साहित्यपोस्ट डट कम

सकस र सन्तुष्टिमा मेरा अनुभूति

सकस र सन्तुष्टिमा मेरा अनुभूति

मन त हो, कुन बेला कुन क्षितिजमा पुग्छ पत्तै हुँदैन । कार्यालयको कोलाहलमा रम्ने मेरो स्वभाव कहिल्यै रहेन, तर जब सूचना पाटीमा नयाँ सन्देश झुण्डिन्छ, डिजिटल कर्मचारी समुहमा सूचनाको घण्टी बज्छ, मेरा आँखा स्वतः तानिन्छन् । यसपटक पनि त्यस्तै भयो— निर्वाचनमा खटिने कर्मचारीहरूको नामावलीमा आफ्नो नाम भेटिएपछि एउटा नयाँ जिम्मेवारीको बोध भयो । सार्वजनिक पदमा हुनु भनेको केवल जीविकोपार्जन मात्र होइन, यो त इमानदारिता र कर्तव्यको ऐना पनि हो । फागुन २१, २०८२ मा तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको यो महायज्ञ मेरा लागि ‘अग्निपरीक्षा’ जस्तै थियो ।

तयारी स्वरूप क्षेत्र नं. १ का हामी कर्मचारीहरूका लागि फागुन १५ गते धुलिखेल नगरपालिकाको विशाल सभाहलमा अभिमुखीकरण कार्यक्रम तय भयो । मञ्चमा प्रमुख जिल्ला अधिकारी श्री गोपालकुमार अधिकारीज्यूको अध्यक्षता र जिल्ला निर्वाचन अधिकृत एवं माननीय जिल्ला न्यायाधीशज्यूको गरिमामय उपस्थिति थियो । सेना, प्रहरी र प्रशासनको त्यो बाक्लो जमघट देख्दा लाग्थ्यो— यो केवल कार्यक्रम होइन, लोकतन्त्रको रक्षाका लागि कसिएको एउटा अभेद्य किल्ला हो ।

जिल्ला निर्वाचन अधिकृतज्यूका शब्दहरू हलमा गुन्जिए— “निर्वाचन कुनै खेल होइन, यो त एउटा साझा राष्ट्रिय संकल्प हो ।” मतदान केन्द्रको चौघेराभित्र पसेपछि मतदान अधिकृत स्वयंमा “निर्वाचन आयोग” र “न्यायाधीश” दुवै हो । निर्वाचन सामग्रीको थैलो बुझेपछि फर्कने कुनै चोरबाटो हुँदैन; एउटा सानो हस्ताक्षर छुट्नु वा एउटा अनुसूची बिर्सनु भनेको लोकतन्त्रको कडी टुट्नु हो । हलमा उठेको “मञ्जुरीनामा” मार्फत् अरूको भोट हाल्ने जिज्ञासामा श्रीमानको मार्मिक जवाफ थियो— “मतदान यस्तो आत्मिक अधिकार हो, जुन न साट्न सकिन्छ, न कसैलाई सुम्पिन नै सकिन्छ ।”

कार्यक्रम अघि बढ्दै जाँदा सुरक्षाको पाटो अझै गम्भीर बन्यो । ट्राफिक प्रहरी प्रमुखले सवारी रुटको खाका राख्नुभयो भने सुरक्षा निकायका प्रमुखहरूले ‘अभयदान’ दिँदै भन्नुभयो, “तपाईंहरू निर्धक्क खटिनुहोस्, हामी हरेक मोडमा तैनाथ छौँ ।” सेना तेस्रो घेरामा भए पनि आवश्यकता परे जुनसुकै घेरा चिरेर रक्षामा आउने आश्वासनले मनको त्रास पखालियो । सशस्त्र प्रहरी बलका माधव रेग्मीज्यूले निष्पक्ष र भयरहित मतदानका लागि “अर्जुन दृष्टि” र टिमवर्कको महत्त्व दर्साउनुभयो । जिल्ला प्रहरी प्रमुख एस.पी. कोमल शाहको आवाजमा एउटा ओज थियो— “राज्यले सुम्पेको यो गरिमा राख्ने जिम्मा अब तपाईंको काँधमा छ ।”

