पहिलो कृतिका रूपमा गैरआख्यान विधाको कृति प्रकाशनमा ल्याएर नेपाली भाषा, साहित्य तथा वाङ्मयको क्षेत्रमा औपचारिक पाइला चालेका नवोदित लेखकका लागि खुशीको खबर ।
डेब्यु गैरआख्यान विधाको कृति (निबन्ध, नियात्रा, संस्मरण आदि) का लागि दिइने ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८२’ का लागि उत्कृष्ट ११ गैरआख्यान कृतिको सूची सार्वजनिक गरेका छौँ ।
यो सूची नयाँ लेखकका २०८२ सालमा प्रकाशन भएकामध्ये हामीलाई प्राप्त २४ गैरआख्यान कृतिबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार तथा सम्पादकले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकको समूहले छानेको हो । पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
छानिएका डेब्यु गैरआख्यान विधाका कृतिहरूमा मदनराज ताम्राकारको ‘अतीतको झझल्को’, विजयकुमार शर्माको ‘आधा–सपना’, विष्णु विवेकको ‘घाटगाउँ’, भलादमी भोलाको ‘घोप्टे युग’, मथुरा प्रधान श्रेष्ठको ‘जीवनको अनमोल यात्रा’, गणेशप्रसाद खतिवडाको ‘नुनको जोहो’, विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ , डा. दुर्गाप्रसाद भँडारीको ‘बम्बैसन्’, भीम न्यौपानेको ‘बादलमुनिको बागलुङ’, मीना खड्काको ‘मेरो स्कुल’ र विष्णुबहादुर जी.सी.को ‘यात्रा खुसीको’ रहेका छन् ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि ‘छोटो सूची’ सार्वजनिक गरिने छ भने तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट तीनको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।
‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखक/कविको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप अघिल्ला वर्षहरूझैँ यसपटक पनि तीन विधामा तीनवटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगदका साथ सम्मान गर्दैछौं ।’, पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भन्नुभयो, ‘हामीकहाँ काव्य र आख्यानका तुलनामा निकै कम गैरआख्यानका कृति छापिन्छन् । गैरआख्यान विधा बलियो नभई समग्र साहित्य समृद्ध हुन्न भन्ने हाम्रो विश्वास छ । साहित्यपोस्टको यो प्रयासले थोरै भए पनि नयाँ लेखकको चासो गैरआख्यानतर्फ पनि बढोस् भन्ने चाहन्छौँ ।’
०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।
०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा क्रमशः प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’लाई प्रदान गरिएको थियो । त्यस्तै, ०८० सालमा देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थमाको निधारबाट बागमती बग्छ’, सागर खड्काको उपन्यास ‘राइपाली भञ्ज्याङ्’ र उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’लाई प्रदान गरिएको थियो ।
त्यसैगरी गत वर्ष, ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कविताङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका वान्तवाको उपन्यास ‘प्याउली’ र ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ रमेश भुसालको नियात्रा कृति ‘छालबाटो’लाई प्रदान गरिएको थियो ।
अघिल्लो वर्षझैँ यस वर्ष पनि तीन विधाका उत्कृष्ट तीन डेब्यु कृतिलाई ५०-५० हजार राशिसहित सम्मान गर्न लागिएको हो ।
‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादक तथा स्वतन्त्र निर्णायकहरूलाई जिम्मा लगाइने छ । उहाँहरू प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलले भन्नुभयो, ‘लेखकको पहिलो पुस्तक नै स्तरीय बन्नुपर्छ भन्नेमा साहित्यपोस्ट तथा निर्णायकहरू प्रतिबद्ध हुनुहुन्छ । यी ११ वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’
‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’को प्रायोजन कवि एवं समालोचक विनयकुमार भण्डारीले गर्नुभएको छ । भण्डारीको कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ प्रकाशित छ भने साहित्यपोस्टमा प्रकाशित बृहत् समालोचनाहरू लोकप्रिय छन् ।
साहित्यपोस्ट आख्यान पुरस्कार र काव्य पुरस्कारको लामो सूची यसअघि नै प्रकाशन गरिसकिएको छ ।
प्रस्तुत छ, २०८२ सालका उत्कृष्ट ११ डेब्यु गैरआख्यान विधाका कृतिहरूको सूची:
१. अतीतको झझल्को – मदनराज ताम्राकार
लामो समय बैंकिङ क्षेत्रमा काम गर्नुभएका मदनराज ताम्राकारको संस्करणात्मक कृति हो, ‘अतीतको झझल्को’ । कृतिमा लेखकको बाल्यकाल, किशोरवय, विवाह, जागिरका साथै छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, र देशविदेशका विभिन्न भ्रमणका अनुभवहरु समेटिएका छन् ।
पुस्तकमा लेखक ताम्राकारले जीवनयात्रामा सँगालेका दुःख–सुख, संघर्ष–सफलता, जीवन–दर्शन तथा आत्मचिन्तनलाई सुरुचिपूर्ण ढंगले प्रस्तुत गर्नुभएको छ । पुस्तकलाई प्रकृति र कीर्तनराज ताम्राकारले प्रकाशनमा ल्याउनुभएको हो ।
२. आधा–सपना – विजयकुमार शर्मा
पूर्व लडाकु तथा कृषि उद्यमी विजयकुमार शर्माको संस्मरणात्मक कृति हो, ‘आधा–सपना’ । पुस्तकमा लेखकले माओवादी जनयुद्धकालको १० वर्षे भूमिगत राजनीतिक जीवन, १४ वर्षको जेल जीवन र हाल सञ्चालन गरिरहनुभएको ‘आत्म–निर्भरताका लागि कृषि अभियान’का बारेमा खुलेर लेख्नुभएको छ ।
पुस्तकमार्फत लेखक विजयकुमार राजनीतिले जनताको मुहार फेर्न नसकेको जिकीर गर्दै हतियारको साटो कुटो–कोदालोबाट राष्ट्रिय आत्मनिर्भरताका लागि क्रान्ति आवश्यक भएको बताउनुहुन्छ । पुस्तकलाई शब्द मिडिया प्रा.लि. (साहित्यपोस्ट) ले प्रकाशनमा ल्याएको हो ।
३. घाटगाउँ – विष्णु विवेक
अमेरिका निवासी लेखक तथा पत्रकार विष्णु विवेकको यात्रास्मृति हो, ‘घाटगाउँ’ । लेखकले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको संघर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पर्यटन अभियानका चुनौतीपूर्ण भोगाइलाई पुस्तकमा समेट्नुभएको छ ।
समग्रमा, लेखक विवेकको जीवन संघर्ष, पत्रकारिता तथा डायस्पोरा अनुभवमा अधारित कृति हो ‘घाटगाउँ’ । पुस्तकलाई पाँचपोखरी प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो ।
४. घोप्टे युग – भलादमी भोला
अध्यापन पेशामा संलग्न लेखक भलादमी भोलाको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो, ‘घोप्टे युग’ । मानवमा निहित विकृत चिन्तन तथा प्रवृत्तिलाई भोलाका निबन्धमा मिहीन र भलादमी ढङ्गले खोतलिएको छ । समाजमा विद्यमान विसङ्गतिका अनेक चित्र र चरित्रमाथि आत्मपरक शैलीमा व्यङ्ग्य प्रहार गर्नु भोलाका निबन्धका विशेषता हुन् ।
छोटा आयतनका संग्रहित निबन्ध चोटिलाका साथै शिष्ट, सौम्य, र बौद्धिक छन् । पुस्तकलाई फित्कौली अनलाइन मिडियाले प्रकाशनमा ल्याएको हो ।
५. जीवनको अनमोल यात्रा – मथुरा प्रधान श्रेष्ठ
सङ्गीत साधक तथा रेडियो नेपालकी प्रतिष्ठित गायिका मथुरा प्रधान श्रेष्ठको आत्मकथा हो, ‘जीवनको अनमोल यात्रा’ । मथुराले आफ्नो साङ्गीतिक जीवनका आरोह–अवरोह, सङ्घर्ष र सफलता–असफलतालाई पुस्तकमा समेट्नुभएको छ । पुस्तकमा व्यक्तिगत अनुभूति मात्र नभई सङ्गीतका किस्सा र काल–चिन्तन पनि देख्न सकिन्छ ।
पुस्तकामा नेपाली सङ्गीत र समाजको एक जीवन्त इतिहास प्रस्तुत छ । पुस्तकलाई पाइन प्रकाशनले प्रकाशनमा ल्याएको हो ।
