‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८२’ का लागि आख्यान विधाका तीन कृतिको अन्तिम सूची जारी भएको छ ।
पहिलो पुस्तकका रूपमा आख्यान लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका आख्यानकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना भएको ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ – २०८२ को अन्तिम सूची सार्वजनिक गरिएको हो ।
सूचीमा खगेन्द्र गिरीको कथासङ्ग्रह ‘भग्न प्रेमशाला’, प्रकाश पन्थीको उपन्यास ‘महबी मिका’ र लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ रहेका छन् ।
आगामी असार १५ गते सार्वजनिक कार्यक्रमको आयोजना गरी यी तीन कृतिमध्ये एकलाई ५० हजार रूपैंया नगद राशिको ‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८२’ प्रदान गरिने छ ।
‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८२’ का लागि ०८२ सालमा प्रकाशित डेब्यु आख्यानकारका ३७ कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ३७ कृतिबाट ११ आख्यान कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ कृतिको ‘छोटो सूची‘ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ आख्यान विधाका कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।
आख्यान संरचना, सम्प्रेषित विचार र दृष्टि, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समय चेत, प्रस्तुति, बिम्ब र प्रतीकको प्रयोग तथा शीर्षकको सार्थकता लगायत आख्यानका विविध आयमहरूलाई आधार बनाई कृतिहरूको मूल्याङ्कन गरिएको मूल्याङ्कन समितिले जनाएको छ ।
यसअघि पुरस्कारको छोटो सूचीमा सुरेश याक्सोको कथासङ्ग्रह ‘पेनिबा’, खगेन्द्र गिरीको कथासङ्ग्रह ‘भग्न प्रेमशाला’, प्रकाश पन्थीको उपन्यास ‘महबी मिका’, दिपा दाहालको कथासङ्ग्रह ‘विजयिनी’, र लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ रहेका थिए ।
त्यस्तै, पुरस्कार प्रारम्भीक लामो सूचीमा छोटो सूचीमा अटाएका पाँच कृतिका साथमा रबिन रिजालको उपन्यास ‘अस्तुको सिन्दुर’, शोभा अधिकारीको लघुकथासङ्ग्रह ‘आमाको आँखा’, प्रशान्त सापकोटा (फिनु) को उपन्यास ‘काव्या’, छत्र दर्लामीको उपन्यास ‘घेरा’, हिमा रोका ‘प्रतिज्ञा’को लघुकथासङ्ग्रह ‘प्रतिज्ञा’, र अमृत प्रधानको उपन्यास ‘स्पर्शको आभास’ रहेका थिए ।
‘साहित्यपोस्ट आख्यान पुरस्कार’को प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको छ । जापानको सागा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएका अधिकारी पोखरेली युवा सांस्कृतिक परिवारको सचिवसमेत हुनुहुन्छ । अधिकारीका ‘जुद्ध शमशेरका नाममा’ र ‘झरीको किनार’ कवितासङ्ग्रह प्रकाशित छन् ।
अगामी चरणमा काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन-तीन कृति सम्मेलित ‘साहित्यपोस्ट नवरत्न २०८२’ को घोषणा गरिने छ । तीन विधाका तीन-तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ भने ‘साहित्यपोस्ट नवरत्न २०८२’लाई सार्वजनिक सम्मान गरिनेछ ।
साहित्यपोस्ट गैरआख्यान र काव्य पुरस्कारको अन्तिम सूची यसअघि नै घोषणा गरिसकिएको छ ।
अन्तिम सूचीका समावेश तीन कृतिः
१. भग्न प्रेमशाला – खगेन्द्र गिरी
ढेड दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय लेखक खगेन्द्र गिरीको पहिलो मौलिक कृति हो, कथासङ्ग्रह ‘भग्न प्रेमशाला’ । सङ्ग्रहमा इतिहासदेखि एआई र रोबोटिक्ससम्मका विविध विषयमा आधारित कथाहरू सङ्ग्रहित छन् । पुस्तकमा प्रेमलाई ‘रोमान्टिक’ नभई एक ‘प्रयोगशाला’ को रूपमा प्रस्तुत गरिएको छ जहाँ सम्बन्धहरू परीक्षण हुन्छन् । पुस्तकमा पितृसत्ता, मीडिया र सामाजिक प्रणालीको सूक्ष्म चिरफार गरिएको छ ।
गिरीका कथाका पात्रहरू भौतिक भोगाइभन्दा ज्यादा अस्तित्वको संकट र मानसिक विखण्डनबाट गुज्रेका छन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।
२. महबी मिका – प्रकाश पन्थी
आख्यानकार प्रकाश पन्थीको उपन्यास हो, ‘महबी मिका’ । परम्परागत कथावाचनको संरचनालाई अस्वीकार गर्दै पन्थीले उपन्यासमा नयाँ शैलीको प्रयोग गर्नुभएको छ । उपन्यासको केन्द्रमा सामाजिक विकृति र विसंगतिहरू छन्, जसमाथि उपन्यासले तीक्ष्ण व्यंग्य–प्रहार गरेको छ । साथै, पात्रहरूको संघर्ष र भोगाइमार्फत् समाजको यथार्थ तस्बीर प्रस्तुत गरिएको छ ।
भाषिक रूपमा उपन्यास सशक्त, कवितामय र कतिपय ठाउँमा अध्यात्मतिर झुकेर दार्शनिक शैलीमा लेखिएको छ । उपन्यासलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।
३) सत्यम् – लक्ष्मण वियोगी
दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय लेखक लक्ष्मण वियोगीको पहिलो कृति हो, कथासङ्ग्रह ‘सत्यम्’ । कथाहरूमा रैथाने शैली, लोकजीवन, लोकसंस्कृति र पर्यावरणीय चेत प्रखर रूपमा समेटिएका छन् । स्याङ्जाको परिवेशलाई केन्द्रमा राखिएका कथाहरूमा काठमाडौँ, बर्दिया, अछाम लगायत ठाउँका सामाजिक तथा भौगोलिक चित्रहरू पनि जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
कथाहरूमा प्रेम–प्रणयका अनुभूतिका साथै माओवादी द्वन्द्वको समयमा समाजले भोगेको त्रासदीलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । पात्रहरूको सङ्घर्षपूर्ण जीवनलाई वियोगीले ‘दुःखान्त चेतना’का साथ प्रस्तुत गर्नुभएको छ । पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो ।