अन्त्यमा, प्रमुख जिल्ला अधिकारी श्री गोपालकुमार अधिकारीज्यूले निर्देशनात्मक र आत्मीय समापन गर्दै भन्नुभयो, “आजदेखि तपाईंहरू आफ्ना व्यक्तिगत आस्था र झुकावलाई कार्यालयकै टेबुलमा छाडिदिनुहोस् । अब तपाईंहरू केवल राज्यको अटल विश्वासका धरोहर हुनुहुन्छ ।” उहाँले मतपेटिकासँगै आफ्नो हृदयलाई पनि संवेदनशील बनाउन र कुनै पनि प्रलोभन वा अफवाहबाट टाढै रहन सचेत गराउनुभयो ।

अभिमुखीकरणको अन्तिम प्रहरमा मतदान केन्द्रका संरचना र सुरक्षाका मसिना छिद्रहरूमाथि सघन विमर्श भयो । हाम्रा आँखाअगाडि कतै व्यवस्थित घेराबार त कतै खुल्ला आकाशमुनिका संरचनाहरू नाचिरहेका थिए । “व्यवस्थापनको सानो दरारले पनि भीड उत्तेजित हुन सक्छ, त्यसैले समन्वय नै मूलमन्त्र हो” भन्ने नेतृत्वको स्वर हलभरि गुन्जिरह्यो । हामी जब हलबाट बाहिरियौँ, तब हामी केवल कर्मचारी थिएनौँ— देशको भाग्य सुरक्षित राख्ने मतपेटिकाका जिउँदा रक्षक बनिसकेका थियौँ । हाम्रो मनमा ‘तटस्थ, निष्पक्ष र स्वच्छ’ निर्वाचन सम्पन्न गराउने एउटा बलियो प्रतिज्ञा अङ्कित भइसकेको थियो ।

त्यसपछि निर्वाचन अधिकृत टीका भूषण घिमिरेज्यूको निर्देशनात्मक वाणी शुरु भयो । उहाँको प्रस्तुतिमा एउटा कुशल व्यवस्थापकको गहिराइ र स्पष्टता थियो । उहाँले भन्नुभयो, “जहाँ मजबुत योजना बन्छ, त्यहाँ आधा सफलता त शुरुमै हासिल हुन्छ ।” निर्वाचन वास्तवमा नियमको एउटा यस्तो खेल हो, जहाँ मैदानमा उत्रनुअघि नै खेलाडीले हरेक नियमलाई आफ्नो रगतमा आत्मसात् गर्नुपर्छ । उहाँले एउटा सुन्दर दर्शन व्यक्त गर्नुभयो— “मन्त्र नहुने कुनै अक्षर हुँदैन, औषधि नहुने कुनै जरा हुँदैन र काम नलाग्ने कुनै मानिस हुँदैन; अभाव छ त केवल ती सबैलाई जोड्ने एउटा कुशल योजकको ।” आज हामी त्यही योजक बनेर लोकतन्त्रका विभिन्न अवयवहरूलाई एउटै मालामा गाँस्न उभिएका छौँ ।

क्षेत्र नं. १ को त्यो पहिलो सत्रमा व्यावहारिक अनुभवहरूको एउटा ताजा लहर चल्यो । निर्वाचनको त्यो ऐतिहासिक घडी अर्थात् फागुन २१ गते, जुन हाम्रो जीवनको क्यालेन्डरमा कहिल्यै नमेटिने एउटा अमिट रेखा थियो । कानूनका ठेलीहरूमा लेखिएका प्रतिनिधि सभा सदस्य निर्वाचनका दफाहरू केलाउँदै गर्दा एउटा गहिरो बोध भयो—यो केवल नागरिक अधिकारको प्रयोग मात्र होइन, यो त राष्ट्रको जग बलियो बनाउने कर्तव्य पनि हो ।

