पहिलो कृतिका रूपमा आख्यान लेखेर नेपाली साहित्यमा पदार्पण गरेका नवोदित लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८२’का लागि ‘छोटो सूची’ जारी गरिएको छ । सूचीमा नवोदित आख्यानकारका पाँच आख्यान कृति समावेश छन् ।
सूचीमा सुरेश याक्सोको कथासङ्ग्रह ‘पेनिबा’, खगेन्द्र गिरीको कथासङ्ग्रह ‘भग्न प्रेमशाला’, प्रकाश पन्थीको उपन्यास ‘महबी मिका’, दिपा दाहालको कथासङ्ग्रह ‘विजयिनी’, र लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ रहेका छन् ।
यसअघि ०८२ सालमा प्रकाशित नवोदित लेखकका साहित्यपोस्टलाई प्राप्त ३७ आख्यान विधाका कृतिहरूबाट ११ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच कृतिको छोटो सूची तिनै ११ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
यसअघि पुरस्कारको ‘लामो सूची’मा छोटो सूचीमा अटाएका पाँच कृतिका साथमा रबिन रिजालको उपन्यास ‘अस्तुको सिन्दुर’, शोभा अधिकारीको लघुकथासङ्ग्रह ‘आमाको आँखा’, प्रशान्त सापकोटा (फिनु) को उपन्यास ‘काव्या’, छत्र दर्लामीको उपन्यास ‘घेरा’, हिमा रोका ‘प्रतिज्ञा’को लघुकथासङ्ग्रह ‘प्रतिज्ञा’, र अमृत प्रधानको उपन्यास ‘स्पर्शको आभास’ रहेका थिए ।
लामो सूचीबाट पाँच आख्यान कृतिको छोटो सूची साहित्यपोस्टका विधा सम्पादकसहितको निर्णायक समूहले छानेको हो । कथा संरचना, घटनाहरूको संयोजन र सिलसिला, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समयचेत, चरित्रकार्य, प्रस्तुति तथा शीर्षक सार्थकता लगायत आख्यानका विविध आयमहरूलाई आधार बनाई कृतिहरूको मूल्याङ्कन रिएको निर्णायक समूहले जनाएको छ ।
तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट तीन कृतिको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८२’ प्रदान गरिने छ ।
‘साहित्यपोस्ट आख्यान पुरस्कार’को प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको छ । जापानको सागा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएका अधिकारी पोखरेली युवा सांस्कृतिक परिवारको सचिवसमेत हुनुहुन्छ । अधिकारीका ‘जुद्ध शमशेरका नाममा’ र ‘झरीको किनार’ कवितासङ्ग्रह प्रकाशित छन् ।
‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’को छोटो सूची प्रकाशन गरिसकिएको छ भने जेठ २१ गते (बिहीबार) ‘साहित्यपोस्ट काव्य पुरस्कार’को छोटो सूची सार्वजनिक गरिने छ ।
अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन-तीन कृति (साहित्यपोस्ट नवरत्न २०८२) को घोषणा गरिने छ । तीन विधाका तीन-तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।
छोटो सूचीमा पर्न सफल पाँच आख्यान विधाका कृतिहरूः
१) पेनिबा – सुरेश याक्सो
कथाकार सुरेश याक्सोको कथासङ्ग्रह हो, ‘पेनिबा’ । यो समाजको यथार्थलाई मनोवैज्ञानिक गहिराइसहित प्रस्तुत गर्ने कृति हो । सङ्ग्रहका कथाहरू वर्तमान परिवेशमा केन्द्रित छन् । नेपाल र हङकङको परिवेशमा लेखिएका कथाहरू वैचारिक रूपमा सशक्त छन् ।
