साहित्यपोस्ट डट कम

‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८२’को लामो सूची

‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८२’को लामो सूची

पहिलो कृतिका रूपमा आख्यान विधाको कृति प्रकाशनमा ल्याएर नेपाली भाषा, साहित्य तथा वाङ्मयको क्षेत्रमा औपचारिक पाइला चालेका नवोदित लेखकका लागि खुशीको खबर ।

डेब्यु आख्यान विधाको कृति (कथा, उपन्यास, नाटक आदि) का लागि दिइने ‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८२’ का लागि उत्कृष्ट ११ आख्यान कृतिहरूको सूची सार्वजनिक गरेका छौँ ।

यो सूची नयाँ लेखकहरूका २०८२ सालमा प्रकाशन भएकामध्ये हामीलाई प्राप्त ३७ आख्यान कृतिबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको समूहले छानेको हो । पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

छानिएका आख्यान विधाका कृतिहरूमा रबिन रिजालको उपन्यास ‘अस्तुको सिन्दुर’, शोभा अधिकारीको लघुकथासङ्ग्रह ‘आमाको आँखा’, प्रशान्त सापकोटा (फिनु) को उपन्यास ‘काव्या’, छत्र दर्लामीको उपन्यास ‘घेरा’, सुरेश याक्सोको कथासङ्ग्रह ‘पेनिबा’, हिमा रोका ‘प्रतिज्ञा’को लघुकथासङ्ग्रह ‘प्रतिज्ञा’, खगेन्द्र गिरीको कथासङ्ग्रह ‘भग्न प्रेमशाला’, प्रकाश पन्थीको उपन्यास ‘महबी मिका’, दिपा दाहालको कथासङ्ग्रह ‘विजयिनी’, अमृत प्रधानको उपन्यास ‘स्पर्शको आभास’ र लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ रहेका छन् ।

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि ‘छोटो सूची’ सार्वजनिक गरिने छ भने तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल आख्यान कृतिमध्ये उत्कृष्ट तीनको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ प्रदान गरिने छ ।

‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप अघिल्ला वर्षहरूझैँ यसपटक पनि तीन विधामा ३ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगदका साथ सम्मान गर्दैछौं ।’, पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भन्नुभयो, ‘गत वर्षको तुलनामा यस वर्ष केही कम पुस्तक प्रकाशनमा आएका रहेछन्, तथापि नवोदित लेखकहरूमा आख्यानप्रतिको झुकाव लोभलाग्दो छ । सूचीमा रहेका आख्यान कृतिहरूले यो विधाको सुनौलो र समृद्ध भविष्यतर्फ संकेत गरेका छन् ।’

कोइरालाका अनुसार लामो सूचीमा रहेका ११ वटा आख्यानकृतिले नयाँ पुस्ता के लेख्दैछ, आख्यानमा कस्तो प्रयोग गर्दैछ र नेपाली साहित्यको भविष्य कस्तो छ भन्ने भन्नेतर्फ सङ्केत गरेका छन् ।

०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।

०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा क्रमशः प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’लाई प्रदान गरिएको थियो । त्यस्तै, ०८० सालमा देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थमाको निधारबाट बागमती बग्छ’, सागर खड्काको उपन्यास ‘राइपाली भञ्ज्याङ्’ र उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’लाई प्रदान गरिएको थियो ।

त्यसैगरी गत वर्ष, ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कविताङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका वान्तवाको उपन्यास ‘प्याउली’ र ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ रमेश भुसालको नियात्रा कृति ‘छालबाटो’लाई प्रदान गरिएको थियो ।

अघिल्लो वर्षझैँ यस वर्ष पनि तीन विधाका उत्कृष्ट तीन डेब्यु कृतिलाई ५०-५० हजार राशिसहित सम्मान गर्न लागिएको हो ।

‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादक तथा स्वतन्त्र निर्णायकहरूलाई जिम्मा लगाइने छ । उहाँहरू प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलले भन्नुभयो, ‘लेखकको पहिलो पुस्तक नै स्तरीय बन्नुपर्छ भन्नेमा साहित्यपोस्ट तथा निर्णायकहरू प्रतिबद्ध हुनुहुन्छ । यी ११ वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’

‘साहित्यपोस्ट आख्यान पुरस्कार’को प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको छ । जापानको सागा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएका अधिकारी पोखरेली युवा सांस्कृतिक परिवारको सचिवसमेत हुनुहुन्छ । अधिकारीका ‘जुद्ध शमशेरका नाममा’ र ‘झरीको किनार’ कवितासङ्ग्रह प्रकाशित छन् ।

साहित्यपोस्ट काव्य र गैरआख्यान पुरस्कारको लामो सूची क्रमशः वैशाख २४ गते बिहीबार र वैशाख २६ गते शनिबार प्रकाशित गरिनेछ ।

प्रस्तुत छ, २०८२ सालका उत्कृष्ट ११ डेब्यु आख्यान विधाका कृतिहरूको सूची:

