साहित्यपोस्ट-नपढी सुखै छैन...

साहित्यकार नगेन्द्रराज शर्माप्रति बर्दिबासमा श्रद्धाञ्जली

साहित्यकार नगेन्द्रराज शर्माप्रति बर्दिबासमा श्रद्धाञ्जली

बर्दिबास । अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्माको स्मृतिमा गौरीशङ्कर मिथिला वाङ्मय प्रतिष्ठानले शनिबार बर्दिबासमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे ‘अग्निकवच’को सभापतित्व तथा साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको प्रमुख आतिथ्यमा बर्दिबास उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा साहित्यकार, पत्रकार, भाषाविद्, समाजसेवी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वर्गीय शर्माका भतिजा गिर्वाण घिमिरेले उहाँको पारिवारिक पृष्ठभूमि, व्यक्तित्व र साहित्यिक योगदानबारे स्मरण गर्नुभयो । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष डा. सुमन कर्माचार्यले शर्माको जीवनी, साहित्यिक यात्रा तथा नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानबारे प्रकाश पार्नुभयो ।

प्रमुख अतिथि डा. विमलले नगेन्द्रराज शर्माको निधनसँगै नेपाली साहित्यिक पत्रकारिताले एउटा महत्वपूर्ण व्यक्तित्व गुमाएको बताउँदै उहाँका कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मिथिला नगरपालिकाकी उपप्रमुख सुनितासिंह बुढाथोकी, प्रलेस मधेश प्रदेशका अध्यक्ष नारायणकुमार घिमिरे, बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कार्की, निवर्तमान अध्यक्ष विष्णु खड्का, बुढ्यौली साहित्य समाज मधेश प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले, विश्व नेपाली साहित्य महासङ्घ महोत्तरीका अध्यक्ष उद्धव अविचल, मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष बिपीराज दाहाल, लेखनाथ सदन महोत्तरीका अध्यक्ष जनक पौडेल, नारी स्रष्टा समाज महोत्तरीकी अध्यक्ष जमुना पोख्रेललगायतले श्रद्धाञ्जली व्यक्त गर्दै शर्माको साहित्यिक तथा पत्रकारितागत योगदानको स्मरण गर्नुभएको थियो ।

वक्ताहरूले नगेन्द्रराज शर्माले नेपाली साहित्य, भाषा र साहित्यिक पत्रकारितामा पुर्‍याउनुभएको योगदान दीर्घकालसम्म स्मरणीय रहने उल्लेख गर्दै उहाँका कृति र विचारलाई भावी पुस्तामाझ पुर्‍याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रमको प्रारम्भमा स्वर्गीय शर्माप्रति एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव कुमार दाहाल ‘कुसुम’ले गर्नुभएको थियो ।

यस अवसरमा प्रतिष्ठानले पारित गरेको शोक प्रस्तावमा ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका सम्पादक, उपन्यासकार तथा कथाकार नगेन्द्रराज शर्माको निधनले नेपाली साहित्यिक पत्रकारिताले एउटा स्वर्णिम स्तम्भ गुमाएको उल्लेख गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.