साहित्यपोस्ट डट कम

सजिलो कोमल गीता

सजिलो कोमल गीता

जवानी गयो बैँस जाँदै गएन ।

मैले एक परिपक्व कविबाट कविता पाठ सुनेँ । थोरै धमिलो सम्झना छ – समस्या पूर्तिको ढाँचामा वाचन गरिएको कविता थियो । शीर्षक पनि बिर्सें, २० वर्ष भए क्यार ! कवि थिए प्रा. कोमल पोखरेल ।

गतवर्ष सुरुङ्गा, झापा पुगेका वेला यही हरफ गुन्गुनाउँदै कविको घरमा प्रवेश गरेँ । मैले नचिनेका मान्छे उनी, उनले नचिनेको मनुवा म । कविताको हरफ, नाम र ठाउँ सम्झेर पुगेको म । तला चढेर उनलाई देख्नासाथ फेरि त्यही हरफ दोहोर्याएँ । उनी आचार्यत्वले देदीप्यमान थिए – मुक्तात्मा पुरुष वा प्रज्ञावान् । आत्मीयता बढ्यो । उनको रुचि र विद्वत्ता थाहा पाएर म प्रफुल्ल भएँ । म जिज्ञासुकै भावले रहेँ । उसै पनि ज्ञानवृद्ध, वयोवृद्ध उनी, अनेक पुरस्कार र सम्मानले अलङ्कृत । उनको उचाइ ठम्याउन लाग्दा मेरो टोपी झर्थ्यो ।

हाम्रो बसाइ ‘मधुरेण समापयेत्’ भने जस्तै भयो । हिँड्ने वेलामा उनले पुस्तक दिए – ‘सजिलो कोमल गीता’ । मैले २०८१ साल चैत ११ गते त्यो उपहार पाएको रहेछु । श्रीमद्भगवद्गीता पद्यानुवाद रहेछ । अनेक भाषामा अनुवाद हुँदै रहने ग्रन्थहरूमा राम्रै स्थान छ – गीताको । श्रीमत् भनेर खास पुस्तकलाई सम्मान दिने प्रणाली धर्मनिरपेक्षले अवश्य हटाएको हुनुपर्छ – पुराना गन्हाउने ठानेर ! जिजु हजुरबा मार्क्सले दिएको मन्त्रबुटी कम शक्तिशाली छैन । तर्कबुद्धिका कारण अमङ्गल पनि मङ्गलमय हुन्छ नि हैन र ? आश्चर्य छ, यतिका तर्कशील बुद्धिवादीले गीताबाट श्रीमत् विच्छेद गर्न सकेन । थोरै उदेक लाग्छ हकि ? तर राजमार्गबाट लोकमार्ग बनाएकै हो पण्डितले ।

भाषिक संस्कृति र कथ्यको भावबोध लिन सकेको खण्डमा विद्वत्ताले उद्भासित हुने मौका लिन्छ । गीता जस्तो विषयमा सूक्ष्म र गहन चिन्तन नभई अनुवाद कार्यमा गति लिन र पार पाउन सकिन्न । अवश्य यो दुस्तर ज्ञानसागरको यात्रा हो । म कोमल प्रसादलाई ‘महामहोपाध्याय’ नै देख्छु यस सन्दर्भबाट । कसैले मलाई झापाको अग्लो मान्छेको सूची तयार पार भन्यो भने … राजवंशी, सीके प्रसाईंसँगै कोमलप्रसाद पोखरेलको नाम अगि सार्छु । यो ज्ञान र विद्वत्ताको मापन हो । राजनीतिमा त मतदाता नै अग्लो हो नि । कि वडाध्यक्ष ? कतै धारणामा विघ्न गर्दैन ?

अनुवादमा मूलानुसारी पद्धतिले महत्व लिन्छ । समरूपताको सिद्धान्त पनि आउँछ । त्यसैभित्र हेरिन्छ – परिवर्तन, परिवर्जन (छोड्न, हराउन), परिवर्द्धन (थप्न, जोड्नु), परिष्कार अनि युग चेतना र स्थानीयतासँगै सार्वत्रिक र सार्वकालिक तत्व विशेषको निर्वाह पनि रहन्छ । यसमा जाति, भाषा संस्कृति, चिन्तन र भूगोलको छाया निरपेक्ष रहन सक्तैन । रहन सक्नु विशेष हो । गीता यस सन्दर्भबाट कति निरपेक्ष होला । अनि सापेक्ष नभए यतिका भाषामा अनूदित किन हुँदो हो ? कुन भावले हेर्ने ? किन्तु यो भावमय छ, पूर्ण ।