हामीलाई सामान्य लाग्ने साना कुराहरू—जस्तै मतपत्रमा प्रयोग गरिने मसीको गाढापन, नङमा लगाइने मसीको सुरक्षा र स्वस्तिक छापको स्पष्टता—तिनैले वास्तवमा निर्वाचनको वैधता र निष्पक्षता तय गर्दा रहेछन् । पितृका नाममा भोट हाल्न खोज्नेलाई कानूनको मर्यादा सिकाउनुपर्ने, अशक्तका लागि आफैँ सहारा बन्नुपर्ने, तर सर्वदलीय सहमतिबिना एउटा पाइला पनि सार्न नहुने—यो यात्रा कति संवेदनशील र जोखिमपूर्ण ! बिहान ६ बजेको मिरमिरेदेखि नै कार्यक्षेत्रमा तैनाथ हुनुपर्ने, मुचुल्काका हरेक अक्षरलाई बारम्बार रुजु गर्नुपर्ने र मतपेटिकाको स्टिकरमा विवरण भर्दा एउटा ‘सर्जिकल’ शुद्धता अपनाउनुपर्ने ।

यसपालिको निर्वाचन ‘ग्रिन इलेक्सन’ को वातावरणमैत्री अवधारणामा बुनिएको रहेछ । मतपत्र समाउँदा लाग्न सक्ने औँठाछापको मसी पुछ्न टालोको व्यवस्थादेखि लिएर सिल लगाउँदाको उल्टो–सुल्टो सम्मका सूक्ष्म विषयले त्यहाँ ठूलो अर्थ राख्थे । उहाँले अन्त्यमा एउटा गम्भीर सत्यको ऐना देखाउनुभयो— “निर्वाचनमा हुने ९९ प्रतिशत झै-झगडा हाम्रै सानो मानवीय असावधानीले निम्तिन्छन्, बाह्य कारण त केवल १ प्रतिशत मात्र हो ।” निविदा मतपत्रको जटिलता र नाम ढाँटेर भोट हाल्नेहरूसँग कानूनी रूपमा कसरी जुध्ने भन्ने व्यावहारिक अभ्यासले हामीलाई एउटा परिपक्व प्रशासकका रूपमा तयार पार्यो ।

जब मतपेटिका सिलबन्दी गर्ने अन्तिम व्यावहारिक अभ्यास सकियो, तब १५ गतेको त्यो अभिमुखीकरण केवल एउटा तालिममा सीमित रहेन । त्यो त एउटा राष्ट्रिय संकल्प बन्यो । हामी हलबाट बाहिरिँदा काभ्रेका पहाडहरूमा अस्ताउँदो घामको लाली पोतिएको थियो तर हाम्रो मनभित्र भने फागुन २१ को त्यो ऐतिहासिक बिहानीको तीव्र प्रतीक्षा र उत्साहको सूर्योदय भइरहेको थियो ।

समयको पाङ्ग्रा १७ गतेको सूचनासँगै तीव्र गतिमा घुम्न थाल्यो । निर्वाचन सामग्री बुझ्ने तालिका सार्वजनिक भयो— पनौती नगरपालिकाका लागि १०ः४५ को समय । मनमा एउटा जिम्मेवारीको हुटहुटी थियो, तर समन्वयको कडी भने सोचेजस्तो कसिलो हुन सकेन । मतदान अधिकृत ठाकुर प्रसाद दाहालज्यूसँगको संवाद अपेक्षित रूपमा सहज भइरहेको थिएन । निर्वाचन जस्तो गहन र सामूहिक महायज्ञमा एक्लै अघि बढ्नु ‘अँध्यारोमा ढुङ्गा हान्नु’ जस्तै जोखिमपूर्ण हो भन्ने मलाई लागिरह्यो ।

मैले नै अग्रसरता लिएर सोधेँ, “ सर, सामग्री बुझ्न म आउनु पर्दैन र ? रुजु गर्न त भरपर्दो सहयात्री चाहिन्छ नि !” तर उहाँको जवाफमा कुनै स्पष्ट दिशा थिएन । “ त्यतैको कोही साथी लिउँला नि” भन्ने उहाँको हल्का शब्दले मलाई शारीरिक रूपमा त आराम दियो, तर मानसिक रूपमा भने झन् चिन्तित बनायो । २०५४ सालदेखि चुनावको मोर्चामा खटिएको मेरो अनुभवले भन्छ— चुनावी मैदानमा सानो असावधानी पनि निकै महँगो पर्न सक्छ । एउटा सानो कागजी रुजु वा सामग्रीको अभावले पछि मतदान केन्द्रमा ठूलो भुमरी निम्त्याउन सक्छ भन्ने सत्यलाई उहाँको मौनताले शायद बुझिरहेको थिएन ।

