पहिलो कृतिका रूपमा गैरआख्यान लेखेर नेपाली साहित्यमा पदार्पण गरेका नवोदित लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८२’का लागि ‘छोटो सूची’ जारी गरिएको छ । सूचीमा नवोदित लेखकका पाँच गैरआख्यान कृति समावेश छन् ।
सूचीमा विजयकुमार शर्माको संस्मरणात्मक कृति ‘आधा–सपना’, भलादमी भोलाको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘घोप्टे युग’, विराट अनुपमको अनुसन्धानात्मक कृति ‘पहिलो आमनिर्वाचन २०१५’, भीम न्यौपानेको आत्मकथा ‘बादलमुनिको बागलुङ’ र मीना खड्काको अनुसन्धानमूलक कृति ‘मेरो स्कुल’ रहेका छन् ।
यसअघि ०८२ सालमा प्रकाशित नवोदित लेखकका साहित्यपोस्टलाई प्राप्त २४ गैरआख्यान विधाका कृतिहरूबाट ११ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच कृतिको छोटो सूची तिनै ११ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
यसअघि पुरस्कारको ‘लामो सूची’मा छोटो सूचीमा अटाएका पाँच कृतिहरूका साथमा मदनराज ताम्राकारको ‘अतीतको झझल्को’, विष्णु विवेकको ‘घाटगाउँ’, मथुरा प्रधान श्रेष्ठको ‘जीवनको अनमोल यात्रा’, गणेशप्रसाद खतिवडाको ‘नुनको जोहो’, डा. दुर्गाप्रसाद भँडारीको ‘बम्बैसन्’ र विष्णुबहादुर जी.सी.को ‘यात्रा खुसीको’ रहेका थिए ।
लामो सूचीबाट पाँच गैरआख्यान कृतिहरूको छोटो सूची साहित्यपोस्टका विधा सम्पादकसहितको निर्णायक समूहले छानेको हो । संरचना, सम्प्रेषित विचार र दृष्टि, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समय चेत, प्रस्तुति, बिम्ब र प्रतीकको प्रयोग तथा शीर्षकको सार्थकता लगायत गैरआख्यानका विविध आयमहरूलाई आधार बनाई कृतिहरूको मूल्यांकन गरिएको निर्णायक समूहले जनाएको छ ।
तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये ‘उत्कृष्ट तीन’को छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८२’ प्रदान गरिने छ ।
‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’को प्रायोजन कवि एवं समालोचक विनयकुमार भण्डारीले गर्नुभएको छ । भण्डारीको कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ प्रकाशित छ भने साहित्यपोस्टमा प्रकाशित बृहत् समालोचनाहरू लोकप्रिय छन् ।
‘साहित्यपोस्ट आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट काव्य पुरस्कार’ को छोटो सूची क्रमशः जेठ २० गते (बुधबार) र २१ गते (बिहीबार) सार्वजनिक गरिनेछ ।
अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन-तीन कृति (साहित्यपोस्ट नवरत्न २०८२) को घोषणा गरिने छ । तीन विधाका तीन-तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।
छोटो सूचीमा पर्न सफल पाँच गैरआख्यान विधाका कृतिहरूः
१. आधा–सपना – विजयकुमार शर्मा
पूर्व लडाकु तथा कृषि उद्यमी विजयकुमार शर्माको संस्मरणात्मक कृति हो, ‘आधा–सपना’ । पुस्तकमा लेखकले माओवादी जनयुद्धकालको १० वर्षे भूमिगत राजनीतिक जीवन, १४ वर्षको जेल जीवन र हाल सञ्चालन गरिरहनुभएको ‘आत्म–निर्भरताका लागि कृषि अभियान’का बारेमा खुलेर लेख्नुभएको छ ।
पुस्तकमार्फत लेखक विजयकुमार राजनीतिले जनताको मुहार फेर्न नसकेको जिकीर गर्दै हतियारको साटो कुटो–कोदालोबाट राष्ट्रिय आत्मनिर्भरताका लागि क्रान्ति आवश्यक भएको बताउनुहुन्छ । पुस्तकलाई शब्द मिडिया प्रा.लि. (साहित्यपोस्ट) ले प्रकाशनमा ल्याएको हो ।
२. घोप्टे युग – भलादमी भोला
अध्यापन पेशामा संलग्न लेखक भलादमी भोलाको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो, ‘घोप्टे युग’ । मानवमा निहित विकृत चिन्तन तथा प्रवृत्तिलाई भोलाका निबन्धमा मिहीन र भलादमी ढङ्गले खोतलिएको छ । समाजमा विद्यमान विसङ्गतिका अनेक चित्र र चरित्रमाथि आत्मपरक शैलीमा व्यङ्ग्य प्रहार गर्नु भोलाका निबन्धका विशेषता हुन् ।
छोटा आयतनका संग्रहित निबन्ध चोटिलाका साथै शिष्ट, सौम्य, र बौद्धिक छन् । पुस्तकलाई फित्कौली अनलाइन मिडियाले प्रकाशनमा ल्याएको हो ।
३. पहिलो आमनिर्वाचन २०१५ – विराट अनुपम
पत्रकार, लेखक तथा अनुवादक विराट अनुपमको अनुसन्धान कृति हो, ‘पहिलो आमनिर्वाचन २०१५’ । ‘काङ्ग्रेसको दुईतिहाइ, कम्युनिस्ट चौथो, स्वतन्त्रको चिह्न घण्टी’ उपशीर्षक दिइएको पुस्तकमा ०१५ साल फागुन ७ बाट शुरु भएको नेपालकै पहिलो संसदीय निर्वाचनका बारेमा विस्तृतमा चर्चा गरिएको छ ।
पुस्तकमा चुनाव जितेका छ दलका घोषणापत्र, दलगत चुनावी मुद्धा तथा राष्ट्रिय–अन्तराष्ट्रिय चर्चाका प्रसंगहरुलाई महत्त्वका साथ समेटिएको छ । पुस्तकलाई बुकहिल पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।
४. बादलमुनि बागलुङ – भीम न्यौपाने
अस्ट्रेलिया बस्दै आउनुभएका पर्यटन व्यवसायी तथा चलचित्र निर्माता भीम न्यौपानेको आत्मकथा हो, ‘बादलमुनि बागलुङ’ । पुस्तकमा लेखकले भोगेको अभावपूर्ण बाल्यकाल, किशोरवय र युवावस्थाको सपना, तथा सपना प्राप्त गर्न गरिएका सङ्घर्षको मौलिक र मिहीन प्रस्तुती रहेको छ ।
पुस्तकमा बागलुङ र कालीगण्डकी क्षेत्रको सामाजिक यथार्थ, सङ्घर्ष र मौलिक संस्कृतिको जीवन्त दस्ताबेज समेटिएको छ । पुस्तकलाई किताबकिरोले प्रकाशनमा ल्याएको हो ।
५. मेरो स्कुल – मीना खड्का
पत्रकार तथा लेखक मीना खड्काको अनुसन्धानमूलक कृति हो, ‘मेरो स्कुलः बदलिँदो शैक्षिक परिदृश्य’ । पुस्तकमा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिचित्र, अनुभव–अनुभूति, नेपालको शैक्षिक इतिहास तथा वर्तमानमा सामाजिक यथार्थको नालीबेली प्रस्तुत गरिएको छ ।
खड्काले विद्यालय जीवन, शिक्षक–विद्यार्थी सम्बन्ध तथा शिक्षाको प्रभावलाई सरल, गहन र भावनात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

