साहित्यपोस्ट डट कम

साहित्यपोस्ट र साउथवेस्टन स्टेट कलेजबीच सम्झौता : विद्यार्थीलाई ‘साहित्यपोस्ट एप’ उपलब्ध गराइने

साहित्यपोस्ट र साउथवेस्टन स्टेट कलेजबीच सम्झौता : विद्यार्थीलाई ‘साहित्यपोस्ट एप’ उपलब्ध गराइने

काठमाडौँ । नेपालको पहिलो र एक मात्र साहित्यिक अनलाइन दैनिक पत्रिका ‘साहित्यपोस्ट’ र काठमाडौँको वसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजबीच विद्यार्थीलाई अनलाइन पुस्तकालय सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौताअनुसार शब्द मिडिया प्रा.लि.द्वारा सञ्चालित ‘साहित्यपोस्ट एप’ले जारी गरेका अनलाइन पुस्तकालयमा उक्त कलेजका सम्पूर्ण विद्यार्थीहरूलाई पहुँच दिइने छ । विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने हेतुले दुवै पक्षद्वारा यस प्रकारको सम्झौता गरिएको जनाइएको छ ।

कलेजका सम्पूर्ण विद्यार्थीलाई उनीहरूकै मोबाइलमा नेपाली भाषा, साहित्य, संस्कृति, कला, अर्थशास्त्र र समाजशास्त्रका पढ्नै पर्ने पुस्तकहरू उपलब्ध गराउने गरी गरिएको सम्झौतामा विद्यार्थीले नेपाली भाषामा सुधार ल्याउन अङ्ग्रेजी, हिन्दी, चिनियाँ वा विश्वका अन्य भाषामा लेखिएका विश्व प्रसिद्ध पुस्तकहरूलाई नेपालीमा अनुवाद गरी सहज रूपमा साहित्यपोस्टको एपमा उपलब्ध गराइने छ ।

पठनलाई सहज बनाउन साहित्यपोस्टकै एपमा ती पुस्तकहरूलाई श्रव्य पुस्तक (अडियो भर्सन) मा रूपान्तरण गरी विद्यार्थीहरूलाई उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

कलेजले गर्ने नियमित साहित्यिक कार्यक्रममा नेपाली लेखकलाई आमन्त्रण/जानकारी, कार्यक्रमको प्रचार–प्रसार र उहाँहरूद्वारा लेखिएका पुस्तकको अन्तरक्रिया गर्न साहित्यपोस्टले सहजीकरण गर्नेछ । एकपटक शुल्क तिरेपछि विद्यार्थीले साहित्यपोस्टको डिजिटल पुस्तकालयमा भएका करिब एक हजार पुस्तकहरू ती पुस्तक पढे–सुने बापत एक वर्षसम्म अतिरिक्त शुल्क लाग्ने छैन ।

सम्पूर्ण पुस्तक पढ्न–सुन्न वार्षिक एक पटक मात्र शुल्क तिरे पुग्ने र अर्को वर्ष पनि कलेजले आफ्ना विद्यार्थीका लागि सुविधा नवीकरण गर्न सुविधा पाउने सम्झौतामा उल्लेख छ ।

उक्त सुविधाका लागि कलेजद्वारा बनाइएको क्लबमार्फत साहित्यपोस्टले प्रति विद्यार्थी एउटा कोड उपलब्ध गराउने र उक्त कोड साउथवेस्टन स्टेट कलेजले आफ्ना विद्यार्थीका लागि मात्र प्रयोग गर्न पाउने व्यवस्था गर्नेछ ।

साहित्यपोस्ट र साउथवेस्टन स्टेट कलेजले पठन संस्कृतिको अभिवृद्धि गर्ने दीर्घकालीन सोचअन्तर्गत यो सम्झौता गरिएको हो । समयक्रममा डिजिटल पुस्तकालयमा पुस्तक र पठनमा सहजता थपिँदै गए पनि कलेजका विद्यार्थीका हकमा पुस्तकालयको सुविधा प्राप्त गर्नेछन् ।

हरेक पाँच वर्षमा सम्झौता नवीकरण गर्न सकिने सम्झौतामा साउथवेस्टन स्टेट कलेजका तर्फबाट कलेजका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद लामिछाने र साहित्यपोस्टका तर्फबाट शब्द मिडिया प्रा.लि.का संस्थापक तथा साहित्यपोस्टका सम्पादक अश्विनी कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.