१८ गते, बहिनी समानकी निर्मलाको साथ लागेर म पनौतीतर्फ सोझिएँ । बाहिर होलीको रङ र उल्लास थियो, तर हाम्रो टोली भने एउटा गम्भीर राष्ट्रिय संकल्प बोकेर गाडीमा हुइँकिएको थियो । मनको संशय नमारेर मैले फेरि मतदान अधिकृतलाई फोन गरेँ । उहाँ सामग्री बुझेर कार्यक्षेत्रतिर लाग्ने तरखरमा हुनुहुँदो रहेछ । पनौती नगरपालिकाको प्राङ्गण कर्मचारीहरूको बाक्लो भिडले कुनै उत्सवको तयारी भइरहेको मेला जस्तै देखिन्थ्यो ।

हामी जब हाम्रो तोकिएको कार्यक्षेत्र ‘बालोद्धार मावि’ पुग्यौँ, त्यहाँको दृश्यले मनमा एकप्रकारको सन्नाटा छाडिदियो । त्यो विद्यालय कुनै थाकेकी बुढी आमा जस्तो देखिन्थ्यो—जिरिङ्ग परेको शरीर, अनि हड्डी र छाला जस्तै अस्वाभाविक अग्लो–होचो प्राङ्गण । आँखाका डिल चाउरिए जस्तै झुण्डिएका तारजालीका बारहरू, अनि नकोरेर लट्टा परेको कपाल जस्तै फिँजारिएका बुढो पिपलका जराजरीहरू । त्यहाँको “बालमैत्री” भनिएको धाराको भग्नावशेष र फुङ्ग उडेको अनुहार बोकेर उभिएको त्यो जीर्ण भवनले आफ्नै उपेक्षित व्यथा भनिरहेको भान हुन्थ्यो ।

शुरुमा स्थानीय शिक्षकको केही चिसो व्यवहारले मनलाई थोरै चस्स बनायो तर हामी त निजी स्वार्थ होइन, सेवाको विशाल भाव बोकेर त्यहाँ पुगेका थियौँ । बिस्तारै सुरक्षाकर्मी र कर्मचारी साथीहरूबीचको समन्वयले एउटा लय समात्यो । मतदान केन्द्रको त्यो नीरव रातमा मदिरा निषेध र मौन अवधिको सूचना टाँस्दै गर्दा, मध्यरातको सन्नाटामा लोकतन्त्रको एउटा अजङ्गको भार हाम्रो काँधमा आएर थुप्रिएको गहिरो आभास भयो ।

१९ गतेको बिहान । ‘क’ र ‘ख’ केन्द्रका २५ जनाको टोली चुनावी रणनीति बुन्न व्यस्त थियौँ । उता रामेछापमा गाडी दुर्घटना भएको र कतै मतदान अधिकृत बेहोस भएको जस्ता खबरले मन चिसो बनाइरहेको थियो । तर, राष्ट्रको यति ठुलो जिम्मेवारी काँधमा लिएपछि हामीसँग डगमगाउने कुनै सुविधा थिएन ।

त्यसपछि शुरु भयो—निर्णायक सर्वदलीय बैठक । नेपाली कांग्रेस, एमाले, नेकपा र रास्वपाका प्रतिनिधिहरूसँगको संवादमा एउटा बलियो राजनीतिक र प्रशासनिक समझदारी बन्यो । ३०० मिटरको परिधिभित्र पूर्ण शान्ति, मदिरा निषेध, र सक्कल कागजातबिना मतदान नगराउने साझा अठोट गरियो । अशक्तका लागि एकाघरको सदस्य र विद्यालयकै कर्मचारीलाई स्वयंसेवक राख्ने निर्णयले अन्योलका बादल हटाएर काममा स्पष्टता ल्यायो । बाहिर रातको नीरव सन्नाटा थियो तर मेरो मनभित्र भने फागुन २१ को लोकतान्त्रिक महायज्ञ सफल पार्ने संकल्पको ज्वारभाटा उठिरहेको थियो ।

