एउटा प्रश्न मनमा धेरै समयदेखि उब्जिरहेको छ । मुख्य गरी म किन लेखिरहेको छु साहित्य ? के मैले आजको समाजको वास्तविकता उजागर गरेको छु ? के मैले लेखेको साहित्यले समाजको, सिङ्गो राष्ट्रको प्रतिबिम्बन गरिरहेको छ त ? हामीले साहित्य समाजको ऐना हो भन्ने परिभाषा गरेका छौँ । हामीले यो मान्यता आमरुपमा नेपाली साहित्यभित्र जबरजस्त स्थापित पनि गरेका छौँ तर आज मेरो मनमा यो प्रश्न उठेको छ, के साहित्य साँच्चै समाजको दर्पण हो त ? हामीले हाम्रो साहित्यलाई के साँच्चै समाजको दर्पण बनाउन सकेका छौँ त ? जुनसुकै वाद होस्, सिद्धान्त होस्, विचारधारा होस् तर साहित्य साहित्य नै हो, त्यो समाजको चेतना हो भन्ने कुरा आत्मसात् गर्ने हो भने पनि हाम्रा विचारधारा, आदर्श, सैद्धान्तिक मूल्य मान्यता र राजनीतिक परिवर्तनका आम प्रक्रिया आज अवरुद्ध भएका छन् । अप्रियताको चरम असभ्यतामा समाज र हाम्रो राष्ट्र विकृत बन्दै गएको छ ।
आज हाम्रो थाप्लोमा वैदेशिक ऋणको बोझिलो भार थोपरिएको छ । हाम्रा भाइ छोराहरू खाडीको तातो बालुवामा पिल्सिएका छन् । इराक र अफगानिस्तानमा काटिनु परेको छ । हाम्रा दिदीबहिनीहरू आज विदेशी बजारमा यौन दासी बन्नुपरेको छ । हाम्रो साहित्यले समाप्त गरेको निरंकुशतामा, एक्काइसौँ शताब्दीको गणतन्त्रमा, हाम्रो राष्ट्रले यस्तो कठिन सामाजिक जीवन र अप्रिय परिस्थितिको सामना गरिरहेको छ । के आज हाम्रो साहित्यलाई हामीले यस्ता विकृति विरुद्धको आवाज बनाउन सकेका छौँ ? समाजलाई, राष्ट्रलाई मार्गनिर्देश गर्ने हाम्रो साहित्यमा आज के लेखिँदैछ भन्ने कुरामा समाज र राष्ट्र अनभिज्ञ भएको छ । हाम्रो राष्ट्रिय स्वाभिमान गुम्न थालेको छ । शिक्षा आफैँ शिक्षा हुन सकेको छैन ,स्वास्थ्य आफैँ स्वास्थ्य हुन सकेको छैन, रोजगारी छैन तर हामीसँग गणतन्त्र छ । लोकतन्त्र छ । जनताका निम्ति लड्ने सयौँ पार्टी छन् । जनताले रगत पसिना बगाएर स्थापित गरेका हाम्रा नेताहरू पनि छन् । तर देश किन बर्बादीतर्फ गइरहेको छ ? किन हामी दिनदिनै संकटबाट बाँच्न बाध्य पारिँदैछौँ ? खोई यी समाजका चित्र आजको साहित्यमा ? खै समस्या र संकटविरुद्ध समाजलाई दिशानिर्देश गरेको हाम्रो साहित्यले ? ३० वर्षसम्म मेलम्चीको पानी देखाएर राजनीतिले जनता लुटेजस्तो “साहित्य समाजको दर्पण हो ” भन्दै कतै राष्ट्रमाथि, समाजमाथि घात भइरहेको त छैन ? कसको दास भयो हाम्रो साहित्य ? आज हामी जस्तो खालको संकटको सामना गरिरहेका छौँ ठिक यो बेला हामीलाई वास्तविक समाज साहित्यको खाँचो छ । तर आज हाम्रो समाज र राष्ट्रको संकटका सामु कतै समाज, साहित्यविहीन त बन्दै गइरहेको छैन ? हाम्रो समाज र देश विघटनतर्फ उन्मुख हुँदा साहित्यको अनुहार कस्तो हुन्छ होला ? राष्ट्रिय स्वाधीनता नै गुम्यो भने हाम्रो साहित्यको के महत्त्व छ ? वा हाम्रा सामाजिक, राजनीतिक स्वतन्त्रताहरू विगठित हुँदा हाम्रा साहित्यहरू के स्वतन्त्र रहन्छन् ? हामी किन लेख्दैछौँ ? केका लागि लेख्दैछौँ ? र कसका लागि लेख्दैछौँ ? एउटा पुरानो प्रश्न हरेक युगमा पटकपटक दोहोरिरहेको छ हाम्रो साहित्यमा ।
