पहिलो कृतिका रूपमा काव्य विधाको कृति प्रकाशनमा ल्याएर नेपाली भाषा, साहित्य तथा वाङ्मयको क्षेत्रमा औपचारिक पाइला चालेका नवोदित कविका लागि खुशीको खबर ।
डेब्यु काव्यकृति (कविता, गजल, मुक्तक, खण्डकाव्य, महाकाव्य आदि) का लागि दिइने ‘साहित्यपोस्ट काव्य पुरस्कार २०८२’ का लागि उत्कृष्ट ११ काव्यकृतिको सूची सार्वजनिक गरेका छौँ ।
यो सूची नयाँ कविका २०८२ सालमा प्रकाशन भएकामध्ये हामीलाई प्राप्त ४१ काव्यसङ्ग्रहबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार तथा सम्पादकले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकको समूहले छानेको हो । पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
छानिएका डेब्यु काव्यकृतिहरूमा राकेश क्रान्तिकारीको ‘अनाम प्रेमिका’, शम्भु राईको ‘आदर्श पहाड’, अल्पज्ञानीको ‘उज्यालो पर्खिरहेको मानिस’, दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’, प्रचण्ड भाष्करको ‘कच्ची रोडसँगैका पक्की चोटहरू’, सबिना राईको ‘घामको जरा’, अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’, मेनका चापागाईं काप्रीको ‘मनको अदालत’ र सुनिता अधिकारीको ‘सुनिताका अनुभूतिहरू’ कवितासङ्ग्रह रहेका छन् । त्यसै, सूचीमा अनुप उप्रेतीको महाकाव्य ‘प्रज्ञा’ र राज लम्साल यात्रीको गजलसङ्ग्रह ‘यात्री’ रहेका छन् ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि ‘छोटो सूची’ सार्वजनिक गरिने छ भने तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट तीनको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट काव्य पुरस्कार’ प्रदान गरिने छ ।
‘वर्षभरि प्रकाशन गरिएका नयाँ कविको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप अघिल्ला वर्षहरूझैँ यसपटक पनि तीन विधामा ३ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगदका साथ सम्मान गर्दैछौं ।’, पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भन्नुभयो, ‘गत वर्षको तुलनामा यस वर्ष केही कम पुस्तक प्रकाशनमा आएका रहेछन्, तथापि नवोदित लेखकहरूमा काव्यप्रतिको लगाव र झुकावमा भने कुनै कमी आएको देखिँदैन ।”
कोइरालाका अनुसार लामो सूचीमा रहेका ११ वटा काव्यकृतिले नयाँ पुस्ताको चेतना, चिन्तन र जीवनबोधको प्रतिनिधित्व गरेका छन् ।
०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।
०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा क्रमशः प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’लाई प्रदान गरिएको थियो । त्यस्तै, ०८० सालमा देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थमाको निधारबाट बागमती बग्छ’, सागर खड्काको उपन्यास ‘राइपाली भञ्ज्याङ्’ र उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’लाई प्रदान गरिएको थियो ।
त्यसैगरी गत वर्ष, ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कविताङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका वान्तवाको उपन्यास ‘प्याउली’ र ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ रमेश भुसालको नियात्रा कृति ‘छालबाटो’लाई प्रदान गरिएको थियो ।
अघिल्लो वर्षझैँ यस वर्ष पनि तीन विधाका उत्कृष्ट तीन डेब्यु कृतिलाई ५०-५० हजार राशिसहित सम्मान गर्न लागिएको हो ।
‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादक तथा स्वतन्त्र निर्णायकहरूलाई जिम्मा लगाइने छ । उहाँहरू प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलले भन्नुभयो, ‘लेखकको पहिलो पुस्तक नै स्तरीय बन्नुपर्छ भन्नेमा साहित्यपोस्ट तथा निर्णायकहरू प्रतिबद्ध हुनुहुन्छ । यी ११ वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’
‘साहित्यपोस्ट काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरू लोकप्रिय छन् ।
साहित्यपोस्ट आख्यान पुरस्कारको लामो सूची यस अघि नै प्रकाशन गरिसकिएको छ भने साहित्यपोस्ट गैरआख्यान पुरस्कारको लामो सूची वैशाख २६ गते शनिबार प्रकाशित गरिनेछ ।
प्रस्तुत छ, २०८२ सालका उत्कृष्ट ११ डेब्यु काव्य विधाका कृतिहरूको सूची:
१. अनाम प्रेमिका – राकेश क्रान्तिकारी
भारतीय नेपाली कवि राकेश क्रान्तिकारीको कवितासङ्ग्रह हो, ‘अनाम प्रेमिका’ । संग्रहित कवितामा समाजका उत्पीडित वर्ग, गरीब, मजदुर, दलित तथा अपहेलित वर्गको सङ्घर्षलाई मुख्य विषय बनाइएको छ । समाजमा विद्यामान असमानता, अमानवीय काइदा–कानून र मूल्यमान्यताप्रति तीखो प्रहार गर्न क्रान्तिकारीका कविता सक्षम देखिन्छन् ।
कवि क्रान्तिकारीले आफ्ना कवितामा पछिल्लो समय बढेको प्रदर्शनको संस्कृतिप्रति असन्तोष व्यक्त गर्दै सामाजिक रूपान्तरणलाई महत्त्व दिनुभएको छ । पुस्तकलाई हाम्रो किताब घर (सिलगढी) ले प्रकाशनमा ल्याएको हो ।
२. आदर्श पहाड – शम्भु राई
प्रवासमा रहेर नेपाली साहित्यको क्षेत्रमा साधनारत कवि शम्भु राईको कवितासङ्ग्रह हो, ‘आदर्श पहाड’ । राईका कवितामा भुइँमान्छे संघर्षदेखि पुँजीवादको उत्कर्ष तथा पहाडका पाखा–पखेरादेखि प्रवासी जीवनका अनुभूतिसम्म समेटिएका छन् । कवितामा मानव जीवनका संवेदना र प्रेमिल आवेशहरुसमेत कलात्मक ढंगले प्रस्तुत भएका छन् ।
कवि राईका कविताहरु गाउँ, बालापन तथा गाउँले परिवेशको यात्रा गराउन सफल छन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।
३. उज्यालो पर्खिरहेको मानिस – अल्पज्ञानी
कवि देवीरमण तिवारी ‘अल्पज्ञानी’को कवितासङ्ग्रह हो, ‘उज्यालो पर्खिरहेको मानिस’ । आफू हुर्क–बढेको तथा आत्मिक तवरले भोगेको पोखरा आसपासको प्राकृत भूगोलका रङहरुलाई अल्पज्ञानीले कविताहरुमा सजाउनुभएको छ । संग्रह मानवीय प्रर्यावरणको समृद्धि तथा समग्र जैविक पर्यावरणको संरक्षणको पक्षमा दर्बिलो गरी उभिएको छ ।
कवितामा समयसँगै आएको शहरीकरण, राजनीतिक तथा समाजिक विचलन तथा खस्कँदो मानवीय मूल्यको कुरुप चित्रसमेत कोरिएका छन् । पुस्तकलाई पेट टर्नरले प्रकाशनमा ल्याएको हो ।
४) एकदिन मानिसहरू फर्किनेछन् – दोस्ताज
युवा कवि दोस्ताजको कवितासङ्ग्रह हो, ‘एकदिन मानिसहरु फर्किनेछन्’ । सङ्ग्रहित कविताहरुमा मानवीय जीवनका आशा, निराशा, प्रशन्नता तथा कुण्ठालाई आञ्चलिक स्वादमा प्रस्तुत गरिएको छ । कवितामा वर्तमान समाज र परिवेशको निर्मम चित्रण गरिएको छ ।
दोस्ताजका कवितामा प्रयुक्त नवीन बिम्ब, प्रतीकले गम्भीर अर्थ बोकेछन्, जसले पाठकलाई सोच्न बाध्य बनाउँछ । पुस्तकलाई सेलर नेपाल इन्फो–टेकले प्रकाशनमा ल्याएको हो ।
५) कच्ची रोडसँगैका पक्की चोटहरू – प्रचण्ड भाष्कर
दिवङ्गत कवि प्रचण्ड भाष्करको कवितासङ्ग्रह हो, ‘कच्ची रोडसँगैका पक्की चोटहरू’ । भाष्करका कवितामा उच्च मानवीय चेतना र संवेदना भेटिन्छ । कविले आफ्नो छोटो जीवनमा भोगेका उतारचढाव र संवेदनशील आयामहरुलाई कलात्मक रुपमा कवितामा प्रस्तुत गर्नुभएको छ ।
वि.स. २०८०, कात्तिकमा प्राणघातक क्यान्सर रोगबाट कवि भाष्करको २९ वर्षको उमेरमा निधन भएको थिए । कवि भाष्करको सम्झना र सम्मानमा उहाँका कविताहरु संकलन गरी साथीहरुले कृति प्रकाशनमा ल्याउनुभएको हो ।
