साहित्यले सम्बन्ध बनाउँछ । देश विदेशमा थुप्रै सम्बन्ध बनेका छन् साहित्यमार्फत । साहित्य लेखनको शुरूआत बर्दियाबाट गरेको भए पनि साहित्यिक सम्बन्ध बाँकेबाट शुरू भएको हो मेरो । सम्बन्धहरू निरन्तर बढिरहेका छन् । नवसर्जकदेखि वरिष्ठ साहित्यकारसँगको सम्बन्धले लेखनलाई क्रियाशील बनाउँदै आएको अनुभव भइरहेको छ ।
सनत रेग्मी, नामै काफी छ । सनत रेग्मीको चर्चाबिनाको नेपाली कथासाहित्य अधुरो र अपुरो जस्तो लाग्ने थालेको छ । आञ्चलिक कथा लेखनको इतिहासमा सनत रेग्मीको नाम सम्मानपूर्वक लिने गरिन्छ । सनत रेग्मी बाँकेमा हुनु हाम्रा लागि गौरवको विषय हो । सनत रेग्मीसँग अलिपछि मात्रै स्थापित भएको हो मेरो साहित्यिक सम्बन्ध । यो सम्बन्ध स्थापित भएको पनि झण्डै तीन दशकको नजिक पुगिसकेको छ । साहित्यिक अभिभावकका रूपमा सनत रेग्मीसँग गाँसिएको सम्बन्धले आख्यान लेखनमा बीजारोपण गरेको अनुभूति गर्दै आएको छु मैले ।
सनत रेग्मीसँग कसरी र कहिलेदेखि सम्बन्ध जोडियो ? यही विषय खोतल्दैछु । उनीसँग रहरले जोडिएको सम्बन्ध हो मेरो । यो रहर भन्ने चिज पनि अनेक र अनौठो हुने रहेछ । रहरहरूको लहरमा लहरिँदै मानिसहरूले आफ्नो जीवन अगाडि बढाइरहेको हुन्छ । बाल्यकालीन रहरहरू उमेरसँगसँगै झाँगिदै फैलिइरहेका हुन्छन् । घर, समुदाय, समाज हुँदै देश र विदेशसम्म पुगेका हुन्छन् । यसरी फैलिएका रहरका लहरलाई नै हामी परिचित भएको सम्झँदा रहेछौँ ।
मेरा अनेक रहर थिए र छन् पनि । परिचित हुने रहर उमेरसँगै झाँगिदै जान थालेको थियो । धेरै रहरहरूमध्येको एउटा रहर थियो साहित्यकार बन्ने । यो बाल्यकालीन रहर हो । कक्षा ६ मा अध्ययन गर्दाको ‘म विद्यार्थी’ लेख्दाको समय होस् वा कक्षा ८ मा अध्ययन गर्दाको ‘आँखा’ नामक कविता लेख्दाको समय । रहरले लेखिएका कविता थिए ती । खेलाडी बन्ने, चित्र कोर्ने र मूर्ति बनाउने रहरहरूले भने धेरै लामो समयसम्म निरन्तरता पाउन सकेनन् । कवि बन्ने रहर अहिले पनि उस्तै छ जति बाल्यकालमा थियो ।
बाल्यकालीन रहर धेरैका धेरै हुँदा रहेछन् । विशिष्ठ व्यक्तिहरूका जीवनी र कहानी सुन्दा थाहा हुने रहेछ यस्ता कुराहरू । सनत रेग्मीको कलाकार बन्ने बाल्यकालीन रहर रामलीला मैदनमा पोखिएको थियो । लक्ष्मणको भूमिकामा प्रस्तुत गरिएको बाल्यकालीन कलाकारिताको रहर, रहरहरूमध्येको एउटा आशालाग्दो रहर थियो । यो रहरले उहाँलाई कहिलेसम्म पच्छायो थाहा भएन । समाज सेवा र राजनीति सनत रेग्मीका बाल्यकालीन रहरहरू नै थिए । सनत रेग्मीमा लेखक बन्ने रहर कसरी झाँगिदै गयो भन्ने कुरा लेखनमा रूचि राख्ने र उहाँलाई नजिकबाट चिनेकाहरूले पटकपटक सुन्दै पनि आएका छन् । कविता तथा कथाको टाउकोमा आफ्नो नाम लेखेर पाठ्यपुस्तकमा आएको हेर्ने रहर सनत रेग्मीमा के कति थियो ? यो कुरा सुनेको र सोधेको छैन । कुनै दिन सोध्नुपर्ला ।