२० गतेको झुल्के घामसँगै बुथ निर्माणको चटारो शुरु भयो । कोही बाँस ठड्याउँदै थिए त कोही डोरी तानेर गन्तव्य रेखा कोर्दै । मेरो काँधमा भने ३२ वटा मुचुल्काका फाइल सुव्यवस्थित पार्ने र चारै दलका प्रतिनिधिको परिचयपत्र तयार पार्ने गहन जिम्मेवारी थियो । साथीहरू मलाई “अनुभवी सहयात्री” ठानेर राय मागिरहन्थे, जसले मलाई शारीरिक रूपमा थकाए पनि मानसिक रूपमा झन् चनाखो बनाइरहेको थियो । नमुना मतदान सकेर साँझ पर्दा विद्यालयको त्यो जीर्ण आँगनमा भोलिको ऐतिहासिक सूर्योदयको बलियो जग बसिसकेको थियो ।

रात छिप्पिँदै जाँदा चिन्ता पनि गाढा हुँदै गयो । खुल्ला बाटो र छेउमै मन्दिर—सुरक्षाको संशयले मन व्याकुल भयो । सुरक्षा कमान्डरको आश्वासनले पूर्ण शान्ति दिन सकेन । अचम्म लाग्छ, बदलिँदो समयसँगै मानिसका स्वभाव पनि कति फेरिएका ! फौजी अनुशासनमा हुर्किएको मलाई सुरक्षाकर्मीहरूको मोबाइलप्रतिको आसक्ति र ‘लोसे’ पारा देख्दा रिस उठ्थ्यो । रातको बास, साँघुरो कोठामा चारजना कोचिएर भयो । ‘ख’ केन्द्रको मतदान अधिकृत तुलसा रेग्मीज्यू पहिलो पटकको जिम्मेवारीले आत्तिनुभएको थियो; उहाँको डरलाई मेरो अनुभवले मलम लगाउँदै गर्दा रातको ३ बजिसकेछ ।

बिहान ३ बजे तुलसा म्यामको आवाजले निन्द्रा टुट्यो । बाहिर रातको शीतल हावाले निद्रा त भगायो तर चिन्ता अझ ब्युँझाइदियो । निर्वाचन प्रहरी शन्तलालले भान्सामा सघाए पनि कतिपयमा देखिएको “अपनत्व” को खडेरीले मन खिन्न भयो । त्यतिबेला बोध भयो—केवल पुरानो अनुभवले मात्र यो फेरिएको समयसँग जुध्न सकिँदैन । तर, २०५४ सालदेखिको मेरो “अनुभवी” काँधलाई मतपेटिकाको गरिमा जोगाउन अझै दरिलो बनाउनु थियो ।

बिहानको ५ बज्दा नबज्दै आफन्तलाई ‘शुभबिहानी’ पठाएर म कर्मक्षेत्रमा होमिएँ । थाकेका साथीहरूलाई तातो पानी पिलाएर ऊर्जा भरेँ । ठिक ६ः३० बजे राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा रित्तो मतपेटिका देखाएर बन्द गर्ने मुचुल्का, स्वस्तिक छापको जाँच र मतपत्रको सिलबन्दी प्याकेट खोल्ने कार्य शुरु भयो । हरेक अक्षर भर्दै गर्दा लाग्यो—मेरा औँलाहरूमा आज सिङ्गो राज्यको विश्वास नाचिरहेछ । फागुनको चिसो सिरेटोलाई चिर्दै मतदाताको लामो लाम लागिसकेको थियो । ठिक ६ः५५ मा “मतदान प्रारम्भ” भएको घोषणा गर्दा लाग्यो—म लोकतन्त्रको पुनर्जन्मको जीवित साक्षी बनिरहेको छु ।

