्रण गर्न थाले । प्रारम्भमा राम–कृष्णका चित्र बनाउँदा भोग्नुपरेको सामाजिक विरोध र हिंसापछि उनीहरूले आफ्नै परम्परा, पेशा र नायकहरूलाई चित्रमा उतार्न थाले । यसले मिथिला चित्रकलामा नयाँ आयाम थप्यो, जसलाई ‘दलित पेन्टिङ’ को रूपमा चिनिन थाल्यो ।”

विदेशी मानवशास्त्री एरिका मोजरको सुझावपछि पासवान समुदायका महिलाहरूले आफ्नो घरको भित्तामा बनाइने चित्रहरू कागजमा उतार्न थाले । यसमा गोदना, लोकदेवता र विशेषतः राजा सलहेसका चित्रहरू प्रमुख विषय बने। यसले अन्तर्राष्ट्रिय स्तरमा पनि यस कला र संस्कृतिलाई पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

राजा सलहेसको गाथा केवल अतीतको स्मृति होइन, वर्तमानको प्रेरणा पनि हो । उनी समानता, न्याय र सांस्कृतिक आत्मसम्मानका प्रतीक हुन् । आज जब समाजमा विविधता र समावेशिताको कुरा उठिरहेको छ, सलहेसको जीवन र संघर्षले हामीलाई सामाजिक विभेदविरुद्ध उभिन र सांस्कृतिक सम्पदाको संरक्षण गर्न प्रेरित गर्दछ। साथै, उनीसँग सम्बन्धित ऐतिहासिक स्थलहरूको संरक्षण, अनुसन्धान र प्रवर्द्धन गर्न राज्यले सक्रिय भूमिका खेल्नुपर्छ । यसले न केवल सांस्कृतिक धरोहरको रक्षा गर्नेछ, तर पर्यटन प्रवर्द्धनमार्फत आर्थिक विकासमा पनि योगदान पुर्‍याउनेछ ।

अन्ततः, राजा सलहेस प्रेम, साहस र समानताको अमर प्रतीक हुन् । मिथिलाको माटोमा फुल्ने त्यो अद्भुत फूलझैँ, उनको कथा पनि युगौँयुगसम्म मानव हृदयमा फुलिरहनेछ । गोदना, चित्रकला, मूर्तिकला र भाखलको रूपमा चढाइने ‘झाप’ मार्फत अभिव्यक्त हुने उनको सांस्कृतिक विरासतले हामीलाई हाम्रो पहिचान र इतिहासप्रति गर्व गर्न सिकाउँछ ।

‘झाप’ आराधना कलाकृतिको एक अनुपम नमुना हो । देवी-देवतालाई सामान्यतः पुष्प, मिष्ठान र नैवेद्यले आराधना गरिन्छ । मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना “कोढिल”(पानीमा पाइने एक प्रकारको वनस्पति ) को सहाराले खडा गरी, त्यसलाई सेतो कागजले बेरेर शिखर शैलीमा मन्दिरको आकार दिइन्छ । अनि त्यसमा स-सना “पिहुआ” सिन्कमा कपास वा कपरा बेरी बनाइएको कुची बाट रंगीन कलाकृति बनाएर देवतामा अर्पण गर्नु आराधना वा उपासनाको एक अद्वितीय विधि हो । यसलाई ‘झाप’ भनिन्छ । साधरणतया मैथिली लोक भाषामा झाप्नु भनेको छोप्नु हो, अर्थात् संरक्षण गर्नु हो । देख्दा कुनै बस्तुलाई छोप्न प्रयोग गरिने जस्तो देखिने हुँदा यसलाई ‘झाप’भनिएको हुनुपर्छ ।

यसैले, राजा सलहेस केवल एक पात्र होइनन्, मिथिलाको आत्मा हुन्—जो आज पनि जनजनको मनमा जीवित छन् ।

नव वर्ष २0८३ को हार्दिक मंगलमय शुभकामना ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.