सनत रेग्मी
रहर न हो, पाठ्यपुस्तकहरूमा भएका कवितामा लेखिएका कविहरूका नामले मलाई निकै छुन्थ्यो । साहित्यकारहरूका जीवनीले लोभ्याउँथ्यो । रेडियो सुन्दा दाहाल यज्ञनिधिले कार्यक्रममा वाचन गरका नामहरू कण्ठ गर्न मन लाग्थ्यो मलाई । वि.सं.२०४९ तिर विश्वप्रेम अधिकारीको ‘मेरी छोरी’ भन्ने कविताले मनमा अनेक तरङ्गहरू उत्पन्न गराएको थियो । लेखक तथा कृतिकारका रूपमा मैले देखेको र चिनेको पहिलो व्यक्ति नै विश्वप्रेम हुनुहुन्थ्यो । कृति प्रकाशन गर्न जो कोहीले पनि पाउँदो रहेछ भन्ने कुरा यही कविता कृति पढेपछि जानकारी भएको थियो मलाई ।
साहित्य, सनत र सम्बन्धका विषयमा कुरा गर्दैछु । वि. सं. २०५० तिर रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतको एउटा साहित्यिक कार्यक्रममा नेपालगञ्जका साहित्यकार नारायणप्रसाद शर्मा अधिकारीको व्यक्तित्व र कृतित्वका बारेमा कार्यक्रम आयो । बर्दियाको एउटा कुनामा बसेर सुनेको यो कार्यक्रम नजिकका लेखकका बारेमा सुनेको पहिलो कार्यक्रम थियो । वि.सं. २०५१ मा अध्ययनका क्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा आइपुगेको थिए । नेपाली अध्यापन गराउने गुरु नारायणप्रसाद शर्मा गैरे हुनुहुँदो रहेछ । मैले रेडियोमा सुनेको नारायणप्रसाद र अध्यापन गराउने नारायण एउटै हुन् वा फरक छुट्याउन पनि मलाई एक डेढ महिना लाग्यो । बाँकेमा पहिलो साहित्यिक सम्बन्ध नारायण गुरुसँग भयो ।
नारायण सरले ‘गैरे स्टेश्नरी’ खोलेपछि भने प्रायः दैनिक जस्तो भेट हुन थाल्यो । साहित्य र साहित्यकारहरूका विषयमा कुरा हुन थाले । मौका छोपेर दुई चार कविताहरू सुनाएँ । नारायण सरले आफ्नो कविता कृति ‘शिशु प्रजातन्त्र’ उपलब्ध गराउनुभयो । यो कृति हातमा लिएपछि एउटा वाचा गरेको थिएँ, ‘एक दिन मैले पनि कृति प्रकाशन गर्नेछु ।’ साहित्यले गुरु चेलालाई साथी जस्तो बनायो । सम्बन्ध र सहकार्य बढ्दै गयो । हुँदा हुँदा नारायण सरको ‘एउटा अर्को आकाश’ नामक गजलकृति त उहाँका रचनाको विषयमा भूमिका नै लेख्ने अवसर मिल्यो मलाई । यही गजल कृतिले नारायणसरलाई विद्यावारिधिको उपाधि प्राप्त गर्ने स्थानसम्म पुर्यायो ।
रहर त हो, आइ ए दोस्रो वर्षमा पढ्दै थिएँ साथीहरूलाई समेटेर एउटा पत्रिका प्रकाशन गर्न रहर लाग्यो । ‘सिर्जना’ नामको साहित्यिक पत्रिका प्रकाशन गर्ने निर्णय भयो । समिति बन्यो । मान्छे खेद्नु अगाडिबाट, पशु खेद्नु पछाडिबाट भन्ने कुरा सुनेको भए पनि बुझेको रहेनछु । साथीहरूलाई हिँडाउन सजिलो होला भन्ने साथीहरूले कर गदागर्दै पनि नेतृत्व उनीहरूलाई नै सुम्पिएर अघोषित जिम्मेवारी लिएको थिएँ मैले ।