वास्तवमा साहित्य समाजको दर्पण हो र हुनुपर्छ । समाजको वास्तविक प्रतिबिम्ब उभ्याउन सक्ने एउटा बलियो हतियार साहित्य नै हो । विश्वका सबै बौद्धिक राष्ट्रहरूसँग आफ्नो साहित्य हुन्छ । त्यो साहित्य नै समाजको धरोहर हो । साहित्य र समाजको अनुन्याश्रित सम्बन्ध हुन्छ । साहित्य अनुभूति र विचारको संग्रह हो । शब्द भाव र विचारले नै साहित्यको रूप प्राप्त गर्दछ । साहित्य, समाजको राष्ट्रको जिज्ञासा हो । साहित्यको सम्बन्ध समाजका सबै अङ्गसँग रहेको हुन्छ । वैज्ञानिक प्रगति, आर्थिक उन्नति एवं सांस्कृतिक धरोहरको प्रतिनिधित्व साहित्यले नै गर्दछ । समाजको भूत, भविष्य र वर्तमानको समग्र अध्ययनको माध्यम हो साहित्य । समाज कल्याण, राष्ट्रकल्याण र विश्वकल्याणको भावनाबाट ओतप्रोत हुने यसको क्षेत्र त्यति नै विशाल र अनन्त रहन्छ । साहित्यको सम्बन्ध सिधा मानिसका जिज्ञासा, चिन्तन र समस्यासँग जोडिएको हुन्छ । समाजका सारा क्रियाकलाप प्रष्टसँग दर्शाउने भूमिका पनि साहित्यसँग रहेको हुन्छ । समाजका सारा गतिविधिलाई विशिष्ट शैलीमा दर्शाउने मात्र होइन विविध ज्ञानका स्रोतको संगम पनि हो साहित्य तर आज यी सारा मर्महरू कसरी कहाँ र कुन भूमिकामा अभिव्यक्त भइरहेका छन् ? वर्तमानमा यसको बृहत संश्लेषण कसरी भइरहेको छ ? र हाम्रो ऐनामा हाम्रो अनुहार देखिएको छ कि छैन ? कि फुटायौँ राजनीतिसँगै ऐना हामीले ? आज साहित्यले साहित्यकारलाई सोध्नुपर्ने र साहित्यकारले समाजलाई उत्तर भन्नुपर्ने जस्तो परिस्थिति पैदा भएको छ ।
भनिन्छ, समाज र राष्ट्र संकटमा उभिएको बेला मानिसहरूले साहित्यको सहारा खोज्दछन् । आज हामीसँग जस्तो संकट छ, दुर्भाग्य साहित्य पनि संकटग्रस्त जस्तो भएको छ । आज हाम्रो साहित्यले समाजको बहुआयामिक संकटका समाधान खोज्नुपर्ने स्थिति आएको छ । हाम्रा सामु धार्मिक प्रश्नहरू उठेका छन् । भेषभूषा रहन्छन् र रीतिरिवाजका प्रश्न छन् । अझै पनि समाज, बोल्न सक्ने र नसक्ने संकटभित्र गुज्रिएको । हुँदा खाने र हुने खाने बिचको कारुणिक र कहाली लाग्दो संकटभित्र जातीय विभेदका प्रश्नहरू झनै पेचिला भएका छन् । अझ आर्थिक विभेद र जातीय विभेदका प्रश्नको जवाफ हाम्रो समाजलाई मात्र दिएर नपुग्ने परिस्थिति हाम्रा सामु छ । धेरै टाढा पुग्नै पर्दैन । हाम्रै दक्षिण एसियालाई मात्र हेर्ने हो भने पनि हाम्रो समाज जस्तै वर्गसँग वर्ण व्यवस्थाले लादेको जाति प्रथा सामान्य चुनौती होइन । समान आर्थिक हैसियत भएको एउटा ब्राह्मण र एउटा दलितलाई हाम्रो समाजले अझै पनि किन समान व्यवहार गर्दैन ? यो मात्र एउटा प्रश्नले पनि हाम्रा साहित्यकारहरूको घाँटी अझै लामो समयसम्म अठ्याउने छ । यो ठूलो दुर्भाग्य हो हाम्रो । हाम्रो साहित्यमा यो प्रश्न आजभन्दा २७०० वर्ष पहिले नै समाप्त भएको विषय थियो । झन्डै २७०० वर्षअघि नै बुद्धले जातिवादी समाजको अवधारणालाई खारेज गरिसकेका थिए । बुद्धको सङ्घमा उपाली, सुनित, स्वस्ति, जस्ता दलित भिक्षु सम्मानित ओहोदामा पुगिसकेका थिए तर समाजका सामु यो ऐना फुट्दा आज हामी फेरि ऐना तयार गर्न बाध्य छौँ । सभ्यता र संस्कृतिमा हामी कसरी चुक्दै आयौँ र आज कता जाँदैछौँ भनेर हामीले कहिले समीक्षा गर्ने ? हामी कस्तो संसारमा बाँचेका थियौँ, आज कस्तो संसारमा बाँचेका छौँ ? नेपालमा यो पुण्यभूमिमा हामी कसरी बाँच्नेछौँ ? अब हामीले यो निर्क्योल गरेर आजको विश्वलाई सुनाउनुपर्नेछ । त्यो सुनाउने माध्यम केवल हामीसँग साहित्य मात्र छ । मलाई थाहा छ साहित्य समाजको दर्पण हो तर वर्तमानको साहित्यिक अन्योलमाथि प्रश्न गर्न मन लाग्छ । के साहित्य समाजको दर्पण नै हो त ?