६. नुनको जोहो – गणेशप्रसाद खतिवडा
शिक्षण पेशामा संलग्न लेखक गणेशप्रसाद खतिवडाको यात्रा–संस्मरण हो, ‘नुनको जाहो’ । पुस्तकमा सोलुखुम्बु, ओखलढुंगा तथा खोटाङ जिल्लावासीले नूनको जोहोका लागि गर्नुपरेको संघर्षको चित्र पुस्तकमा गरिएको छ । लेखक स्वयं खोलुवासी भएकाले उदयपुरको कटारीबाट नून बोकेको संस्मरण जीवन्त लाग्छन् ।
पुस्तकले नूनको बिम्ब बोकेर तत्कालीन समयमा दैनिक उपभोग्य वस्तुको जोहो कति कठीन थियो भन्ने चित्र प्रस्तुत गरेको छ । पुस्तकलाई साझा प्रकाशनले प्रकाशनमा ल्याएको हो ।
७. पहिलो आमनिर्वाचन २०१५ – विराट अनुपम
पत्रकार, लेखक तथा अनुवादक विराट अनुपमको अनुसन्धान कृति हो, ‘पहिलो आमनिर्वाचन २०१५’ । ‘काङ्ग्रेसको दुईतिहाइ, कम्युनिस्ट चौथो, स्वतन्त्रको चिह्न घण्टी’ उपशीर्षक दिइएको पुस्तकमा ०१५ साल फागुन ७ बाट शुरु भएको नेपालकै पहिलो संसदीय निर्वाचनका बारेमा विस्तृतमा चर्चा गरिएको छ ।
पुस्तकमा चुनाव जितेका छ दलका घोषणापत्र, दलगत चुनावी मुद्धा तथा राष्ट्रिय–अन्तराष्ट्रिय चर्चाका प्रसंगहरुलाई महत्त्वका साथ समेटिएको छ । पुस्तकलाई बुकहिल पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।
८. बम्बैसन् – डा. दुर्गाप्रसाद भँडारी
चिकित्सक तथा लेखक डा. दुर्गाप्रसाद भँडारीको यात्रा–वृत्तान्त हो, ‘बम्बैसन्’ । चिकित्सकका रूपमा अफगानिस्तान, पाकिस्तान, म्यान्मार लगायत विभिन्न देशको भ्रमण गर्दाका अनुभवहरूलाई पुस्तकमा समेटिएको छ । पुस्तकमा एक चिकित्सकको आँखाबाट देखिने विश्व इतिहास, युद्धको प्रभाव र विभिन्न संस्कृतिको गहन चित्रण प्रस्तुत गरिएको छ ।
लेखकले लन्डनदेखि याङ्गोनसम्मका यथार्थ र इतिहासलाई रोमाञ्चक ढङ्गले पुस्तकमा प्रस्तुत गर्नुभएको छ । पुस्तकलाई लेखक स्वयंले प्रकाशनमा ल्याउनुभएको हो ।
९. बादलमुनिको बागलुङ – भीम न्यौपाने
अस्ट्रेलिया बस्दै आउनुभएका पर्यटन व्यवसायी तथा चलचित्र निर्माता भीम न्यौपानेको आत्मकथा हो, ‘बादलमुनिको बागलुङ’ । पुस्तकमा लेखकले भोगेको अभावपूर्ण बाल्यकाल, किशोरवय र युवावस्थाको सपना, तथा सपना प्राप्त गर्न गरिएका सङ्घर्षको मौलिक र मिहीन प्रस्तुती रहेको छ ।
पुस्तकमा बागलुङ र कालीगण्डकी क्षेत्रको सामाजिक यथार्थ, सङ्घर्ष र मौलिक संस्कृतिको जीवन्त दस्ताबेज समेटिएको छ । पुस्तकलाई किताबकिरोले प्रकाशनमा ल्याएको हो ।
१०. मेरो स्कुल – मीना खड्का
पत्रकार तथा लेखक मीना खड्काको अनुसन्धानमूलक कृति हो, ‘मेरो स्कुलः बदलिँदो शैक्षिक परिदृश्य’ । पुस्तकमा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिचित्र, अनुभव–अनुभूति, नेपालको शैक्षिक इतिहास तथा वर्तमानमा सामाजिक यथार्थको नालीबेली प्रस्तुत गरिएको छ ।
खड्काले विद्यालय जीवन, शिक्षक–विद्यार्थी सम्बन्ध तथा शिक्षाको प्रभावलाई सरल, गहन र भावनात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।
११. यात्रा खुसीको – विष्णुबहादुर जी.सी.
लेखक डा. विष्णुबहादुर जी.सी.को संस्मरणात्मक निबन्धहरुको सङ्ग्रह हो, ‘यात्रा खुसीको’ । पुस्तकमा लेखकको शैक्षिक क्षेत्रका स्व–अनुभूति, आत्म–वृत्तान्त तथा नियात्राका अनुभूतिहरु समेटिएका छन् । लेखकले खुशीलाई कुनै एक क्षणको विषय मात्र नमानी समग्र जीवनको समष्टिगत स्वरूपका रूपमा व्याख्या गर्नुभएको छ ।
कथात्मक शैलीमा लेखिएको पुस्तकले खुसीको आत्मिक खोज गर्ने प्रयास गरेको छ । पुस्तकलाई स्वदेश पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।

