साहित्यपोस्ट डट कम

सैँप्रोलभित्र जेलिएका शास्वत यथार्थका लहराहरू

सैँप्रोलभित्र जेलिएका शास्वत यथार्थका लहराहरू

गौरी तमु, नेपाली साहित्यमा परिचित नाम । उनीसँग भेटेको भनेकै सिर्जनामा हो । फुटकर रचनाहरू पढिरहेकै छु । कृतिगत रूपमा पनि यसअघि मुक्तकसङ्ग्रह समैँ दर्बानी प्रकाशित भैसकेको छ । उसो त साहित्यको उर्वरभूमि पोखराकी बासिन्दा गौरी सिर्जनाकर्ममा निरन्तरता नहुने कुरै भएन ।

कविता आयतनको हिसाबले लामो हुनु नै शक्तिशाली हुनु होइन । छोटा कविताहरू पनि सुन्दर हुन सक्छन् । शक्तिशाली हुनसक्छन् । यो कुरा सैँप्रोलले प्रमाणित गरेको छ । कविताको क्षितिजमा उनको उपस्थिति सुन्दर छ । कृतिभित्र ७४ थान कविताहरू समावेश छन् । गुरुङ जातिको शब्द सैँप्रोल । कृतिको शीर्षकले नै अर्थ्याउँछ – विद्रोही चेतकी पात्र हुन् कवि । कृतिभित्र विषयगत विविधाका कविता छन् ।

कृतिभित्रका कवितामा कविले आफ्नो भावना पोखेकी छिन् । स्वतन्त्र प्रवाहमय गतिमा आएका कविताहरूले मनमा थुप्रिएका कुरालाई अभिव्यक्त गरेकी छिन् । आफ्ना उच्छ्वास, जीवनका मर्महरूलाई प्रश्नको कहतारो बनाएकी छिन् । कवितालाई जीवनको दोस्रो प्रेम मान्ने कवि, कवितामार्फत आफू बाँचिरहेको जीवन खोज्ने क्रममा छिन् । सामाजिक यथार्थजनित भावहरू कवितामा आएका छन् । आफ्ना अनुभव र अनुभूतिहरू यथेष्ट पाइन्छ । छोटा तर तीव्र भावजनित कविताहरूले पाठकलाई तान्ने सामर्थ्य राख्छन् । कविता छोटा भएर के भो बलिष्ठ छन् । शक्तिशाली छन् । सौम्यमा सजिएका छन् । कवितामा आफैँलाई खोज्ने कवि हुन तमु:

सबैभन्दा गाह्रो रहेछ

आफ्नै खोजी गर्नु ।

वर्षौंदेखि

खोजिरहेछु

यो देशको नक्साभित्र

आफ्नै अनुहार । (खोजी)

कवित्वचेत भावनात्मक रूपले बलिया भएका कविताहरूको कृतिभित्र बाहुल्यता रहेको छ । कवि मन संवेदनहीन हुने कुरै भएन । संवेदनाले भरिएका कविताहरू पनि छन् । कवि चुर्लुम्म डुब्छिन् भावनामा । प्रेमिल कवि प्रेमका कविता लेख्न खप्पिस छिन् । प्रेमकै वर्षामा रुझेर लेखिएका कविताहरू कृतिमा समावेश छन् । कवि मौनता साँधेर बस्दिनन् । लागेको कुरा निर्धक्क अभिव्यक्त गर्छिन् । प्रेमका प्रभातीय किरणहरूसँग निर्धक्क खेल्ने कवि । आफ्नै चालमा, आफ्नै भावभङ्गीमा कविता कोर्छिन् । वास्तवमै समुद्रका छालजस्तै उर्लिन्छन् मनभरी भावहरू । तमु ऊर्जाशील र उत्साही कवि हुन् । त्यसैले त बगिरहन्छ प्रवाह कविताको । निरन्तरताको साधनाबाट पर छैनन् । उनी रोकिन्नन् । प्रेमभित्रका अनेक पाटाहरू उनका कवितामा पढ्न सकिन्छ । ‘कठिन’, ‘निर्णय’, ‘सम्बन्ध’, ‘मुटु’, ‘अस्तित्व’, ‘चोखो माया’, ‘याद’, ‘बाडुली’, ‘प्रेम’, ‘सहारा’, ‘भ्यालेन्टाइन’ जस्ता कविताहरू प्रेम र यसका अनेकौं आयाममा लेखिएका छन् । सरल तर बान्की परेका प्रेमिल कविताहरू छन् । यी कलकल बगेका खोलाजस्तै छन् । झरझर झरेका झरनाजस्तै छन् । प्रेममा विश्वास–धोका, भरोसा, आशा–निराशा सबै हुन्छन् । यही हो प्रेम । सौन्दर्य र प्रेमको झङ्कार यहाँ गुञ्जिएको छ । प्रेमिल सम्बन्धका अनेकानेक पाटाहरूको अर्थ देखाइएको छ ।

नभेटेरै दुई किनार

समानान्तर हिँडेझैँ

नछोएरै धर्ती–आकाश

युगौँ बाँचेझैँ

बाँचिरहोस् यसै गरी

तिम्रो–मेरो प्रेम । (चोखो माया)