पत्रिका प्रकाशनको निर्णय रहर र लहड दुवैको संयोजन थियो । आई. ए. दोस्रो वर्षमा नेपाली अध्यापन गराउन सिताराम विष्ट आइपुग्नुभयो । साहित्यमा चिनेको केवल नारायण सर मात्रै । नारायण सर हाम्रो शिक्षक भएको भए शायद केही सहज हुन्थ्यो । जोसँग कुरा गर्यो, ‘गाह्रो छ पत्रिका प्रकाशन गर्न’ भन्थे । साथीहरू निराश भए । गैरे सरले विज्ञापन तथा सहयोग माग्ने अनुमतिका लागि क्याम्पसको पत्र तयार गर्न सहयोग गर्नुभयो । चन्दा उठाउन बजार डुल्ने योजना बन्यो । लेख सङ्कलन गर्ने र चन्दा उठाउने ठेली बोक्ने जिम्मा मेरो काँधमा थियो ।
सनत रेग्मीसँग पहिलो भेट कसरी र कहाँ भयो भन्ने सन्दर्भको जोड्दैछु मैले । हामी बजार पसेको तेस्रो दिन भइसकेको थियो । पैसा दिनेभन्दा वचन र उपदेश दिने दाताहरू धेरै भेट्टिए । ‘पैसा अप्ठ्यारो ठाउँमा हुन्छ, त्यसै झर्दैन’ बुबाले भनेको सुनेको थिएँ । जसले जे भने पनि हामीले सिर्जना प्रकाशन नगरी नछोड्ने प्रण गरेका थियौँ । पत्रिका छाप्न पाँच हजार जति लाग्छ भन्ने सुनेका थियौँ । पाँच हजार पुर्याउन पनि हामीलाई महाभारतको लडाइँमा होमिए बराबर भएको थियो ।
हामीले कसैलाई छोडेनौँ । पसल होस् कि कार्यालय सबैका ढोका चहार्यौं । नेपाली काँग्रेस पार्टी कार्यालय नजिक पुग्यौँ । त्यो समय कांग्रेस पार्टी सरकारमा थियो । सरकारमा हुने पार्टी धनी हुन्छ लागेको थियो । बजारमा यही सुनिन्थ्यो । काँग्रेसको कार्यालयमा छिर्ने वा नछिर्ने भन्नेकुरामा साथीहरूको मत बाझ्यो । ठूला मान्छेले पैसा नै दिँदैनन् नजाऊँ भन्नेहरू धेरै भए । सरकारको पार्टीले चन्दा किन उठाएको, भनेर गाली गर्यो भने के भन्ने ? ‘नजाऊँ भो’ भन्ने साथीहरू बढी भए । म अलमलमा परेँ । सोचेँ, ‘हैन जाऊँ, जे पर्ला पर्ला, म भन्छु तिमीहरू सुन मात्र’ भनेर पार्टी कार्यालयभित्र पसाएँ ।
कार्यालयमा कार्यकर्ताको भीडभाड थियो । हाम्रा कुराहरू सुन्ने फुर्सद कसैलाई छ जस्तो लागेन । केहीबेर केही नबोली उभियौँ । किन आएको भनेर कसैले सोधेन । साथीहरूले फर्कने इशारा गर्नुभयो । मेरै करले भित्र पसेका थियौँ । केही नभनी फर्कनु मेरा लागि पनि उपयुक्त थिएन । पत्र निकालेँ र अलि राम्रो कुर्चीमा बसेका, होचा होचा, चस्मा लगाएका, जुङ्गा पालेका नेताको अगाडि पत्र तेर्साएँ । मेरो अनुमानमा त्यहाँ भएका मध्येका ठूला नेता तिनै थिए ।