६) घामको जरा – सबिना राई
भारतीय नेपाली युवा कवि सबिना राईको कवितासङ्ग्रह हो, ‘घामको जरा’ । सबिनाका कवितामा समयबोध र जीवनबोधको प्रतिबिम्ब पाइन्छ । मानवीय जीवनका दुःख, संघर्ष, तथा व्यक्तिगत अनुभवहरुलाई कविले कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ । सरल शब्द र भावमा संरचित कविताका भाव गहन र बोधगम्य छन् ।
कवि सबिना कवितासम्बन्धी रियालिटी शो ‘पोइट आइडल, सिजन–२’को शीर्ष आठसम्म पुग्नुभएको थियो । पुस्तकलाई सी.पी. शर्माले प्रकाशनमा ल्याउनुभएको हो ।
७. प्रज्ञा – अनुप उप्रेती
किशोरवयका कवि अनुप उप्रेतीको महाकाव्य हो, ‘प्रज्ञा’ । कवि अनुपले ‘प्रज्ञा’मार्फत् प्रमुख रुपमा नारीको शक्ति तथा सामथ्र्यको उद्घाटनसँगै जात, धर्म, सम्प्रादय आदिका आधारमा समाजमा विद्यमान विभेदहरुमाथि प्रश्न गर्दै मानवतावादी समाजको परिकल्पना गर्नुभएको छ । प्रा.डा. देवी नेपालका अनुसार कवि अनुप सबैभन्दा कम उमेर महाकाव्य प्रकाशन गर्ने कवि बन्नुभएको छ ।
‘प्रज्ञा’ नारी चरित्र प्रधान महाकाव्य हो । पुस्तकलाई राजेश गजुरेल (न्यूरोड बुक स्टोर) ले प्रकाशनमा ल्याउनुभएको हो ।
८. ब्ल्याकहोलमा गीतहरू – अस्मिता विष्ट
महेन्द्र बहुमुखी क्याम्पस धरानकी उप–प्राध्यापक अस्मिता विष्टको कवितासङ्ग्रह हो, ‘ब्ल्याकहोलमा गीतहरू’ । विष्टका कवितामा पारिवारिक रिक्तता, नारी चेत तथा सशक्तीकरणका स्वरहरु भेटिन्छन् भने समाजमा व्याप्त विसंगतिप्रति तीक्ष्ण व्यङ्गयको प्रस्तुति पाइन्छ । कवितामा अंग्रेजी शब्द, मिथकीय बिम्ब र प्रतीकहरूको प्रचुर मात्रामा प्रयोग गरिएको छ ।
संग्रहित कवितामा प्रेम, मिलन, विछोड, समर्पण, आध्यात्मिक तथा शारीरिक प्रेमसम्मका विविध रूपलाई दार्शनिक ढङ्गले प्रस्तुत गरिएको छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।
९. मनको अदालत – मेनका चापागाईं काप्री
कवि मेनका चापागाईं काप्रीको कवितासङ्ग्रह हो, ‘मनको अदालत’ । मेनकाका कवितामा समाजिक चिन्तन, जीवनबोध, सद्भाव र सहअस्तित्वको मानवीय चाहना तथा राष्ट्रिय समुन्नतिको चाह प्रस्तुत भएका छन् । संग्रहित कवितामा नैसिर्गिक प्रेम, व्यवहारिक जीवन, प्रकृति लगायत विविध विषय र सन्दर्भहरु बिम्बित भएका छन् ।
मेनकाले कवितामा नेपाली प्रकृति, संस्कृति र जनजीवनका सङ्गत–विसङ्गत पाटाहरुको नजिकबाट निरीक्षण गर्नुभएको छ । पुस्तकलाई गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
१०. यात्री – राज लम्साल यात्री
व्यावसायिक कामको सिलसिलामा युएई बस्दै आउनुभएका गजलकार राज लम्साल यात्रीको गजलसङ्ग्रह हो, ‘यात्री’ । यात्रीले जीवन, देश, र समाजका विविन्न आयममा गजलमार्फत् आफूलाई अभिव्यक्त गर्नुभएको छ । सङ्ग्रहित गजलमा गहनता र विविधता दुबै पाइन्छन् ।
राजका गजलमा काफिया, रदिफ तथा लयात्मकताको सचेत प्रयोग देख्न सकिन्छ । पुस्तकलाई शब्द मिडिया प्रा.लि. (साहित्यपोस्ट) ले प्रकाशनमा ल्याएको हो ।
११. सुनिताका अनुभूतिहरू – सुनिता अधिकारी
युवा कवि सुनिता अधिकारीको कवितासङ्ग्रह हो, ‘सुनिताका अनुभूतिहरू’ । सुनिताले आफ्ना व्यक्तिगत अनुभव, भावना र जीवनका विविध आयामलाई सजीव र संवेदनशील तवरले कवितामा प्रस्तुत गर्नुभएको छ ।
कवितामा मनका भाव अभिव्यक्त गर्न बिम्ब, प्रतीक र अलङ्कारको समुचित प्रयोग गरिएको छ । पुस्तकलाई ज्योति प्रकाशन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।

