‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८२’ का लागि तीन गैरआख्यान विधाका कृतिको अन्तिम सूची जारी भएको छ ।
पहिलो पुस्तकका रूपमा गैरआख्यान लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना भएको ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ – २०८२ को अन्तिम सूची सार्वजनिक गरिएको हो ।
सूचीमा विराट अनुपमको अनुसन्धानात्मक कृति ‘पहिलो आमनिर्वाचन २०१५’, भीम न्यौपानेको आत्मकथा ‘बादलमुनिको बागलुङ’ र मीना खड्काको अनुसन्धानमूलक कृति ‘मेरो स्कुल’ रहेका छन् ।
आगामी असार १५ गते सार्वजनिक कार्यक्रमको आयोजना गरी यी तीन कृतिमध्ये एकलाई ५० हजार रूपैंया नगद राशिको ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८२’ प्रदान गरिने छ ।
‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८२’ का लागि ०८२ सालमा प्रकाशित डेब्यु लेखकका २४ गैरआख्यान विधाका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा २४ कृतिबाट ११ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ कृतिको ‘छोटो सूची‘ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ गैरआख्यान विधाका कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।
संरचना, सम्प्रेषित विचार र दृष्टि, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समय चेत, प्रस्तुति, बिम्ब र प्रतीकको प्रयोग तथा शीर्षकको सार्थकता लगायत गैरआख्यानका विविध आयमहरूलाई आधार बनाई कृतिहरूको मूल्याङ्कन गरिएको मूल्याङ्कन समितिले जनाएको छ ।
यसअघि पुरस्कारको छोटो सूचीमा विजयकुमार शर्माको संस्मरणात्मक कृति ‘आधा–सपना’, भलादमी भोलाको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘घोप्टे युग’, विराट अनुपमको अनुसन्धानात्मक कृति ‘पहिलो आमनिर्वाचन २०१५’, भीम न्यौपानेको आत्मकथा ‘बादलमुनिको बागलुङ’ र मीना खड्काको अनुसन्धानमूलक कृति ‘मेरो स्कुल’ रहेका थिए ।
त्यस्तै, पुरस्कार प्रारम्भिक लामो सूचीमा छोटो सूचीमा रहेका कृतिहरूका साथमा मदनराज ताम्राकारको ‘अतीतको झझल्को’, विष्णु विवेकको ‘घाटगाउँ’, मथुरा प्रधान श्रेष्ठको ‘जीवनको अनमोल यात्रा’, गणेशप्रसाद खतिवडाको ‘नुनको जोहो’, डा. दुर्गाप्रसाद भँडारीको ‘बम्बैसन्’ र विष्णुबहादुर जी.सी.को ‘यात्रा खुसीको’ रहेका थिए ।
‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’को प्रायोजन कवि एवं समालोचक विनयकुमार भण्डारीले गर्नुभएको छ । भण्डारीको कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ प्रकाशित छ भने साहित्यपोस्टमा प्रकाशित बृहत् समालोचनाहरू लोकप्रिय छन् ।
अगामी चरणमा काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन-तीन कृति सम्मेलित ‘साहित्यपोस्ट नवरत्न २०८२’ को घोषणा गरिने छ । तीन विधाका तीन-तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ भने ‘साहित्यपोस्ट नवरत्न २०८२’लाई सार्वजनिक सम्मान गरिनेछ ।
साहित्यपोस्ट काव्य र आख्यान पुरस्कारको अन्तिम सूची क्रमशः असार २ गते र ३ गते घोषणा गरिने छ ।
अन्तिम सूचीका समावेश तीन कृतिः
…
१. पहिलो आमनिर्वाचन २०१५ – विराट अनुपम
पत्रकार, लेखक तथा अनुवादक विराट अनुपमको अनुसन्धान कृति हो, ‘पहिलो आमनिर्वाचन २०१५’ । ‘काङ्ग्रेसको दुईतिहाइ, कम्युनिस्ट चौथो, स्वतन्त्रको चिह्न घण्टी’ उपशीर्षक दिइएको पुस्तकमा ०१५ साल फागुन ७ बाट शुरु भएको नेपालकै पहिलो संसदीय निर्वाचनका बारेमा विस्तृतमा चर्चा गरिएको छ ।
‘पहिलो आमनिर्वाचन’ मिहिनेत, अनुसन्धान र लेखकीय सुझबुझसहित लेखिएको पुस्तक हो । निर्वाचनको इतिहास भुल्दै गएका आम पाठकका लागि यो निकै सूचनावर्धक पनि छ । पुस्तकमा चुनाव जितेका छ दलका घोषणापत्र, दलगत चुनावी मुद्धा तथा राष्ट्रिय–अन्तराष्ट्रिय चर्चाका प्रसंगहरूलाई महत्त्वका साथ समेटिएको छ । पुस्तकलाई बुकहिल पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।
२. बादलमुनि बागलुङ – भीम न्यौपाने
अस्ट्रेलिया बस्दै आउनुभएका पर्यटन व्यवसायी तथा चलचित्र निर्माता भीम न्यौपानेको आत्मकथा हो, ‘बादलमुनि बागलुङ’ । पुस्तकमा लेखकले भोगेको अभावपूर्ण बाल्यकाल, किशोरवय र युवावस्थाको सपना, तथा सपना प्राप्त गर्न गरिएका सङ्घर्षको मौलिक र मिहीन प्रस्तुती रहेको छ ।
‘बादलमुनि बागलुङ’ साहित्यिकताका हिताबले एक उत्कृष्ट कृति हो । यसमा देश र विदेशका सूक्ष्मातिसूक्ष्म यथार्थ र अनुभूतिलाई प्राञ्जल भाषा र आकर्षक अभिव्यक्तिमार्फत प्रस्तुत गरिएको छ । पुस्तकमा बागलुङ र कालीगण्डकी क्षेत्रको सामाजिक यथार्थ, सङ्घर्ष र मौलिक संस्कृतिको जीवन्त दस्ताबेज समेटिएको छ । पुस्तकलाई किताबकिरोले प्रकाशनमा ल्याएको हो ।
३. मेरो स्कुल – मीना खड्का
पत्रकार तथा लेखक मीना खड्काको अनुसन्धानमूलक कृति हो, ‘मेरो स्कुलः बदलिँदो शैक्षिक परिदृश्य’ । पुस्तकमा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिचित्र, अनुभव–अनुभूति, नेपालको शैक्षिक इतिहास तथा वर्तमानमा सामाजिक यथार्थको नालीबेली प्रस्तुत गरिएको छ ।
पुस्तकमा शिक्षासँग सम्बन्धित निजी अनुभूतिहरू सँगालएिको छ । कृतिको बुनोट, भाषा र शैली आकर्षक छ । खड्काले विद्यालय जीवन, शिक्षक–विद्यार्थी सम्बन्ध तथा शिक्षाको प्रभावलाई सरल, गहन र भावनात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