गहन मन्थन र उच्च साधना विना गीता जस्तो ग्रन्थको अनुवाद हुन सक्तैन । त्यसैले म कोमलप्रसादलाई उपनिषद् पुरुष कै भावले बुझ्न उचित सम्झन्छु । सबै अनुवाद लोकप्रिय र दीर्घजीवी देखिँदैनन् । लोक लयमा अनूदित ‘ब‌ैजनाथ गीता’ (२०४४) भिन्नै स्वादमा – झ्याउरेमा छ । यो चाहिँ समश्लोकी र समछन्दी देखिन्छ । म यसलाई तात्पर्य बोधका साथ मूलानुसारी देख्छु र भावबन्धनलाई बडो सुरुचिपूर्ण ढंगले निर्वाह गरेको र अझ गतिमय र सुपोषक रहेको पाउँछु ।

अनुवादमा सिद्धि प्राप्त छ । यसै कर्मले नै अनुवाद कलालाई श्रेष्ठ पारितोषिक र उच्च सम्मान दिइएको छ । त्यो हो – पाठक माथिको विजय । मेरो धारणामा राजनीतिको पण्डित तत्वलाई महत्व दिने युग अब फेरिएको हुनुपर्छ । पाइ डिल (साइकल) लाई महत्व दिनै हुँदैन भन्ने अर्थ चाहिँ कतै होइन । यहाँ ज्ञान, साधना र प्रदानको महत्व हो । त्यो महत्व यस ग्रन्थका अनुवादकलाई जान्छ । ‘सजिलो’ विशेषण सार्थक छ ।

प्रा. डा. को लस्करमा नपरेका आचार्य रोहिणी विलासको मन्तव्य (भूमिका खण्डका कान्छा लेखक) का शब्दावली टिपेर कानून विपरीत जाने हठ गर्छु – गीतामा वेद तथा उपनिषदहरूको सार खिचेर राखिएको छ र यसलाई एउटा गाईको रूपमा मानवीकरण गरिएको छ… कृष्णलाई गोठालो, अर्जुनलाई दूध पधार्ने बाछो, जिज्ञासु भक्तजनलाई दूध पान गर्ने व्यक्ति बनाएका छन् । आशय हो हाम्रो वैदिक धर्म संस्कृति प्राचीन कालमा विश्वव्यापी थियो ।

स्मरण भो, पुस्तकको भूमिकाहरूको खोजी गर्दा मेरा मित्रले भने – तेरो पुस्तकमा अब किन चाहियो भूमिका अर्काको ? आफैँ लेख । कोसँग कस्तो भूमिकाको अपेक्षा गर्ने ? अहिले आएर ती शब्द प्रीतिकर लाग्दैछन् । कतिपय भूमिकाले लेखकलाई होचो गराएको र कृतिमाथि ग्रहण छोडेको पनि होला अनि ताज लगाइदिएको पनि होला । औचित्य नठानिए झस्काउने पनि होलान् कि भूमिकाहरू । मौका दिने लेखक उदात्त हुन्छ ।

स्वादमा, संस्कृत गीता पछि नेपालीको यो कोमल गीता नै स्तुत्य छ । संस्कृत भाषा समस्त (समास) वा प्रश्लिष्ट (खाँदिएका-जोडिएका) प्रकृतिमा देखिन्छ । नेपालीमा अनुवाद गर्दा भाव, विचार र लालित्यबारे विवेक पुर्याउनै पर्छ । तात्पर्य बोध र भाषा प्रयोगमा कुशल व्यक्ति नै अनुवादमा सफल हुन्छ । कस्तो खालको अनुवाद भो, त्यसको टिप्पणी नगरी यी श्लोकको नेपाली रूप हेरौं –

पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जयः ।

पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदरः ।। १/१५

पाञ्चजन्य तथा देवदत्त र पौण्ड्र नामका,

क्रमैसँग बजे शङ्ख कृष्ण, पार्थ र भीमका ।

क्रम विक्रम शैलीको अनुवाद पद्धति, किन्तु सरस र प्रवाहमय छ । अनि यथासंख्यको (?) सुन्दर नमूना ?

अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः ।

नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ।। १/१६

धन्काए धर्मले आफ्नो अनन्तविजय–स्वन

माद्रेयले फुके शङ्ख सुघोष, मणिपुष्पक ।

भाव, भाषा, व्युत्पत्ति र औचित्यमाथि प्रशस्त छलफल हुनसक्छ । अन्वय, शब्द निर्माण प्रक्रिया, गूढ विषय र वंशक्रमलाई बडो सुन्दर ढंगले प्रस्तुत गरिएको छ । प्रचुर व्युत्पत्ति पनि छ कविमा ।