कवि क्रान्तिकारी र विद्रोही लाग्छिन् । समाजमा व्याप्त विभेदहरूका विरुद्ध आगो ओकल्छिन् । समाजमा भएका विभिन्न भेदभावका परिवृत्तले कविको मनलाई आन्दोलित गराउँछन् । उनको चैतन्य असह्य हुन्छ । ती परिदृश्यबारे अन्देखा र मौनता साँधिरहन सक्दिनन् । खप्नै सक्दिनन्, मनमा असामान्य प्रलय हुन्छ । हृदयभित्र हुण्डरी चल्छ । भयानक प्रलय आउँछ र ओकल्छिन् । उनलाई सामाजिक रूपमा देखिने विकृति र विसङ्गतिहरूले ठुँगिरहन्छ । चिमोटिरहन्छ । चाकरी प्रथाको विरुद्ध कलम चल्छ कविको ।

योग्यता

क्षमताको कसीमा

किन दिनुपरिरहन्छ

रिमै च्यो सैँप्रोलहरूले अझै पनि अग्निपरीक्षा ? ( सैँप्रोल स्व)

गौरी आफ्ना परम्परागत मूल्यमान्यता, सामाजिक र सांस्कृतिक चेत बोकेकी कवि हुन् । सदियौँदेखि समाजमा चल्दै आएका संस्कार र संस्कृतिको रक्षा गर्नुपर्ने उनको निष्कर्ष छ । गुरुङ सम्प्रदायकी उनी आफ्ना भाषा, रहनसहन, मूल्य र मान्यताप्रति दृढ देखिन्छिन् । यसैगरी आफ्ना रहनसहन, रीतिरिवाज, भेषभुषालाई जगेर्ना गर्नुपर्नेमा उनको जोड रहेको छ । सांस्कृतिक वैभवहरू लोप हुँदै गइरहँदा चुप बस्न सक्दिनन् । यसैले उनी ‘उत्खनन्’, ‘रोधीँ’ आदि कविताहरू कोर्छिन् :

उप्काए अक्करे पहराका ढुङ्गाहरू

सम्याए उबडखाबड जमिनहरू

बनाए जातीय सभ्यताको

सिङ्गो धरोहर– रोधीँ ! ( रोधीँ)

मान्छे न हो । आशा र भरोसा हुन्छ । कहिलेकाहिँ निराशा पनि छाउँछ । उज्यालोको चाह गर्छ । अँध्यारो कसैलाई मनपर्ने कुरा पनि भएन । समय र जीवन सधैं एउटै एउटै परिस्थितिमा गुज्रँदैन । कहिले के आईपर्छ, कहिले के ! कवि चेतनाको राँको बाल्ने जात हो । कवि उज्यालोको पक्षधर हुन्छ । गौरीमा पनि आशावादी चेत प्रवल बनेर कविताहरूमा प्रष्फुटित भएर आएको छ । ‘पुनःनिर्माण’, ‘आशा’, ‘घर’, ‘विचार’ आदि कविताहरू यसैतर्फ सोझिएका छन् ।

स्वभाविक छ – आफ्नालाई कसले भुल्छ र ! उनले पनि आफ्नालाई सम्झेकी छिन् । ‘अ–साथी’,‘ घर’, ‘दुःख’, ‘बुज्यु’, आदि कविताहरूले आफ्नो साथी, बज्यु, दिदी आदिलाई स्मृतिमा राखेर कविता गुथेकी छिन् । छोरीको दुःखलाई उनले बडो मार्मिक तरिकाले घर कवितामा उतारेकी छिन् । छोरीको आफ्नै घर नहुने नेपाली समाजको बडो पीडादायी पक्षलाई संवेदनशील मनले पोखेकी छिन् । यो समाजलाई उनको बडो जिम्मेवार भएर सोच्न बाध्य बनाउने प्रश्न तेर्स्याएकी छिन्:

‘तर किन हुन्न

छोरीहरूको आफ्नै घर ?’ (घर)

राजनीतिका विकृत पक्षमाथि पनि उनी खबरदारी गर्छिन् । उनलाई यो आरक्षणमा विश्वास लाग्दैन । मोह जाग्दैन । विचारमा उस्तै दृढ कवि । विचारले नै हो परिवर्तन गर्ने । विचारले नै हो समाजलाई उज्यालो छर्ने भन्ने सकारात्मक भाव व्यक्त गर्छिन् । पुरस्कारका विकृतितर्फ पनि उनको दृष्टि परेको छ । अक्षरमा रमाउने शिक्षक शिक्षाका विषय उठान नगर्ने कुरै भएन ।

यसरी विभिन्न विषयमा लेखिएका कविताले भरिएको छ–सैँप्रोल । कविताहरू प्राञ्जल भाषा, सुलोलित उस्तै । चेतनप्रवाहको प्रष्टता त्यस्तै । सरलता नै गौरीका कविताको विशेषता । बिम्बात्मक र प्रतीकसहितका कविताहरू– जहाँ काव्यको सौन्दर्य मज्जैले फुलेको छ । सुवासिला कविता छन् । कवितामा गुरुङ भाषाका शब्दहरूलाई अर्थ्याउन तल नेपाली अनुवाद राखिएका छन् । कविको जीवनका उहापोहमा बाँचेका कविता हाम्रा जीवनमा पनि तिनले राम्रै अर्थ राख्छन् । धेरै कुरा कवितामा पोखिएका छन् । यति भएपछि भन्न सकियो–कृतिमा समावेश कविताहरू शास्वत् यथार्थका लहराहरू बनेर आएका छन् । कवि गौरी तमुको काव्य यात्रा अझै गतिमय होस्, प्रगतिमय होस्– शुभकामना ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.