१. अस्तुको सिन्दुर – रविन रिजाल

जेनजी उमेर–समूहका लेखक रबिन रिजालको उपन्यास हो, ‘अस्तुको सिन्दुर’ । उपन्यासमा रिजालले मरुभूमिको रापमा पिसिएका नेपाली युवाको सामूहिक स्वरलाई प्रस्तुत गर्नुभएको छ । लाखौं नेपाली युवाको सपना बोकेको खाडी मुलुक र मरुभूमि तथा त्रिभुवन विमानस्थलमा भित्रिने मौन बाकसको कथालाई उपन्यासले केन्द्रमा राखेको छ ।

महेश संस्कृत गुरुकुल विद्यापीठमा शास्त्रीको अध्ययन गर्दै गर्नुभएका रिजालको यो उपन्यास भाषिक रूपमा सुललित, सुगठित र सम्प्रेष्य रहेको छ । उपन्यासलाई रामप्रसाद शर्माले प्रकाशनमा ल्याउनुभएको हो ।

२. आमाको आँखा – शोभा अधिकारी

प्राध्यापन पेशामा संलग्न लेखक शोभा अधिकारीको लघुकथासङ्ग्रह हो, ‘आमाको आँखा’ । सङ्ग्रहमा नेपाली समाजलाई प्रतिनिधित्व गर्ने विविध विषयका लघुकथा सङ्ग्रहित छन् । आमाले सन्तानलाई गर्ने निःस्वार्थ प्रेम र सन्तानबाट आमाले भोग्नुपर्ने दुर्व्यहारलाई पुस्तकले मार्मिक ढंगबाट उजागर गरेको छ ।

राजनीतिक शक्तिका आडमा हुने गरेका बेथिति, सांस्कृतिक विकृति र सामाजिक विचलनमाथि अधिकारीका लघुकथामा चोटिलो व्यङ्ग्य भेटिन्छ । पुस्तकलाई बुद्ध पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।

३. काव्या – प्रशान्त सापकोटा (फिनु)

पोखरा निवासी युवा लेखक प्रशान्त सापकोटा (फिनु) को पहिलो कृति हो, उपन्यास ‘काव्या’ । उपन्यासमा वर्तमान पुस्ताको प्रेम र मनोविज्ञानको कथा रहेको छ । आधुनिक प्रविधिको पृष्ठभूमिमा विकसित संस्कृति र यसले निर्माण गरेको वातावरणमा अंकुरित प्रेमलाई सापकोटाले सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ ।

उपन्यासमा प्रेम कथाका साथमा वर्तमान युवा जमातले सम्बन्धहरूमा ख्याल राख्नुपर्ने सचेतताका साथै समाजिक अन्तघुर्लनका विषयवस्तु समेत समेटिएका छन् । उपन्यासलाई खेमराज सापकोटाले प्रकाशनमा ल्याउनुभएको हो ।

४. घेरा – छत्र दर्लामी

साहित्य लेखनमा सक्रिय युवा लेख छत्र दर्लामीको उपन्यास हो, ‘घेरा’ । उपन्यासमा समाजिक कुरीति, जातीय विभेद तथा संकीर्ण समाजिक सोचका कारण प्रेमिल हृदयले भोग्नु पर्ने वियोगान्त अवस्थाको चित्रण गरेको छ ।

लेखकले उपन्यासमार्फत मानवीयता तथा प्रेमको सवालमा समाजको हारलाई प्रस्तुत गर्दै विभेदपूर्ण समाजिक मूल्य–मान्यताप्रति गहिरो प्रहार गर्नुभएको छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

५) पेनिबा – सुरेश याक्सो

कथाकार सुरेश याक्सोको कथासङ्ग्रह हो, ‘पेनिबा’ । यो समाजको यथार्थलाई मनोवैज्ञानिक गहिराइसहित प्रस्तुत गर्ने कृति हो । सङ्ग्रहका कथाहरू वर्तमान परिवेशमा केन्द्रित छन् । नेपाल र हङकङको परिवेशमा लेखिएका कथाहरू वैचारिक रूपमा सशक्त छन् ।

आफ्ना कथाहरूमा याक्सोले समाजका राम्रा–नराम्रा गतिविधिलाई सूक्ष्म रूपमा केलाउनुभएको छ । पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।

६) प्रतिज्ञा – हिमा रोका ‘प्रतिज्ञा’

युवा लेखक हिमा रोका ‘प्रतिज्ञा’को लघुकथासङ्ग्रह हो, ‘प्रतिज्ञा’ । ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार– २०८२’ प्राप्त गर्दै प्रकाशनमा आएको यस कृतिमा समाजिक, लैंगिक तथा राजनीतिक चेतसहितका लघुकथाहरू सङ्ग्रहित छन् ।