पत्र हातमा लिएर हामीलाई तलदेखि माथिसम्म हेरे । लागेको थियो पत्र पूरा पढ्दैनन् । चन्दा भन्ने विषय पढेर टक्टकिन्छन् । पत्रमा आँखा मात्रै दौडाएनन् । पूरै पढे र समितिमा को को हुनुहुन्छ ? भनेर हिन्दी लवजमा सोधे । यति सोधेपछि भने आशा पलायो । अब दुई चार सय हात पर्छ । रित्तो हात फर्कनु पर्दैन भन्ने भयो । उनले आफू साहित्यकार भएको बताए । पत्रिका प्रकाशनको अप्ठ्यारो सुनाए । विज्ञापन खोज्न सुझाए । स्तरीय लेख रचनालाई प्राथमिकता दिन सल्लाह दिए । पत्रिका प्रकाशनको हाम्रो रहरलाई धन्यवाद दिए ।
पैसा लिन छिरेका हामीलाई कथा उपलब्ध गराएर सहयोग गर्ने वचन दिए । हाम्रो काम उपयुक्त भएको बताउने अहिलेसम्म उनी मात्रै भेटिए । हामीलाई खुशी लाग्यो । तर हाम्रो ध्यान ‘कति रकम झर्छ’ भन्नेमा थियो । ‘म पनि साहित्यकार हुँ । मेरो नाम सनत रेग्मी हो । पत्रिकालाई पैसा दिन कसैले मान्दैन । ठीक छ कोशिश गर्नू, उपाय लागेन भने आउनू, एकदुईओटा विज्ञापन मगाइदिउँला’ भन्ने वचन दिए तर पैसा दिएनन् । हामीलाई वचन हैन पैसा चाहिएको थियो । हामी अमिलो मन लिएर कार्यालयबाट बाहिरियौँ ।
मैले पहिलोपटक सनत रेग्मीलाई देखेको काँग्रेसको पार्टी अफिसमा नै हो । शायद यो समय सनत रेग्मी नेपाली काँग्रेस पार्टीको बाँके सभापति हुनुहुन्थो । नेता पनि साहित्यकार पनि कताकता के के नमिलेजस्तो लाग्यो मलाई । रचना र विज्ञापन सहयोग गर्छु भन्नुभएकै थियो तर नेताको कुरा के पत्याउनु ? भनेर हामी फर्केर भेट्न गएनौँ । भेट्नु पर्थ्यो शायद, तर भेट्ने आँट आएन ।
साहित्यकारहरूको सङ्गत गर्ने रहर भए पनि तुरुन्तै नसक्नुका दुई तीनओटा कारण थिए मेरा । पहिलो कारण: म दुर्गम गाउँको पिछडिएको समुदायमा थिएँ । सुकिला मुकिला मान्छेसँग बोल्न हिच्किचाउँथे । दोस्रो कारण: मैले बजारमा बस्नेहरू सबै जमिनदार हुन्छन् भन्ने सोच्ने गर्थेँ । आफ्नो स्तरभन्दा माथिकासँग सम्बन्ध र सम्पर्क भएमा कुनै न कुनै दिन पैसाकै कारण अपमानित हुनु पर्ला भन्ने सोचेर नजिक हुने प्रयास गर्दैनथें म । यस्तो मनोदशामा बसेको मानिसले कसरी सम्पर्क बढाउन सक्थ्यो र ? म फर्केर सनत रेग्मीसँग भेट गर्न नजानुको पछाडिका कारण यी पनि हुन् ।
बेला बेलामा नारायण प्रसाद गैरेसरबाट इन्द्रमणि मानव, वि.विकास, प्रेमप्रकाश मल्ल, सनत रेग्मी, नन्दराम लम्साल, गणेश जि.सि. नरेन्द्रजंग पिटर आदिको नाम सुनेको थिएँ । भेट गर्न जाने आँट थिएन । उहाँहरूका रचना पढ्न आग्रह गर्नुहुन्थ्यो गैरे सर । पहिलो कुरा उहाँहरूका कृतिहरू बजारमा बिरलै भेटिन्थे, दोस्रो कुरा गोजीमा दाम भए पो किन्नु ? उमेर र आफूभित्र मौलाएको हीनताबोधले मैले शुरूका वर्षमा इन्द्रमणि मानव, वि.विकास, प्रेमप्रकाश मल्ल, सनत रेग्मी, नन्दराम लम्साल, गणेश जि.सि.नरेन्द्रजंग पिटरसँग सम्बन्ध विस्तार गर्न सकिनँ । नेपालगञ्ज क्याम्पसको दुई वर्षको एउटा मात्रै उपलब्धी ‘सिर्जना’ पत्रिका प्रकाशित भयो । यो पत्रिकामा मेरो आमा भन्ने कविता प्रकाशित भएको थियो । प्रमाण पत्र तहको पढाइ सकेपछि नेपालगञ्जको बसाई छोट्याएर म पुनः गाउँ फर्कें ।