निर्वाचन सामग्रीहरू रुजु गर्ने क्रममा पित्तलको स्वस्तिक छाप, लाहाछाप, सलाई, मैनबत्ती र कोरा कागजका थैलाहरू—जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएका यी स–साना लाग्ने तर शक्तिशाली सामग्रीहरू जोहो गर्दै मतदानको औपचारिक शङ्खघोष भयो । ६ः५५ को त्यो घडीपछि मतदाताहरूको एउटा विशाल लहर उर्लियो । ज्येष्ठ नागरिक र अशक्तहरूलाई लाइनको झन्झटबाट मुक्त गर्दै सम्मानपूर्वक भित्र्याउँदा मनमा एउटा अनौठो शून्यता र सन्तुष्टिको सङ्गम महसुस भयो । मेरो स्थिति भने अचम्मको थियो—म कतै एउटै बिन्दुमा स्थिर हुन सक्ने अवस्थामै थिइनँ । कहिले लाइनको व्यवस्थापन मिलाउन पुग्छु, कहिले मतपेटिकाको सुरक्षा कवच नियाल्छु, त कहिले तथ्याङ्क रुजु गर्ने डेस्कमा आँखा पुर्याउँछु । एउटा सानो मानवीय त्रुटि मात्र भयो भने पनि दिनभरिको मिहिनेत “बालुवामा खन्याएको पानी” जस्तै व्यर्थ हुने डरले मलाई एक पल पनि विश्राम लिन दिएन ।

सुरक्षाको पाटोमा मेरो दृष्टि अलि बढी नै तीखो र निर्मम भयो । एकजना महिला मतदाता उल्टो बाटोबाट बाहिरिन खोज्दा सुरक्षाकर्मीको ध्यान अन्तै मोडिएको देखेपछि मेरो पारो एकाएक तात्यो । “के ड्युटी गर्नुहुन्छ सर ? उता हेर्नुस् त !”—अलि कडा स्वरमै गर्जिएँ । जुँगा बटारेका ती सुरक्षाकर्मीहरूको ढिलो पारा र लापरवाह शैली देख्दा मलाई फेरि बुबाले सिकाउनुभएको फौजी अनुशासनको खडेरी खड्कियो । आफ्नो केन्द्रमा मात्र होइन, छेउकै ‘ख’ केन्द्रमा पनि मेरो आँखा र मन बराबर डुल्थ्यो । त्यहाँकी मतदान अधिकृत तुलसा म्यामको ओइलाएको अनुहार देख्दा मनै अमिलो भएर आयो । रातभरिको अनिदो र जिम्मेवारीको बोझले थाकेकी उहाँको शरीरमा ऊर्जा भर्न मैले खल्तीमा लुकाएर लगेका उसिनेको अण्डा र स्याउ एउटा “जादुई ओखती” सावित भए । शुरुमा त उहाँले हच्किँदै मान्नुभएन, तर पछि “मैडम अघिको छ ?” भन्दै खुसुक्क खानुभएको त्यो दृश्य देख्दा एउटा सत्य बोध भयो—यो निर्वाचन केवल कागज र मतपत्रको सुक्खा खेल होइन, यो त मानवीय संवेदना र सहकार्यको एउटा सुन्दर माला पनि हो ।

मतदान अधिकृत ठाकुर, सन्तोष, विष्णु, मिलन, कल्याणी र सुखलक्ष्मीहरूलाई पनि मैले भोको रहन दिइनँ । मलाई थाहा थियो—यदि उनीहरू भोकाए भने मतपत्र च्यातिन सक्छ, हस्ताक्षर छुट्न सक्छ वा मसीको दाग गलत ठाउँमा पर्न सक्छ । तिनीहरूका आँखा तिरमिराउनु भनेको सिङ्गो लोकतन्त्रको आँखा धमिलिनु हो भन्ने चिन्ताले मलाई निरन्तर घच्घच्याइरह्यो ।

चेकिङकै क्रममा एकजना मतदाताको खल्तीमा अस्वाभाविक उभार देखेर मेरो अनुभवी मन झस्कियो । नजिकै गएर सुटुक्क मोबाइल थुत्दा म नै अवाक् भएँ—एक थान होइन, एकपछि अर्को गर्दै तीन–तीन थान मोबाइल ! मन भित्रभित्रै आक्रोशित भयो; सुरक्षा टोलीले गेटमा के जाँच गरेछन् ? तर, ठुलो स्वरमा हल्ला गर्दा मतदानको शान्त माहोल बिग्रने र भीड उत्तेजित हुने डरले मैले संयमता अपनाएँ । चुपचाप ती मोबाइलहरू बरामद गरेर सुरक्षा कमान्डरको कानमा सुस्तरी तर दृढ स्वरमा भनेँ— “चेकिङ अलि कडा पार्नुस्, यहाँ सुरक्षाको सानो छिद्र देखियो ।“ उनी आत्तिए, तर मैले आफ्नो आत्मविश्वासले परिस्थितिलाई सम्हालेँ ।