लेखक तरङ्गमा उठ्छ, प्रवाहमा बग्छ र कतै ठोकिन्छ पनि अनि भुँवरीमा अल्झिन्छ पनि । कालिगर रत्नहरूको अभाव नहुँदा पनि कुनै वेला उपयुक्त शब्दरत्नको चयन गर्न अक्षम झैँ लाग्दछ अनि कैफियत जनाउन पुग्छ । गीताको प्रसिद्ध श्लोकको अनुवाद हेरौं –

वासां सिजीर्णानि यथा विहाय

नवानि गृह्णाति नरोऽपराणि ।

तथा शरीराणि विहाय जीर्णा –

न्यन्यानि संयाति नवानि देही ।। २/२२

जस्तै फुकालेर लुगा पुराना

मान्छेहरू लाउँदछन् नवीन ।

त्यस्तै पुरानो वय (तन) झट्ट त्यागी

अर्को नयाँ धारण गर्छ देही ।

वय शब्द आयुलाई जनाउने हो ‘तन’ बढी सुहाउला कि भन्छु । एउटा बडो सुन्दर अनुवाद:

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च ।

तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।। २/२७

सत्य हो जन्मने मर्छ मर्ने जन्मिन्छ निश्चय

अनिवार्य क्रियामाथि शोक गर्नु अयोग्य छ ।

प्रा. शिवगोपाल रिसाल समछन्दको पद्यानुवाद भनेर पनि ‘कोमल गीता’ सँग साम्य–वैषम्य राख्ने जनाउँछन् । किन्तु प्रा. माधवप्रसाद भट्टराई (डा.) यो अनुवादलाई वर्तमानको कोमल गीता मान्ने अयुक्ति नहुने ठहर गर्दछन् । अनि थप्छन्– ‘अनूदित रचनाले मौलिक काव्यकृतिको छनक दिन्छ । गीताका पचासौँ अनूदित कृति पढ्दा यसलाई उछिन्न सक्ने मैले पाइन ।’ प्रा. भट्टराईको मूल्याङ्कन यसका लागि अव्वल दर्जाको प्रमाणपत्र हो भन्ने लाग्छ । सधैँ कण्ठस्थ गर्नेले भन्दा कहिलेकहीं मौकामा पढ्नेले गम्भीर भावबोध गर्छ कि कसो ? आफैसँग प्रश्न हो यो ।

अब निष्कर्षतिर लागौँ । फेरि भन्ने मौका पाइने हो कि हैन । यो अनुवाद ग्रन्थले उहाँको आचार्यत्वलाई ज्ञापन गर्दछ । म उहाँको विद्वत्ता, रुचि र क्षमताको शतशः अभिनन्दन गर्दछु । उहाँको विज्ञता यौवनस्थ बनोस् । उदाहरणका लागि वस्तुबोध, सरलता र सम्प्रेषणीयता अथवा साधारणीकरण (?) का सन्दर्भबाट उहाँको दक्षता अध्याय २ का यी केही पंक्तिहरूबाट पनि पाठकले बुझ्न सक्छन्:

कुरा पण्डितका गर्छौ, शोक गर्छौ अयोग्यमा,

कुनै व्यक्ति मरोस् बाँचोस् पर्दैनन् विज्ञ शोकमा । ११

म तिमी सब यी राजा अघिल्लो जन्ममा पनि –

थियौँ, सब हुने नै छौँ पछिल्लो जन्ममा पनि । १२

जस्तै बाल, युवा, वृद्ध अवस्था हुन्छ देहमा

मर्छ, हुन्छ पुनर्जन्म, ज्ञानी अल्झिन्न मोहमा । १३

सुख-दुःख, चिसो तातो छन् अनित्य र प्राकृत,

जानेर आउने गर्छन् सहनै पर्छ भारत । १४

सुखमा-दुःखमा एक भाव राख्दछ जो नर,

बुझ हे पुरुष-श्रेष्ठ ! त्यसैले मुक्ति पाउँछ । १५

अस्तित्व जसको छैन, त्यो छँदैछैन निश्चय,

तत्त्ववेत्ताहरू भन्छन् आत्मा नासिनन्न सत्य छ । १६

प्राणीका देहमा व्याप्त-आत्मा नासिनन्न, सत्य छ,

यसलाई नाश गर्न सक्ने व्यक्तित्व को छ र ! १७

आत्मा नासिनन्न, नापिन्न, तर भौतिक देह त

नाश हुन्छ, त्यसैले नै लडाइँ गर भारत । १८

यो आत्मा मारिने, मार्ने संझने मूढ हुन् नर

किन कि नित्य यो आत्मा न मारिन्छ न मार्दछ । १९

कवि कोमल पोखरेलमा भरिएको काव्य–प्रतिभाको उच्छलन यहाँ देख्न पाइन्छ । स्वादु र सरलतामा म कालिदास मुखरित भएको देख्छु । कविको आयु, जाँगर र सफलता प्रति सम्मान छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.