बाँकेका साहित्यकारहरूसँग सम्बन्ध विस्तार गर्न नसकेकोमा निकै पछुतो भयो । गाउँमा रेडियोले मात्रै सूचना दिन्थ्यो । बाँकेका साहित्यकारका सिर्जना र सूचना गाउँसम्म पुग्दैनथे । सम्बन्ध विस्तार गर्न पुनः नेपालगञ्ज नै आउनुपर्थ्यो । तत्कालका लागि यो सम्भव थिएन । मनमा जरा गाढेर बसेको साहित्य गाउँको एउटा कुनामा मक्किएर बस्यो पुनः दुईवर्षसम्म ।
स्नातक पढ्न पुनः महेन्द्र क्याम्पसमा आइपुगें । छुटेका कुराहरू पुरा गर्ने रहर मनमा थियो । मेरा नजिकका साथीहरूलाई साहित्यप्रति रुचि थिएन । गजल लेख्न सिकिरहेको थिऍं । फाट्टफुट्ट निस्किने पत्रिकामा गजल छापिन थालेका थिए । बाँकेका साहित्यकारहरूको सम्पर्कमा आउने रहर पूरा भएको थिएन । साहित्यिक कार्यक्रमहरू पनि खासै हुँदैनथे । भइहाले पनि सूचना कम मात्रै हुने गर्थ्यो । एक दुईओटा कार्यक्रममा पुगेँ तर मैले खोजेको अनुहार पाइनँ । प्रेम प्रकाश मल्ल, नन्दराम लम्साल, रेशम विरही, गणेश जि.सि, झलक जी विकल्प, मधु साश्रु, भोजराज नादिर, सागर गैरे, गोपाल आचार्य, आचार्य सिरु आदिसँग सम्पर्क बिस्तार हुँदै थियो । मेरो मनले सनत रेग्मीलाई खोजिरहेको थियो । ‘म पनि साहित्यकार हुँ । कथाहरू लेख्छु’ भनेको सम्झिरहेको थिएँ । अलिपछि मात्रै थाहा भयो उहाँ त काठमाडौँतिर हन्निनुभएछ ।
दिनहरू बितिरहेका थिए । अध्ययनका क्रममा नेपाली कथामा सनत रेग्मीको प्रसङ्ग आयो । नारायण गुरुले निकै प्रशंसा गरेर कथा पढाउनुभयो । सनत रेग्मीलाई पुनः भेट्न चाह बढ्न थाल्यो । एक दुइओटा कार्यक्रममा जाने मौका मिलेन त्यही कार्यक्रममा सनत रेग्मी आएको सूचना पाएँ । कार्यक्रम र सनत रेग्मी दुवै छुट्दा धेरै दिनसम्म मनमा चुकचुक लागिरह्यो । काठमाडौँ बस्न थालेपछि उहाँ नेपालगञ्ज कम मात्रै आउनुहुन्थ्यो । शायद कति कार्यक्रममा भेट नभएकाले यस्तो लागेको थियो मलाई । उहाँ आएको बेलामा कार्यक्रम नभएकाले पनि भेट नभएको हुन सक्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि काठमाडौँ जानुभएको भन्ने अलिपछि मात्रै थाहा पाएको थिएँ मैले ।