मतपेटिकाभित्र मतपत्रहरू भरिँदै जाँदा, बेलाबेला स्केलले थिचेर ठाउँ बनाउँदै र मसी सुके–नसुकेको जाँच गर्दै म कुनै अनुशासित ‘सिपाही’ जस्तै अविराम हिँडाइमा खटिरहेँ । जिन्दगी सधैँ सजिलो र चिल्लो बाटोमा मात्र बग्दैन भन्ने सत्य आज झन् प्रष्ट भयो । तर, यो असजिलो र चुनौतीपूर्ण मोडमा आफूलाई यसरी राष्ट्रका लागि समर्पित गर्न पाउनुमा एउटा छुट्टै गौरवबोध भइरहेको थियो ।

दिनको दुई बजिसकेको थियो । बिहानको मिरमिरेदेखि एउटै लयमा खटिएको शरीर अब बिस्तारै थाक्न थालेको थियो । पैतालाहरूले विद्रोह गरिरहेका थिए र खुट्टाको पुरानो व्यथाले जुत्ताभित्रै चहर्याइरहेको थियो । नरम चप्पल फुकालेर जुत्ता त कसेँ तर शरीरको त्यो पीडाभन्दा काँधमा भएको जिम्मेवारीको भारी कता हो कता गह्रौँ थियो । करिब ७० प्रतिशत मत खसिसकेको थियो । बिहानको त्यो अनन्त लाग्ने लामो लाइन अब बिस्तारै पातलिँदै गयो र मतदान केन्द्रमा एकप्रकारको गम्भीर शून्यता छाउन थाल्यो । “अब त एक–दुईजना मात्र बाँकी होलान्”—प्रतिनिधिहरूको यो आश्वासनले खुट्टाको पीडामा अलिकति मल्हम लगायो । मतदाताहरूका आफ्नै तर्क र रङहरू थिए—कसैका आँखामा आफ्नो एक मतले देश फेरिने सपनाको चमक थियो, त कोही “भोट त हाल्ने हो नि ” भन्दै उदासीन भावमा थिए । तर मेरो कानमा भने अभिमुखीकरणको त्यो चेतावनी निरन्तर गुञ्जिरहेको थियो— “तपाईंको एउटा सानो गल्तीले सिङ्गो निर्वाचन धुमिल हुन सक्छ ।” त्यसैले, कसैको गुनासो वा आक्रोशमा दोहोरो बहस गरिनँ, केवल एउटा मौन मुस्कानका साथ कर्तव्यको कठिन बाटो रोजिरहेँ ।

घाम बिस्तारै पश्चिमतिर ढल्कँदै गयो र विद्यालयको प्राङ्गणमा छायाहरू लामा भएर आए । ५ बज्नै लाग्दा हामी पाँचजना कर्मचारीहरूले पनि आफ्नो “अस्थायी” मताधिकारको प्रयोग गर्यौं । तर एउटा विडम्बना खड्कियो— ठाकुर सरको परिचयपत्र नम्बर नहुँदा उहाँले आफ्नै व्यवस्थापनमा भएको निर्वाचनमा मत हाल्न पाउनुभएन । निर्वाचन आयोगले आधारभूत औषधि वा समय हेर्ने घडीको समेत व्यवस्था नगरे पनि हामीले मानवीयताको नाताले आफैँ सबै व्यवस्था गर्यौं । मतदान अधिकृतको घडीलाई साक्षी राखेर ठिक ५ बजे तालीको गडगडाहटबीच मतदान कार्य समाप्त भएको घोषणा भयो । त्यो ताली केवल समय सकिएको सङ्केत मात्र थिएन, त्यो त एउटा ठुलो लोकतान्त्रिक महायज्ञ निर्विघ्न सम्पन्न भएको सामूहिक खुसीको सुस्केरा थियो ।