प्रतिज्ञाका लघुकथाले मानवीय संवेदन तथा अनुभूतिहरूलाई गहिरोसँग समेटेका छन् । मानवीय, पारिवारिक तथा समाजिक विचलनलाई दर्बिलो व्यंग्य गर्न लघुकथाहरू सक्षम देखिन्छन् । पुस्तकलाई साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।

७. भग्न प्रेमशाला – खगेन्द्र गिरी

ढेड दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय लेखक खगेन्द्र गिरीको पहिलो मौलिक कृति हो, कथासङ्ग्रह ‘भग्न प्रेमशाला’ । सङ्ग्रहमा इतिहासदेखि एआई र रोबोटिक्ससम्मका विविध विषयमा आधारित कथाहरू सङ्ग्रहित छन् । पुस्तकमा प्रेमलाई ‘रोमान्टिक’ नभई एक ‘प्रयोगशाला’ को रूपमा प्रस्तुत गरिएको छ जहाँ सम्बन्धहरू परीक्षण हुन्छन् । पुस्तकमा पितृसत्ता, मीडिया र सामाजिक प्रणालीको सूक्ष्म चिरफार गरिएको छ ।

गिरीका कथाका पात्रहरू भौतिक भोगाइभन्दा ज्यादा अस्तित्वको संकट र मानसिक विखण्डनबाट गुज्रेका छन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

८. महबी मिका – प्रकाश पन्थी

आख्यानकार प्रकाश पन्थीको उपन्यास हो, ‘महवी मिका’ । परम्परागत कथावाचनको संरचनालाई अस्वीकार गर्दै पन्थीले उपन्यासमा नयाँ शैलीको प्रयोग गर्नुभएको छ । उपन्यासको केन्द्रमा सामाजिक विकृति र विसंगतिहरू छन्, जसमाथि उपन्यासले तीक्ष्ण व्यंग्य–प्रहार गरेको छ । साथै, पात्रहरूको संघर्ष र भोगाइमार्फत् समाजको यथार्थ तस्बीर प्रस्तुत गरिएको छ ।

भाषिक रूपमा उपन्यास सशक्त, कवितामय र कतिपय ठाउँमा अध्यात्मतिर झुकेर दार्शनिक शैलीमा लेखिएको छ । उपन्यासलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

९) विजयिनी – दिपा दाहाल

समसामयिक तथा महिला मुद्दामा प्रखर लेखक दिपा दाहालको कथासङ्ग्रह हो, ‘विजयिनी’ । कथासङ्ग्रहमा नेपाली मनोवैज्ञानिक र नारीवादी प्रवृत्तिलाई आत्मसात् गरिएको छ । कथामा विशेषगरी पूर्वी नेपालको तराई क्षेत्रको भौगोलिक परिवेश र त्यहाँ बसोबास गर्ने बाहुन, क्षेत्री, राई, लिम्बु, धिमाल, सन्थालको जीवनशैलीलाई उतारिएको छ ।

सङ्ग्रहका अधिकांश कथाहरूले पितृसत्तात्मक समाजमा नारीले भोग्नुपरेका पीडा, अन्तरजातीय विवाहका चुनौती र आर्थिक आत्मनिर्भरतापपछि प्राप्त हुने ‘विजयीभाव’ लाई उजागर गरेका छन् । पुस्तकलाई साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।

१०) स्पर्शको आभास – अमृत प्रधान

बेलायत निवासी युवा लेखक अमृत प्रधानको उपन्यास हो, ‘स्पर्शको आभास’ । उपन्यासमा जीवन भोगाइ, प्रवासका कथा–व्यथा तथा जन्मभूमिको सम्झना र तृष्णालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । मानवीय भावना र सम्बन्धका कथा उपन्यासको केन्द्रमा रहेको छ ।

उपन्यासका पात्रहरूको संघर्ष, आशा, पीडा र सपनाहरूको सजीवन चित्रण गर्न प्रधान सफल देखिनुभएको छ । पुस्तकलाई मञ्जरी पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।

११) सत्यम् – लक्ष्मण वियोगी

दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय लेखक लक्ष्मण वियोगीको पहिलो कृति हो, कथासङ्ग्रह ‘सत्यम्’ । कथाहरूमा रैथाने शैली, लोकजीवन, लोकसंस्कृति र पर्यावरणीय चेत प्रखर रूपमा समेटिएका छन् । स्याङ्जाको परिवेशलाई केन्द्रमा राखिएका कथाहरूमा काठमाडौँ, बर्दिया, अछाम लगायत ठाउँका सामाजिक तथा भौगोलिक चित्रहरू पनि जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

कथाहरूमा प्रेम–प्रणयका अनुभूतिका साथै माओवादी द्वन्द्वको समयमा समाजले भोगेको त्रासदीलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । पात्रहरूको सङ्घर्षपूर्ण जीवनलाई वियोगीले ‘दुःखान्त चेतना’का साथ प्रस्तुत गर्नुभएको छ । पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.