पचासको उत्तरार्धमा खै कतिपटक भेटघाट भयो सनत रेग्मीसँग ठ्याक्कै याद भएन । शुरूमा प्रयास समूह, पछि भेरी साहित्य समाजका नामबाट साहित्यिक कार्यक्रमहरू हुन थालेपछि सनत रेग्मीसँग अलि बढी नै भेट हुन थालेको थियो । सनत रेग्मीकै सल्लाहमा प्रज्ञा प्रतिष्ठानले आर्थिक सहयोग गर्नेगरी बाँकेमा एउटा ठूलै गजल गोष्ठीको आयोजना गर्ने निर्णय भयो । आयोजक संस्था भेरी साहित्य समाजको निर्णय प्रतिलिपि लिएर दुईजना प्रतिनिधि काठमाडौँ जाने सल्लाह भएछ । तर को को जाने भन्ने सल्लाह भैसकेको रहेनछ । माओवादी द्वन्द्वकाल जारी रहेकाले हिँडडुल गर्न खासै सहज थिएन । कुन बेला नेपाल बन्द हुन्छ भन्ने अनुमान नै गर्न सकिँदैनथ्यो । झलकजी विकल्पबाहेक काठमाडौं जान कोही तयार भएनन् । म भेरी साहित्य समाजको कुनै समितिमा थिइनँ । शुरूमै मलाई अनुरोध आउने कुरा पनि भएन । कार्यक्रमको मिति तय भएको थियो तर प्रज्ञा प्रतिष्ठानसँग सम्झौता भएको थिएन ।
झलकजी विकल्पले ‘काठमाडौं जाऊँ म एक्लै भएँ’ भन्नुभयो । नारायण गैरे सर भेरी साहित्य समाजको अध्यक्ष हुनुहुन्थ्यो । नारायण सरले पनि आग्रह गरेपछि गुरुको आग्रह नमान्न पनि भएन । झलकजी विकल्पसँग काठमाडौँ प्रस्थान गरियो । मेरा लागि यो यात्रा पहिलो थियो । काठमाडौँको पहिलो यात्राका कतिपय रोचक प्रसङ्गहरू छन् । ती प्रसङ्ग कुनैबेला भन्छु नै ।
हामी बुटवल पुग्दा खबर आयो माओवादीले नेपाल बन्दको आयोजना गरेको छ । गाडी अगाडि बढ्ने सम्भावना कम देखियो । हामी होटलमा थियौँ । हामी सनत रेग्मीले बोलाएर काठमाडौँ हिँडेका थियौँ । झलकजीले सनत रेग्मीलाई फोन गर्नुभयो । ‘ठीक छ, म कुनै माध्यमबाट पैसा निकाल्ने व्यवस्था गर्छु । तपाईंहरू फकर्नू ।’ सनत रेग्मीको यस्तो कुराले मेरो मन अमिलो भयो । पहिलो पटक काठमाडौँ हिँडेको म यात्रा पूरा नगरी कसरी फर्कन सक्थेँ ?
झलकजी फर्कने मनस्थितिमा पुग्नुभयो । तर मेरो मनले मानेन । होटलमै थियौँ । प्रहरीले गाडीहरू स्कटिङ् गरेर काठमाडौँ लैजाने तयारी गरिरहेको छ भन्ने सूचना आयो । झलकजी विकल्पलाई आग्रह गरेँ । उहाँले जाँगर चलाउनुभएन । कामै छैन, अब किन जाने ? हाम्रो काम नगएपनि हुने भएपछि फोकटमा किन जाने ? अनावश्यक खर्च गर्न किन जाने ? भो नजाने ।’ झलकजी र मेरो कुरो बाझ्यो । पहिले आग्रह गरेँ । आग्रहले नमानेपछि मैले कर नै गरेँ । ‘पहिलो पटक काठमाडौँ हिँडेको छु । बीचबाटोबाट फर्कन मनले मानेकै छैन । अब म कता जाऊँ ?’ यो प्रश्नले झलकजीलाई छोएछ । उनी केहीबेर मौन रहे । केहीबेरपछि सँगै जान तयार भए । म खुशी भएँ । हामी काठमाडौँ पुग्यौँ ।
हामी काठमाडौँ पुगेको खबर गर्यौं । सनत रेग्मीले ‘दुःख नपाएको भए पनि हुन्थ्यो, ठीकै छ । भोलि बिहान खाना खाने गरी आउनू’ भन्ने आग्रह गर्नुभयो । पहिलो दिन सुनधारा नजिकैको होटलमा बास बस्यौँ । बिहान डेरा खोज्दै सनत रेग्मीको कोठामा पुग्यौँ । एक्लै भएको भए मलाई डेरा पहिल्याउन हम्मेहम्मे नै पर्ने रहेछ । खाना खाएर सनत रेग्मीसँगै नेपाल