आफ्ना कथाहरूमा याक्सोले समाजका राम्रा–नराम्रा गतिविधिलाई सूक्ष्म रूपमा केलाउनुभएको छ । पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।
२. भग्न प्रेमशाला – खगेन्द्र गिरी
ढेड दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय लेखक खगेन्द्र गिरीको पहिलो मौलिक कृति हो, कथासङ्ग्रह ‘भग्न प्रेमशाला’ । सङ्ग्रहमा इतिहासदेखि एआई र रोबोटिक्ससम्मका विविध विषयमा आधारित कथाहरू सङ्ग्रहित छन् । पुस्तकमा प्रेमलाई ‘रोमान्टिक’ नभई एक ‘प्रयोगशाला’ को रूपमा प्रस्तुत गरिएको छ जहाँ सम्बन्धहरू परीक्षण हुन्छन् । पुस्तकमा पितृसत्ता, मीडिया र सामाजिक प्रणालीको सूक्ष्म चिरफार गरिएको छ ।
गिरीका कथाका पात्रहरू भौतिक भोगाइभन्दा ज्यादा अस्तित्वको संकट र मानसिक विखण्डनबाट गुज्रेका छन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।
३. महबी मिका – प्रकाश पन्थी
आख्यानकार प्रकाश पन्थीको उपन्यास हो, ‘महवी मिका’ । परम्परागत कथावाचनको संरचनालाई अस्वीकार गर्दै पन्थीले उपन्यासमा नयाँ शैलीको प्रयोग गर्नुभएको छ । उपन्यासको केन्द्रमा सामाजिक विकृति र विसंगतिहरू छन्, जसमाथि उपन्यासले तीक्ष्ण व्यंग्य–प्रहार गरेको छ । साथै, पात्रहरूको संघर्ष र भोगाइमार्फत् समाजको यथार्थ तस्बीर प्रस्तुत गरिएको छ ।
भाषिक रूपमा उपन्यास सशक्त, कवितामय र कतिपय ठाउँमा अध्यात्मतिर झुकेर दार्शनिक शैलीमा लेखिएको छ । उपन्यासलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।
४. विजयिनी – दिपा दाहाल
समसामयिक तथा महिला मुद्दामा प्रखर लेखक दिपा दाहालको कथासङ्ग्रह हो, ‘विजयिनी’ । कथासङ्ग्रहमा नेपाली मनोवैज्ञानिक र नारीवादी प्रवृत्तिलाई आत्मसात् गरिएको छ । कथामा विशेषगरी पूर्वी नेपालको तराई क्षेत्रको भौगोलिक परिवेश र त्यहाँ बसोबास गर्ने बाहुन, क्षेत्री, राई, लिम्बु, धिमाल, सन्थालको जीवनशैलीलाई उतारिएको छ ।
सङ्ग्रहका अधिकांश कथाहरूले पितृसत्तात्मक समाजमा नारीले भोग्नुपरेका पीडा, अन्तरजातीय विवाहका चुनौती र आर्थिक आत्मनिर्भरतापपछि प्राप्त हुने ‘विजयीभाव’ लाई उजागर गरेका छन् । पुस्तकलाई साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।
५) सत्यम् – लक्ष्मण वियोगी
दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय लेखक लक्ष्मण वियोगीको पहिलो कृति हो, कथासङ्ग्रह ‘सत्यम्’ । कथाहरूमा रैथाने शैली, लोकजीवन, लोकसंस्कृति र पर्यावरणीय चेत प्रखर रूपमा समेटिएका छन् । स्याङ्जाको परिवेशलाई केन्द्रमा राखिएका कथाहरूमा काठमाडौँ, बर्दिया, अछाम लगायत ठाउँका सामाजिक तथा भौगोलिक चित्रहरू पनि जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
कथाहरूमा प्रेम–प्रणयका अनुभूतिका साथै माओवादी द्वन्द्वको समयमा समाजले भोगेको त्रासदीलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । पात्रहरूको सङ्घर्षपूर्ण जीवनलाई वियोगीले ‘दुःखान्त चेतना’का साथ प्रस्तुत गर्नुभएको छ । पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो ।

