‘साहित्यपोस्ट नवरत्न २०८२’ को घोषणा गरिएको छ । गएको वर्ष पहिलो पुस्तक प्रकाशनमा ल्याएका नौ जना नवोदित लेखक कविहरूलाई साहित्यपोस्ट समूहले ‘साहित्यपोस्ट नवरत्न – २०८२’ घोषणा गरेको हो ।
साहित्यपोस्टले नेपाली साहित्य हाँक्न सक्ने नौ जना नयाँ लेखक/कविहरूलाई यो उपाधि दिँदै आएको छ । ‘साहित्यपोस्ट नवरत्न २०८२’ त्यसैको निरन्तरता भएको प्रधानसम्पादक अश्विनी कोइरालाले जनाउनुभएको छ ।
साहित्यपोस्टले नवोदित लेखकलाई प्रत्येक वर्ष विधागत (काव्य, आख्यान र गैरआख्यान) रूपमा प्रदान गर्दै आएको पुरस्कारको ‘अन्तिम सूची’मा पर्न सफल कृतिका सर्जकहरूलाई ‘साहित्यपोस्ट नवरत्न’का रूपमा सम्मान गर्दै आएको छ ।
यस वर्षको नवरत्न सम्मान पाउने नवोदित लेखकहरूमा काव्यतर्फ कवितासङ्ग्रह ‘अनाम प्रेमिका’का सर्जक राकेश क्रान्तिकारी, कवितासङ्ग्रह ‘एकदिन मानिसहरू फर्किनेछन्’का सर्जक दोस्ताज र कवितासङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’का सर्जक अस्मिता विष्ट रहनुभएको छ । यी तीन कृति ‘साहित्यपोस्ट काव्य पुरस्कार’को अन्तिम सूचीमा सम्मिलित छन् ।
त्यस्तै, आख्यानतर्फ कथासङ्ग्रह ‘भग्न प्रेमशाला’का सर्जक खगेन्द्र गिरी, उपन्यास ‘महबी मिका’का सर्जक प्रकाश पन्थी र कथासङ्ग्रह ‘सत्यम्’का सर्जक लक्ष्मण वियोगी रहनुभएको छ । यी तीन कृति ‘साहित्यपोस्ट आख्यान पुरस्कार’को अन्तिम सूचीमा सम्मिलित छन् ।
त्यसैगरी, गैरआख्यानतर्फ अनुसन्धानात्मक कृति ‘पहिलो आमनिर्वाचन २०१५’का सर्जक विराट अनुपम, आत्मकथा ‘बादलमुनिको बागलुङ’का सर्जक भीम न्यौपाने र अनुसन्धानमूलक कृति ‘मेरो स्कुल’का सर्जक मीना खड्का रहनुभएको छ । यी तीन कृति ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’को अन्तिम सूचीमा सम्मिलित छन् ।
अघिल्लो वर्षझैं यो वर्ष पनि धान दिवस तथा दहीचिउरा खाने दिन (असार १५ गते) औपचारिक कार्यक्रमका बीच पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिने तय भएको छ । उक्त कार्यक्रममा ‘नवरत्न’लाई सम्मानपत्रका साथमा दोसल्ला ओडाएर सार्वजनिक सम्मान गरिनेछ । साथै, नवरत्नको सम्मान स्वरूप सर्जक र कृतिसहित ‘साहित्यपोस्ट नवरत्न २०८१’को ब्यानर बनाएर एक वर्षसम्म साहित्यपोस्ट कार्यालयमा प्रदर्शनका लागि राखिनेछ ।
सोही कार्यक्रममा ‘साहित्यपोस्ट काव्य पुरस्कार’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’का विजेता कृतिहरूको घोषणा तथा पुरस्कार अर्पण गरिनेछ । विजेता कृतिका सर्जकलाई ५०-५० हजार रूपियाँका साथमा सम्मानपत्रले सम्मान समेत गरिनेछ ।
असार १५ गते सोमबार, दिउँसो ठीक २ बजे पुतलीसडकस्थित ग्रीनलिफ रेस्टुरेन्टमा ‘साहित्यपोस्ट पुरस्कार २०८२’ घोषणा तथा वितरण र ‘साहित्यपोस्ट नवरत्न २०८२’ सम्मान समारोह आयोजना गरिने छ ।
‘पुराना लेखक–कविलाई सम्मान गर्न धेरै पुरस्कार र सम्मानहरू छन्, तर नवोदित लेखकका रचनालाई स्थान दिने तथा उनीहरूलाई सम्मान गर्ने संस्था र सञ्चारमाध्यमहरू हामीकहाँ विरलै छन् । यही सत्यलाई स्वीकार्दै ०७७ सालबाट साहित्यपोस्टले यो अभियान शुरु गरेको हो ।’, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्नुहुन्छ, ‘तीन चरणको मूल्यांकनपश्चात हामीले ‘साहित्यपोस्ट नवरत्न’ तयार गरेका छौं । यी नवरत्नले आ-आफ्नो विधामा नेपाली साहित्यको क्षितिजलाई थप फराकिलो बनाउँदै लग्नुहुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’
काव्य, आख्यान र गैरआख्यान पुरस्कारको प्रायोजन क्रमशः गीतकार एवं कवि उत्तम भौकाजी, साहित्यकार चैतन्य अधिकारी तथा कवि एवं समालोचक विनयकुमार भण्डारीले गर्नुभएको छ ।
साहित्यपोस्ट शुरु भएको पहिलो वार्षिक उत्सवमा एक जना नवोदित लेखकलाई सम्मान गरी यो अभियानको शुरूवात गरिएको थियो । यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई ५० हजार नगद राशिसहित ताम्रपत्र प्रदान गरिएको थियो ।
दोस्रो वर्ष (०७८) ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।
तेस्रो वर्ष अर्थात् वि.स. २०७९ बाट विधागत रूपमा तीन विधा (काव्य, आख्यान र गैरआख्यान) का उत्कृष्ट तीन नवोदित लेखकलाई सम्मान गर्न थालिएको हो । ०७९ का लागि काव्यतर्फ गजलसङ्ग्रह ‘मफलर’का लागि प्रदीप रोदन, आख्यानतर्फ उपन्यास ‘यशोधरा’का लागि हरिबोल काफ्ले तथा गैरआख्यानतर्फ संस्मरण ‘मुटुसँग सहयात्रा’का लागि डा. अवनिभूषण उपाध्यायलाई साहित्यपोस्ट पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै, वि.स. २०८० का लागि काव्यतर्फ कवि देवव्रतको कविताङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, आख्यानतर्फ सागर खड्काको उपन्यास ‘राइपाली भञ्याङ’ र गैरआख्यानतर्फ उमाकान्त पौड्यालको अनुसन्धानमुलक कृति ‘बुद्धकालीन समाज’लाई साहित्यपोस्ट पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी, अघिल्लो वर्ष ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका बान्तवाको उपन्यास ‘प्याउली’ र साहित्यपोस्ट गैरआख्यान पुरस्कार रमेश भुसालको नियात्रा कृति ‘छालबाटो’लाई प्रदान गरिएको थियो ।