प्रज्ञाप्रतिष्ठान पुग्यौँ । प्रज्ञाप्रतिष्ठानको माथिल्लो तलाको उत्तरपट्टिको साँधुरो कोठामा रहेछ उहाँको विभाग । कागजपत्र र पत्रपत्रिकाहरू यत्रतत्र छिरलिएका देख्दा नेपाल प्रज्ञा प्रतिष्ठान व्यवस्थित रहेनछ भन्ने लाग्यो । हुन त प्रकाशन र सम्पादनका काम गर्ने विभाग परेकाले कागज र पत्रपत्रिका यत्रतत्र हुनु स्वभाविक नै थियो तथापि धुलोसहितका कागजपत्र देखिए । कार्यलयमा सनत रेग्मीको राम्रै प्रभाव रहेछ । परिपक्व र सफल नेतृत्व दिन सक्ने सनत रेग्मीको क्षमताबाट परिषद् सदस्यहरू परिचित रहेछन् । अन्य विभागका विभागीय प्रमुखहरू पनि सल्लाह लिन आएको देखियो । हामीले भेट्दा उहाँ परिषद् सदस्य हुनुहुन्थ्यो । दोस्रो कार्यकालमा सदस्य सचिवको भूमिकामा रहनुभयो ।
हामी बृहत् गजल गोष्ठी र गजल प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने सम्झौताका लागि नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका थियौँ । यस्तो खालको कार्यक्रम नेपालगञ्जमा पहिलोपटक हुँदै थियो । गजलमा कलम चलाइरहेका गजलकारहरूका लागि यो कार्यक्रम उत्साहपूर्ण थियो । सनत रग्मीको आफ्नै आग्रहमा आयोजना गरिएको यो कार्यक्रमपश्चात् बाँके बर्दियातिर बौद्धिक र स्तरीय गजल लेख्नेहरूको संख्या ह्वात्तै बढेको अनुभव गरेको छु मैले पनि ।
काठमाडौंबाट फर्केपछि सनत रेग्मीसँग क्रमशः सम्पर्क बढ्दै थियो । सनत रेग्मीका कथाहरू कति खोजेर पढिसकेको थिएँ भने केही कथासङ्ग्रह उहाँले नै उपहार स्वरुप प्रदान गर्नुभएको थियो । ‘सनत रेग्मीको व्यक्तित्व र कृतित्व’को बारेमा पूर्णिमा साहित्यिक पत्रिकाको वर्ष १० पूर्णाङ्क २१, २०६६ असोज कार्तिक अङ्कका लागि आवरण लेख तयार गर्ने जिम्मा मेरो काँधमा थियो । उसो त पूर्णिमाले प्रेम प्रकाश मल्ल मधुकर, इन्द्रमणि मानव, वि.विकास, नन्दराम लम्साल र शंकरध्वज शाहका ‘व्यक्तित्व र कृतित्व’सम्बन्धी आलेखहरू प्रकाशित गरिसकेको थियो । सनत रेग्मी काठमाडौँतिर रहेको र समयमा नै भेट हुन नसकेकाले आलेख लेख्न छुटिरहेको थियो । उहाँको आलेख लेख्ने जिम्मा मलाई नै आएपछि उहाँको बारेमा अध्ययन गर्नकै लागि रेग्मी निवासमा पुगेको थिएँ । लामो भलाकुसारीपछि विभिन्न समालोचकहरूले लेखेका समालोचनाहरू तथा सनत रेग्मीका कथाहरू बोकेर म घर फकेको थिएँ । यसपटकको अध्ययनले मलाई सनत रेग्मी बुझ्न निकै सहज बनाएको थियो । उनको साहित्यिक साधना राजनीति तथा समाजसेवाभन्दा उँचो रहेको अड्कल गरेको थिएँ मैले ।