त्यसपछिको समय वास्तविक ’कागजी युद्ध’ को थियो । मतपेटिकाको मुचुल्का उठाएर सेतो कोरा कपडाले मतपेटीकालाई बेरेँ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फका मतपेटिकामा पाँच–पाँचवटा सुरक्षण सिल लगाउँदा मलाई महसुस भयो, म कुनै साधारण बाकस होइन, देशको भविष्य सुरक्षित गरिएको बहुमूल्य खजानालाई सिलबन्दी गर्दैछु । यसपछि मतपत्रको फाँटवारी तयार गर्ने जटिल काम भयो । जम्मा मतपत्र संख्या र प्रयोग भएका मतपत्रको क्रमसंख्या (देखि–सम्म) एवं खर्च भएको मतपत्रको क्रमसंख्या (देखि–सम्म) दुवैतर्फ मिलाएर तयार गरियो । मतपत्रका अर्धकट्टीहरूलाई पहेंलो खाममा राखेर दुई थान लाहाछाप लगाइयो । रुजु मतदाता नामावलीअन्तर्गतका कालो, रंगीन र अस्थायी नामावलीहरूलाई छुट्टाछुट्टै खामबन्दी गरियो । हरेक अङ्कलाई सलाई र मैनबत्तीको मधुरो प्रकाशमा लाहाछाप लगाउँदा मेरा औँलाहरूमा एक प्रकारको कम्पन र गौरवबोध थियो ।

कागजी प्रक्रियाको अन्तिम प्रहरमा मैले कल्याणी राउतलाई सियोमा धागो हाल्न लगाएर कामलाई तीव्रता दिएँ । त्यो कोरा कपडाको थैलोभित्र हजारौँको गोप्य अभिलेख—अर्थात् अर्धकट्टी र नामावलीहरू—हालेर एक–एक गरी टाँका मार्दै गर्दा मलाई एउटा अजङ्गको भारी विसर्जन भएको महसुस भयो । त्यो सिलाई केवल कपडाको थिएन, त्यो त दिनभरिको तनाव र जिम्मेवारीलाई एउटा बिट मार्ने प्रयास थियो । पोल–बुक, तथ्याङ्क फारम र अनुसूची मुचुल्काहरूलाई कुनै अमूल्य दस्तावेजझैँ जतनसाथ एकै ठाउँमा राखेर मतदान अधिकृतको झोलामा भर्न लगाएँ । अन्तिम मुचुल्का तयार भयो । मतदान अधिकृतको हस्ताक्षरसँगै दिनभरिको त्यो “कागजी महाभारत” ले पूर्णविराम पायो ।

बाहिर झिसमिसे अँध्यारोले धर्तीलाई छोपिसकेको थियो । विद्यालयको त्यो आँगनमा बिस्तारै सन्नाटा छाउँदै थियो, तर मेरो मनभित्र भने एउटा उज्यालो सन्तोष फैलिरहेको थियो । अब पालो थियो—हजारौँका आशा र भरोसा बोकेका ती अमूल्य मतपेटिकाहरूलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने । त्यही बेला योजना मुताविक नेपाली सेनाको स्कटिङ टोली मतपेटिकाहरू सङ्कलन गर्न र सुरक्षा दिन आइपुग्यो । सुरक्षाकर्मीहरूको कडा घेराभित्र रहेका ती पेटीकाहरूको पहरेदारी देख्दा लाग्थ्यो, त्यहाँ केवल कागजका टुक्राहरू होइन, देशको भविष्य कैद छ ।

जब ती मतपेटिका र मतदान अधिकृतलाई सुरक्षाको अभेद्य घेराभित्र सुम्पिएर म विद्यालयको आँगनबाट बाहिरिएँ, तब मात्र मेरो मनको ढुकढुकी शान्त भयो र मैले त्यो आँगन छोड्ने आँट गरेँ । बिहानैदेखि एउटै लयमा उभिएका थाकेका खुट्टाहरू अब कति हल्का भए भने मलाई आफ्नै शरीरको भार महसुस हुन छोड्यो, मानौँ मेरा पाइलाहरू आकाशमा उडिरहेछन् । मध्यरातको त्यो चिसो सन्नाटामा घर फर्कँदै गर्दा एउटा अजीवको गौरवशाली शान्तले मलाई बेरेको थियो—आज मैले मेरो पसिना र इमानदारीताले देशको नासोलाई सुरक्षित राख्न सकेँ । यो केवल एउटा निर्वाचनको जिम्मेवारी मात्र थिएन, राष्ट्रका लागि मैले अर्पण गरेको सानो तर इमानदार ’अग्निपरीक्षा’ थियो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.