सनत रेग्मी परिषद् सदस्य हुँदा आयोजना भएको गजल गोष्ठी र सदस्य सचिव हुँदा आयोजना भएको चारदिने कथा प्रशिक्षण कार्यक्रम बाँके र बर्दियाका लेखकहरूका लागि निकै उपलब्धीपूर्ण रहेका थिए । गजल प्रशिक्षणपछि थुप्रै गजलकारहरू जन्मिए । गजलका दर्जनौँ कृतिहरू प्रकाशित भए भने कथा प्रशिक्षणपश्चात् स्तरीय कथा लेख्ने र प्रकाशित गर्नेहरूको संख्यामा वृद्धि भयो । सनत रेग्मीको लेखनको मुख्य विधा आख्यान भएकाले बाँके बर्दियातिरका लेखकहरूको लेखन आख्यानमा केन्द्रित भइदिए हुन्थ्यो भन्ने चाहना सनत रेग्मीमा पटक पटक झल्कन्थ्यो । यो चाहना पछिल्लो समय पूरा हुँदै गएको देख्न सकिन्छ ।
सदस्य सचिवको सफल कार्यकाल सम्पन्न गरेपछि सनत रेग्मीको बसाई नेपालगञ्जमा नै केन्द्रित हुन थाल्यो । नेपालगञ्जको बसाइसँगै भेटघाटहरू बाक्लिन थालेका छन् । हरेक कार्यक्रममा भेट हुन्छ । आग्रह गरेका ठाउँमा नछोडेर जाने बानी छ । पछिल्लो समय नेपाली साहित्यमा देखिएको लेखन प्रवृत्तिका बारेमा थुप्रै प्रवचनहरू सुन्ने अवसर मिल्दै आएको छ । कुनै बेला राजनीति र समाज सेवामा सक्रिय सनत रेग्मी आजभोलि साहित्यमा नै केन्द्रित हुनुहुन्छ । नेपाली आख्यान लेखनको स्तरउन्नतिका लागि अभियान चलाउँदै आउनुभएको छ । ‘कथा सुनौ र सुनाऔं’ भन्ने अभियान सनत रेग्मीले शुरू गरेको अभियान हो । बाँकेमा सञ्चालित यो अभियानले कथा लेख्ने र परिमार्जन गर्ने परम्परालाई जोड दिएकाले कथामा बाँकेले राम्रो गर्न सकेका प्रमाणहरू प्रशस्तै देख्न पाइएको छ ।
उमेरका हिसाबले आठ दशक नजिक रहनुभएका सनत रेग्मीको साहित्यिक सक्रियता युवाहरूको भन्दा कम छैन । अशक्त शरीर बोकेर कयौंपटक कार्यक्रम स्थलमा पुगेको देख्दा अचम्म पनि लाग्छ । कहिलेकाहीँ लाग्छ, सनत रेग्मी समाज बुझ्न दौडिराख्नुभएको छ कि समाजलाई बुझाउन ? निमन्त्रणा पाएका हरेक कार्यक्रममा पुग्ने, सबैका कुरा धैर्यतापूर्वक सुन्ने र आवश्यक प्रतिक्रियासहित आफ्ना स्पष्ट विचारहरू राख्ने सनत रेग्मीको स्वभाव अनुकरणीय छ । स्वास्थ्यभन्दा ठूलो साहित्य हुनै सक्दैन तर सनत रेग्मीका लागि पहिलो साहित्य दोस्रो स्वास्थ्य जस्तो देखिने गरेको छ ।
बुढ्यौली शरीरलाई युवा जोश दिएर साहित्यमा सक्रिय सनत रेग्मी जस्तो नेपाली साहित्यको अभिभावक बाँकेले पाउनु भनेको यस क्षेत्रका साहित्यकारहरूका लागि सौभाग्यको कुरा हो । कार्यक्रम गर्न उत्साहित गर्ने, बेलाबेलामा आफैँले सम्पर्क गरेर लेखनमा ऊर्जा थपिदिने, साहित्यको चिन्ता र चिन्तनमा समर्पित आञ्चलिक कथा लेखनका विशिष्ट व्यक्तित्व सनत रेग्मीबाट नेपाली साहित्यले लिनुपर्ने थुप्रै कुराहरू अझै बाँकी रहेका छन् ।
साहित्य लेखनका अभिभावक सनत रेग्मीसँगको सहकार्यमूलक सम्बन्धले उत्साह, उत्प्रेरणा र ऊर्जाशीलता पैदा गर्दै आएको छ । यो सम्बन्ध अटुट चलिरहोस् । दीर्घ जीवनको कामना ।

